९ बैशाख २०८१, आईतवार

अन्तर्वार्ता :नेपालको सत्तामा अमेरिकी प्रभुत्व कायम भएको छ

0

(नेपाल कम्युनिस्ट पार्टीको जेठ ११ र १२ गते बसेको ‘एकताको विशेष बैठक’ ले नेपालको सत्तामा अमेरिकी प्रभुत्व कायम भएको निष्कर्ष निकाल्दै यसका विरुद्ध नयाँ मोर्चाबन्दीको पहलकदमी लिने निर्णय गरेको छ । बैठकका निर्णयहरू र नेपालको पत्रकारीताका बारेमा नेकपा स्थायी समिति सदस्य तथा प्रकाशन एवं प्रचार-प्रसार विभाग इन्चार्ज अनिल सीसँग शेरबहादुर विश्वकर्माले गरेको कुराकानी ):

कमरेड इन्चार्ज ! तपाईंहरूले हालै पार्टी केन्द्रीय समिति एकताको विशेष बैठक कपिलवस्तुमा सम्पन्न गरेको जानकारी प्राप्त भएको छ, बैठकको महत्त्व र मुख्य निर्णयहरू के के हुन्, सङ्क्षिप्तमा भनिदिनुहोस् न ?

हाम्रो पार्टीको ‘एकताको विशेष बैठक’ जेठ ११ र १२ गते सम्पन्न भएको छ । आम जनता र कार्यकर्ताको अपेक्षा तथा क्रान्तिकारी दायित्व पूरा गर्नेगरी नेकपा (माओवादी समाजवाद) सँग भएको धुबीकरणको भाव सम्प्रेषण गर्ने, बुझाइमा एकरूपता कायम गर्ने जिम्मेवारी बाँडफाँड गर्नेलगायतका थिए । विशेष बैठकको अर्को विषय कम्युनिस्ट र वामपन्थी पार्टीहरूबिचको मोर्चा निर्माणको विषय थियो । पार्टीको अघिल्लो विषयले क्रान्तिकारी ध्रुबीकरणलाई तीब्र बनाउने उत्प्रेरकको भूमिका निर्वाह गर्नेछ भने दोस्रो निर्णयले अमेरिकी हस्तक्षेप, विदेशी हस्तक्षेपका विरुद्धमा प्रतिरोध आन्दोलन उठाउन योगदान गर्नेछ ।

अहिलेको केन्द्रीय समिति बैठकले नेपालमा अमेरिकी साम्राज्यवाद आइसकेको र नेपाली क्रान्तिका सन्दर्भमा अन्तर्राष्ट्रिय परिस्थिति अझ बढी निर्णायक हुँदै गएको विश्लेषण गरेको भन्ने चर्चा छ ; खासमा यसबारे के निर्णय लिनुभएको हो ?

नेपालको सत्तामा अमेरिकी प्रभुत्व काम भएको हाम्रो बुझाइ छ । सुरक्षा निकाय, न्यायिक निकाय, संवैधानिक अङ्गहरू, सञ्चार र अर्थतन्त्रमा अमेरिकाको नियन्त्रण भइसकेको छ । अब राजनीतिक क्षेत्रमा संसदमा भएकालाई चुनावमा र जनताको बिचमा भएकालाई दमन गरेर सिध्याउने तानावाना भइरहेको छ । हाम्रो पार्टीका कार्यकर्ता नछोड्नु र सरकारसँग भएका सहमति कार्यान्वयन नहुनुमा पनि साम्राज्यवादको दबाब मुख्य छ । गगन, रवि, सिके नामका जेलेस्कीलाई नेपालको राजनीतिमा हावी गराउने, क्रान्तिकारी देशभक्त शक्तिलाई दमन गर्ने र नेपालमा अमेरिकी सैन्य अखडा निर्माण गर्ने षड्यन्त्र भइरहेको छ । देश तथा नेपाली क्रान्ति राष्ट्रिय मुक्ति आन्दोलनको चरण प्रवेश गर्दैछ । यसलाई क्रान्तिमा बाहिरी पक्ष (साम्राज्यवाद ) निर्णायक बन्दैछ भनिएको हो ।
.नेपाल कम्युनिस्ट पार्टीले साम्राज्यवादविरुद्ध प्रचण्ड, माधव नेपालसहितका पार्टीहरूसँग संयुक्त मोर्चा निर्माण गर्ने भन्ने पनि चर्चा छ । यसमा कतिको सत्यता छ ? यदि संयुक्त मोर्चा निर्माण गर्ने हो भने त्यसको सान्दर्भिकता, अवधारणा र प्रक्रिया के के हुन्छ होला ?

प्रधान अन्तरविरोध (नेपाली जनताको) दलाल पुँजीवाद हो । प्रधान अन्तरविरोधको पनि प्रधान पक्ष हुन्छ । नेपालको प्रधान अन्तरविरोध दलाल पुँजीवाद हो र यसको प्रधान पक्ष ‘गगन-रवि-सिके’ गुट हो । प्रधान पक्ष बाहिरका दुश्मनसँग मोर्चाबन्दी गर्ने वा तटस्थ राख्ने नीति हुनुपर्छ । अन्तर्राष्ट्रिय रूपमा अमेरिकी साम्राज्यवाद मुख्य हो ।

विभिन्न वामपन्थीहरूसँग मोर्चा बनाउनुपर्छ भन्ने धारणा हाम्रो हो । यो सकारात्मक दिशामा छ । अवधारण र प्रक्रिया बारेमा छलफल भइरहेको छ । क्रान्तिकारी ध्रुबीकरण, वामपन्थी ध्रुबीकरण र देशभक्त ध्रुबीकरण आजको आवश्यकता हो । हाम्रो पार्टी यी सबै मोर्चाबन्दीको प्रयत्न गरिरहेको छ ।
प्रचण्ड-नेपाललगायत संसदवादीहरूसँग संयुक्त मोर्चा निर्माणको कुरा गर्नुभयो । उनीहरू संसदवादी- तपाईंहरू समाजवादी / क्रान्तिकारी, कसरी एउटै गन्तव्यमा पुग्नुहुन्छ ?

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जनता समाजवादी पार्टीका उपेन्द्र यादव, नेपाल समाजवादीका अध्यक्ष बाबुराम भट्टराईसँग राजनीतिक मोर्चा बन्ने सम्भावना छैन । राजनीतिक मोर्चाका लागि दलाल पुँजीवादका विरुद्धमा उत्रिनुपर्दछ र वैज्ञानिक समाजवादी व्यवस्था निर्माणार्थ लड्नुपर्छ | मार्क्सवादका आधारभूत मूल्यहरू आत्मसात् गर्नुपर्छ । हामीले प्रचण्ड नेपालसँग मूलतः राष्ट्रियता, प्रतिगमनविरुद्धको मोर्चा बनाउने भनेका छौँ । यो विषयगत मोर्चा हो । राजनीतिक मोर्चा र कार्यनीतिक मोर्चा एउटै विषय होइन ।

संसदवादी कम्युनिस्टहरूसँगको मोर्चाबन्दीले ढिलोचाँडो तपाईंहरू पनि दक्षिणपन्थी मोर्चामा बदलिन सक्ने खतरा हुन सक्छ भन्ने चर्चा चलिरहेको छ । यसमा कतिको सत्यता छ ?

समाजवादी मोर्चा निमार्णको विषयमा हाम्रो पार्टीमा एकरूपता छ । पार्टीभित्र यस विषयमा कसैले पनि प्रश्न गरेका छैनन् । बाहिरको केही विरोधी तत्वहरूले यस्तो कुरा भनेको सुनेको छु । यो कुण्ठित, पूर्वाग्रह र तथ्यहीन विषय हो । चीनमा माओमाथि च्याङ काई सेकसँग सम्झौता गर्दा आधार – इलाका छोडेको, जनसेना विघटन गरेको आरोप थियो । लेनिनलाई त देशद्रोहीसम्म भनियो । तर यी रणनीति पछिहटाइ थिएनन् । तिनै सम्झौताले महान् छलाङ (न्चभबत ळीभबउ ) हान्न सफल भएका थिए । कार्यनीतिक मोर्चामा भएका हरेक पक्षलाई मोर्चाबाट पछि हट्ने, आफ्नो स्वत्व र स्वतन्त्रता कायम राख्ने स्वतन्त्रता हुन्छ । प्रचण्ड – नेपालसँगको सहकार्यले हामी सकिन्छौँ भन्ने चिन्ता आफ्नै क्षमताप्रतिको अविश्वास हो |

अलिकति घरेलु परिस्थितितर्फ  फर्कौ। अहिले देश इतिहासकै सर्वाधिक सङ्कटमा छ भन्ने कुरा नेकपा, अन्य बुद्धिजीवी र सरकारकै अधिकारीसमेत भनिरहेका छन् । त्यो कुरा तथ्य र यथार्थले पनि पुष्टि हुँदैछ । आजको सङ्कटको कारण र निकासको प्रश्नबारे तपाईंहरूको पार्टीको धारणा के छ ? अथवा यसलाई कसरी बुझ्दा सही होला ?

आजको राजनीतिक, आर्थिक र सांस्कृतिक समस्याको कारण दलाल पुँजीवाद हो । यसको निकास वैज्ञानिक समाजवाद हो ।

यहाँसँग हामी जनपत्रकार सङ्गठन नेपालको मुखपत्र जनपत्रकारका लागि कुराकानी गर्दैछौँ । नेपालका सञ्चार माध्यमहरूको पछिल्लो प्रवृत्ति कतातिर जाँदैछ जस्तो लाग्छ ? अथवा यसबारे छोटो टिप्पणी गर्दा कसरी गर्नुहुन्छ ?

नेपाली सञ्चारमा बहुराष्ट्रिय निगमको नियन्त्रण भएर गएको छ । सञ्चारमा पनि एकाधिकार हुँदै गएको छ । खुल्ला र छद्म विदेशी लगानीको कारण राष्ट्रियता र राष्ट्रवादी जनमत नै प्रभावित भइरहेको छ । एमसीसीको प्रतिरोधमा ठूला सञ्चार- माध्यम मौन बस्नु र एमसीसीको विज्ञापनरूपी जुठो होडमा रुमल्लिनुले यसको सङ्केत गर्छ । साना र जनबलमा काम गरिरहेका सञ्चार माध्यम भने देश र श्रमिक जनताको पक्षमा भोकै नाङ्गै भए पनि लडिरहेका छन् । दलाल र देशभक्त दुवै धार क्रियाशील छन् ।

तपाईंहरूले एकीकृत क्रान्तिका लागि सूचना – प्रविधि र सञ्चार प्रविधिको महत्त्वपूर्ण भूमिका हुने भन्नुभएको छ । यसबारे कसरी सोच्दै हुनुहुन्छ ?

माओले पार्टी, सेना र संयुक्त मोर्चालाई क्रान्तिका तीन जादूगरी हतियार भन्नुभएको थियो। सूचना-प्रविधिमा भएको अभूतपूर्व विकासले जनसङ्घर्ष, वर्गसङ्घर्ष, उत्पादन, विनिमय र युद्ध सबै क्षेत्र प्रभावित छन् । त्यसैले अब क्रान्ति र परिवर्तनका लागि सञ्चार पनि थपेर क्रान्तिका चार जादूगरी हतियार (पार्टी, सेना, संयुक्त मोर्चा र सञ्चार) मान्नुपर्छ | यो विषयमा पार्टी स्पष्ट छ । तर त्यसअनुसार हामीले गर्नुपर्ने काम धेरै छन् ।

सञ्चार माध्यमहरूका उद्देश्य, चरित्र र उनीहरूले दिने सामग्रीलाई हेर्दा पत्रकारितालाई जनपक्षीय वा मिसन पत्रकारिता र स्वतन्त्र तथा व्यावसायिक पत्रकारिता भनी विभाजन गरेर हेर्ने चलन छ । नेपालको जनपक्षीय पत्रकारिता कहाँ छ र यसका आगामी कार्यभारबारे यहाँले के भन्नुहुन्छ ?

मिसन र व्यावसायिक पत्रकारिता भन्ने बहस नै गलत र असान्दर्भिक छ मिसन नभएको, पक्षधरता नभएको, वर्गीयता नभएको मान्छे नै हुँदैन । जनता र देशको पक्षमा काम गर्नेको मिसन हो, पत्रकार होइन भनेर न्युनीकरण गर्ने उद्देश्यले शासक र सत्ता संरक्षित बुद्धिजीवीले निर्माण गरेको ‘मिसन र व्यावसायिक’ विभाजन – रेखा नै गलत भाष्य हो । स्वतन्त्र पत्रकारिता भन्ने बहस त हास्यास्पद हो । तर जनपक्षीय र जनविरोधी सञ्चार छन्, हुन्छन् र वर्ग रहुन्जेल भइरहने छन् । सम्पादकीय स्वतन्त्रता हुन्थ्यो भने अन्नपूर्ण दैनिकबाट गुणराज घिमिरे किन हट्नुपथ्यो ? नयाँ पत्रिका दैनिकमा युग पाठक १५ दिन पनि किन टिक्न सकेनन् । सञ्चार पत्रकार होइन; विज्ञापनदाता, लगानीकर्ता र प्रबन्ध निर्देशक स्वतन्त्र हुन्छन् । अरू सबै कोइला खानीका ‘हायर एन्ड फायर’ कर्मचारी मात्रै हुन् ।

नेपालको जनपक्षीय पत्रकारिता गौरवशाली छ । यो क्षेत्रमा गर्नुपर्ने काम धेरै छन् । देशको राजनीतिक अस्थिरताको अन्तर्यसहित गम्भीर छलफल चलाउन आवश्यक छ | साझा न्यूनतम कार्यक्रम बनाउन आवश्यक छ ।

जनपत्रकार सङ्गठन नेपाल जनपक्षीय पत्रकारिता आन्दोलनलाई थप उचाइमा उठाउने उद्देश्यसहित अगाडि बढिरहेको छ, यसबारे हामीले ध्यान दिनुपर्ने कुराहरू र हाम्रा नयाँ जिम्मेवारीहरू के के हुन सक्छन् ?

देश राष्ट्रिय मुक्ति आन्दोलनको चरणमा प्रवेश गर्दै गरेको, चौतर्फी सङ्कट देखा परेको, ध्रुबीकरण भइरहेका कारण सञ्चारकर्मीले विषय छनोट, बहस र भूमिकालाई नयाँ स्वरूपमा ढाल्नुपर्ने भएको छ |

.जनपत्रकार सङ्गठन नेपाल र जनपक्षीय सञ्चार माध्यमहरूलाई थप केही भन्नुहुन्छ ?
जनपत्रकार सङ्गठनले श्रमिक जनताको पक्षमा दृढतापूर्वक उभिएको छ । यो गौरवको विषय हो। यो धार कृष्ण सेन ‘इच्छुक’ हरूले निर्माण गरेको धार हो । यसको निरन्तर प्रगतिको कामना गर्दछु ।

(जनपत्रकार संगठन नेपालको मुखपत्र जनपत्रकार बाट साभार)


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।