![](https://janapatrika.com/wp-content/uploads/2023/06/IMG_20230613_082835.jpg)
मन्थली। नेपाल कम्युनिस्ट पार्टी रामेछाप जिल्लाको विशेष बैठकलाई सम्बोधन गर्न मन्थली पुगेका नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा पूर्वी ताम्सालिङ व्युरो इन्चार्ज विकल्पले समाजवादीहरुले पृथ्वीलाई वातावरणीय रुपले स्वस्थ घर बनाउँने बताएका छन् ।
‘एक लाख बिरुवा वृक्षारोपण अभियान’ इन्चार्ज विकल्प सी ले शहीद स्मृति वहुमुखी क्याम्पस मन्थलीमा सोमवार वृक्षारोपण गरी शुभारम्भ गर्दै,अहिले र पछिल्लो पुस्ताको सहज जीवनयापनको निम्ति हरियो वन, निलो आकाश र स्वस्थ पर्यावरणीय वातावरण बनाउन यस्ता अभियान आवश्यक भएको बताए।
प्रकृतिको सम्मान र संरक्षण गर्न सक्दा मात्रै मानव हित अनुकूल वातावरण बन्ने पनि बताए । ‘पृथ्वी सबैको साझा घर हो यसलाई स्वस्थ राख्नुपर्छ, बनाउनुपर्छ’। पर्यावरणीय सभ्यता निर्माणको बहस अब नेकपाले अघि बढाउने र यसमा सबैको साथ र सहयोग हुने विश्वास पनि व्यक्त गरे । साथै विद्यालय प्रशासन र ब्यबस्थापनका नेतृत्वलाई धन्यवाद समेत दिए ।
उक्त कार्यक्रममा क्याम्पस प्रमुख डाक्टर भरत श्रेष्ठले पर्यावरणमा भइरहेको क्षति र त्यसको संरक्षणका बारेमा चर्चा गरेका थिए । उनले यो अभियानको प्रशंसा गर्दै भने, ‘पृथ्वीको वायुमण्डलको विभिन्न तहहरु मानव हित प्रतिकुल बन्दै छ’ । यसप्रकारका अभियानले कार्बनको न्यूनीकरण गरेर पर्यावरणलाई स्वस्थ बनाउन योगदान पुर्याउने भएकोले यसमा सबैले सहयोग गर्नुपर्ने बताए । उनले अभियान अत्यन्तै प्रशंसनीय कार्य भएको भन्दै सफलताको शुभकामना दिए ।
क्याम्पस प्रमुख डा भरत श्रेष्ठले अभियानको टोलीलाई खादा लगाएर स्वागत गरेका थिए ।
सो अवसरमा पार्टीका केन्द्रीय सल्लाहकार यादव सी, क्याम्पस प्रमुख डा भरत कुमार श्रेष्ठ, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्याम सुवेदी, जिल्ला ईन्चार्ज चैतन्य सी, सेक्रेटरी बद्री सी, सिताराम सी, युवा संगठन नेपाल ब्युरोका संयोजक शंकर सी लगायत जिल्ला नेताहरु र विद्यार्थीहरू को सहभागिता रहेकाे थियो ।
यही जेठ २६ गते काभ्रेको काठमाडौँ विश्वविद्यालयबाट नेकपाका महासचिव विप्लवले ‘१ लाख बिरुवा वृक्षारोपण अभियान’ उद्घाटन गरेर सुरु भएको हो ।
यो अभियान काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा र रामेछापमा बर्षायाम भरी चल्ने बताइएको छ ।