१० मंसिर २०८१, सोमबार

नवौं महाधिवेशनका संश्लेषणहरु

0

हाम्रो महान् तथा जनप्रीय पार्टी नेपाल कम्युनिस्ट पार्टीको ऐतिहासिक ९औं महाधिवेशन भव्य र शानदार रुपमा सम्पन्न भएको छ । महाधिवेशनले नेपाली कम्युनिस्ट आन्दोलनको दृष्टिकोणबाट मात्र होइन, अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको दृष्टिकोणबाट समेत युगान्तकारी महत्व राख्नेछ । यसले एकातिर पार्टीका महासचिव कमरेड विप्लव सीको नेतृत्वमा अगाडि बढिरहेको वैज्ञानिक समाजवाद प्राप्तिको राजनीतिक कार्यदिशा ‘एकीकृत जनक्रान्ति’ लाई थप समृद्ध बनाएको छ भने अर्को तर्फ कमरेड माओको मृत्यु पश्चात् विश्वमा संचालित जनवादी–समाजवादी क्रान्तिहरु सफलताको सन्निकट पुगेर पनि पूर्ण सफलतामा पुग्न नसक्नुका मूलभूत कारणहरुको खोजी गर्नुका साथै लाखौंको बलिदानबाट प्राप्त गरिएका श्रमजीवी तथा उत्पीडित जनताका समाजवादी राज्यसत्ताहरु एक थोपा रगत नबगिकन प्रतिक्रान्तिमा बदलिनुको कारण के हो ? के केवल पुँजीवादी प्रतिक्रियावादी वर्गलाई दोषारोपण गरेर मात्र पुग्दछ ? पुजीवादी–साम्राज्यवादी त हमेशा समाजवादी क्रान्ति र जनसत्ताका विरुद्ध लागिरहन्छन त्यो त उनीहरुको विशेषता नै हो । हामीलाई थाहा छ कुनै वस्तु बिग्रनु र बन्नुमा वस्तुको आन्तरिक पक्ष प्रधान हुन्छ । हाम्रा आफ्ना आन्तरिक समस्याहरु कहाँ रहे ? कम्युनिस्ट पार्टी र नेतृत्वभित्र आजको २१औं शताब्दीको विश्व परिवेश अनुसार रहेका अपुगता तथा विगतमा रहेका कमिकमजोरीका बारेमा समेत गहिरो समीक्षा गरिएको थियो । आजको सापेक्षतामा महाधिवेशनले मालेमावादका तीनवटै संघटक अंगहरुमा महत्वपूर्ण संश्लेषण गरेको छ । ती संश्लेषणहरु यस प्रकार छन् । दर्शनको क्षेत्रमाः अनिश्चय, रक्षा र रुपान्तरण । राजनीतिक अर्थशास्त्रको क्षेत्रमाः एकीकृत स्वामित्वको अवधारणा । वैज्ञानिक समाजवादको क्षेत्रमाः १) वैज्ञानिक समाजवाद र जनमत । २) पार्टीको सङ्गठनात्मक सिद्धान्तको क्षेत्रमा तथ्यद्वारा रुपान्तरण । ३) भूमण्डलीकृत पुँजीवाद । ४) कम्युनिस्ट अन्तर्राष्ट्रिय छन । जस मध्ये दर्शनको क्षेत्रमा गरिएको संश्लेषण, अर्थ प्रणालीमा गरिएको संश्लेषण र पार्टी सङ्गठनको क्षेत्रमा गरिएको संश्लेषणका बारेमा यस लेखमा संक्षिप्त रुपमा चर्चा गरिएको छ : १) मुख्यकुरा दृष्टिकोणको प्रश्न हो । मालेमावादको रक्षा, प्रयोग र विकासको कडिलाई कसरी जोड्ने ? यस सम्वन्धमा पार्टीको ऐतिहासिक ८औं महाधिवेशनमा संश्लेषण गरिएको थियोे– ‘बदल्ने कुरालाई जीवन व्यवहारमा लागू गर्दै बदलिएको वस्तुको रक्षा र विकासलाई प्रधान बनाउनुपर्दछ ।’ यस संश्लेषणले माक्र्सले गर्नुभएको संश्लेषण– “संसार बुझ्ने र व्याख्या गर्ने धेरै छन्, मुख्य कुरा संसार बदल्नु हो” लाई थप विकास गरिएको हो । माक्र्सको यो संश्लेषण व्यवहारिक रूपमा प्रमाणित भएको छ । यसमा कसैको पनि फरक मत छैन । किनभने कम्युनिस्ट क्रान्तिकारीहरुले संसार बदल्न सक्छन् भन्ने कुरा पेरिस कम्युनदेखि चिनियाँ जनवादी–समाजवादी लगायत क्रान्तिहरुले पुष्टि गरिसकेका छन् । यद्यपि, कम्युनिस्टहरुका अगाडि पछिल्लो चरणमा एकातिर क्रान्ति किन सम्पन्न हुन सकिरहेका छैनन् ? अर्कोतर्फ संसार बदल्न त सकियो तर बदलिएको वस्तुको रक्षा र विकास गर्न किन सकिएन ? भन्ने यक्ष प्रश्न खडा भएका छन् । २१औं शताब्दीका क्रान्तिकारी कम्युनिस्टहरुले यी प्रश्नको उत्तर दिनै परेको छ । यी प्रश्नको उत्तर खोज्ने क्रममा माक्र्सवादको मूलमर्मलाई नै भ्रष्टिकरण गर्ने संशोधनवाद र माक्र्सवादको रक्षाको नाममा जड्सूत्रवादी चिन्तन र प्रवृतिका विरुद्ध सङ्घर्ष गर्नै पर्दछ । त्यसका लागि यहाँ केही लामा उद्धरणहरु दिनु परेको छ । निश्चय पनि लामा उद्धरणहरुले लेख बोझिलो बन्न गएको छ । यसलाई आवश्यकताको रुपमा बुझिदिनु हुनेछ । नेपाल कम्युनिस्ट पार्टीको ९औं महाधिवेशनका लागि महासचिव कमरेड विप्लवद्वारा प्रस्तुत तथा पारित राजनीतिक प्रतिवेदनको पृष्ठ ७९ मा भनिएको छ– “हामीले दर्शनलाई आदर्शवाद र शून्यवादमा विसर्जन गर्न खोज्ने आदर्शवादी दर्शन र दर्शनलाई गति र विकासबाट अलग गरेर जडवस्तुमा बदल्न खोज्ने जड्सूत्रवादका विरुद्ध सङ्घर्ष गर्नुपर्दछ ।” नेपाली कम्युनिस्ट आन्दोलनमा मात्र होइन, विश्व कम्युनिस्ट आन्दोलन मै संशोधनवाद र जड्सूत्रवादले ठूलो क्षति पु¥याएको छ । माक्र्सवादलाई गतिशील विज्ञानको रुपमा बुझ्ने र जीवन व्यवहारमा लागू गर्ने प्रश्नमा जड्सूत्रवाद बाधक बनेको छ भने माक्र्सवादको बलप्रयोगको सिद्धान्तको अपरिहार्यतामा संशोधनवाद बाधक बनेको छ । माक्र्सवाद गतिशील विज्ञान हुनुको नाताले यसले थप विकासको माग गर्दछ । थप विकासको विचार अघि बढाउँदा जड्सूत्रवादले माक्र्स, एङ्गेल्स, लेनिन, स्तालिन र माओभन्दा जान्ने हुन खोजेको, संशोधनवादी भएको आरोप लगाउन थाल्दछ भने माक्र्सवादको रक्षाको विचार अघि बढाउँदा संशोधनवादीहरुले उग्रवामपन्थीको बिल्ला भिराउन पुग्दछन् । माक्र्सवादको रक्षा र विकासका बारेमा माओको निम्न भनाइलाई गहिरोसँग आत्मसात् गर्दा जड्सूत्रवाद र संशोधनवादका भ्रमबाट मुक्त हुन सकिन्छ । “सर्वहारा वर्गको माक्र्सवादी दर्शन पनि झन बढी सजीवरुपमा समकालीन राजनीतिक कार्यको सेवा गर्ने कुरासित सम्बन्धित छ । माक्र्स, एङ्गेल्स, लेनिन र स्तालिनका कृतिहरु पढ्नु अपरिहार्य छ । त्यो काम पहिलो हुन आउँछ । तर जुनसुकै देशका कम्युनिस्टहरु र जुनसुकै देशका सर्वहारा वर्गीय दार्शनिक पङ्तिले पनि उनीहरूले सामना गरिरहेका राजनीतिक कार्यहरुको सेवा गर्नका लागि नयाँ सिद्धान्त सिर्जना गर्नु पर्दछ, नयाँ कृति लेख्नु पर्दछ र स्वयं आफ्नै दार्शनिक उत्पन्न गर्नु पर्दछ” (राजनीति अर्थशास्त्रको आलोचनात्मक अध्ययन पृष्ठ ९०) । माओले आफ्नो भनाइलाई थप स्पष्ट पार्न उदाहरण दिंदै अगाडि लेख्नुहुन्छ : “कुनै राष्ट्रले जुनसुकै बेला पनि जुन चीज पुरानो छ, केवल त्यसमाथि मात्र भर गर्नु हुँदैन । लेनिनका दुई कार्यनीतिहरु र अन्य कृतिहरु बिना माक्र्स र एङ्गेल्सलाई लिएर मात्र १९०५ र त्यसपछिका नयाँ समस्याहरू हल हुन सक्दैनथे । केवल १९०७ मा लेखिएको ‘भौतिकवाद र अनुभववादी आलोचना’ मात्रले अक्टोबर क्रान्तिभन्दा अगाडि र पछाडि उठेका नयाँ विषयहरु सफलतापूर्वक सामना गर्नका लागि पर्याप्त हुँदैनथ्यो । त्यो बेलाका आवश्यकताहरु पूरा गर्नका लागि लेनिनले ‘साम्राज्र्यवाद पुँजीवादको चरम अवस्था’, ‘राज्य र क्रान्ति’ तथा अन्य कृतिहरु लेख्नुभयो । लेनिनपछि स्तालिनले प्रतिक्रियावादीहरुको प्रतिकार गर्न र लेनिनवादको रक्षा गर्नका लागि ‘लेनिनवादका आधारभूत सिद्धान्तहरु एवं लेनिनवादका समस्याहरु’ लेख्न आवश्यक हुन गएको थियो । हाम्रो दोस्रो गृहयुद्धको अन्त तथा जापान विरोधी प्रतिरक्षा युद्धको सुरुमा हामीहरुले व्यवहारबारे र अन्तरविरोधबारे लेख्यौँ । समग्र रुपमा अहिले हामीहरु समाजवादको नयाँ चरणमा प्रवेश गरिसकेका छौँ; समस्याहरुका नयाँ श्रृङ्खलाहरु उत्पन्न भएका छन् । यदि हामीहरुले नयाँ आवश्यकताहरु पूरा गर्दैनौँ, नयाँ कृतिहरु लेख्दैनौँ र सिद्धान्तको नयाँ स्वरुप दिदैनौँ भने त्यसले काम गर्ने छैन ।” (राजनैतिक अर्थशास्त्रको आलोचनात्मक अध्ययन, पृष्ठ ९०) ।
मालेमावादमा थप विकास गर्न माओका उपरोक्त भनाइहरुले हामीलाई मार्गनिर्देश गर्दछन् । कुनै पनि वस्तुको रक्षा गर्नका लागि त्यसमा थप विकास अनिवार्य छ । आजको पुँजीवाद भूमण्डलीकृत साम्राज्यवादमा पतन भएको छ । त्यसले वित्तीय अल्पतन्त्रात्मक निगम पुँजीवादी चरीत्र धारण गरेको छ । विज्ञान र प्रविधिको प्रयोग गरेर समृद्धि हासिल गर्ने र धर्मको आधारमा शासन गर्ने नीतिलाई उसले आफ्नो वैचारिक हतियार बनाएको छ र विश्वव्यापी रूपमा आफ्ना दलालहरु खडा गरेर तेस्रो विश्वका मुलुकहरूमा निर्देशन, हस्तक्षेप, नियन्त्रण र आक्रमण गरिरहेको छ । यसप्रकारको अवस्थामा कम्युनिस्ट क्रान्तिकारीहरुले एकातर्फ साम्राज्यवादी हस्तक्षेपका विरुद्ध राष्ट्रिय मुक्ति आन्दोलन र अर्कोतिर दलाल पुँजीवादी राज्यसत्ताका विरुद्ध वर्गीय मुक्ति आन्दोलनको नेतृत्व गर्नु परेको छ । यस प्रकारको युगान्तकारी अभिभारा पूरा गर्नुपर्ने कम्युनिस्ट पार्टीका नेता कार्यकर्तामा विभिन्न प्रकारका विचलन, पलायनता, आत्मसमर्पण, विभाजन र टुट–फुटले विश्व कम्युनिस्ट आन्दोलन क्षणिक रुपमा भए पनि रक्षात्मक बन्न पुगेको छ । यसको कारण सङ्गठन परिचालन तथा शुद्धिकरण, अर्थ प्रणालीका साथ–साथै मुख्य रुपमा सिद्धान्त मै खोज्नु अनिवार्य छ । हरेक वस्तु विपरीत त्तवको एकत्व हुने हुनाले पार्टी पनि विपरीत त्तवको एकत्वको नियमबाट अलग हुने कुरै भएन । यद्यपि विपरीत त्तवको सार्वभौम नियम निरर्जीव पदार्थ, अचेतन प्राणी र सचेत मानवमा समान रुपले लागू हुन सक्छ कि सक्दैन ? यो गम्भीर प्रश्न हाम्रा अगाडि उपस्थित छ । यसका साथै कम्युनिस्ट पार्टीभित्रको विपरीत त्तवलाई कसरी बुझ्ने ? यस सम्बन्धमा हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टीको ऐतिहासिक ८ औं महाधिवेशनले पार्टीभित्रको विपरीत त्तवलाई सजातीयहरुका बिचको विपरीत त्तवका रूपमा बुझ्नु पर्दछ भनी संश्लेषण गरेको थियो । यसको तात्पर्य हो– विपरीत त्तवका नाममा कम्युनिस्ट पार्टीभित्र पुँजीवादी विचारलाई स्वीकार गरिनु हुन्न किनभने त्यसोगर्दा पार्टीभित्रको सङ्घर्ष मैत्रीपूर्ण नभै दुश्मनीपूर्ण बन्न पुग्दछ जसले गर्दा एक पक्षले अर्को पक्षलाई रुपान्तरण होइन निषेध गर्न पुग्दछ । जसको परिणाम वर्ग सङ्घर्ष कमजोर बन्ने र अन्तरसङ्घर्ष प्रधान बनी टुट–फुट र विभाजनका अनन्त श्रृङ्खलाहरु चलिरहने गरेका छन् ।
उपरोक्त समस्याहरुलाई समाधान गर्नका लागि ८औं महाधिवेशनका संश्लेषणलाई थप विकास गरी समृद्ध गर्नु ९औं महाधिवेशनको ऐतिहासिक कार्यभार हुन गएको थियो । यसै अभिभारा पूरा गर्नका लागि नेपाल कम्युनिस्ट पार्टीले दर्शनको क्षेत्रमा ‘अनिश्चय, रक्षा र रुपान्तरण’को नयाँ संश्लेषण गरेको छ । यो संश्लेषणले माक्र्सवादी दार्शनिकहरुका बिचमा निश्चय नै व्यापक बहसको सिर्जना गर्ने नै छ भने विभिन्न कोणबाट हुने वैचारिक आक्रमणको पनि सामना गर्नु नै पर्नेछ । व्यापक बहस, आलोचना र वैचारिक हमलाबाट क्रान्तिकारीहरु कत्ति पनि बिचलित हुने छैनन् । बरु सिद्धान्तलाई जीवन व्यवहारको कसौटीमा प्रमाणित गर्नका लागि तर्क, तथ्य र व्यवहारद्वारा पुष्टि गर्न हिम्मतका साथ अगाडि बढ्नेछन् । भौतिक विज्ञानमा भएको अभूतपूर्व विकासलाई भौतिकवादी दर्शनले समाज विज्ञानको क्षेत्रमा दार्शनिक रुपले संश्लेषण गर्न नसक्दा आजको बदलिएको सामाजिक परिवेशमा वैज्ञानिक समाजवादी क्रान्ति सम्पन्न गर्न संसारभरका कम्युनिस्टलाई संकटको सामना गर्नु परिरहेको छ । विगतमा स्थापित समाजवादी सत्ताहरु पनि बचाउन सकिएन । कारणहरु जेसुकै र जस्ता भएपनि हाम्रो आफ्नै जीवनमा लडिएको महान् जनयुद्धले देशको ८० प्रतिशत भू–भागमाथि विजय प्राप्त गरी आफ्नै सेना, जनसत्ता र कानुन लागू गर्न पुग्दा समेत केन्द्रीय सत्तामाथि विजय प्राप्त गर्न त सकिएन नै, जनयुद्धका उपलब्धिहरुको समेत रक्षा गर्न सकिएन । आफुलाई कम्युनिस्ट भएको दाबी गर्ने सत्ताधारीहरु चीन, उत्तर कोरिया, क्युवालगायत देशहरुले पनि वैज्ञानिक समाजवाद भन्न नसकेर ? वा लागू गर्न नसकेर ? आ–आफ्ना विशेषताका समाजवाद भन्नुपर्ने ठाउँमा पुगेको अवस्था छ । हाम्रो पार्टीको निष्कर्ष छ उपरोक्त जटिल र वास्तविक समस्याको समाधान मुख्य रुपमा दर्शनको क्षेत्र मै खोज्नु पर्दछ । हाम्रो पार्टी पुनर्गठनदेखि नै महासचिव कमरेड विप्लव सीको नेतृत्वमा माक्र्सवाद–लेनिनवाद–माओवादको रक्षाका लागि थप विकास गर्न अनिवार्य छ भन्ने कुरालाई गहिरो आत्मबोधका साथ गहन अध्ययन र गम्भीर बहसको थालनी ग¥यो र ऐतिहासिक ८औं महाधिवेशनमा मालेमावादका तीनवटै संघटक अंगहरुमा नयाँ संश्लेषण गरिएको कुरा हाम्रा दस्तावेजहरुमा प्रष्ट नै छन् । अब हामीले ९ औं महाधिवेशनले गरेका संश्लेषणका बारेमा चर्चा गरौँ ।
अनिश्चय, रक्षा र रुपान्तरण
दर्शनशास्त्रको क्षेत्र अन्तरगत अध्ययन गरिने विषयहरुलाई मुख्य रुपमा तीन भागमा वर्गीकरण गर्न सकिन्छ । १) त्तवमीमांसा अर्थात् श्रृष्टिको आदि त्तवको खोज । २) ज्ञान मीमांसा अर्थात ज्ञान प्राप्तिको श्रोत र विधिको खोज । ३) आचार मीमांसा अर्थात् पदार्थका विशेषता र मानव समाजको विकास क्रममा निरन्तर परिवर्तन भैरहने मानवीय व्यवहारहरुको पहिचान तथा अध्ययन । संक्षिप्तमा भन्नुपर्दा दर्शनशास्त्रका विषयवस्तु हुन्– सिद्धान्त, ज्ञान र व्यवहार । सिद्धान्त र ज्ञानको क्षेत्रमा कुनै विवाद र समस्या छैन किनभने सृजनाको आदित्तव पदार्थ हो भन्नेमा भौतिकवादीहरुमा कुुुनै विवाद छैन । मानव, वनस्पति र जीवहरुको उत्पत्ति हुनुभन्दा पहिले नै ब्रह्माण्डको अस्त्तिव थियो भन्ने कुरा वैज्ञानिक रुपमा प्रमाणित भैसकेको छ । त्यसैगरी, ज्ञान सिद्धान्तअनुसार भौैतिक जगत नै ज्ञान आर्जनको क्षेत्र हो । यस सम्बन्धमा माओको निम्न भनाइलाई लिन सकिन्छ, “मानिसका शारीरिक ज्ञानेन्द्रीयहरुद्वारा हुने वस्तुगत बाह्य संसारको समवेदन नै सारा ज्ञानको स्रोत हो ।” यसबाट प्रष्ट हुन्छ कि इन्द्रीय ग्राह्य ज्ञान नै ज्ञान आर्जनको पहिलो अवस्था हो । इन्द्रीय ग्राह्य ज्ञानबाट धारणात्मक ज्ञान हुँदै बुद्धिसङ्गत ज्ञानमा छलाङ्ग हान्ने कुरा वैज्ञानिक रुपमा प्रमाणित भैसकेको छ । हरेक पदार्थ गतिशील हुने हुनाले फरक अवस्थामा पुग्दा फरक रुपमा देखा पर्दछ । स्वास्थ्य विज्ञानमा मानव शरीरमा प्रवाह हुने एउटै रगत मस्तिष्कमा पुग्दा शुद्ध हुन्छ तर त्यहाँबाट फर्केर मुटुतर्फ आउँदा त्यसले बिकार बोकेर आएको हुन्छ र त्यो दुषित हुन्छ, त्यसलाई मुटुले निरन्तर शुद्धिकरण गरिरहनु पर्दछ । यस्तो नियम मानव व्यवहारमा पनि लागु भैरहेको हुन्छ । जसले गर्दा मानव व्यवहारमा समस्याहरू देखा पर्दछन् । मानव व्यवहारको अध्ययन गर्ने विधि पनि द्वन्द्ववादी विधि हो । द्वन्द्ववादी विधिका तीनवटा नियम प्रयोग हुँदै आएका छन– १) विपरीत त्तवका बिचको एकता, संघर्ष र रुपान्तरण । २) मात्रात्मक परिवर्तनबाट गुणात्मक परिवर्तन । ३) निषेधको निषेध । उपरोक्त तीनवटामा पनि मुख्य त विपरीत त्तवका बिचको एकता, संघर्ष र रुपान्तरण नै हो भनी कमरेड माओले उल्लेख गर्नुभयो । यसमा एउटा नियम थप गर्नुपर्ने भयो । त्यसैलाई हामीले “अनिश्चय, रक्षा र रुपान्तरण” भनेका छौं । भौतिक विज्ञानमा अनिश्चयको सिद्धान्त प्रतिपादन गर्ने व्यक्ति Werner Heisenberg हुन्, उनले भनेका छन्, “That the position and the velocity of an object cannot both be measured exactly at same time” । पदार्थको अवस्था (position) र प्रवेग (velocity)मा अनिश्चय हुन्छ । (uncertainty in position) (uncertainty of velocity) ।
प्रकृति विज्ञानमा लागू हुने यो अनिश्चयको सिद्धान्त समाज विज्ञानमा लागू हुन्छ कि हुँदैन ? हुन्छ । मानिस पनि प्रकृतिकै एउटा अंश भएकोले मानवको अवस्था र उसको गतिका नियममा पनि यो अनिश्चयको नियम लागू भइरहेकै छ । कुनै एउटा अवस्थामा अत्यन्तै सकारात्मक दिशामा गतिवान मानिस कुनै फरक अवस्थामा त्यही मानिस नकारात्मक दिशातर्फ अगाडि बढिरहेको हुन्छ । त्यसको कुनै निश्चित्ता हुँदैन । कुनै समयमा क्रान्तिकारी बनेको मानिस कुनै अर्को समयमा त्यही क्रान्तिकारी मानिस प्रतिक्रान्तिकारी बन्न सक्छ । हाम्रै अनुभवलाई हेर्ने हो भने पनि झापा विद्रोहका केपी ओली, जुगेडी किसान विद्रोहका रुपलाल विश्वकर्मा, महान् जनयुद्धका प्रचण्ड–बाबुराम र एकीकृत जनक्रान्तिबाट पलायन भएका कञ्चन–सुदर्शन जस्ता प्रतिनिधि पात्रहरुलाई लिन सकिन्छ । राज्यसत्ताको कुरा गर्ने हो भने पनि सोभियत रुस, पूर्वी युरोपका देशहरू र चिनियाँ वैज्ञानिक समाजवादी राज्य व्यवस्थालाई हेरे पुग्दछ । मानव सभ्यताको पहिलो अवस्था जसलाई हामीले आदिम साम्यवाद भन्ने गर्दछौ, त्यसलाई निषेध गरेको दास व्यवस्था, दास व्यवस्थालाई निषेध गरेको सामन्ती व्यवस्था, त्यसलाई निषेध गरेको पुँजीवादी व्यवस्था र पुँजीवादी व्यवस्थालाई निषेध गरेको वैज्ञानिक समाजवादी व्यवस्था पश्चात् वैज्ञानिक साम्यवादी व्यवस्था आउँछ । जुन निश्चित छ भनियो, तर त्यसमा निश्चित्ता देखिएन । निषेध गरिएको पुँजीवाद पुन नयाँ रुपमा फर्कियो । यसले हामीलाई के शिक्षा दियो भने एकचोटि क्रान्तिकारी बनेको मानिस निरन्तर क्रान्तिकारी बनिरहन्छ भन्ने निश्चित् हुँदैन । एकपल्ट वैज्ञानिक समाजवादी राज्य व्यवस्था स्थापना भएपछि त्यो सदासर्वदा रहिरहन्छ र त्यो वैज्ञानिक समाजवादतर्फ नै उन्मुख हुन्छ भन्ने कुरा निश्चित हुँदोरहेनछ भन्ने कुरा घटनाक्रमले पुष्टी गरिसकेका छन ।
अनिश्चय शब्दावली प्रयोग नगरे पनि कमरेड माओले भन्नुभएको थियो कि समाजवाद भित्र पनि साम्यवादको बिऊ र पुँजीवादको धब्बा दुबै रहेका हुन्छन् । त्यसकारण त्यसको निरन्तर रुपान्तरण गरेर मात्र रक्षा गर्न सकिन्छ । पुँजीवादी व्यवस्थाले पनि कैयांै समाजवादका विशेषता समावेश गरी आफुलाई निरन्तर रुपान्तरण गरेर मात्र आफ्नो अस्त्तिव धानेको छ । पदार्थको अवस्था र प्रवेगमा हुने अनिश्चयलाई पदार्थ कै अनिश्चय बुझ्ने र क्रान्तिका अवस्था र क्रान्तिका गतिका नियममा हुने अनिश्चयलाई क्रान्ति कै अनिश्चयता छ भनेर कदापि बुझ्नु हुदैन । क्रान्ति निश्चित् छ तर कहाँ कुन विधिबाट भन्ने कुरामा भने निश्चित् देखिएन । उदाहरणका निम्ति माक्र्सको प्रक्षेपण अनुसार सबभन्दा पहिले बेलायत, जर्मनजस्ता विकसित देशहरुमा क्रान्ति हुनुपर्ने थियो तर त्यस्तो भएन । रुसको जस्तो विधिबाट चीनमा भएन । त्यसकारण सचेत पहल र नयाँ विधिको विकास अनिवार्य छ । अतः द्वन्द्ववादका नियममा अनिश्चय, रक्षा र रुपान्तरणलाई थप गर्नु अनिवार्य बन्न पुगेको छ ।
आर्थिक सम्बन्धमा एकीकृत स्वामित्व
मानव समाजमा वर्ग विभाजन, वर्ग शोषण, वर्ग विभेद र त्यसका विरुद्ध वर्गसंघर्ष सम्पत्ति अर्थात् प्राकृतिक सम्पदा माथिको निजी स्वामित्वकै कारण पैदा भएका हुन् । त्यसैले सामाजिक उत्पादनमा निजी स्वामित्वको अन्त्य नभएसम्म मानव समाजमा मानवता, समानता, स्वतन्त्रता, शान्ति र समृद्धि सम्भव छैन । समाज परिवर्तनका निम्ति गरिने क्रान्तिहरुको मूख्य कार्यभार भनेको पनि सामाजिक उत्पादनमा रहेकोे निजी स्वामित्वको अन्त्य गर्नु हो । त्यसैले लेनिन र माओका कृतिहरुमा क्रान्तिको केन्द्रीय कार्यभार उत्पादनका साधन माथिको स्वामित्व बदल्नु हो भन्ने कुरालाई जोड दिएको पाइन्छ । त्यसैगरी क्रान्तिमा अर्थतन्त्रको कति धेरै महत्व रहेको हुन्छ, यसबारेमा एङ्गेल्सले साम्यवादको सिद्धान्तमा भन्नुभएको छ, “सबै सामाजिक परिवर्तनहरु र राजनीतिक क्रान्तिहरुको अन्तिम कारण मनुष्यको मस्तिष्कमा होइन, शाश्वत सत्य तथा न्यायको बारेमा उसको गहनतम् अन्तरदृष्टिमा होइन, यसका विपरित उत्पादन तथा वितरण प्रणालीमा हुने परिवर्तनमा निहित छन् । तिनीहरुको खोजी प्रत्येक युगको दर्शनमा होइन, बरु अर्थव्यवस्थामा खोजिनुपर्दछ ।”
उपरोक्त भनाइबाट हामी के निष्कर्षमा पुग्छौं भने क्रान्तिको लक्ष्य स्वामित्वको प्रश्न हल गर्नु हो । प्रश्न के हो भने सामुहिक उत्पादनमा मुठ्ठीभर व्यक्तिको निजी स्वामित्व कायम रहन दिने कि सामुहिक उत्पादनमा सामुहिक स्वामित्व कायम गर्ने ? मानिसलाई मानिस कै शत्रु बनाउने निजी स्वामित्व नै हो । निजी स्वामित्वकै कारण वर्ग विभाजन, वर्ग शोषण, वर्ग विभेद, वर्ग उत्पीडन भएको हो । यिनै कुराहरूको अन्त्य गर्नका निम्ति वर्ग संघर्ष अनिवार्य बन्न गएको छ । यहाँ निजीत्वको अन्त्य भन्नाले निरपेक्ष रुपमा भने बुझ्नु हुँदैन, बरु उत्पादनका साधन माथिको निजी स्वामित्वलाई बुझ्नु पर्दछ । यद्यपि सामुहिक स्वामित्व लागु गरिएका देशका श्रमजीवी जनताहरु पनि किन रमाउन सकेनन् र चाहेर वा नचाहेर पुजीवाद तर्फ सजिलै फर्किए ? यस प्रश्नप्रति पनि गम्भीरताका साथ सोच्नु पर्ने भयो । र, त्यसको वस्तुनिष्ठ उत्तर दिनु पर्ने भयो । यस सम्बन्धमा राजनैतिक दस्तावेजमा भनिएकोछ, “वस्तुतः विगतका वैज्ञानिक समाजवादी सत्तामा आएको असफलता भनेको त्यहाँ पैदा भएको अर्थराजनैतिक अन्तर्विरोध र चलिरहेको अर्थसम्बन्ध या उत्पादन सम्बन्ध कै असफलता हुन आउँछ । त्यसैगरी आज विश्वमा देखिएको सङ्कट पनि चलिरहेको भूमण्डलीकृत पुँजीवादको अर्थराजनैतिक सम्बन्ध या अर्थसम्बन्ध कै सङ्कटको विषय हो ।” (नेकपाको राजनैतिक प्रतिवेदन, २०७९ पृष्ठ ८०) ।
पुँजीवादी निजी स्वामित्व आम श्रमजीवी जनताको निम्ति अत्यन्त घातक बनेको छ भन्ने कुरामा वैज्ञानिक समाजवादीहरुमा कसैको पनि विमती हुन सक्दैन । तर विगतमा चलेका र सैद्धान्तिक हिसाबले ठीक हुँदाहुँदै पनि ती लामो समयसम्म टिक्न सकेनन । जसको फलस्वरूप विगतको जस्तो सामुहिक स्वामित्व प्रणालीले आजका श्रमजिवी जनतालाई आकर्षित गर्न सकिरहेको छैन । यस्तो अवस्थामा सामुहिक स्वामित्वतर्फ अगाडि बढ्ने उद्देश्यका साथ एउटा संक्रमणकालीन स्वामित्वको अवधारणा अगाडि बढाउन आवश्यक हुन गएको छ । योे समाजवादका विशेषतामा उल्लेख भएअनुसार “अत्यधिक समृद्धि उसको क्षमता हो तर न्युनतम् जीवन व्यवस्थापनमा राज्यको दायित्व हुनेछ” (विप्लव, वैज्ञानिक समाजवादका विशेषताहरु, पृष्ठ ११) भन्नेमा आधारित हुनु पर्दछ । मानिस सामुहिकता र निजीको योग हो । यद्यपि सामुहिकता नै प्रधान पक्ष भएकाले निजीत्व सामुदायिकताभन्दा माथी कदापि हुनु हुँदैन । आम श्रमजीवी जनतालाई खुसीका साथ निजीत्वलाई छाडेर सामुहिकतातर्फ जाने सहज र उत्साहजनक वातावरण राज्यले सिर्जना गर्न सक्नु पर्दछ । यसको अर्थ हो निजी स्वामित्वको जीवनभन्दा सामुहिक स्वामित्वमा आधारित जीवन खुसहाली र हराभरा भएको हुनु पर्दछ । त्यसप्रकारको जीवन हासिल गर्नका लागि मानवीय आवश्यकताहरुलाई तीन भागमा वर्गीकरण गर्नु पर्दछ । जसअनुसार सार्वभौमिक आवश्यकता, विशिष्ट आवश्यकता र वैयक्तिक आवश्यकता ।
सार्वभौमिक आवश्यकता अर्थात् आजको सापेक्षतामा गास, बास, कपास, शिक्षा, स्वास्थ्य, यातायात र सञ्चारमा पूर्ण समानता लागू गर्नु पर्दछ । त्यसमा कुनै पनि किसिमको भेदभाव वा पक्षपात हुनु हँुदैन । (विगतका समाजवादी सत्ताले यी सार्वभौम आवश्यकताहरुमा समानता लागु गर्न नसक्नु पनि समाजवाद ढल्नुका मूख्यकारण मध्ये एक हो ।) यद्यपि मानिसको अवस्था र पदीय जिम्मेवारीको हिसाबले आवश्यक विशिष्ट आवश्यकताहरु पनि हुन्छन् । त्यस्ता आवश्यकता पूरा गर्दा पहिलो कुरा ती औचित्यपूर्ण हुनुपर्दछ, दोस्रो कुरा ती संस्थागत हुनुपर्छ र तेस्रो कुरा ती पारदर्शी हुनु पर्दछ । वैयक्तिक आवश्यकताहरुमा स्वतन्त्रता हुनु पर्दछ । तर यो कम्युनिस्ट संस्कृतिको अनुकूल हुनु अनिवार्य छ । एकीकृत स्वामित्व प्रणालीलाई बुझ्दा राजनीतिमा हामीले भन्ने गर्दछौं कि सामुहिक निर्णय व्यक्तिगत जिम्मेवारी । सामुहिक निर्णयलाई व्यक्तिगत रुपमा सफलतापूर्वक सम्पन्न गरेमा अझ बढी जिम्मेवारीकासाथ बढुवा भई पुरस्कृत हुनसक्छ त्यसो नभएमा ऊ घटुवा भई जिम्मेवारीबाट हट्न सक्छ । यही कुरा उत्पादनको क्षेत्रमा सामुहिकता भित्र निजी उत्तरदायित्व हुन्छ कि हुदैन ? अनिवार्य हुनु पर्दछ । त्यसो भएन भने सिर्जनात्मक प्रतिष्पर्धा हुन सक्दैन, उत्पादनमा गतिरोध उत्पन्न हुनजान्छ । त्यस्तो अवस्थामा बढी मेहनत गर्ने, नयाँ नयाँ खोज तथा अनुसन्धान गर्न रातोदिन खट्नेलाई थप पुरस्कृत गर्नु पर्दछ । यसोगर्दा त्यहाँ सामुहिकताभित्र निजी स्वामित्व पनि कायम हुन पुग्दछ । यस्तो स्वामित्व प्रणालीलाई नै संक्रमणकालीन एकीकृत स्वामित्व प्रणाली भनिएको हो । एकीकृत स्वामित्वको मूल मर्मबारे राजनीतिक प्रतिवेदनमा भनिएकोछ, “एकीकृत स्वामित्व भनेको व्यक्तिका निजी क्षमता, सृजना, चाहना र आवश्यकताहरुलाई परिपूर्ति गर्दै, सारा मानव समाजलाई समानता, स्वतन्त्रता र समृद्धिमा आधारित सामुहिक स्वामित्वतिर लैजाने प्रणाली हो । भव्य आधुनिकता र समृद्धिमा आधारित सामुहिकताभित्र सुखद्, समृद्ध एवं उन्नत निजी जीवनको निर्माण यसको सार हो ।” (राजनैतिक प्रतिवेदन, पृष्ठ ८२, नेकपा नवौं महाधिवेश २०७९) ।
संगठनको क्षेत्रमा गरिएको संश्लेषण : पार्टीको तथ्यद्वारा रुपान्तरण
कम्युनिस्ट पार्टीको निर्माण समाजका अग्रगामी चेतना बोकेका सदस्यहरु मिलेर बनेको हुन्छ । यद्यपि कम्युनिस्ट पार्टीका सदस्यहरूले धेरथोर मात्रामा समाजका विकृतिहरु पनि साथमा लिएर आएका हुन्छन् वा त्यसबाट प्रभावित भैरहेका हुन्छन् । भन्नुको अर्थ हो पार्टी भित्र नयाँ–नयाँ समस्या आइरहन्छ्न । किनकि पार्टी समाजको प्रतिविम्ब पनि हुने गर्दछ । त्यस्ता समस्याहरुलाई समाधान गर्ने विधिको विकास कसरी गर्ने ? यस सम्बन्धमा महासचिव कमरेड विप्लवले भन्नुभएको छ, “समस्यालाई समाधान गर्नका लागि अनुसन्धनात्मक विधि प्रयोग गर्नु भनेको पार्टीभित्रका समस्याबारे कुनै पनि विषय अगाडि राख्दा केवल आलोचनात्मक तर्कमा मात्र उभिएर होइन, तथ्यहरु राखेर रचनात्मक तरिकालाई प्रयोग गर्नु हो ।” (विप्लव, जनक्रान्ति, अङ्क ६, महाधिवेशन विशेष, २०७९ पुस, पृष्ठ २०)
त्यसैले समाज रुपान्तरणका निम्ति वर्ग संघर्षको बलिदानी अभिभारा बोकेको पार्टी र त्यसका नेता कार्यकर्ता निरन्तर रुपमा रुपान्तरण भइरहनु पर्दछ । त्यस्तो रुपान्तरण के कस्ता सिद्धान्त र विधिद्वारा संचालन तथा परिचालन गर्नुपर्दछ ? यो निकै महत्वको प्रश्न हो । यस सम्बन्धमा माक्र्स–एङ्गेल्सले ठोस नीति अगाडि सार्नु भएको पाइँदैन । संगठनात्मक सिद्धान्त, विधि र पद्धतिको बारेमा लेनिनले विशेष रुपमा ध्यान दिएको पाइन्छ । त्यसैले संगठन संचालनका विधि र पद्धतिलाई हामी कम्युनिस्टहरुले लेनिनवादी संगठनात्मक सिद्धान्त भन्ने गर्दछौं । लेनिनवादी संगठनात्मक सिद्धान्तले संगठन परिचालनमा निकै ठूलो योगदान पु¥याएका छन् । ती अहिले पनि प्रभावकारी नै छन् । यद्यपि संगठन निरन्तर गतिशील हुनु र समाजको प्रतिविम्ब हुनुको नाताले नयाँ–नयाँ समस्याहरू थपिने गर्दछन् । संगठनमा आएका त्यस्ता नयाँ समस्याहरुलाई हल गर्न कमरेड माओले आलोचना र स्व–आलोचनाको विधिको थप विकास गर्नुभयो । यस विधिले संगठनलाई स्पातिलो बनाउन निकै ठूलो योगदान पु¥याएको थियो । तर पछिल्लो चरणमा यो विधिलाई अत्यन्त भ्रष्टिकरण गरियो । स्व–आलोचना निस्प्रभावि बन्नु, आलोचना मात्र प्रभावि बन्नु, त्यो आलोचना पनि कतिबेला गल्ती गर्ला र त्यसलाई पदबाट हटाएर आफू पदासिन हुन पाइएला भनेर गांैडा कुरेर बस्ने हुनु, कसैले आफ्नो आलोचना ग¥यो भने बदलाको भावना राख्नु, असहिष्णु बन्ने र बिना तथ्य प्रमाणका झुट्टा आलोचना गर्ने । आलोचनालाई स्वस्थ तरिकाद्वारा सहयोद्धा कमरेडलाई रुपान्तरण गर्ने विधिको सट्टा प्रतिशोध साँध्ने माध्यमको रुपमा प्रयोग गर्ने जस्ता कारणहरुले गर्दा पार्टी भित्र वैचारिक र भावनात्मक एकता कायम हुन नसक्ने अवस्था सिर्जना हुने गरेको छ ।
उपरोक्त कारणहरुले गर्दा कम्युनिस्ट पार्टी भित्र स्व–आलोचना र आलोचनाको एजेन्डा नै निस्प्रभावी बन्न पुग्नु र पिठपछाडि कुरा काट्ने प्रवृत्ति झाङ्गिन पुगेको छ । यसको हल गर्नु एउटा क्रान्तिकारी कम्युनिस्ट पार्टीका निम्ति अनिवार्य बन्न पुगेको छ । यही आवश्यकता पूरा गर्नका निम्ति संगठनात्मक क्षेत्रमा “पार्टीको तथ्यद्वारा रुपान्तरण”को संश्लेषण गरिएको हो । तथ्य प्रमाणको आधारमा मुख्य उद्देश्य रुपान्तरणलाई केन्द्रविन्दुमा राखेर सहयोद्धा कमरेडलाई रुपान्तरण गरेर मात्र पार्टीमा वैचारिक र भावनात्मक एकता कायम गरी पार्टीलाई स्पातिलो बनाउन सकिन्छ । यस संश्लेषणको मूल उद्देश्य यहि हो । यहाँ यो हेक्का राख्नु आवश्यक छ कि संगठन परिचालन र रुपान्तरणका सम्बन्धमा लेनिन र माओले विकास गर्नु भएका विधिहरुलाई छाड्ने भनेको हुँदै होइन, बरु तिनलाई जीवन व्यवहारमा लागू गर्दै थप विकास गर्ने भनेको हो ।

  स्रोतः जनपत्रिका मासिक दोस्रो अंकमा प्रकाशित


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।