३ बैशाख २०८१, सोमबार

एकता र संयुक्त मोर्चाबारे

0

विचार सिद्धान्त मिल्नेसँग एकता, राजनीतिक उद्देश्य मिल्नेसँग संयुक्त मोर्चा र मुद्दा मिल्नेसँग कार्यगत एकता गर्ने हाम्रो महाधिवेशनको निष्कर्ष छ । ६ महिना नपुग्दै पार्टी आफ्नो निष्कर्षमा सफल बन्दै गएको छ । यो देश र जनताका लागि निकै सुखद् उपलब्धि हो । यसले एकीकृत जनक्रान्ति र वैज्ञानिक समाजवाद सफलताको संभावना छ भन्ने सावित गर्दछ ।

इतिहास सिद्ध छ कि जुन पार्टीले एकता, सयुक्त मोर्चा र कार्यगत एकताबारे सुस्पष्ट धारणा र नीति निर्माण गर्न सक्छ, साथै व्यवहारमा सफल बनाउन सक्छ, उसैले अरूको भन्दा राम्रो विजय हासिल गर्छ ।
कम्युनिस्ट पार्टीको मुख्य लक्ष्य वैज्ञानिक समाजवादी सत्ता र व्यवस्थाको स्थापना गर्नु हो । श्रमिकवर्ग, मध्यमवर्ग, बुद्धिजीवी र आम नागरिकहरूको समुन्नत जीवन निर्माण गर्नु र नयाँ मानव सभ्यतातिर डोऱ्याउनु हो । नेपाल कम्युनिस्ट पार्टी यिनै उद्देश्य र लक्ष्यका लागि एकता, संयुक्त मोर्चा र कार्यगत एकतामा बढिरहेको छ । विविध कठिनाइका बावजुद् राम्रा सफलताहरु हासिल गरिरहेको छ।

पार्टी एकतामा सफलता

बैशाख महिनामा तीनवटा पार्टीबिच एकता सम्पन्न भएका छन् । नेपाल कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टी (माओवादी समाजवादी) बिच पार्टी स्थापना दिवसकै दिन अर्थात् बैशाख ९ गते उत्सवमय वातावरणमा सम्पन्न भयो । अर्को एकता नेपाल कम्युनिस्ट पार्टी र श्रमिक जनता पार्टीका बिच श्रमिक दिवसका दिन अर्थात बैशाख १८ गते सम्पन्न भयो । दुवै एकतापछि नेपाल कम्युनिस्ट पार्टी अरू सुदृढ बनेको छ । एकता विस्तार हुँदै जाँदा कम्तिमा पनि शोषण उत्पीडनमा परेका नागरिकहरूले सम्झिने र भारोसा गर्ने पार्टी बन्दै गएको छ । एक असल जनसेवक पार्टीको सबैभन्दा ठूलो पुँजी या तागत नै जनताको विश्वास हो ।

नेपाल कम्युनिस्ट पार्टी र निकै धेरै क्रान्तिकारी कमरेडहरूसँग एकता भइसकेका छन् । अन्य क्रान्तिकारी कमरेड र पार्टीहरूसँग एकताका छलफल भइरहेका छन् । केही कमरेडहरूसँग छिट्टै एकता हुँदैछ भने कैयौं कमरेडहरूसँग एकताको संभावनाहरू बन्दै गएका छन् |
संभवतः इमान्दार कम्युनिस्टहरूले जता भए पनि एकताको महत्व पहिले कहिल्यैभन्दा नजिकबाट संभव र जरुरी देखिसकेका छन् । समयलाई चिन्ने र आफ्नो पहलभित्र ल्याउने चेतको महत्व पनि यसैमा छ । यसलाई इतिहासको बोध र ज्ञान भन्न सकिन्छ ।

एकता र मोर्चाबन्दि अपरिहार्य बन्न पुगेको यथार्थलाई क्रान्तिकारीहरूले या कम्युनिस्टहरूले बुझेनन् या बुझेर पनि समात्न हिचकिचाए भने समयभन्दा निकै पर छुटिसक्ने छन् । त्यसपछि बाँकी रहने जम्मा विषय समीक्षा मात्र हो ।

संयुक्त मोर्चाको विषय

संयुक्त मोर्चा मूल राजनीतिक अन्तर्विरोध र उद्देश्यमा मेल हुने तर कैयौं राजनीतिक, वैचारिक, सङ्गठनात्मक, साँस्कृतिक विषयमा मतभिन्नता हुने शक्तिहरूका बिचमा हुने सहकार्य हो । यो सहकार्य र स्वतन्त्रताको मान्यतामा संचालित हुन्छ । राजनीतिक सङ्घर्ष एवं वस्तुस्थिति अनुरूप यो दीर्घकालसम्म जाने पनि हुन्छ ।

कम्युनिस्ट पार्टीले सबै विषय नमिल्ने तर मूल लक्ष्य मिल्ने वर्ग, प्रवृत्ति, व्यक्ति र पार्टीसँग सयुक्त मोर्चा गर्दछ । त्यसमा मित्र वर्ग, प्रगतिशील, वामपन्थी, देशभक्त, कम्युनिस्ट शक्तिहरू पर्दछन् । संयुक्त मोर्चा त्यसमा सहभागि शक्तिहरूको निश्चित राजनीतिक लक्ष्य प्राप्त नभएसम्म जान्छ ।

प्रतिबन्धको समयमा नेपाल कम्युनिस्ट पार्टी, नेपाल कम्युनिस्ट पार्टी(क्रान्तिकारी माओवादी), नेपाल कम्युनिस्ट पार्टी, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका बिचमा रणनैतिक संयुक्त मोर्चा बनाउने निर्णय घोषणा भएको थियो । तर हामीमाथिको प्रतिबन्ध हटेपछि क्रान्तिकारी माओवादीको नेतृत्वमा देखा परेको रुढीवाद, कुण्ठा र सङ्किर्णताले आम जनता र पार्टी भित्रका नेता-कार्यकर्ताको चाहना हुँदाहुँदै पनि सफल हुन या अगाडि बढ्न सकेन ।

पछिल्लो पाटक नेपाल कम्युनिस्ट पार्टी, नेपाल कम्युनिस्ट पार्टी, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टी (माओवादी समाजवादी) का बिचमा व्यापक छलफल भएपछि समाजवादी देशभक्त मोर्चा गठन गर्न सफल भएका छौं । नेपाल कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टी (माओवादी समाजवादी)पार्टीका बिचमा एकता भइसकेकाले यो मोर्चामा हाल तीन पार्टी मात्र बाँकी छौं । नेपालको कम्युनिस्ट आन्दोलनमा यो पनि नयाँ प्रयोग र अभ्यास हो। यसलाई पनि नौलो थालनी र सफलता भन्न सकिन्छ ।

समाजवादी देशभक्त मोर्चा विधिवत् रूपले गठन भएपछि यसको वैचारिक, राजनीतिक, सङ्घर्ष जस्ता विषयमा एकरूपता कायम गरेको छ । यसले दलाल पुँजीवादी सत्ता र संसदीय व्यवस्थालाई अस्वीकार गर्छ र यसको स्थानमा वैज्ञानिक समाजवादी सत्ताको स्थापनालाई आफ्नो लक्ष्य ठान्दछ । साथै यो मोर्चाले दलाल पुँजीवादी सत्ता र साम्राज्यवादीहरूका हस्तक्षेप विरुद्ध राष्ट्रिय स्वाधिनताको नेतृत्व गर्दछ । समाजवादी- देशभक्त मोर्चा बनेपछि यसले मिटर व्याज, भ्रष्टाचार, लघुवित्तका विरुद्ध केही कार्यक्रम पनि आयोजना गरिसकेको छ । जनतामा यसको प्रभाव राम्रो रहेको छ ।

पछिल्लो समय संसद् र सरकारमा रहेका कम्युनिस्ट पार्टी र हामी सडकबाट सङ्घर्ष गरिरहेका कम्युनिस्ट पार्टीका बिचमा पनि समाजवादी मोर्चा बनाउने छलफल चलिरहेको छ । विगतको स्थान, भूमिका र सोंचबाट यो संभव विषय नै होइन । तर साम्राज्यवादको तीव्र हस्तक्षेप, षडयन्त्र र त्यसलाई देख्नसक्ने चेतका पृष्ठभूमिमा यो आवश्यक मोर्चा हो । नयाँ परिस्थितिमा नयाँ चेत जीवन्त मार्क्सवाद हो । वस्तु र चेतलाई मिलाउनु नै मालेमावादको गुदी कुरा हो ।

कार्यगत एकताको विषय

मुद्दा मिलेका विषय र स्थानसम्म सहकार्य नै कार्यगत एकता हो । यो कम्युनिस्ट पार्टीहरूका बिचमा मात्र हुँदैन, देशको स्वाधिनता, जनताका दुःख, महङ्गी, बेरोजगारी, गरिबी, असुरक्षा, शिक्षा, स्वास्थ्य जस्ता विषयमा कुरा मिल्ने राजनीतिक शक्तिहरू जोसँग पनि हुन्छ । मुख्य मुद्दाको समस्या हल नभएसम्म कार्यगत एकता कायम रहन्छ । मुद्दा हल भएमा कार्यगत एकता नयाँ मुद्दा आएछ भने पुनः पनि सकिन्छ । जनताका सामु कार्यगत एकता पनि अगाडि आउन सक्छ ।

हालै १० वर्षे महान् जनयुद्धलाई अपराधीकरण गर्न खोज्ने साम्राज्यवादी-दलाल पुँजीवादी प्रवृत्ति विरुद्ध हामीले विगतका माओवादी घटकहरूसँग सहकार्य गर्ने नीति अवलम्बन गर्यो । सरकारमै बसेको नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)सँग पनि संयुक्त कार्यक्रममा गयौं । यसले श्रमिक जनतामा निकै राम्रो प्रभाव दियो । एक वर्ष पहिले एमसीसी र एसपीपीका विरुद्ध कैयौं वामपन्थी, कम्युनिस्ट र देशभक्त शक्तिसँग सहकार्य गर्‍यौ । त्यसबेला सारा देशभक्तहरूलाई उत्साहित बनायो । दुवै कार्यगत एकताले प्रतिक्रान्तिकारी, प्रतिक्रियावादी, साम्राज्यवादी, दलाल पुँजीवादीका षड्यन्त्रलाई कमजोर बनाउन मद्दत गरे । कतिपय जनवर्गीय सङ्गठनहरूले पनि यस खालको कार्यगत एकता गरेर सङ्घर्ष गरिरहेका छन् । तिनको परिणाम पनि राम्रो आएको छ |

एकता र सहकार्यका समस्या

एकता, सयुक्त मोर्चा, कार्यगत एकता जे गर्दा पनि हाम्रा सामु दुईवटा समस्या मुख्य बनेर आउँछन् । पहिलो राजनीतिक विचार, दोस्रो नेतृत्व । दुवै विषय राजनीतिक पार्टी र आन्दोलनका लागि ज्यादै महत्वका हुन्छन् । अगाडि बढ्दै जाँदा सङ्घर्षको विषय पनि त्यतिकै तीखो बनेर आउँछ ।

मान्छे आफैमा प्रतिस्पर्धात्मक एवं सृजनात्मक प्राणी हो । झन् पार्टी भनेको नेताहरूको संस्था हो । सामाजिक, आर्थिक एवं राजनीतिक रूपान्तरणको सोँचसहित सङ्गठित भएको पार्टी र त्यसलाई नेतृत्व दिन तयार नेताको सम्बन्ध सोँचेभन्दा संवेदनशील हुन्छ नै । जब एकता, मोर्चा र कार्यगत एकताको विषय आउँछ त्यसबेला हरेक नेतृत्वले आफ्ना सोच र सृजनाहरूको प्रयोग र परीक्षणको चाहना राख्नु स्वभाविक हुन्छ । त्यो भनेको विचार र नेतृत्वको विषय नै हो । विचार र नेतृत्वपछि प्रधान अन्तर्विरोध या समस्यालाई समाधान कसरी गर्ने भन्ने सङ्घर्षको विषय अगाडि आउँछ ।
|
सामान्यतः विचार र नेतृत्वको विषय अमूर्त हुँदैन । प्रत्यक्ष अप्रत्यक्ष प्रतिश्पर्धा, जनसमर्थन, वर्ग सङ्घर्ष, विचार विकासका प्रकृयाले तिनलाई स्वीकृत गर्दै लगेका हुन्छन् । वर्ग सङ्घर्ष र राजनीतिक सङ्घर्षमा नेतृत्व र विचार मूर्तरूपले व्यक्त भइरहेका हुन्छन्, यो वास्तविकता हो । तर यो निर्विवाद भइहाल्दैन । हरेकले आफ्नो उपस्थिति र नेतृत्वसहित नै स्वीकार्ने हो । तर कहिलेकाही निर्णायक नै यही बन्न पुग्छ र सहकार्यहरू असफल बन्न पुग्छन् ।

नेपाल कम्युनिस्ट पार्टीले एकीकृत जनक्रान्तिको संश्लेषण गरेदेखि दर्शन, अर्थस्वामित्व, राजनीतिक प्रणाली, संस्कृति जस्ता विषयमा नयाँ संश्लेषण गरेर प्रयोग गरिरहेको छ । अन्य पार्टीहरूले पनि गरिरहेका छन् । तर यति भन्न सकिन्छ कि नेपाल कम्युनिस्ट पार्टीले जे गरिरहेको छ, यी नेपाली क्रान्तिमा विकास भएका विचारहरू हुन् । यी केवल नेकपा र यसका नेताहरूका मनोगत निष्कर्ष मात्र होइनन् । यसभित्र कुनै न कुनै रूपले सङ्घर्षरत क्रान्तिकारी वर्ग, प्रवृत्ति र नेताहरूका विचार पनि केन्द्रीत भइरहेका हुन्छन् र छन् । यदि ती भइसकेको छैन या हुन बाँकि छन् भने पनि सङ्घर्ष, अनुसन्धान र प्रयोगका बिचबाट हुन जान्छन् । यसो भनेर नेकपाले अरूबाट सिक्न र लिन हुँदैन भन्ने कदापी होइन । हरेकका सही विचारहरूलाई ग्रहण गर्नै पर्छ । पार्टीको कुरा मात्र होइन सही विचार जनताका जुनकुनै सदस्यबाट पनि लिनु पर्छ । जब हामी एकताबद्ध र मोर्चाबद्ध हुन चाहने प्रवृत्ति, पार्टी र नेताहरू फराकिलो प्रकारले अर्काका असल विचारहरू ग्रहण गर्न तयार हुन्छौं, एकता र मोर्चा निर्माण गर्न सहज हुन्छ हामी सफल हुन सक्छौं । हाम्रो पार्टीले यही विचार र मार्गलाई  पकड्ने छ ।

(६ जेष्ठ २०८०जनपत्रीका अंक ३)


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।