१२ श्रावण २०८१, शनिबार

दक्षिणबाट भयानक प्रतिगामी हावा चलिरहेको छ

0

देशमा चरम निराशा भइरहेको बेला तपाईहरूको प्रयास मरुभूमिमा कुवा भेटिएझैं भएको छ । तपाईहरूले विद्रोहको कुरा गरिरहनु भएको छ । माओले विद्रोह गर्नु अधिकार हो भन्नु भएको थियो । विभेद र उत्पीडनमा परेकाले कुनै पनि प्रकारको विद्रोह गर्न पाउँछन् । माक्र्सवादको गुदी कुरा यही हो । जनयुद्धले नेपाली समाजको चेतना गुणात्मक रुपले उठायो । सामन्तवाद ढल्यो । केही पनि भएन भन्ने कुरा सही होइन ।
माक्र्सले मजदुर वर्ग सत्ता लिनेगरी परिपक्व नभइसकेको हुनाले सत्ता लिनु हुन्न भन्नुभएको थियो मजदुरले पेरिसमा माक्र्सको सुझाव मानेनन् । सत्ता लिएपछि ‘लिइहाल्यौ सलाम !’ भन्नुभयो । पेरिस कम्युन ढलेपछि तिमी र हामीले चाहेर मात्र हुँदैन भन्नुभयो । उहाँले मजदुर वर्गलाई सैद्धान्तिक काम गर्न र जनवर्गीय सङ्गठनको काम गर्न सुझाउनु भयो । त्यसपछि माक्र्स आफैं पुँजी कृति लेख्न लाग्नुभयो । सर्वहारा वर्गको सत्ता कायम गर्न पुँजीको लेखन अनिवार्य थियो । त्यो वैचारिक काम माक्र्सले गर्नुभयो ।
साम्राज्यवाद विश्व–युद्धमा फँसेको समयमा रुसमा क्रान्ति भयो । सन् १९१४–१९१८सम्म भएको पहिलो विश्वयुद्ध युरोपमा भएको थियो । युरोपमाभन्दा झण्डै २ सय वर्षपछि बल्ल नेपालमा राजतन्त्र ढल्यो । हाम्रो समाजको विकासको स्तर धरै पछाडि छ । आज दक्षिण अफ्रिकासहित सबै देशहरूमा पुँजीवादी क्रान्ति भएको छ । समाजमा विभिन्न वर्गहरूको उदय भएको छ । सर्वहारा वर्गमात्र छैन र उसले एक्लै क्रान्ति गर्न सक्दैन । हामी पुरानै सोंचमा थियौं । आन्दोलन अवरुद्ध भयो । सबै गुमाउनुभन्दा आधा जितौं भनेर हामी शान्ति प्रक्रियामा आयौैं ।
दरबार हत्याकाण्ड हाम्रा विरुद्ध थियो । २०६४को संविधानसभाको चुनावमा हामीले ४० प्रतिशत मत ल्यायौं । जबकि लेनिनको पार्टीले २५ प्रतिशत मात्र मत प्राप्त गरेको थियो । हामी फुटेर कमजोर भयौं । उनीहरूले तिकडम गरे । उनीहरूसँग अनुभव छ । चालु संविधान २०४७ सालकै जस्तो होइन र समाजवादी चरित्रको पनि होइन । श्रमिक वर्ग र पुँजीपति वर्ग दुवैको शक्ति सन्तुलनको संविधान हो । ‘अभागीलाई खाने बेलामा रिस उठ्छ’ भन्छन् । हामी त्यस्तै भयौं ।
इतिहास सरल रेखामा जान्थ्यो भने उहिले नै साम्यवाद आइसकेको हुन्थ्यो । गिलासमा आधा पानी छ, भर्दै जानुपर्छ ।
दक्षिणतिरबाट भयानक प्रतिगामी हावा चलिरहेको छ । त्यहाँ प्रतिगामी शक्ति उदाएको छ । आजभोलि मैले रत्नपार्कको चटक हेर्न पाएको छैन । चटकेले एउटा औषधीले सयवटा रोग निको हुन्छ भन्थ्यो । राजनीति भनेको विचार, दर्शन केही नभएको चटकेको खेल हो ? जसले प्रतिगमनको आधार तयार गरिरहेको छ ।
कार्ल माक्र्स भएको भए आजको पुँजीवादलाई कसरी हेर्नुहुन्थ्यो होला ? लेनिन भएको भए के गर्नुहुन्थ्यो होला ? शुरुमा पुँजीवादले वस्तु निर्यात गर्दथ्यो । त्यसपछि वस्तुको सट्टा पुँजी निर्यात गर्न थाल्यो । आज ब्याज खाने पुँजीवाद छ । पुँजीवादको चरित्र बदलिएको हुनाले क्रान्तिको तरिका पनि नयाँ आवश्यक हुन्छ ।
आज गाउँ छैन ; नगर समाज बन्दैछ । गाउँले शहर कसरी घेर्नु ? भारतको ठूलो मात्राको उत्पादन र धेरै अनुदानको कारण हाम्रो कृषि क्षेत्र चौपट भएको छ । जसको कारण युवा श्रम–शक्ति पलायन भएको छ । हाम्रो पुँजीपति वर्ग दलाल र लम्पट चरित्रको छ । अर्काको सामान बेचेर कमिशन खाएर जिविका चलाउँछ । उत्पादन गर्दैन । त्यही कारण सरकार र श्रम–शक्तिको चरित्र पनि त्यसै अनुसार प्रभावित छ ।
यो कार्यक्रमको ऐतिहासिक महत्व हुनसक्छ । कम्युनिस्टहरू बिच एकता सम्भव देखिन्न । मोर्चा बनाएर जान सकिन्छ । म कम्युनिस्ट विरोधी होइन । मलाई जनयुद्धको समयमा सबैभन्दा धेरै दक्षिणपन्थी भन्ने विप्लव नै हो । तर मलाई व्यक्तिगत रुपमा इमान्दार भन्नुहुन्थ्यो । विप्लवको सोच मलाई उग्र लाग्दथ्यो । तर उहाँ इमान्दार पनि लाग्दछ ।
परिस्थिति फेरिएको छ । साम्राज्यवाद आइसक्यो । छिमेकमा अजिङ्गर छ । गम्भीरतापूर्वक सोचेर अघि बढिएन भने प्रतिगमन फर्किन सक्छ ।

(२०८० बैसाख ९ गते नेकपाद्वारा आयोजित पार्टी स्थापना दिवस समारोहको अवसरमा खुल्लामञ्च, काठमाडौंमा व्यक्त विचारको सम्पादित अंश)

स्राेत: जनपत्रिका तेस्रो अंकमा प्रकाशित


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।