९ बैशाख २०८१, आईतवार

टीकापुर घटनाको चिरफार : सङ्क्षिप्त टिप्पणी

0

बहुमुखी प्रतिभाका धनी तथा बहिर्मुखी स्वभाव भएका लेखक, कवि, कलाकार तथा पत्रकार रेशम चौधरीको कृति ‘टीकापुर घटनाको चिरफार’ २०८० बैसाख १३ गते हात प¥यो । विवादास्पद घटना हुनु, चर्तित घटना र हाम्रो बिचमा छलफल भइरहने विषयसमेत भएको कारण हातमा पर्नासाथ तुरुन्तै अध्ययन गरें । अध्ययन पश्चात् एकजना जिज्ञासु पाठकको हैसियतमा संक्षिप्त टिप्पणी प्रस्तुत गर्ने कोशिस गरिएको छ ।
यो कृतिको सबैभन्दा महत्वपूर्ण पक्ष जन्मिएको माटोप्रतिको प्रेम हो । संस्कृतमा एउटा भनाइ छ, ‘जननी, जन्म भूमिश्च स्वर्गादपी गरियसी !’ (आमा र जन्मभूमि, स्वर्गभन्दा महान् हुन्छन्) । देशभक्ति वा राष्ट्रवाद नारा उराल्ने विषय मात्र होइन । यसका अनेक आयाम छन् । ती आयाममध्ये भाषा एउटा हो । जब साम्राज्यवादले आक्रमण गर्दछ, सबैभन्दा पहिला त्यस देशको भाषामाथि आक्रमण गर्दछ । फिरिङ्गीहरूले भारतका स्थानीय भाषामाथि आक्रमण गरेका थिए । श्रीलंकामा त्यसै गरेथे । संस्कृतिको प्राण भाषा हो । हामी जुन भाषामा कृति रचना गर्दछौं, त्यही भाषाका शब्दहरू प्रयोग गर्नु पर्दछ । कृतिको मूल भाषामा आफूले व्यक्त गर्न खोजेको भाव वा अर्थबोध गर्ने शब्दको अभाव भएमा छिमेकबाट सापटी लिनुपर्छ । वल्लो घर छोडेर पल्लो घरमा आगो माग्न गइन्न । नेपाली वा खस–पर्वते भाषामा कृति तयार गरेपछि त्यही भाषाका शब्द प्रयोग गर्नु, आवश्यक परे थारु, मैथिली, नेपाल, तामाङ आदि छिमेकी भाषाका शब्द प्रयोग गर्नु उतित हुन्छ । तर लेखकले भाद्र (संस्कृत), मिडिया (अंग्रेजी), जी (हिन्दी) जस्ता अनेक विदेशी भाषा ठेलठाल गरेका छन् । यस्तो विदेशी भाषाको ‘गलगाँड’ किन बोक्नु प¥यो ? यसो गर्दा हाम्रो भाषा, संस्कृति तथा राष्ट्रियतामाथि आक्रमण भएन र ! त्यतिमात्र होइन, स्तरीय लेखनले भाषा विज्ञानमा पनि सून्य अशुद्धि (Zero-error) को माग गर्दछ । राष्ट्रियता भनेको सडकमा नारा उराल्ने विषय मात्र पक्कै होइन । लेखकबाट यो पक्षमा सचेतताको अपेक्षा !
कृतिमा देखिएको अर्को सीमा भनेको व्याकरणीय समस्या हो । शारीरिक विकास, परिवर्तन र शब्दको अर्थबोध अनुसार व्याकरण बन्छ र परिवर्तन हुन्छ । हजारौं वर्षमा हुने शारीरिक परिवर्तनमा स्वर–नलीमा पनि परिवर्तन आउँछ । भौतिक अवस्थाले स्वर, लय आदिमा प्रभाव पर्छ । त्यसैले भाषा विज्ञान लहडको विषय होइन । सग्लो अक्षर–काटेको (हलन्त), लघू–ह्रश्व, ब, व, जोड्ने, छुट्याउने आदिमा थुप्रै त्रुटीहरू रहेका छन् । त्यसैगरी हिन्दी शब्दको गठन प्रक्रियामा गम्भीर त्रुटीहरू देखिन्छ । यद्यपि निर्वासन, जेल, हिरासतमा बसेर कृतिहरू लेख्नु, जेल बाहिर पठाउनु र प्रकाशन गर्नु असामान्य र कठीन काम हो । त्यस अर्थमा त्रुटीहरू रहनुलाई सामान्य मान्नुपर्छ । किनकि जेलको पीडा जेलमा नबसेकाले राम्ररी बोध गर्न सक्दैनन् । म त्यसको भुक्तभोगी छु र जेलको पीडा बुझ्न सक्छु । यद्यपि सून्य त्रुटी होस् भनेर मेहनत गर्नैपर्छ ।

टीकापुर घटनापछि कैलाली जिल्लाको थारु समुदायमाथि गरेको ज्यादतीको विषयमा हाम्रो बिचमा हुने गरेका छलफल र लेखकले ‘चिरफार’मा उल्लेख गरेका विषयमा समानता पाएँ । मैले भरतपुर, चितवनको, हिरासतमा हुँदा ‘थारु र चेपाङ समुदाय विरुद्ध राज्य’ शिर्षकमा लेखेको थिएँ थारु र चेपाङ आदिवासीको विरुद्ध राज्यसत्ता तथा शासकले गरेका सयौं ज्यादतीका प्रमाण मसँग छन् । शासक वर्गले आदिवासी जनतामाथि दोस्रो दर्जाको व्यवहार गर्दै आएको छ । नीतिगत ज्यादती (नीतिगत भ्रष्टचार जस्तै) गरेको छ । रेशम चौधरीसहित थारु समुदायका भोगाइ र अनुभूतिमा सत्यता छ । थारु, चेपाङ, गुरुङ, कोचे जस्ता आदिवासीहरू त नेपालका फिरन्ते र एक–दुई पुस्ता वरपर बनियागिरी गर्न वा नक्कली नागरिकता बोकेर उफ्रेका समुदाय पनि होइनन् । टीकापुर घटना र त्यस वरपर भएको विद्रोह राज्य नियन्त्रित ज्यादती विरुद्ध हो । जनताको विद्रोहलाई दवाउन र परम्परागत वर्चस्व (जसमा जनजाति नेता पनि छन्) कायम राखिरहनको लागि षड्यन्त्रपूर्ण रुपमा टीकापुर घटना घटाइएको देखिन्छ ।
 हाम्रो पार्टीभित्र र आलोचनात्मक चेत भएका, पूर्वाग्रह नभएका मान्छेहरूबिच घरेलु हतियारले प्रतिरोधमा उत्रन खुलेआम आव्हान गर्ने नेताहरूको रौं हल्लिन्न । तर थारुहरूमाथि अकल्पनीय ज्यादती गरिन्छ । वास्तविकता के हो ? कृतिमा रेशम चौधरी भन्छन्, “वास्तवमा अखण्ड पक्षसँग खुकुरी, बन्चरो र थारुहट पक्षसँग लाठी मात्रै थियो । तर केही दिन पहिले मात्रै गरिएका आन्दोलनका भाषणले ती रिक्त स्थानको पूर्ति गरिदिए । घरबाट भाला, बन्चरो बोकेर सडकमा आउनु है भनेर उचाल्ने काङ्ग्रेसका अमरेश कुमार सिंह, विजयकान्त कर्ण, राजेन्द्र महतो, उपेन्द्र यादवहरू थिए । मधेसी नेताहरू बोले, गए । उनीहरूको शब्दावलीको पालना अखण्ड सुदुरपश्चिम पक्षधरले गरे । (टीकापुर घटनाको चिरफार, पृष्ठ १४)
टीकापुर घटनाको पहिलो कारण गैरजिम्मेवार मधेशी नेताहरू हुन् । दोस्रो कारण गृहमन्त्रालय हो । सशस्त्र प्रहरी बलको स्थापना नेपाली सेनाको विकल्पमा नागरिक मामिला हेर्न बनाईयो । जनपद प्रहरीले माओवादी नियन्त्रण गर्न नसकेको आरोप सहित यसको स्थापना भयो । जसले शुरुदेखि नै जनपथ प्रहरीको अधिकार खोस्ने दिशामा काम ग¥यो । २०६४ सालपछि त्यसले तिब्रता पायो । सरकार नै जनपथ प्रहरीको अधिकार सशस्त्र प्रहरीलाई सुम्पन चाहन्थ्यो । यो कदम देशलाई सैन्यकरण गर्ने निरंकुश कदम थियो । जसले नागरिक र प्रहरी बलभित्र पनि असन्तोष पैदा ग¥यो । यतिसम्म कि तत्कालीन गृहमन्त्री वामदेव गौतम नै असुरक्षित बन्न थाले । त्यसलाई प्रकट गर्दै चौधरी भन्छन, “टीकापुर घटना घट्नुभन्दा केही साता पहिले मात्र त्यसबेलाका गृहमन्त्री वामदेव गौतमले म जनपद प्रहरीबाटै असुरक्षित छु । कुनै पनि बेला ममाथि जस्तोसुकै घटना घट्न सक्छ जस्ता अभिव्यक्ति किन दिन्थे ?” (उही, पृष्ठ १४) टीकापुर घटनामा सशस्त्र प्रहरीले पहलकदमी लिएको भए घटना हुने नै थिएन । त्यत्रो घटना हुँदा रमिता हेरेर बस्यो । घटना भएपछि थारुहरूको सम्पत्ति लुटन, चेलीबेटीलाई बलात्कार गर्न र सोझा थारुमाथि ज्यादती गर्न थाल्यो । टीकापुर घटनाको पृष्ठ भागमा रामजनम चौधरी, लेखराज भट्ट, भीम रावललगायत बर्चस्वशाली नेताहरूको हात रहेको थारुहरूको बुझाइ छ । भीम रावल डुँडेझारी सुकुमबासी हत्याकाण्डका दोषी हुन् भन्ने कतिपयको आरोप छ । थारुहट क्षेत्रलाई शेरबहादुर, लेखराज र रावलले मौजा ठान्छन् । थारु समुदाय विरुद्ध पहाडिया जनतालाई हिंसात्मक दिशामा उचाल्ने उनीहरू नै हुन् भन्ने धेरैको बुझाइ छ । थारुहट आन्दोलनमा थारुहटको नेतासँग छलफल नै नगरी मधेशी नेतालाई बोलाउने, गैरजिम्मेवार बोल्न लगाउने रामजनम चौधरीको नियत के हो ? अनुसन्धानसम्म भएको छैन । यसरी बुझ्न सकिन्छ, थारुहट आन्दोनको नेतृत्व थारुहरूको हातमा थिएन । आन्दोलन ‘ब्रेकफेल’ भएको सवारी झैं कतै गएर ठोक्कियो । दुर्घटना भएपछि कारण खोज्न थालियो । टीकापुर घटनाको पृष्ठ भागमा शक्तिकेन्द्रहरू ‘देशी–विदेशी’ चौथो कारण छन् । तराईमा माओवादीको गतिविधि अवरुद्ध गर्न रौटहट सामूहिक हत्याकाण्ड गराइयो । जसमा माओवादी भित्रकै मधेशीनेताहरू संलग्न थिए । थारुहरूको सङ्घर्ष तितरवितर पार्न टीकापुर घटना घटाइयो । जसमा थारु र मधेसी नेताहरू नै देखिन्छन् । जनजाति र अखण्ड दुबै सङ्र्घषकर्ताको पछाडि युरोपेली कुटनीतिज्ञ र गैससहरू थिए । डेनमार्क जस्ता अपराधिक पृष्ठभूमि भएका स्केण्डेभियन देश युरोपेली संघ तथा अमेरिकी गठबन्धन ‘आफैं धामी, आफैं बोक्सी’ थिए । यसरी देशी–विदेशी चक्रव्यूहमा टीकापुर घटना भयो । थारुहरूले मुक्ति चाहेका थिए तर बर्बादीका दिन गहिरियो ।
टीकापुर घटना काङ्ग्रेसले २०४२ सालमा जनकपुरमा राजा महेन्द्रमाथि लुकिछिपी गरेको बम आक्रमण जस्तो घटना थिएन । २०२८ सालमा सामन्त धर्मदत्त ढकाललाई सफाया गर्न जाँदा उनका छोरालाई समेत हत्या गरेको (विषय खुल्छ भनेर) झापाको तत्कालीन झापाली समूहको जस्तो छापामार घटना पनि होइन । तर विभ्रम, नश्लवाद, शासक वर्गको चाकरी गर्ने मनोवृत्ति कायमै छ । अर्कोतिर थारु विद्रोह परिणाम हो, कारण होइन । कारण त हजारौं वर्षदेखिको अपमान, शोषण र दमनको पत्रे–चट्टानको भारी हो । “अचानक हुरी किन चल्छ ? ज्वालामुखी किन फुट्छ ??” चौधरी प्रश्न गर्छन् । हो, भौतिक विज्ञान र समाज विज्ञानको बिचमा अन्योन्याश्रित  सम्बन्ध रहन्छ । त्यसको कारण र समाधानको उपाय गिरिषचन्द्र लाल (लाल आयोग) र देविराम शर्माको नेतृत्वमा गठित आयोगमा समावेश गरिएको अनुमान छ । तर सरकारले त्यो प्रतिवेदन गुपचुप राखेको छ र थारु समुदायमाथि शत्रु देशका जनतामाथि जस्तो अत्याचार गरिरहेको छ । यस्तो अवस्था रहिरहे के हुन्छ ? चौधरी भन्छन्, “थरुहरूको असन्तुष्टिको कारणले नै टीकापुर घटना हुन गएको हो भन्ने कुरा बेलैमा बुझ्नु पर्दछ । राज्य आफ्नो जिम्मेवारीबाट पन्छिँदै गएमा भोली अर्काे विद्रोह हुनजान्छ । त्यसबाट उत्पन्न हुने परिणाम पनि राज्यले नै भोग्नुपर्दछ । राज्य सन्चालकले बुझ्नै पर्ने महत्वपूर्ण अंश चाहिं थारुहरूले देश होइन्, प्रदेश मागेका हुन् ।” (उही, पृष्ठ २१)
देश समृद्ध होस् । न्याय कायम होस् । सबैको भलो होस् भन्ने मानवतावादी धारण राख्छन् लेखक । अर्को शब्दमा, समाज व्यवस्था परिवर्तन होस् भन्ने, यथास्थितिवादी तथा नश्लवादी विचार–सङ्गठन–सङ्गत जस्तो परस्पर विरोधी वैचारिक राजनीतिक चिन्तनबिचको भूमरीमा रुमल्लिएको अवस्था छ लेखकको । बाटो गलत भएपछि असल नियतले यात्रा गर्दैमा स्वर्ग पुगिन्न । उनी हिन्दु राष्ट्रको माग गर्छन्  । तर जीवन भोगाईले भौतिकवादी बन्दै जान्छन् । बहुसंख्यक जनता हिन्दु छन् भन्ने कुरा पनि निर्विवाद छैन । अर्काेतिर दक्षिण एशियामा मुस्लिम्, बौद्ध र भौतिकवाद (चर्वाक दर्शन)माथि हिन्दु धर्मले गरेको ज्यादतीको मूल्याङकन गर्ने कि नगर्ने ? उत्पीडन थारु र आदिवासीमाथि मात्र छैन । सङ्किर्ण चेतनाले घेरा साँघुरो बनाउँछ । लेखकले ‘पहिचानसहितको संघियता’ लाई स्वतन्त्रताको मुलमन्त्र बताएका छन् । यो नारा पेट भोको नभएका निम्नपुँजीपति वर्गका थारुहरू (थरुहटको सन्दर्भमा) को माग र स्वार्थ हो । यो भोका–नाङ्गा थारुको माग होइन । यसो भनौं गरिब थारुको मुख्य माग होइन । उत्पादनका साधन र जीवन निर्वाहको व्यवस्था सहितको संघियता उनीहरूको माग हो र हुनुपर्छ । जसलाई म ‘समाजवादी संघियता’ भन्छु । भारतको संघीयतामा रमाउने चेतनाले श्रमिक जनतालाई ‘तावाबाट हाम्फालेर भुङ्ग्रोमा’ भने झैं बनाउने छ ।
 राजतन्त्रको पैरवी गर्ने चेतनालाई त म असभ्य ठान्छु । युरोपले एशिया र अफ्रिकालाई लुटेर वैभवशाली भएको हो । दक्षिण कोरिया र जापानलाई कम्युनिस्ट विरुद्ध लड्न अमेरिकी गठबन्धनले ऋणात्मक ऋण र सहुलियत व्यापार सम्झौता गरेर निर्माण गरेका हुन । भारत र चीनको व्यवस्था हेरेर नै हामी प्रणाली (system) बारे छनोट गर्न सक्छौं । यी सबै विषयहरू लेखकको विश्व–दृष्टिकोणमा आधारित हुन्छन् । कुनै पनि व्यक्ति पार्टी वा सङ्गठनबाट स्वतन्त्र हुनसक्छ । तर विचारमा स्वतन्त्र हुँदैन ।
 लोकप्रिय साहित्यकार, मानव अधिकारकर्मी पारिजातले ‘जनताप्रति इमानदार भएर एउटा कथा लेख्नुस्, त्यो कथा माक्र्सवादी हुन्छ’ भनेकी थिइन् । लेखकका कैयौ धारण हेर्दा पारिजातको भनाइ जस्तै यथार्थ परक छन् । जेल तथा निर्वासनको भोगाइका कारण अनुभूति र भोगाइ मलाई आफ्नै जस्तो लाग्यो । आफ्नै प्रवासको जेल–जीवन जस्तै लाग्यो । शब्द चयन र प्रस्तुती सौन्दर्यात्मक दृष्टिले निकै सवल छ । शासकसँग मात्र होइन भारतीय शासक र मधेसी नेताहरूप्रति पनि चौधरीका प्रश्नहरू छन् । इमानदार व्यक्तित्व र थारु समुदायको सोझोपन यहाँ पनि व्यक्त भएको छ । लेखकमा धैर्यता र सपना देख्न नछोड्न अनुरोध गर्छु र उनको तत्काल रिहाईको माग गर्दछु ।
२०८० बैशाख १७

स्राेत: जनपत्रिका तेस्रो अंकमा प्रकाशित 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।