११ श्रावण २०८१, शनिबार

जुगेडी किसान विद्रोहका योद्धाहरूको आँगनमा

0

वैचारिक र जीवनयात्राका दृष्टिले फरक फरक रुपमा जीवन बिताइरहेका डिआर पोखरेल र म बैशाख २४ गते फिस्लिङबाट उकालो लागेका थियौं । राती ९ बजे हामी तोक्दाङ गाउँमा पुग्यौं । बाटामा गाउँका सोझा मान्छेहरू भेटिए । हामीले जनजातिहरूको अध्ययन गर्न आएका भनेका थियौं । कतिपय स्थानमा भने जुगेडी सङ्घर्ष र जनयुद्धका विषयमा अध्ययन गर्न आएका भनेका थियौं । त्यसदिन हामीले आफ्नै साथमा रहेको सातु र तातो पानी खाएर रात काट्यौं । अर्को दिन विहान सहिद चन्द्रबहादुर गुरुङ ‘दिपेश’की आमासँग भेटघाट ग¥यौं । त्यसपछि पुनः उकालो लाग्यौं । एउटा गाउँमा मकैको भात, गुन्द्रुक, चटनी खाएर फेरि उकालो लाग्यौं ।
 बैशाख २५ गते अपरान्हमा हामी गुछिवाङमा जुगेडी किसान विद्रोहको क्रममा ८ वर्ष ६ महिना जेल जीवन बिताएका क. पूर्णबहादुर विश्वकर्माको घरमा पुग्यौं । त्यसपछि दुम्किनमा पुग्यौं । उनलाई वरपरका गाउँलेहरूले ‘आशाखोले माइला’ भनेर चिन्दा रहेछन् । आशाखोलाबाट बसाइ सरेर त्यहाँ आएका कारण उनलाई ‘आशाखोले माइला’ भन्ने गरिएको हो । उनको पार्टीको चर्चित नाम भने ‘क. सुन्दर’ हो । देख्दा साधारण तर बहुमुखी प्रतिभाका धनि क. सुन्दर जुगेडी सङ्घर्षका चेपाङ जातिका नेता थिए । हामी विहानको खाना खान त्यहाँ पुगेका थियौं ।
क. सुन्दरका पिता कृपाराम प्रजा र आमा चन्द्रमाया चेपाङ थिए । बाजेको नाम भने लङ्करे प्रजा थियो । उनका दुई श्रीमतीबाट १२ जना बच्चाहरू थिए । डाँडाकाँडा खाली नभए पनि ‘सन्तानले डाँडाकाँडा ढाकुन्’ भन्ने उखानलाई उनले चरितार्थ गरेका थिए । साथी डिआरले तपाईको चालढाल, शारीरिक बनोट, चेतना हेर्दा तपाई शुद्ध चेपाङ होइन जस्तो लाग्छ, वास्तविकता के हो ? भनेका थिए । त्यो प्रश्नपछि उनले “मलाई मेरो बुबाले तँ मेरो छोरा होइनस् । बन्दुपुरे रायमाझीसँग अंश माग्न जा भन्थे । वास्तविकता के हो थाहा भएन” जीवनका अदृश्य पाटाका पोयाहरू खोल्दै गए । उनले त्यसो भनिरहँदा मैले रुपलाल विश्वकर्मा र अमर विश्वकर्मा ‘प्रमोद’ सम्झिरहेको थिएँ । उनीहरूका पिता दलित र आमाहरू गैर–दलित थिए । अन्तरजातीय रक्त सम्मिश्रणले सन्तानमा पैदा हुने प्रतिभाका विषयमा विज्ञानको नियम मैले सम्झिरहेको थिएँ ।
२०२५ सालतिर एकजना युवा गाउँतिर आएका थिए । उनले बाटो, विद्यालय, प्रौढ शिक्षा चलाउँथे । चमत्कारिक काम गर्ने, पढ्न, लेख्न सिकाउने गर्थे । सुन्दर कमरेडको भनाइमा ती युवा माक्र्सवादी थिए । कपाल लामो थियो । त्यसैले उनको नाम गाउँलेहरूले ‘जुल्ठे सर’ राखेका थिए । उनलाई ‘झ्याम्टे राजा’ पनि भन्ने गरिन्थ्यो । श्रमदान गराउँथे । अपरान्हमा सबैलाई खाजा खान बोलाउँथे र गीत गाएर नाच्न, नचाउन थाल्थे । त्यही हो खाजा भन्थे । २०२८ सालमा राजा महेन्द्र मर्दा टाउको खौरिएको र ३ दिन खाना नखाएको कुरा गैरीबारीका भीमबहादुर गुरुङ (उसबेला चण्डी भञ्ज्याङ) बताउँछन् । क. सुन्दर २०१३ सालमा जन्मिएका हुन् । उनले ‘झ्याम्टे राजा’ कम्युनिस्ट भनेका छन् भने त्यसबेला युवा भइसकेका भीमबहादुरको भनाइ र महेन्द्रको मृत्युको प्रसङ्गले उनी को हुन् भन्ने कुरा विवादास्पद देखिन्छ । ती रहस्यमय समाज सुधारकका विषयमा खोजी गर्न आवश्यक लाग्यो । २०२५ सालमा क. सुन्दर कम्युनिस्ट पार्टीको सम्पर्कमा पुगेका थिए । जुल्फे सरको चमत्कारिक व्यक्तित्वले क. सुन्दर कम्युनिस्टप्रति झुकाव रहेको बताउँछन् । २०३१ फागुन १ गते क. नरेश चितवनको पहाडमा पुगेका थिए । त्यसैबेला रणेन्द्र बराली पनि पुगेका थिए । चितवनको वर्षाकालीन पुरानो सदरमुकाम शेरवासमा २०३३ चैत २६ गते झोला फालेर रणेन्द्र बराली पलायन भए । उनीहरूसँग त्यसबेला क. सुन्दरको भेट हुन्थ्यो । रणेन्द्र बरालीले पार्टी सदस्यता प्रदान गरेको उनी बताउँछन् । चण्डीभञ्ज्याङमा दुवैजना शिक्षक बनेर पार्टी काम गरेका थिए । आय केही हुँदैनथ्यो । कुखुरा बेचेर साथीहरूलाई सहयोग गर्दथे उनी ।
जुगेडीपूर्व गाउँ–गाउँमा किसान सङ्गठन बनाइएको थियो । रुपलाल विश्वकर्माका स्थानीय लोकभाषाका गीतहरू गाइन्थ्यो । उनका गीतहरू
‘गाउने साइँला’को नाममा आउँथे । गीत गाउँदा सङ्गठन गर्न सजिलो हुन्थ्यो । विद्यार्थीले पानी खाएको भनेर अपमानित गरेपछि चन्द्रबहादुर थापालाई किसान सङ्गठनले कालोमोसो लगाएर गाउँ घुमाइयो । वि. सं. २०२६ तिर नै ठट्टबहादुर क्षेत्री गुण्डालाई पनि कालो मोसो दलेर घुमाइएको थियो । चन्द्रबहादुरलाई विद्यार्थीले कारबाही गरेका थिए । ‘कालो मोसो’ त्यसबेला चर्चित कारबाही थियो । शिक्षक, वनपाले र बैंकका कर्मचारीहरू सबै पार्टीमा सङ्गठित थिए । ब्याज ७ प्रतिशत र कोसेली ६÷७ धार्नीको खसी र ब्याज बुझाउन नसके २० जना खेताला दिनुपर्दथ्यो । मुट्ठीभर जाली फटाहाबाहेक सबै सङ्गठित थिए । चर्को ब्याज विरोधी सङ्घर्षको क्रममा ३ प्रतिशत ब्याज कायम गरेका थिए । त्यो ब्याजदर पहाडी भेगमा अझै कायम छ ।
पहाडी भेगमा कारबाही गरेका फटाहा र दण्डित व्यक्तिहरू कालान्तरमा पार्टीमै आत्मसमर्पण गरेको देखिन्छ । पहाडमा सर्वहारा वर्गको हैकम कायम भएपछि आन्दोलन सहरतिर बढ्ने क्रममा त्यसबेलाको पहाडी सानो तर यातायात चल्ने सानो जुगेडी बजारका फटाहामाथि कारबाही गरिएको देखिन्छ । “जुगेडी किसान सङ्घर्षको तयारीपूर्व नै रणेन्द्र बराली पहाडबाट भागिसकेका थिए । २०३४ सुरुमै दुम्किनको घरमा (हाल आमा–बुबा बस्दै) रुपलाल, नरेश न्यौपाने, मसहित बसेर निर्णय गरेका थियौं” सुन्दर भन्छन् । २०३४ जेठमा गडौलीका बहिदार (डिगा महत्तो)को घरमा जुगेडी सङ्घर्ष गर्ने निर्णय भएको थियो । क. नरेश न्यौपानेका अनुसार सो निर्णय गर्दा जिल्ला पार्टी सदस्यहरू रुपलाल विश्वकर्मा, दिवाकर भुसाल, प्रेम क्षेत्री, बैदार (डिगा महत्तो), नरेश न्यौपाने, देवराज पौडेल, हरि तिमल्सिना ‘जनक’लगायत थिए । सङ्घर्षका विषयमा अन्तिम समीक्षात्मक छलफल असार ४ गते गडौंली क. बहिदार (डिगा महत्तो)को घरमा भएको थियो । रुपलाल विश्वकर्मा असार ५ गते साँझ गैरीबारी पुगेका थिए र गैरीवारीकै टोलीसँग दाहाखानी गएका थिए । दाहाखानीमा हिरा गुरुङका पिता हर्के गुरुङको घरमा बसिएको थियो । सङ्घर्ष स्थलमा पुग्नुभन्दा अगाडि स्थिति बुझ्न गुरुङ कान्छा र बहादुर गुरुङलाई जुगेडी पठाइएको थियो । विहान उज्यालो नहुँदै स्थिति ठीक रहेको सूचना ल्याएका थिए । सङ्घर्षपछि गाउने साइँलाले ‘जुगेडी गज्र्यो’ गीतमा गाए–
“पहाड उठ्यो, जुगेडी गज्र्यो, नेपाल थर्कायो
भोका र नाङ्गा जनताले आफ्नो बाटो नै देखायो
अँध्यारो पहाड कुइराको जालो, भित्र ती बसेका
गिठाको भरमा सारङ्गी पेट, नाम्लाले कसेका
सरकारी जालले भरेन पेट, उठे ती बुझेर
धनीको खोसी बाँड्ने शुर गरे, एक भई जुधेर”
जुगेडीको अन्तिम हालखबर ठीक रहेको सुचनापछि तीनवटा पाँच–पाँच जनाको लडाकू दल अगाडि बढ्यो र जनतापछि लागेर गए । वाहन पल्टाउने र रामनगरतिरबाट आउनेलाई रोक्ने एउटा दल, दोस्रो डुङ्गा कब्जा गरेर देवघाटतिर जान–आउन बन्द गर्ने र तेस्रो टोलीले अभियुक्तहरूलाई बाँध्ने जिम्मा थियो । नारायणगढ–मुग्लिङ सडक बन्दै थियो र पूरा नभइसकेका कारण त्यतातिर ध्यान दिनु पर्दैनथ्यो ।
अँध्यारो रात थियो । अघिल्लो साँझदेखि मुसलधारे पानी परिरहेको थियो । भोकले मर्नुभन्दा लडेर मर्ने सोचका विद्रोही जनता जुगेडीतिर सोझिएका थिए । घरेलु हतियारसहित अगाडि बढेका थिए । त्यो दिनको चित्र कवितामा कोर्दै कवि गाउने साइँलाले गाएका थिए–
“अँध्यारो रात पाँच गते असार, बिजुली चम्केको
अनिकाल टार्न जनताको ताँती, डाँडामा लम्केको
धनीको खोसी गरिबलाई बाँड्ने, प्रतिज्ञा गरेका
खुकुरी खुर्पा हातमा लिई, अगाडि बढेका”
जुगेडी किसान सङ्घर्षमा सामन्तहरू प्रतिरोध गर्न आए भने के गर्ने भन्ने विषयमा पनि मुख्य नेताहरूका बिचमा छलफल भएको थियो भरुवा प्रयोग गर्ने विचारहरू पनि आए तर रुपलालले “ठूलो दमन हुनसक्छ, प्रतिरोध गर्न गाह्रो हुन्छ । त्यसैले बन्दुक प्रयोग गर्नुहुँदैन” भनेपछि तयारी भएन ।
धर्मे साहु घरमा रहेनछ । उसकी श्रीमती प्रतिकार गर्न आएपछि भीमबहादुर गुरुङ (हाल गैरीबारी)को टोलीले बाँधेर लडायो । कारबाही सम्पन्न भएपछि सिमलतालमा रुपलालले सानो प्रशिक्षण दिए । सामान बाँढ्ने  काम चलिरहेको थियो । सेन्ट्रीहरूले प्रहरी देखेनन् । सेन्ट्रीले सूचना दिन नसक्दा र सिमलतालमा बढी समय लाग्दा रामनगरबाट आएको ५ जनाको प्रहरी टोलीले गोली चलायो । त्यसपछि दशरथ चेपाङलाई रुखमै गोली हानेर मारे । सन्तबहादुर चेपाङ लडेर मरे । नन्दबहादुर प्रजा भरतपुर हिरासतमा यातनाका कारण सहिद भए । यसरी जुगेडी किसान सङ्घर्षमा तीन जना सहिद भए । सो घटनामा लछुमन गुरुङ (मृत्यु), लक्ष्मण गुरुङ (मृत्यु), पद्मबहादुर गुरुङ, टेष्टबहादुर गुरुङ (मृत्यु), नन्दबहादुर प्रजा, रुद्रबहादुर प्रजा, पूर्णबहादुर विश्वकर्मा र पूर्णलाल विश्वकर्मा गरी ८ जना जेलमा लामो समय थुनिए ।
जुगेडी सङ्घर्षपछि व्यापक दमन भयो । सुन्दर र डम्बरबहादुर गुरुङका बिचमा भेट भयो । क. सुन्दरको उठबसमा सहयोग गरे । केही दिनपछि शेरबासमा झरेर काम गर्न खोज्दा प्रहरीले पिछा ग¥यो । शेरबासमा क. जनक (हरि तिमल्सिना), नरेश न्यौपाने र क. सुन्दर तीनजना थिए । एउटा प्रहरीले क. जनकलाई चिनेको रहेछ किनकि त्यसअघि नै पूर्वी चितवनको सङ्घर्षको क्रममा हिरासतमा बसेका थिए । तितर–बितर भएर घेरा तोडियो । क. जनक गडौलीमा गएर रुपलाललाई क. सुन्दर गिरफ्तार भएको सूचना दिएछन् तर अर्को दिन उनी पार्टी सम्पर्कमा पुगे । त्यसमछि जयमङ्गलमा पुगेर बास लिए ।
एक हप्तापछि क. सुन्दर दरभङ्गा पुगे । त्यहाँ क. रोहित थिए । त्यसबेला रोहितले ‘खोटा विचारको खण्डन’ पुस्तक प्रकाशित गरेका थिए । त्यसको अन्तिममा सम्पादकीयमा “का. रोहितको विरोध गर्नु जनता र क्रान्तिको विरोध गर्नु हो” लेखिएको थियो । त्यस विषयमा रोहित र सुन्दरका बिचमा द्वन्द्व भयो । क. सुन्दर ७ महिना त्यहीं बसे । रुपलाल भने गोरखपुरतिर गएका थिए । त्यसपछि क. सुन्दर चितवन आए । गाउँमा बस्न सक्ने स्थिति थिएन । दिनभरी जङ्गलमा बस्ने राती गाउँमा जाने गर्न थाले । गाउँ बदलिरहनु पर्दथ्यो । केही समयपछि इलाका समिति बन्यो । जुगेडी सङ्घर्षपछि तहसनहस भएको पहाडी क्षेत्रमा फेरि सङ्गठनात्मक कामहरू भएको देखिन्छ । क. सुन्दरलाई गिरफ्तार गर्न प्रहरी र फटाहाले अनेक षड्यन्त्र गरेका थिए । हुर्केस गाउँमा कृषि विकास बैंक थियो । त्यहाँका चन्द्रबहादुर थापाले ‘यो जङ्गलमा उल्टो पाइला भएको मान्छे हिंड्छ । त्यसलाई मार्नुपर्छ नत्र अपशगुन हुन्छ’ भनेर प्रचार गरे । त्यसैगरी ‘पहाडको ओढारमा सुनको पित्त भएको मान्छे बस्छ’ भनेर प्रचार गरेका थिए । त्यो कथालाई सुदर्शन प्रधानले ‘सुनको पित्त’ कथामा सुन्दर ढङ्गले व्याख्या गरेका छन् । पहाडका चेपाङहरू उठाउनमा क. सुन्दरको मुख्य भूमिका थियो । त्यस विषयमा क. सोनाम साथी भन्छन्, “आशाखोले माइलो नभएको भए जुगेडीका चेपाङ उठाउन सम्भव थिएन । जे हो आशाखोले माइलो हो ।” उनको त्यो भनाइमा अर्धसत्य हुन सक्छ । गाउने साइँलाले लेखे–
“जनता मिले जे पनि हुने, बाटो नै देखाए
भोकले हैन लडेर मर्ने, बाटो त्यो देखाए
मिर्मिरे भयो ६ गते असार, रातम्य देखियो ।
देशका भोका जनताको नयाँ इतिहास लेखियो”
२०३८ सालपूर्व ‘जुगेडीको बाटो– क्रान्तिको बाटो’ नारा थियो । २०३८ सालमा सर्वहारावादी कम्युनिस्ट लिगसँगको एकतापछि ‘जुगेडीको बाटो, जनता जगाउने बाटो’ बनाइयो । २०४८ सालको तत्कालीन नेकपा (एकता केन्द्र)को एकता महाधिवेशनले जुगेडी विद्रोहको दिनलाई ‘किसान दिवस’का रुपमा मनाउने घोषणा ग¥यो । यद्यपि जुगेडी सङ्घर्षको उचित संश्लेषण र आत्मसातीकरणमा समस्याहरू देखिन्छन् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।