११ श्रावण २०८१, शनिबार

समाजवादी मोर्चाको औचित्य

0

असार ४ गते `समाजवादी मोर्चा नेपाल´ को घोषणा भयो । जुन मोर्चामा क्रमश नेकपा ( माओवादी केन्द्र ) , नेकपा, नेकपा ( एकीकृत समाजवादी ) र जसपा गरि ४ पार्टी आवद्ध छन । यसले राजनैतिक क्षेत्रमा नयाँ तरंगसहित विशेषत: माओवादीका साथै वाम समाजवादी वृत्तमा सकारात्मक उत्साह र आशाको संचार गरेको छ भने यसको दक्षिण र वाम कोणबाट आलोचना तथा नकारात्मक टिप्पणी पनि भएको छ । त्यसैले यो मोर्चा किन र के का लागि ? भन्ने बिषयमा सामान्य चर्चा गरौं ।

क)समाजवादी मोर्चा किन ?

(१) नेपाली जनता विशेषत: नयाँ युवा पीढीले यथास्थितिमा परिवर्तन खोज्यो । परिणामत: गएको चुनावमा स्वतन्त्र उम्मेदवारहरुले जिते । यसबाट स्पष्ट हुन्छ कि देश र जनताको न्युनतम आवश्यकता, आशा र अपेक्षा पुरा गर्न पुराना पार्टीहरु वस्तुतः पुरानो राज्य प्रणाली र नेतृत्व असफल भयो । यद्यपि स्वतन्त्र उम्मेदवारले जित्नु हुन्न भन्ने होइन तर राजनैतिक क्रान्ति तथा परिवर्तनको प्रक्रिया पूरा भएको घोषणासहित आर्थिक क्रान्ति र समृद्धिको नारा दिएका पार्टीहरु न स्थिरता कायम गर्न न त सुशासनको प्रत्याभूति नै दिन सक्षम भए । बरु समृद्धिको नारा अन्तर्गत शसकहरुले राज्यशक्तिको दुरुपयोग गरेर आफ्नो निजी जीवनको खुब समृद्धि गरे । देश र जनता भने एकपछि अर्को संकट र समस्यामा पर्दै गए । जसले वर्तमान राज्य प्रणाली र नेतृत्वको अन्तर्विरोध, संकट र असफलता व्यक्त गर्‍यो । जसमाथी टिकेर प्रतिगामी शक्तिको चलखेल, हमला र चुनौती बढ्दै गयो । त्यसैले जनताको परिवर्तनको चाहाना सम्बोधन गर्न र बिद्यमान संकट र समस्याको अग्रगामी समाधान दिन यो समाजवादी मोर्चा आवश्यक बन्यो ।

(२) रुस – युक्रेन युद्धले विश्व प्रभावित भैरहेको स्थितिमा त्यसको असर नेपालमा पर्नु स्वभाविक भएपनि चीन र भारत भन्दा अगाडि सरेर नेपाल त्यो युद्धमा सहभागी हुने कुराको कल्पना नै गर्न सकिदैन तर, एमसिसिको कार्यान्वयनले कुनै न कुनै प्रकारको संलग्नता देखाउदैछ । एकातिर एमसिसी पास गर्दा जारी `१२ बुदे व्याख्यात्मक घोषणा ´ बेकामे बन्दैछ भने अर्कोतिर देश वित्तीय एकाधिकार पुँजिको `लुटेरा ऋण´ ( प्रीडेटरी लेन्डिङ) को पासोमा कसिदै गएको छ । यसरी देश असफल भएर वैदेशिक शक्ति केन्द्रको खेलमैदान बन्ने खतरा बढ्दो छ । जुन खतराबाट बच्न राष्ट्रिय एकताको खाचो छ भन्ने यथार्थवोध सहित यो समाजवादी मोर्चा अगाडि आएको हो ।

(३) वर्तमान राज्य प्रणालीले न स्थिरता दिन सक्यो नत जनतालाई सन्तुष्ट बनाइ भविष्यप्रति आशावादी नै बनाउन सक्यो । बरु जुन राजनैतिक शक्तिले बलिदानीपूर्ण संघर्सद्वारा यो प्रणालीको स्थापना गरेका हुन र रक्षाको दायित्व लिएका छन स्वयं उनीहरु यसबाट असुरक्षित हुँदै गए । सत्ता र शक्ति हत्याउने अस्वस्थ प्रतिस्पर्धा चल्यो । असैद्धान्तिक गठबन्धन बने । को कतिबेला शक्तिहिन हुन्छ र शक्तिमा पुग्छ निश्चित भएन । ठोस रूपमा परिपक्व झै लाग्ने नेताहरू चुनावमा राजनैतिक रूपमा अपरिपक्व नवागंतुकसग पराजित भए । यो संसदीय प्रणाली संसदीय शक्तिका लागि नै पनि परिमार्जन गर्न आवश्यक बन्यो । यो पृष्ठभुमिमा नयाँ वैकल्पिक राज्य प्रणालीका लागि संघर्षमा रहेको राजनैतिक शक्तिलाई पनि विभिन्न घेराबन्दी गर्ने र जनताबाट अलगथलग पार्ने षड्यन्त्र भयो । त्यसैले नेताहरूको आत्मसमिक्षा, रुपान्तरण र नयाँ प्रतिबद्धता आवश्यक बन्यो जसलाई व्यबहारिक रुप दिन यो मोर्चा निर्माण भयो ।

(४) यथास्थितिमा परिवर्तनविना अब कुनै पनि राजनैतिक शक्तिको अस्तित्व पुरानै रूपमा नरहने निश्चित जस्तै भयो । संकटग्रस्त र असफल प्रणालीभित्र पात्रहरुको परिवर्तनले तात्विक भिन्नता ल्याउदैन । `अवस्था परिवर्तन´ एक क्षणिक भ्रम हो र वस्तुतः अवस्था परिवर्तन भनेको निश्चित मात्रामा व्यवस्था परिवर्तन नै हो । त्यसैले राजनीति विचारको केन्द्रमा रहेको र संबैधानिक व्यवस्था पनि भएको समाजवाद तर्फको ठोस परिवर्तन अपरिहार्य आवश्यकता बन्यो । परिणामस्वरूप वर्तमान संघीय लोकतान्त्रिक गणतन्त्रको एक प्रमुख समस्या ` वित्तीय एकाधिकार र दलाल पुँजीवादी शोषण ´ भएको विश्लेषणको आधारमा त्यसको अन्त्य वा समाधान गर्न `नेपाली विशेषताको समाजवाद र समाजवादी बाटो´ को सारसहित ७ बुदे अवधारणाको जगमा यो समाजवादी मोर्चा गठन भएको हो ।

(५) समाजवादी मोर्चाको निर्माण एक नयाँ शुरुआत हो । यसले समाजवादको कार्यान्वयनको सुनिश्चितता गर्ने दिशामा कार्य गर्दछ र सबै समाजवादी शक्तिलाई समेट्दै लिन्छ । अहिले देश र जनताले भोगिरहेका राष्ट्रियता, जनतन्त्र र जनजीविकाका समस्या समाधान गर्न समाजवादको स्थापना र कार्यान्वयन अनिवार्य छ । यो सरकारमा भएपनि नभए पनि जनताको साथ लिएर यी समस्या हल गर्न निरन्तर क्रियाशिल रहनेछ । अब दलाल पुँजीवाद कि समाजवाद ? समाजवादको कुरा मात्रै कि काम पनि ? कस्तो र कसरी समाजवाद ? शिक्षा र स्वास्थमा समाजवाद के हो ? श्रम र रोजगारमा समाजवाद कस्तो हुन्छ ? अन्तर्राष्ट्रिय नीतिमा समाजवादमा के ? निजी र वैदेशिक पुँजिको सदुपयोग समाजवादमा कसरी ? आदिमा बहस केन्द्रित गर्दै व्यबहारिक रुप दिन आवश्यक छ । यो मोर्चाले राष्ट्रिय एकता र स्वाधीनताको रक्षा र सुदृढीकरण गर्छ । क्रान्तिको उपलब्धि- जसमा वर्तमान संविधान र व्यबस्थाका राम्रा पक्षहरु पर्दछन- को रक्षा र सुदृढीकरण गर्छ । यसले जनतालाई गास, वास, कपास, शिक्षा, स्वास्थ, श्रम रोजगार , यातायात र सूचना संचार अनि भ्रष्टाचार नियन्त्रणको सुनिश्चितता दिन्छ । यसले मुख्यत: नेपालमा नयाँ जेलेन्स्की उदयको खतरा रोक्छ र जनतालाई जनाधिकारद्वारा सुशिक्षित पार्छ । 

ख) मोर्चाबारेका कोणहरु

समाजवादी मोर्चा घोषणा लगत्तै दक्षिण र वाम कोणबाट यसको आलोचना गर्दै प्रभावकारी कार्यान्वयन तथा सफल भविष्यप्रती आशंका व्यक्त गरिएको छ । त्यसैले मोर्चालाई हेर्ने निम्न गलत कोणबारे चर्चा गरौं ।

(१) सैद्धान्तिक कोण 

समाजवादी मोर्चालाई विचारशुन्य, राजनैतिक आदर्श, मूल्य- मान्यताबिहिन असैद्धान्तिक मोर्चाको रूपमा लिदै `अर्थ न ब्यर्थको मोर्चा ´ को रूपमा दक्षिण र `महापतनको दोस्रो संस्करण´ को रूपमा वाम कोणबाट आलोचना गरिएको छ । यसलाई केवल फगत शक्ति, सरकार, पद र नाफा आर्जनको मोर्चाको रूपमा विश्लेषण गरिएको छ । यो व्यबस्था मान्ने र नमान्नेको मोर्चा बन्नु, जसपा सहभागी हुनु र नेसपा नहुनुलाई आधार बनाई उपरोक्त विश्लेषण गरिएको बुझ्न कठिनाई पर्दैन । तर सत्य यो हो कि समाजवादी मोर्चाको `७ बुदे प्रस्तावना र नीति तथा उदेश्य´ ले त असैद्धान्तिक र विचारशुन्य बन्दै केवल शक्ति र नाफा आर्जनमा केन्द्रित वर्तमान राजनीतिलाई विचार, सिद्धान्त, राजनैतिक मुल्य- मान्यता र आदर्श केन्द्रित पो गरेको छ त । किनभने यसले वर्तमानमा `बित्तीय एकाधिकार र दलाल पुँजीवादी शोषण´ लाई समस्याको रूपमा लिदै त्यसको अन्त्य गरि `नेपाली विशेषताको समाजवादको निर्माण र कार्यान्वयनको आवश्यकता´ माथी जोड दिएको छ । त्यसैले यो देश र जनताको साझा समस्या- जो तत्काल समाधान गर्नुपर्ने छ – लाई सामुहिक रूपमा हल गर्ने संयुक्त मोर्चाको सैद्धान्तिकिमा गठित मोर्चा पो हो त । यो कसरी असैद्धान्तिक भयो र ? 

(२) अतीतमुखी निराशाको कोण 

विगतमा हरेक राजनैतिक आन्दोलन, क्रान्ति र परिवर्तनहरुमा निश्चित समयपछि प्रायः निराशा पैदा हुने गरेको छ । जुन पछिल्लो संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यबस्थामा पनि जारी रह्यो । जसले राजनीति र नेतृत्वप्रती नै वितृष्णा पैदा गरेको छ । तर यसको अर्थ परिवर्तनको धार उल्टो बग्छ र यसबाट फाइदा लिदै देश कुनै शक्तिकेन्द्रको उपनिवेश बन्छ अनि त्यो नेपाली जनताले सहर्ष स्वीकार गर्नेछन भन्ने होईन । बरु, परिवर्तनको प्रक्रियामा प्रश्चगामी र अग्रगामी धारको द्वन्द्वमा प्रायः जनताले अग्रगामी परिवर्तनलाई साथ दिदै आएकाछन । त्यसैले समाजवादी मोर्चालाई अतीतमुखी निराशाको कोण – जो अज्ञानता र थकानको सुचक हो- बाट हेरेपछि नकारात्मक र निराशाजनक प्रतिक्रिया आउनु स्वभाविक हो । तर यो भविष्य उन्मुख मोर्चा हो जसले शान्ति प्रक्रिया, राजनैतिक परिवर्तन र सामाजिक रुपान्तरणको अभियानलाई पूर्णता दिनेछ ।

(३) अराजक विध्वंसात्मक कोण 

अराजकतावादको एक सिद्धान्तकार मिखाइल ए.बाकुनिनले भन्थे कि `केन्द्र – माथी बाट गरिने हरेक आदेशहरु अस्विकार गर चाहे ती तिम्रो हितमा किन नहोस् ´ यो भनाइ आजको नेपालमा `सबैको विरोध गर चाहे त्यहाँ राम्रो नै किन नहोस् ´ को रूपमा प्रयोग भैरहेको छ । अराजकताको आधार आत्मकेन्द्रित व्यक्तिवाद हो । जो आज समाजमा विध्वंसात्मक भुमिकासहित क्रियाशिल रहेको छ । यो कोण र प्रवृत्तिले समाजवादी मोर्चालाई पनि विध्वंस गर्न लागेको प्रतीत हुन्छ । यसले मोर्चालाई अतिवादी कोणबाट हेर्छ । यो एकातिर केही होइन भन्छ भने अर्कोतिर पार्टी एकता जस्तै बुझेर प्रतिक्रिया गर्छ । कोहि कसैसँग आत्मसमर्पण गरेको वा आफ्नो मान्यताबाट विचलित भएको ठान्छ । मोर्चाको साझा बुझाई , अग्रगामी उदेश्य र एकताबद्द हुने प्रतिबद्धता केही नदेखी केवल एकले अर्कोलाई झुक्याउने चालको रूपमा व्याख्या गर्दछ । यसले ७ बुदे मोर्चाको लिखत ( प्रस्तावना, निति उदेश्य ) का सकारात्मक होइन नकारात्मक र अपुर्ण कुरा मात्रै देखाएर सकारात्मक र क्रान्तिकारी पक्षलाई पुरै ओझेलमा पार्छ । यो प्रवृत्तिले राम्रो हुन नदिएर अन्ततः फासिवादको आधारभुमी तयार गर्दछ । जसबाट यो मोर्चा जोगाएर लिन आवश्यक छ ।

अन्त्यमा, समाजवादी मोर्चाको गठन र घोषणा नेपाली राजनीतिमा नयाँ प्रयोग हो । यसको दीर्घकालीन र क्रान्तिकारी महत्त्व छ । यसको मुल पक्ष रुपान्तरणकारी रहेको छ । यो मोर्चा पुरानो सत्ता र नेतृत्वको संकटको परिणाम र नेताहरूको आत्मसमिक्षा, रुपान्तरण र नयाँ प्रतिबद्धताको उपज हो । यदि नेताहरूको यो पक्ष कमजोर भयो भने मोर्चा असफल हुन पनि सक्छ तर यो अग्रगामी परिवर्तन पक्षधर सबैलाई एकताबद्ध गर्ने अभियानको थालनी हो, ढिलो चाडो भविष्यमा सार्थक बन्नेछ । किनभने पुष्पलालले अगाडि सारेको संयुक्त मोर्चाको नीति उनको मृत्युपछि २०४६ मा सार्थक भयो । अहिले यो मोर्चाले नेपाली विशेषताको समाजवादको अभ्यास गर्नलाई आवश्यक सबै कदम चाल्ने गरि जनता विशेषत: नयाँ पीढीलाई सम्बोधन गर्नेछ भनेर आशावादी हुनुपर्छ । जुन समाजवादले मात्रै वर्तमान पुँजीवादद्वारा सिर्जित समस्याको सहि समाधान दिनेछ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।