चेपाङ, दलित, गुरुङलगायत चितवनको पहाडका भोका–नाङ्गा जनताले जुगेडी बजारमा ‘धर्मे र घोडे’ नामका सामन्त सुदखोर विरुद्ध २०३४ असार ६ गते विद्रोह गरेका थिए । किसान सङ्घर्षलाई सशस्त्र किसान विद्रोह र सशस्त्र किसान विद्रोहलाई दीर्घकालीन जनयुद्धसँग जोड्दै नयाँ जनवादी क्रान्ति गर्ने उद्देश्य अनुरुप भएको सो विद्रोहको नेतृतव ‘किसान सङ्घर्ष समिति, चितवन’को नेतृत्वमा भएको थियो । सङ्घर्ष सफल पारेर सिमल भञ्ज्याङमा थकाई मारिरहेको बेला भएको प्रहरी आक्रमणमा दशरथ चेपाङ र सन्त बहादुर चेपाङ मारिए भने नन्दलाल चेपाङ प्रहरी यातनाको कारण भरतपुर प्रहरी हिरासतमा मारिएका थिए । उनै महान् सहिदहरूको स्मरण, सम्मान र किसान आन्दोलनको उठानको प्रेरणा लिने उद्देश्यले २०४८ सालमा भएको नेकपा (एकता केन्द्र)को चितवनमा भएको ‘एकता महाधिवेशन’ (उक्त महाधिवेशनलाई कालान्तरमा ६औं महाधिवेशन मानियो)ले ‘किसान दिवस’ मान्ने निर्णय ग¥यो । तत्कालीन नेकपा (एकता केन्द्र) र पछि नेकपा (माओवादी) धार हुँदै गुज्रेका विभिन्न घटकहरूले असार ६ गतेलाई किसान दिवसको रुपमा मनाउँदै आएका छन् ।
भौगोलिक अवस्थिति
नारायणगढ बजारदेखि झण्डै ५ कि.मी. उत्तर, मुग्लिङ बजार देखी ३० कि.मी. दक्षिण, चुरे पहाड र नारायणी नदीको बिचमा चितवनको सानो तर पुरानो बजार हो जुगेडी बजार । आधा शताब्दीदेखि आजसम्म पनि सो बजारमा पक्कि घर र बाटोबाहेक कुनै अन्तर देखिन्न । यो बजार चितवनको पहाड र तनहूँ (देवघाट क्षेत्र)का जनताको पुरानो बजार हो । मनहरी र शक्ति खोरपछिको तेस्रो पुरानो पहाडी बजार हो यो । उसबेला जुगेडीमा प्रहरी चौकी थिएन । मुग्लिन–नारायणगढ बजारबिचको मोटरबाटो बनेको थिएन । भर्खर गोरेटो (Track) खुल्दै थियो । अँध्यारो जङ्गलको बिचमा थियो जुगेडी बजार । जहाँ गरिब किसानको रगत–पसिनाको दोहोन हुन्थ्यो ।
ऐतिहासिक पृष्ठभूमि
पुष्पलालले पञ्चायती व्यवस्थाको विरुद्ध संयुक्त जनआन्दोलनको पैरवी गर्दैगर्दा उनले नेपाली काङ्ग्रेसलाई राष्ट्रिय पुँजीपति वर्गको प्रतिनिधि भन्दै तल्लो तहसम्म संयुक्त सङ्घर्षको निर्देशन गरे । तर काङ्ग्रेस चीनको सन–यात्सेन (१८६६–१९२५,चीन) को कोमिन्ताङ पार्टी थिएन । कांग्रेस दलाल पुँजीपति वर्गको पार्टी थियो । गाउँ–गाउँमा काङ्ग्रससँग लडाइँ थियो । त्यही शक्तिसँग पुष्पलाले सहकार्यको प्रस्ताव गरे । राष्ट्रिय पुँजीपति वर्ग र काङ्ग्रेस सम्बन्धी गलत बुझाइको कारण पुष्पलाल समूह छिन्न–भिन्न भएर गयो । त्यसै क्रममा २०२८ सालतिर तत्कालिन पुष्पलाल समूहका केन्द्रिय नेताहरू नारायणमान बिजुक्छे ‘रोहित’, रुपलाल बिक ‘बन्धु’ र धुर्व ढकाल ‘मिश्र’ले पुष्पलाल समूहबाट अलग भएर ‘किसान सङ्घर्ष समिति’ गठन गरे । नेपालमा कम्युनिस्ट पार्टी नै नबनेको र सङ्घर्षमा खारिंदै–खारिंंदै सङ्घर्षकै बिचमा पार्टी गठन गर्ने उनीहरूको धारणा थियो । किसान सङ्गठनलाई क.पा. गठनको पूर्व–तयारी मान्थे । भौतिक र वैचारिक रुपले सर्वहारा वर्गका प्रतिनिधिहरू नभइकन, वर्गसङ्घर्षले त्यसको आधार निर्माण नगरेसम्म कम्युनिस्ट पार्टी नबन्ने उनीहरूको धारणा थियो । त्यसप्रकारको धारणा र योजनासहित क. रोहित बागमती क्षेत्र, ध्रुर्व ढकाल जनकपुर र रुपलाल नारायणी अञ्चलको जिम्मा लिएर किसान सङ्घर्षको उठानमा खटिए । भक्तपुर, ललितपुर, काठमाण्डाैँ, रौतहट, बारा, चितवन, नवलपुरमा त्यसबेला सयौं जुझारु किसान सङ्घर्षहरू भएका थिए । जाली तमसुक च्यात्ने सङ्घर्ष, भालुभुत्ते विरुद्ध सङ्घर्ष, सुकुम्बासी सङ्घर्ष, चर्को व्याज विरुद्ध सङ्घर्ष, कालो बजारी, महिला हिंसा, छुवाछुत विरुद्ध सङ्घर्षहरू भए । तिनै सङघर्षको निरन्तरता र उत्कर्ष जुगेडी किसान सङ्घर्ष थियो । मोहन विक्रम नेतृत्वको छद्म सुधारवाद, पुष्पलालको काङ्ग्रेस परस्त धार र झापाली समूहको उग्रवामपंथी भड्कावको विरुद्ध नयाँ धार निर्माणमा जुटेको यो धारले झापाली समूहलाई नजिकको मित्र शक्ति ठान्थ्यो ।
घटना के थियो ?
२०३४ सालको वर्षात् लाग्दा–नलाग्दै चितवनको पहाडमा भोकमरी लाग्यो । जङ्गलमा गिंठा, भ्याकुर, तरुल जस्ता कन्दमुलसमेत सकिए । जनता भोकभोकै मर्न थाले । रुपलाल बि.क., आशाखोले माइला, नरेश न्यौपाने, झ्याप्ले मास्टर जस्ता युवा कम्युनिस्टहरू सो क्षेत्रमा क्रियाशील थिए । किसान सङ्गठनले ‘भोकले होइन, लडेर मर्ने’ नारा दियो । असार ५ गते स्थानीय जनता र पार्टी कार्यकर्ता गैरी गाउँ (शक्ति खोर बजारबाट उत्तर–पश्चिम)मा जम्मा भए । माडीबाट आउने टोलीको नेतृत्व दिवाकर भूसाल, पूर्वी चितवनको टोलीको हरि तिम्सिना ‘जनक’ र बैदारले, स्थानीय चेपाङ समुदायको नेतृत्व आशाखोले माइलाले, भरतपुर प्रहरी कार्यालयको निगरानी र सूचना विनय पंगेनी र सङ्घर्षको प्रत्यक्ष नेतृत्व नरेश न्यौपानेले गरेका थिए । सङ्घर्षका प्रमुख नेतृत्वकर्ता रुपलाल पनि प्रत्यक्ष सहभागी थिए । असार ५ गते रातभरी झरी परेको थियो । गैरी गाउँबाट रातभरी रुझ्दै–भिज्दै युवाहरू र किसानहरू विहान जुगेडी बजार पुगे । योजनाबद्ध तयारी अनुसार नरेशको पहिलो सिठ्ठी बज्नासाथ सामन्तलाई बाँधेर पल्टाए । ट्याक्टर लडाइदिए । घोडा कब्जा गरे । सुन, चाँदी नगद अन्न, जाली तमसुकहरू कब्जा गरे । नारा लगाए । बजार कब्जा गरे । लडाकु टोलीले रामनगर जानेआउने बाटो नियन्त्रण गरेको थियो । दोस्रो सिठ्ठी बजेपछि त्यहाँबाट हिड्ने तयारी भयो । तेस्रो सिठ्ठी बज्नासाथ विदोहीहरू जुगेडी बजारबाट पूर्व उकालो बाटो लागे । सिमल भञ्ज्याङमा पुगेर खाजा खाने अन्न–नुनतेल, कपडा उपभोग्य वस्तु जनताले लैजाने र जाली तमसुक, नगद तथा सुनचाँदीको लगत उठाउन बसेका थिए । प्राप्त सूचना अनुसार निगरानी टोली (सेन्ट्री) रातभरीको थकाइको कारण निदाएछन् । प्रहरी नजिकै आउँदा सूचना नै भएन । प्रहरीले गोली चलाउदा २ जनाको मृत्यु भयो । रुपलाल आफै घाइते भए । त्यसपछि व्यापक दमन भयो । उक्त दमनको कथा–व्यथा सुदर्शन प्रधान ‘उत्तम’ लिखित ‘सुनको पित्त’ कथामा सुन्दर ढङ्गले उल्लिखित छ । उक्त विद्रोहले कम्युनिस्ट आन्दोलनमा नयाँ बहस ल्याएको थियो ।
ऐतिहासिक महत्व
जुगेडी सङ्घर्ष भन्दा अगाडि र पछाडि पनि हजारौं किसान विद्रोह र सङ्घर्ष भएका थिए/छन् ।
जुगेडी विद्रोहको विशेष महत्व के हो त ? पहिलो, यो सङ्घर्ष किसान सङ्घर्षलाई सशस्त्र किसान विद्रोहसम्म विकास गर्ने र जनसेना, आधार इलाका हुँदै नयाँ जनवादी क्रान्तिसम्म पु¥याउने स्पष्ट विचार थियो । जनयुद्धभन्दा अगाडिका किसान विद्रोहहरूमा त्यस स्तरको वैचारिक स्पष्टता थिएन । दोस्रो, त्यसको प्रत्यक्ष नेतृत्व कम्युनिस्ट पार्टीले गरेको थियो । यद्यपि पार्टीको भ्रुण वा पूर्वावस्था थियो । तेस्रो, नेपालको थारुभन्दा पनि असंगठित, गरिब, झण्डै लोपोन्मुख चेपाङ समुदायको मुख्य सहभागिता थियो । चौथो, महिलाहरूको उल्लेख्य संख्या सहभागि थियो । पाँचौ, सो विद्रोह त्यसबेला चर्चामा रहेको झापाली समूह, मोहन विक्रम नेतृत्वको नेकपा (चौम) र पुष्पलाल समूहको वैचारिक घरातल र कार्यदिशा विरुद्ध नयाँ धार निर्माण गर्ने उद्देश्यले गरिएको थियो । छैटौं, त्यो अर्थवादी आन्दोलन थिएन ।
जुगेडी सघर्षको समाचार जगत बहादुर श्रेष्ठ ‘जगत बा’ले काठमाडौंका अखबारहरू समीक्षा र मातृभूमि साप्ताहिकमा पठाउनु भएको थियो । सो विद्रोहलाई नेकपा (चौम)का नेता एम. बि. सिंहले ‘डकैती’ भनेका थिए । झापाली समूहले जनताको विद्रोह भन्दै सकारात्मक मूल्याङ्कन ग¥यो । नेकपा (मसाल) ले २०४२ सालपछि एम. बि. सिंहको धारणालाई सच्यायो । सो सङ्घर्षलाई सकारात्मक मूल्यङ्कन गरेको शशी शेरचन (सोनाम साथी) नेतृत्वको सर्वहारावादी कम्युनिस्ट लिग र मजदुर किसान संगठनबिच २०३८ सालमा पार्टी एकता नै भयो । त्यसबेला सङ्गठनले ‘जुगेडीको बाटो, क्रान्तिको बाटो !’ नारा तय गरेको थियो । २०३८ पछि त्यो नारालाई परिमार्जन गरी ‘जुगेडीको बाटो जनता उठाउने बाटो !’ बनाइयो । नेपालको कम्युनिस्ट आन्दोलन र किसान विद्रोहको सन्दर्भमा जुगेडी किसान विद्रोहको ऐतिहासिक महत्व छ । यो आज पनि प्रेरणा–स्रोत बनिरहेको छ । लेखक हावर्ड फास्ट (१९१४–२००३ अमेरिका)ले भनेझै ‘विगतका बलिदानलाई वर्तमानका प्रतिरोध सङ्घर्षसँग जोड्नु’ नै जुगेडी किसान विद्रोह दिवस मनाउनुको सार्थकता रहन्छ ।
स्राेत: जनपत्रिका तेस्रो अंकमा प्रकाशित