७ जेष्ठ २०८१, सोमबार

वर्षाका कारण झापाको जनजीवन प्रभावित, दर्जनौं घर डुबानमा

0

झापा । केही दिनदेखि लगातार परिरहेको अविरल वर्षाका कारण झापा जिल्लाको जनजीवन प्रभावित बनेको छ। निरन्तरको भारी वर्षाले जिल्लाका ठूला तथा साना नदीसँगै खोला, पैनी, नालीहरूमा पानीको सतह बढेपछि डुबान र कटानका कारण स्थानीयवासी प्रत्यक्ष प्रभावित बनेका हुन्। 

यसैबीच अदुवा खोलामा पानीको जलस्तर बढेपछि बाह्रदशी गाउँपालिका—२ स्थित सुकुम्बासी बस्तीका ४५ घरधुरीका १ सय ५० जनालाई बिहीबार सुरक्षित स्थानतर्फ सारिएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए। ‘अदुवा खोलामा जलस्तर बढ्न थालेको छ,’ डीएसपी रिजालले भने, ‘सम्भावित हुने क्षतिलाई लक्षित गरी खोला आसपासका स्थानीयलाई बाह्रदशी–२ स्थित दक्षिणेश्वर शिवालय मन्दिरमा सारिएको छ।’ उनीहरूलाई सुरक्षित स्थानतर्फ सार्न इलाका प्रहरी कार्यालय राजगढबाट खटिएका प्रहरी टोली, जनप्रतिनिधि र स्थानीयवासीले सहयोग गरेको उनले बताए। 

त्यस्तै, बाढीका कारण झापा गाउँपालिका १ र २ का ६४ घर डुबानमा परेका छन्। गाउँपालिका—१ स्थित मिलनबस्तीको ३० घर ठूलो कन्काई खोलाको बाढीले डुबानमा परेको इलाका प्रहरी कार्यालय कुमरखोदका प्रहरी नायब निरीक्षक कुलबहादुर मगरले जानकारी दिए। वडा नम्बर २ स्थित सडकवाडी गाउँमा सानो कन्काई खोलाको बाढी पस्दा ३४ घर डुबानमा परेका छन्। 

बाढीका कारण घरभित्र पानी पसेको बाढीपीडित सन्तोष राजवंशीले बताए। घरभित्र पानी पसेपछि खाना पकाएर खान र बस्न समस्या भएको उनले बताए। हुलाकी राजमार्ग निर्माण गर्ने कम्पनीले नदीको छेउछेउबाट जथाभावी बालुवा उत्खनन गरेर राजमार्ग बनाएकोले गाउँमा बाढी पसेको स्थानीयवासीको भनाइ छ। डुबान क्षेत्रमा इलाका प्रहरी कार्यालय कुमरखोद र सशस्त्र प्रहरी बेस क्याम्प टाँघनडुब्बाको टोली खटिएर स्थानीयलाई सतर्क गराउने काम गर्दै आइरहेको छ। 

त्यसैगरी कचनकवल गाउँपालिका–४ स्थित बयरवन र पोक्लावान बस्तीमा मेची नदीको बाढी पसेको छ। बाढीले त्यहाँका एक सय परिवार डुबानमा परेको नेपाल रेडक्रस सोसाइटी झापा शाखाले जनाएको छ। 

रतुवा नदीमा पानीको जलस्तर बढेपछि गौरादह नगरपालिका–५ स्थित चाप्रामारी बजार पश्चिम डुब्बाटोलीका बासिन्दा उच्च जोखिममा रहेको सोसाइटी झापा सभापति लोकराज ढकालले जानकारी दिए। रतुवा नदीको पानी गाउँ छिर्न नदिन त्यस क्षेत्रमा १ सय ५० मिटर बाँसको पाइलिङ लगाउनु पर्ने देखिएको बताउँदै सभापति ढकालले भने, ‘तत्काल बाँसको पाइलिङ नलगाए नदीको पानी गाउँ पस्दा त्यहाँका एक सय परिवारका मानिस डुबानमा पर्छन्।’ 

जनप्रतिनिधि र रेडक्रसकर्मीहरूको टोलीले बिहीबार सो क्षेत्रको स्थलगत अनुगमन गरी बाँसको पाइलिङ लगाउन भनी प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल र जनताको तटबन्ध कार्यालयलाई ध्यानाकर्षण गराइसकेको उनको भनाइ छ। गत वर्ष पनि त्यही क्षेत्रबाट रतुवाको पानी गाउँ प्रवेश गरेको थियो। 

यता जिल्लाको कन्काई, माई, रतुवा, बिरिङ, मेची, हडिया, निन्दा, कमल, अदुवा, देउनियाँलगायतका नदी तथा खोलाहरूमा पानीको बहाव बढ्न थालेपछि नदी तथा खोला आसपासका क्षेत्रमा बसोबास गर्ने स्थानीयलाई सतर्कता अपनाउन अलर्ट गराइएको छ। विशेषगरी जिल्लाको दक्षिणी पालिकाहरूका स्थानीय डुबान र कटानको उच्च जोखिममा रहेको छ। जिल्लामा अहिलेसम्म कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।