संस्कृतिको विकासलाई मानव सभ्यताको विकाससँग जोडेर बुझ्नुपर्छ । मानव जातिले पशु जगतबाट छुट्टिएपछि आफू सभ्य हुन लाखौं वर्ष लगाएको छ । ती लाखौं वर्षहरूमा उसले प्रकृतिसँग गर्ने सङ्घर्ष, उत्पादनको निम्ति गर्ने सङ्घर्ष, आफ्नो अस्तित्व रक्षाको लागि गरेको सङ्घर्ष, अत्याधुनिक वैज्ञानिक प्रयोगशालाहरूबाट उसले आफ्नो ज्ञानको आर्जन गरेका छ भने विभिन्न भौतिक र आत्मिक संस्कृतिहरूको निर्माण गरेको छ । पुराना जनविरोधी र पछौटे संस्कृतिहरूको ध्वंस गर्दै नयाँ जनपक्षीय संस्कृतिको निर्माण पनि गरेको छ ।
मानव जातिले आफ्नो विकासको क्रममा विभिन्न रितिथिति, चाडपर्व, उत्सव आदिको निर्माण गरेको छ । तीमध्ये कतिपय रितिथिति, चाडपर्व, उत्सवहरू आम मानवको हित अनुकूल छन् । कतिपय मानव हित विपरित पनि छन् । त्यसैले हामीले मान्दै आएको, जान्दै आएको कति संस्कार, संस्कृति हाम्रो जीवनका लागि वा भनौ समृद्ध जीवनका लागि नभइनहुने छन् । त्यसैले परापूर्वकालमा हाम्रा पूर्खाहरूले जानेका–मानेका संस्कृतिहरू आज, अहिले हामीलाई चाहिंदै, नचाहिने हुन पनि सक्छ । तर त्यसको लेखाजोखा गर्ने वा भनौं जाँचपड्ताल गर्ने सोचको विकास गर्न भने हाम्रो मस्तिष्क अझै तयार नभइसकेको हो कि जस्तो लागिरहन्छ ।
हामीले यदि चलनचल्तीका संस्कारहरूलाई जाँचपड्ताल गर्ने हो भने धेरै टाढा जानै पर्दैन । हाम्रा आमा र हजुरआमाको कुरा सुन्ने र त्यसलाई आजको वर्तमानमा दाँज्ने हो भने त्यतिखेरका उहाँहरूले प्रत्यक्ष भोगेका घटना प्रवृत्तिहरू हामीलाई एकादेशको दन्तेकथाहरू जस्तो लाग्दछ । जस्तै उदाहरणका लागि, एउटा घटना हाम्री आमाकै लिऊँ ः उहाँले पढ्न नपाउनुको एउटै मात्र कारण पढेर ठिटाहरूलाई चिठ्ठी लेख्ली र छोरी बिग्रेली भन्ने चिन्ताले उहाँलाई हजुरबुवाले विद्यालय भर्ना नै गरिदिएनन् र पढ्ने मौका दिएनन् । आफूले पनि पढ्न आवश्यक ठान्नुभएन । त्यसैले हाम्री आमा अनपढ नै रहन बाध्य हुनुभयो । अब आयो हाम्रो पालो ; आफूले पढ्न–लेख्न नजानेर जिन्दगीको गोरेटादेखि मूलबाटो, पाखो–भित्तो जताततै ठोक्करै ठोक्कर खान परेपछि उहाँले हामीलाई पढाउने ठूलो जमर्को गर्नुभयो । हामीलाई अक्षर चिन्नसक्ने बनाउनु भयो । तर उहाँलाई पनि मनमा एउटा डर भने थियो नै । त्यो के भने छोरीहरूले पढ्न जानेपछि युवती भएपछि ठिटाहरूलाई चिठ्ठी लेख्लान् र आमा–बाबुको इज्जत माटोमा मिलाउलान् भन्ने ठूलो डर–त्रास उहाँमा पनि थियो । त्यसैले त उहाँ बेला–बेला हामीलाई संकार–संस्कृतिका पाठ स्वरुप त्यस्तो काम (प्रेम–स्रेम गर्ने) कहिल्यै नगर्नु नत्र तिमीहरूको मात्र नभएर ‘मेरो समेत’ आमाको समेत बेइज्जत हुन्छ भन्नुहुन्थ्यो ।
जसरी एउटा शिक्षकले आफूले पढेको पाठ विद्यार्थीलाई ठूलो श्रद्धाका साथ पढाउँछन्, उसैगरी हाम्री आमा पनि आफ्ना आमा–बा, हजुर आमाले पढाएका, सिकाएका पाठहरू बडो श्रद्धाका साथ हामीलाई सिकाउनु हुन्थ्यो । त्यस्ता पाठहरूमा धेरैजसो छोरी मान्छे भएर गर्नै पर्ने काम कर्तव्यहरू हुन्थ्यो भने केही छोरी मान्छे भएर गर्नै नहुने कामहरू पनि हुन्थे । जस्तै छोरी मान्छे भएपछि गर्नै पर्ने कामहरूमा ः घरका वा बाहिरका आफूभन्दा ठूलाले अह्राएको काम खुरुक्क गर्ने, ठूलालाई मान–सम्मान गर्ने, उत्ताउलो नहुने (सवाल–जवाफ नगर्ने), निहुरिएर भुइँतिर हेरेर हिंड्ने, उफ्रँदै नहिंड्ने, ढ्याप–ढ्याप पैतलाको आवाज आउने गरी नहिंड्ने, कुनै पनि काम गर्दा ध्यान दिएर, ढङ्ग पु¥याएर गर्ने, खाँदा सुस्तरी–सुस्तरी खाने आदि थिए भने गर्न नहुने कामको पङ्ति पनि लामै छन् ।
यसरी हाम्री आमाले आफ्नी आमा हजुरआमाबाट पाएको ज्ञानको भण्डार हाम्रो खाली मस्तिष्कमा खन्याउने गर्नुहुन्थ्यो । यसरी आफ्नै आमा–हजुरआमाबाट निःशुल्क घोप्टिएर आउने ज्ञानका मुश्लाहरू बाहेक छरछिमेक आफन्त नातागोताहरूबाट आउने ज्ञानका धाराहरू पनि निरन्तर हाम्रै मस्तिष्कमै ठोक्किन आइपुग्थे ।
हामीले पाउने ज्ञान भनेको परम्परागत रुढिवादी बाहेकका अत्यन्त कम मात्र हुन्थे । आधुनिक शिक्षाले पनि महिलालाई त्योभन्दा पृथक शिक्षा दिन आवश्यक ठानेन जसले गर्दा रुढिवादी नक्कली, झुठा ज्ञानलाई नै महाज्ञान मानेर आफ्नो जिन्दगी बाँच्न विवश छन् नेपाली महिलाहरू । आजका महिलाहरू पितृसत्तात्मक ज्ञानधाराले सिंचिएका महिलाहरूले आफूले जानेका–बुझेका र त्यसै अनुरुप जीवन चलाएर आएकोले बानि नै परिसकेपछि त्यो नै सजिलो र अझ इश्वरले नै महिला र पुरुषलाई छुट्टा–छुट्टै काम दिएकाले हामीले त्यसकै अनुशरण गर्नु गराउनु पर्छ भन्ने मान्यता वा आफ्नो धर्म सम्झनेहरूको नै बोलवाला रहेको छ ।
संस्कार संस्कृतिको विषय उठाउनासाथ धर्मको कुरा, पापका कुरा पनि सँगसँगै झुल्कन्छ । हुन पनि हो, हाम्रो उठाइ, बसाइ, बोलाइ आदि संस्कारहरूमा धर्म आएर मिसिएको हुन्छ । जस्तै विहानै उठेर दैलो बढारेन भने देवता रिसाउँछन् । बोल्दा होस् पु¥याएर बोल्नुपर्छ नत्र पाप लाग्छ । हिंड्दा देवताका मन्दिरतिर गोडा लाग्ला र पाप लाग्ला जस्ता कथन हामीले दैनिक सुन्न–भोग्न परिरहेको हुन्छ ।
पुरुषलाईभन्दा महिलालाई संस्कार–संस्कृतिले लगाउने बन्देजहरू धेरै नै छन् । जस्तो पुरुष विवाहपश्चात् परस्त्रीसँग जति लसपस, उठबस गरे पनि उसलाई पाल लाग्ने, घर बिग्रने डर हुन्न । बरु उसको त्यस्तो व्यवहारको विरोध उसकी महिलाले गरी भने उसलाई घर भँडुवाईको आरोप लाग्छ । यदि विवाहित महिलाले पर–पुरुषको विषयमा सोचिमात्र भने पनि पाप लाग्छ भन्ने श्लोक र उक्ति हाम्रा धर्मशास्त्र र स्मृतिहरूमा प्रसस्त पाइन्छन् । यतिसम्म कि महिलाको रजस्वला जो श्रृष्टिको मुहान हो, हिन्दु धार्मिक परम्परामा पुरोहितवादको उदय भएपछि त्यसलाईसमेत पापको संज्ञा दिएर पाप पखाल्न पर्ने बाध्यतामा महिलाहरूलाई पारिएको छ । त्यसलाई र त्यस्ता महिलाका छुट्टै पुरुषका छुट्टै पाप धर्मका मापदण्डहरूलाई जाँचपड्ताल गरेर साँच्चै ठीक छ भने अपनाउने र गलत रहेछ भने हटाउने, पन्छाउने गर्न साह्रै अबेला भइसकेको आजको समयमा वास्तविक शिक्षा प्रदायक निकायहरूले यस विषयलाई लागु गर्नुपर्ने हो । तर अझै पनि हामी उही पुरानै पितृसत्तात्मक राज्यसत्ताले महिलामाथि लादेको गलत संस्कार–संस्कृति र शिक्षाकै जगमा महिला उन्मुक्ति, समृद्धि र महिला सुखको खोजिमा भौंतारिइरहेका छौं ।
सबैलाई थाहा छ कि यो संसार वा श्रृष्टि चलाउन महिला र पुरुष नभइनहुने प्राणी हुन् । तर पुरुष प्रधान सत्ता र संरचना भएकोले पुरुषका कमिकम्जोरी गल्तीहरू पनि सबल पक्ष मानिन्छ भने महिलाका कमिकम्जोरी र सानो गल्ती पनि दुर्बल मानिन्छ । त्यसैले महिलालाई एउटा मान्छेको रुपमा हेर्ने संस्कार–संस्कृतिको विकास जबसम्म हुँदैन तबसम्म मानव समुदायले जहिले पनि आफ्नो एक हिस्सा जो महिलाको छ उसलाई कमजोर नै पाउने छ । उसबाट जति समृद्धि मानव समुदायले प्राप्त गर्न सक्थ्यो त्यो पाउन सकेको छैन–सक्ने छैन । आज पनि ठुला प्रवुद्ध व्यक्तित्वहरूले समेत महिला ठूलो ओहोदामा कार्यरत रहेछ भने आश्चर्यचकित हुन्छन् । उसको कार्य क्षमतामा प्रश्न गर्न हतारिन्छन् । भन्छन् कि महिला हकिम रहिछन्, तिनलाई सजिलै काम गराउन सकिहालिन्छ भन्ने हल्का सोचको कमी छैन । त्यस्तै महिलाका विषयमा बोल्नु पर्दा ठूला–ठूला मै हुँ भन्ने विद्वानहरूका विचार सुन्न पाइयो भने कति सतही भएर सोच्दछन् भन्ने कुरा सिक्न पाइन्छ । एउटा घटना मलाई सधैं याद आउँछ । नेपाल कम्युनिस्ट पार्टीका पिबिएमहरू कुनै कार्यक्रममा सहभागि हुन जाँदैथिए ; गाडिमा समय बिताउने हिसाबले विभिन्न विषय उठे । त्यहाँ कम्युनिस्ट पार्टीका दुई जना पिबिएम सदस्यले महिलाको विषय उठान गरेर कुरा गर्दै थिए । एकले भने महिलाको विषयमा माक्र्सले भनेका छन्, “मलाई महिलाको कमजोरी मनपर्छ ।” भने एक दुई कमजोरी भए पो महिलाको विशेषता नै कमजोरी नै कमजोरी भएपछि त्यो सुन्दरता जस्तो, गहना जस्तो बन्दोरहेछ । भनेर भने, भनेपछि महिलाको कमजोरी छ भने त्यसको कारण खोजेर हटाउन त मेहनत गर्नुपर्छ । परिश्रम गर्नुपर्छ तर त्यसलाई मन पराइदिए पछि त्यसलाई हटाउने, घटाउने त प्रश्नै आएन । मनपर्ने चिजलाई किन हटाउनु–घटाउनु ? बरु त्यो त जति बढ्यो उति फाइदा भन्ने छलफल गरेको सुनें । त्यसपछि मैले यो महशुस गरें कि महिलामा कमजोरी छ होला । तर के पुरुष चाहिं कमजोरीरहित मानव हो त ? यदि त्यस्तो हो भने कमजोरीसहितका महिला र कमजोरीरहित पुरुष यो संसारमा कसरी टिकिरहेका छन् ? निरन्तर भन्ने प्रश्न उनीरुलाई उठाउन मन लागेन । त्यो कुराले पुरुष कम्युनिस्ट नेताहरूका मानसिकतालाई कस्ता कस्ता कुराहरूले महिला उन्नति–प्रगतिको बाधक खोज्नेभन्दा पनि यथास्थितिमै सन्तुष्ट हुने विचारधाराले काम गरिरहेको हुनेरहेछ भन्ने ज्वलन्त उदाहरण थियो त्यो । त्यस्तो दृष्टिकोण जो महिलाका विषयमा व्यक्त गरिएको थियो । अधिकांश नेता, बुद्धिजीवी, शिक्षित, सभ्य, उच्च ओहदावाला पुरुषहरूको मानसिकताको प्रतिनिधित्व त्यस सम्वादले गरिरहेको थियो ।
पुरुष आफू सामान्य आम मान्छे नै किन नहोस्, उसले आफूलाई महिलाभन्दा बढी बुद्धिजीवी नै ठान्छ । तर महिलाले भने आफूलाई खास त्यस्तो कमै सोच्दछन् । किनभने महिलाले आफू पुरुष बराबर वा उभन्दा बढी जान्ने बुझ्ने हुन सक्छ भन्ने शिक्षा, संस्कार–संस्कृति कहीं कतै छैन । एकादुई अपवादमा महिलाहरूले पनि पुरुषले गर्न नसकेका कामहरू गर्ने, सोच्ने र त्यस अनुरुप आफ्नो जीवनको यात्रा गर्ने गर्छन् । तर हाम्रो आम संस्कृतिमा भने त्यस्तो खाले सोच बागी नै हुन्छ । त्यो बागी सोच जन्माउने, हुर्काउने, फलाउने, फूलाउने जिम्मा अब पितृसत्ताको उन्मूलन गर्दै समाजवादी सत्ताको स्थापना गरी समानताको संस्कार–संस्कृतिको निर्माण गर्नुपर्ने हुन्छ । तर रुस र चीनको समाजवादी सत्ताको अनुभवबाट के बुझ्न सकिन्छ भने समाजवादी क्रान्ति भएपछि पनि पितृसत्ता कायमै रहन्छ । त्यसको विरुद्ध लड्ने काम बाँकी नै रहन्छ । फरक के मात्र हो भने वर्तमान दलाल पुँजीवादी सत्ताले पितृसत्ताको पक्षमा काम गर्छ ; गरिरहेको छ । तर समाजवादी सत्ताले भने पितृसत्ताको विरुद्ध महिला मुक्तिको पक्षमा काम गर्नेछ । लडाइँ त र जारी रहन्छ । तर समाजवादी क्रान्तिपछि सत्ता वा सरकार र कानुनसमेत मिलेर पितृसत्ताको विरुद्ध लड्न पाइन्छ । अहिले महिला मुक्तिको लडाइँ श्रमिक वर्गसँग मिलेर वर्गसत्ता र पितृसत्ताका विरुद्ध लड्नु परेको छ ।
स्राेत: जनपत्रिका तेस्रो अंकमा प्रकाशित