महिला मुक्तिको वलिदानीपूर्ण संर्घषको नेतृत्व गरिरहेको अखिल नेपाल महिला संघ क्रान्तिकारी केन्द्रीय प्रकाशन विभागद्धारा आफ्नो समसामयिक वैचारिक पत्रिकाको नाम ‘नागेली’ (Nangelee) राखेर कथित जात प्रथाको पाखण्डी, लज्जाजनक कुसंस्कारका विरुद्ध वलिदानीपूर्ण विद्रोह गर्ने एउटी श्रमिक समुदाय (दलित) महिलाको अमरगाथालाई सम्मान गरेको छ ।
सन् १८०२ र १८०३ को घटना हो । हालको भारतको केरला राज्य बन्नुभन्दा पहिले केरलाको अधिकांश भूभागमा त्रावणकोर नामको राज्य थियो ।
उक्त राज्यमा कथित माथिल्लो जातिका राजाको शासन थियो । त्यहाँ कथित तल्लो जाति मानिने नाडार (Nadar) जातिको ठूलो आवादी थियो । नाडार (Nadar) जाति मध्ये पनि सबैभन्दा तल्लो जाति मानिने एजवा जातिकी महिला थिइन नागेली । त्यहाँको कुर राजाले कथित अछुत मानिने श्रमिक समुदाय (दलित) जातिलाई प्रताडित गर्न विभिन्न प्रकारका पाखण्डी कुप्रथाका कानुन बनाएको थियो । त्यस्ता कुप्रथा मध्ये मानवजातिलाई नै कलंकित गर्ने लेख्न पनि लज्जा वोध हुने स्तनकर लगाइएको थियो। त्यहाँको भाषामा त्यसलाई मुलाकरम (Mulakaram) भनिन्थ्यो ।
श्रमिक समुदाय (दलित) महिलाहरुले सार्वजनिक स्थल तथा कथित माथिल्लो जातिका पुरुषहरुका अगाडि स्तन ढाकेर हिड्न पाउदैन थिए । स्तन ढाक्न चाहेमा उनीहरुले आफ्नो स्तनको आकार अनुसार राजालाई स्तनकर (Breast tax) बुझाउनु पर्थ्यो । श्रमिक समुदाय अत्यन्त गरीब भएका कारण विहान वेलुका हात मुख जोर्न समेत नसक्ने अवस्थामा थिए। यस्तो अवस्थामा उनीहरुले स्तनकर तिर्न सक्ने अवस्था थिएन, जसले गर्दा उनीहरुले आफ्नो छातीको भाग खुल्लै राखेर हिंड्न विवश र लाचार थिए ।
त्यसप्रकारको घिनौना प्रथाबाट मुक्ति पाउन ती विद्रोही महिला नाङ्गेलीले आफुले स्तन ढाकेर हिड्ने अठोट गरिन् । उनको त्यो व्यवहारबाट शासक वर्गले आफ्नो कानुनको उलङ्घन गरेको भन्दै नागेलीलाई बारम्बार प्रताडना गर्न थाले । जब शासक वर्गले आफ्ना स्तनकर असुल गर्ने कर्मचारीलाई सुरक्षाबल सहित नागेलीको घर घेरा हाल्न पुगे, कि त तत्काल स्तनकर बुझाउनु पर्ने कि त स्तन ढाक्न नदिने अड्डी कसेर घेराबन्दी गरे । स्तनकरको रकम केराको पातमा राखेर बुझाउनु पर्दथ्यो ।
नाङ्गेलीले क्रूर पाखण्डी शासकहरुको अगाडि नझुक्ने कसम खाईन् र भित्रबाट आफ्ना दुबै स्तन काटी केराको पातमा राखेर बाहिर बसेका शासकहरुका कर असुल्न गएका व्यक्तिहरुलाई सुम्पिदै भनिन्, मसँग कर तिर्ने रकम छैन मेरा स्तन नै लिएर जाउ। त्यो देखेर दुष्ट अधिकारीहरु भागे । नाङ्गेलीको अत्यधिक रक्तश्रावका कारण मृत्यु भयो । उनको त्यो आत्मसम्मान र महिला इज्जतका लागि गरेको वलिदानीपूर्ण विद्रोहले एजवा (एडवा) जाति पुरै विद्रोहमा उत्रिए पछि त्रावणकोर राज्यको क्रुर पाखण्डी कानुन खारेज गर्न बाध्य भयो ।
विद्रोही नागेलीले आफुले वलिदान दिएर आफ्नो जातिका महिलाहरुलाई अमानवीय, क्रुर र लज्जाजनक कुप्रथाबाट मुक्ति दिलाइन् । भारतीय इतिहासकारहरुका अनुसार उनको त्यो विद्रोहमा उनका श्रीमानले नाङ्गेलीको विद्रोहलाई अन्तिम समयसम्म साथ दिने वचन दिएका थिए, साथ पनि दिए । नागेलीलाई जलाउँदा उनका श्रीमान् पनि त्यही चितामा आफु पनि संगै जलेका थिए ।
नाङ्गेलीको त्यो वलिदानीपूर्ण विद्रोहको प्रेरणाबाट नाडार जातिका महिलाहरुले पनि त्यस पाखण्डी कुप्रथा विरुद्ध विद्रोह गर्न थाले । विद्रोहको नेतृत्व गर्ने नाडार जातिका २ वटी महिलालाई सन् १८५९ मा फाँसी दिइए पछि आक्रोशित नाडार जातिले विद्रोहको आँधिवेहरी श्रृष्टि गरे र अन्तमा त्रावणकोर राज्यबाट त्यो पाखण्डी प्रथा सदाका लागि अन्त्य गर्न सफल भए ।
अतः अखिल नेपाल महिला संघले त्यस प्रकारको अदम्य शाहस र बलिदानीपूर्ण विद्रोहका प्रतिमुर्ति विद्रोही महिला नागेलीको महिला मुक्तिको आन्दोलनको गाथालाई जीवन्तता प्रदान गर्ने कार्य गरेर एउटा प्रशंसनीय कार्य गरेको छ ।
(नाङ्गेली,वर्ष १, अङ्क १, २०८०)