९ श्रावण २०८१, बिहीबार

लघुवित्त र मिटरव्याजको चक्रव्यूहमा महिलाहरुको जीवन

0

विषय प्रवेश

केहि समय पहिले काठमाडौं माईतीघर मण्डला, बानेश्वरदेखि रत्नपार्कको शान्तिवाटिकासम्म हातमा प्लेकार्ड बोकेका मान्छेहरुका जुलुस, नाराबाजी, धर्ना र सभाहरु दैनिक प्रदर्शन भइरहेका हुन्थे । तराईका जिल्लाहरुबाट पिठ्युमा बच्चा बोकेर पैदल यात्रा गर्दै काठमाडौं पुगेका ती मान्छेहरुका तस्वीर भिडियो त्यतिबेलाका संचार माध्यमहरुमा निकै चर्चाका विषय बने र त्यो क्रम अझै जारी छ । अधिकांश तराई मूलका बासिन्दा त्यसमा पनि अत्यधिक संख्या महिलाहरु भएको त्यो आन्दोलनमा पहाडी मूलका मानिसहरुको पनि उल्लेख्य सहभागिता थियो । सरकारी नीति अनुसार गाउँगाउँ पुगेका लघुवित्तको ऋणबाट पीडित र मिटरव्याज जस्तो अवैध कारोवारबाट पीडित मात्र होइन घरवारविहिन समेत हुन पुगेका ती आन्दोलनकारी आफ्नो समस्याको समाधान खोज्न राजधानी शहरमा आइपुगेका थिए। जहाँ नजिकबाट सरकारलाई आफ्नो समस्या राख्न वा सुल्झाउन सकियोस् ।

लघुवित्त र मिटरव्याज विरुद्धको त्यो संघर्ष काठमाडौंमा देखिए पनि नेपालका दुरदराजका बस्तीदेखि शहरबजार र खासगरी पूर्वदेखि पश्चिमसम्मका तराईका जिल्लाहरुमा व्यापक रुपमा फैलिसकेको थियो । लामो समयदेखि आन्तरिक रुपमा लघुवित्त र मिटरव्याजको कारोवार चल्दै आएको थियो । पछिल्लो समय नेपालमा छाएको आर्थिक मन्दी, त्यसले नेपाली जनजीवनमा पारेको प्रभाव र दैनिक जीवनमा आइपरेको संकटले भुसको आगो झैँ भित्रभित्रै फैलिएको ऋणको पासोलाई थेग्न सक्ने स्थिति नभएपछि यो एकैपटक विष्फोटको रुपमा राजधानीको सडक आन्दोलनमा व्यक्त हुन पुग्यो ।

जुन नेपाली समाजमा दिनप्रतिदिन झन्झन् विकराल समस्याको रुपमा फैलिरहेको छ । विभिन्न तथ्याङ्क अनुसार यसबाट पीडित हुनेहरुमा पुरुषको तुलनामा महिलाको संख्या अत्यधिक बढी छ । यहाँ यही विषयलाई केलाउने प्रयत्न गरिएको छ ।

घटना प्रकृति

१) झापा गौरादहकी बालकुमारी हुमागाईले २०७५ भदै २० गते घरमै झुण्डिएर आत्महत्या गरिन् । उनले कर्णाली लघुवित्त वित्तीय संस्थाबाट एक वर्ष अघि लिएको १ लाख ऋणको मासिक किस्ता र व्याज गरी ९० हजार बुझाई सकेकी थिइन् । अघिल्लो दिन किस्ता रकम ६ हजार ६६६ रुपैया उठाउन संस्थाका कर्मचारी दिनभर घरमै ढुकेर बसेका थिए । २ दिन पनि किस्ताको म्याद थप्न तयार नभएका संस्थाका कर्मचारीको दबाबका कारण उनले आत्महत्या गरेको हुन सक्ने उनका छोराबुहारीको अनुमान छ ।

२) रुपन्देही कञ्चनगाँउपालिका-४ हरैयाकी भावना सारुले २०७१ सालमा स्वावलम्वन लघुवित्त संस्थावाट ५० हजार ऋण लिएर बंगुरपालन शुरु गरिन् । बंगुरको पाठा विक्रिकालागि तयार नहुदै संस्थाले किस्ता तिर्न ताकेता गर्न थाल्यो । ऋण खोज्दै किस्ता तिर्दै गर्दा ऋणको बोझ झन् झन् बढ्दै गयो । यतिसम्मकी किस्ता तिर्न १ घन्टा ढिला गरेमा रु.१०० र १ दिन ढिला गरेमा रु.५०० जरिवाना तिर्नुपर्ने भयो । यस्तो स्थिति सम्हाल्न उनले एक पछि अर्को गर्दै १० वटा लघुवित्तको सदस्य बनेर ऋण लिइन् । सामूहिक जमानीमा ऋण लिने नीति भएको संस्थामा समूहका साथीहरुले ऋण तिर्न नसके वा भागे त्यसको बोझ समेत उनीलगायतका सदस्यहरुमा थपियो । कञ्चन गाउँपालिकामा मात्रै लघुवित्तको ऋण तिर्न नसकेर दर्जन भन्दा बढी महिलाहरु गाउँ छोडेर भागेर छन् ।

३) रुपन्देही कञ्चन-४ सुनगाभा चोककी शर्मिला परियारले विष खाएर आत्महत्या गरिन् । स्थानीयका अनुसार ऋणकै कारण उनको श्रीमानसंग झगडा परिरहन्थ्यो । त्यस्तै अर्की महिला लक्ष्मी खत्रीले पनि घरको बलामा झुण्डिएर आत्महत्या गरिन् । उनले पनि लघुवित्तहरुबाट लिएको ऋण तिर्न नसकेकोले आत्महत्या गरेको हुनसक्ने स्थानीयको आंकलन छ ।
४) २०७६ साउनमा धनगढी फूलवारीकी आरती थापाले कतारमा रहेका श्रीमान धनसिंह थापालाई फेसबुक म्यासेन्जर मार्फत मिटरव्याजले आफू बर्वाद भएको र ढुकुटीको चक्करमा परेर ४९ लाखरुपैया, तीनतले घर र २ कठ्ठा जमिन गुमाएको बताएर त्यसै दिन साँझ आत्महत्या गरिन् ।
५) ढुकुटी खेलाएर २ करोड अनियमितता गरेको आरोपमा गिरफ्तार परेकी धादिङ्गकी भवानी लामा मिटरव्याजीहरुको लोभमा परेर अनियमितता गरेको प्रहरी अनुसन्धानले देखाएको थियो । तर उनले प्रहरी हिरासत मै आत्महत्या गरिन् ।
६) घर बनाउदा लागेको ऋण तिर्न र विरामी श्रीमानको उपचार गर्न ८ लाख रुपैया कर्जा लिएकी दाङ्ग घोराही उपमहानगरपालिका-६ की उषा नेपालीको चार वर्षमा सावा व्याज सहित २५ लाख पुग्यो । घर बनाउदा लागेको ऋण तिर्न नसक्दा साहुलाई त्यही घर जिम्मा दिएर हिड्न वाध्य भईन् ।

७) सिराहा सुखीपुर नगरपालीका -८ की लिलियादेवी ठाकुरले राजाराम साह बाट डेढलाख रुपैया ऋण लिइन् तर साहुले ९ लाख रुपैया माग्यो । फेरि छोरा विदेश जानेबेला ३ लाख माग्दा २ लाख १० हजार मात्र दिएर उनले पटकपटक गरेर ८-९ लाख रुपैया दिइसकिन् तर उसले १० लाखको कागज बनाएर २० लाख माग्दै धम्क्याउने गर्दै रह्यो । त्यसबाट मुक्त हुन उनी घरमा बस्दिनन् र न्यायकोलागि काठमाडौंमा आन्दोलन गर्नलाई आईपुगेकी छिन् ।
८) काठमाडौं चन्द्रगिरी न.पा. की सन्तोषी महर्जन लधुवित्त पीडित महिला हुन् । उनले आफ्नो व्यापारकोलागि लघुवित्तवाट ऋण लिइन् त्यसको लगत्तै लकडाउन भयो । लकडाउनले व्यापार नचलेपछि संस्थाको किस्ता समयमै तिर्न सकिनन् । ऋणको व्याज थपिदै गयो । उनी लगाएत उनका महिलाहरुको पनि त्यस्तै स्थिति समूहका बन्यो । तर लधुवित्तले साँवा व्याज सहितको किस्ता तिर्नकोलागि दिनरात टर्चर दिने गर्छ । टर्चरका कारण कैयौ महिलाहरु गाउँ छोडेर हिड्न बाध्य छन् ।

(९) रुपन्देही सिद्धार्थनगर नगरपालिकामा बस्ने लघुवित्त र मिटरव्याज पीडित महिलाहरुको एउटा टोलीसँग बसेर छलफल गर्दा एकजनाले सुनाईन्, लघुवित्त ग्रामीण विकास संस्थामा सदस्य बनेर १० हजार जम्मा गरे। त्यहीबाट बचत र ऋणको शुरुवात भयो । त्यसको चक्र हुदै मिटरव्याजसम्म पुग्दा घरबास सबै लिलाम हुनपुग्यो । अर्को एकजनाले भनिन्, मिटरव्याजको ऋण तिर्न लगुवित्तवाट १ लाख ऋण लिदा विभिन्न शुल्क कटाएर जम्मा ७० हजार मात्र बुझे। त्यही छलफलमा अर्को एकजनाले निर्धक्कसँग भनिन्, वित्तीय संस्था र मिटरव्याजीहरुको मिलेमतो छ। छलफलको क्रममा उनीहरुले सुनाए, मिटरव्याजीले पछिल्लो चरण ऋणीसँग ऋणको डबल अंक राखी चेक लिने गर्दछन् र रकम नउठे चेकवाउन्सबाट प्रशासनमार्फत असुल गर्ने तरिका अपनाएका छन् ।

यो त बाहिर समाचारमा आएका अर्थात् सार्वजनिक भएका प्रतिधिनिमूलक घटना मात्र हुन् ।

देशभरीका शहर, ग्रामीण क्षेत्र र तराईका विभिन्न ठाउँमा बस्ने महिलाहरुको अध्ययन गर्ने हो भने स्थिति निकै भयावह देखिन्छ । लधुवित्त, मिटरव्याज, ढुकुटी जस्ता बैध अबैध कारोवारमा फसेर आत्महत्या गर्ने महिलाहरुको संख्या निकै माथि पुगिसकेको छ भने यसैका कारण घरपरिवार विघटन र सडकमा आउनेहरुको संख्या त उल्लेख्य हुनसक्छ ।

नेपालमा ऋण कारोवारको पृष्टभूमि-

समाजमा मुद्राको प्रचलन शुरु भएपछि वस्तु विनियमको माध्यम मुद्राले लियो र पूँजी संचितिको प्रकृया शुरु भयो । यसले आर्थिक कारोवारलाई सरल बनाउँदै पूँजीको विकासमा नयाँ क्रान्ति नै ल्यायो । नेपालमा लामो समयदेखि परम्परागत खेतीपाती र पशुपालनमा आधारित कृषि उत्पादन प्रणाली चल्यो । जुन ग्रामीण भेगमा अहिले पनि जारी छ । टुक्रे जमिन र निर्वाहमुखी खेती प्रणालीवाट आफ्नो जिविकोपार्जन गर्दै आएको नेपाली समाजमा छिटफुट रुपमा हुने नगद कारोवार सिमित बजारमार्फत हुने गर्थ्यो। आफ्नो आवश्यकता अनुसार बाली उत्पादन गरी जीवन धान्ने स्थितिले गाँउघरमा नगद कारोबार निकै कम हुन्थ्यो । ज्यालादारी श्रमको प्रचलन थिएन । श्रममा पर्मप्रथा प्रचलित थियो । अत्यावश्यक काम जस्तै बिहेवारी, चाडबाड, औषधि उपचार र किसानले उत्पादन नगर्ने नुन र कपडाकोलागि मात्र नगद कारोवार हुन्थ्यो । किसानलाई नगद चाहिएको बेला यस्तो नगद कारोवार गाउँका साहु र बजार महाजनहरुले गर्दथे ।

किसानले उत्पादन गर्ने खसीबोका, घिऊ, मह, चामल जस्ता वस्तुलाई नगदमा कारोवार गरिन्थ्यो । ती वस्तु उत्पादन गर्न नसक्ने वा नहुने किसानले साहुवाट ऋण लिनुको विकल्प थिएन । नगदको दुर्लभता र गरिबीको फाईदा उठाउदै गाउँका साहुहरुले किसानहरुलाई चर्को व्याजमा ऋण दिने गर्दथे । हामीले थाहा पाउँदासम्म पनि गाउँघरको व्याजदरलाई मैनेठेकी (मासिक ५ प्रतिशत) र खेपिहाने (मासिक १० प्रतिशत) भन्ने गरिन्थ्यो । साहुले ऋणीसँग तमसुक गर्दा दोब्बरको तमसुक गर्दथे भने केहि कोशेली भनेर शुरु मै ५ देखि १० प्रतिशतसम्म रकम कटाएर बाँकी पैसा ऋण दिन्थे । तमसुकमा ऋण तिर्ने भाका राखी तिर्न नसके ऋणीको घरसम्पतिवाट असुल उपर गर्ने व्यहोरा उल्लेख हुन्थ्यो समयमा सावाव्याज तिर्न नसक्ने किसानले घरखेत र पशुधनवाट ऋण चुक्ता गर्दथे । यसले कैयौ किसानहरुको जायजेथा लिलाम भई मुग्लान पस्न बाध्य बनाउन्थ्यो ।

नेपालमा प्रजातन्त्रको बहालीसँगै परम्परागत उत्पादन सम्वन्ध र अर्थ समाजिक व्यवहार पनि खल्वलिन पुग्यो । खुलाबजार अर्थतन्त्रले बजारको विस्तार गर्दै गाउँसम्म पुऱ्यायो । ज्यालादारी श्रम र श्रमिकको विकास हुँदा नगद कारोवार सहज हुन थाल्यो । नयाँ राजनैतिक संरचना र हस्तक्षेपले पुराना साहुहरु विस्थापित हुनपुगे । सरकारले जनचेतना बदलिदो परिस्थितिको मूल्यांकन गर्दै जनतालाई गैरकानूनी चर्को शोषणको पुरानो आर्थिक कारोवारबाट मुक्त गरी बैकिङ्ग प्रणालीबाट सरल र सहज सेवा प्रदान गर्ने नीति अगाडि सार्यो । त्यही नीति अन्तर्गत नै शहरबजारदेखि गाउँघरसम्म बैंक तथा वित्तीय संस्थाहरु विस्तार गरिएका छन् ।

के हो लघुवित्त ?

सरकारी तथा निजीक्षेत्रवाट संचालित ठूलो पुँजी परिचालन वा कारोवार गर्ने वैंकहरुमा पहुंज नहुने, ग्रामीण भेग र ससाना पुँजी परिचालन गर्ने उद्देश्यकासाथ नेपालमा लघुवित्त संस्थाहरुको स्थापना गरिएको भनिन्छ । राष्ट्र बैंकको परिभाषा अनुसार, नेपाल राष्ट्रबैंकबाट ‘घ’ वर्गको इजाजत प्राप्त गरी विपन्न तथा न्यून आय भएका व्यक्ति र खासगरी महिलाहरुलाई लक्षित गरी स्थापना गरिएको संस्था हो लघुवित्त संस्था । यसले महिलाहरुको समूह बनाई समूहका प्रत्येक सदस्यबाट नियमित बचत संकलन गरी विना धितो सामूहिक जमानीमा ऋण प्रवाह गर्दछ । यसको उद्देश्य ग्रामीण भेगमा बस्ने निम्न वर्गका महिलाहरुलाई सानोतिनो कृषिउत्पादन, लघुउद्यम तथा साना व्यवसाय संचालन गरी अर्थोउपार्जन गर्ने, स्वावलम्वी वन्न प्रेरित गर्ने र गरीवी घटाउने भनिएको छ ।

सन् १९७२ तिर बंगलादेशका ग्रामीण महिलाहरुको जीवन उकास्ने उद्देश्यले त्यहाँ यस्ता संस्थाहरुको स्थापना गरियो र यो अवधारणले वंगलादेशमा राम्रो परिमाण ल्याएको मानिन्छ । वित्तिय कारोवार गर्ने चरित्र बोकेको यो संस्थाको अवधारणा नेपालमा भने २०४९/५० सालतिरबाट भित्रिएको हो । समयक्रम अनुसार विकास र विस्तार हुदै गएका नेपालका लघुवित्त संस्थाहरुको संख्या ९० भन्दा माथि पुगेको छ। ९पछिल्लो तथ्याङ्घ अनुसार मर्जको कारणले घट्न पुगेको छ० जसले शहरदेखि गाउँसम्मका वस्तीवस्तीमा आफ्नो कारोवार फैलाईरहेका छन् ।

किन विवादित बनिरहेका छन् लघुवित्त संस्थाहरु ?

ग्रामीण भेगका महिलाहरु वा सेवासुविधा र अवसरमा पहुँच नहुने महिलाहरुमा शुरुशुरुमा लघुवित्त संस्थाहरुप्रति ठूलो आकर्षण थियो। घरखर्च र अत्यावश्यक आवश्यकताको परिपूर्ति गर्न गाउँघरको समूहबाटै ऋण लिन पाइने र सानोतिनो उद्यम गर्न पनि ऋण पाइने भएकाले महिलाहरु त्यसमा पनि गाउँघरमा निजि तवरमा लिइने ऋणको व्याज भन्दा समूहको व्याज सस्तो पर्न जाने भएकाले यसमा महिलाहरु लोभिनु स्वभाविकै हो । घरायसी अनुत्पादक कामधन्दाबाट वित्तीय क्षेत्रमा पहुँज भएपछि महिलाहरुमा आर्थिक कारोवार गर्ने हौसला मिल्यो र उनीहरु निर्धक्क आर्थिक कारोवार गर्न थाले । शुरुशुरुमा त्यस्तो कारोवारले महिलाहरुलाई घरव्यहार चलाउन सजिलो पनि भयो । तर क्रमशः समय बित्दै जाँदा महङ्गी पनि बढ्दै गयो ।

आफूले गरेका व्यवसायमा पनि त्यति प्रतिफल आउन सकेन । दैनिक जीवनका आधारभूत आवश्यकता पनि बढ्दै गए । एकातिर आम्दानीभन्दा खर्चको स्केल बढ्दै गयो भने अर्कोतिर समय मै किस्ता र व्याज तिर्न नसक्दा ऋणको भार पनि चुलिदै गयो । समयमा किस्ता उठ्न छोडेपछि वित्तीय संस्थाहरुले एकपछि अर्को नियम थोपर्न थाले । पछिल्ला समयमा उनीहरुको काम समूहका महिलाहरुको जीवनस्तरमा आएको संकटको संवेदनशीलता भन्दा जसरी पनि ऋण उठाउने र मुनाफा आर्जन गर्नेमा केन्द्रित हुन थालेको गुनासो जताततै सुनिन्छ ।

बढि भन्दा बढि मुनाफा आर्जन गर्ने उद्देश्य र समयमा ऋण नउठ्ने भएपछि लघुवित्त संस्थाहरुले चर्को व्याज लिन थालेका छन् ।

अहिले यसको व्याजदर १८ प्रतिशतसम्म छ । पशुपालनका लागि कर्जा लिनेहरुले पशुबीमा शुल्क लगाएतका अतिरिक्त शुल्क लिदा कर्जाको व्याज २३,२४ प्रतिशत हाराहारीमा पुग्छ। जबकि निक्षेपको व्याजदर ६,७ प्रतिशत मात्रै हुन्छ । च्याउ जस्तै विस्तार भएका लघुवित्त संस्थाहरुको मारमा विपन्न ऋणी मात्र होइन् स्वयं कर्मचारी पनि पर्ने गरेका छन् । जसरी पनि व्यवसाय बढाउनैपर्ने व्यवस्थापकको दवावका कारण कर्मचारीहरु एउटा लघुवित्तको ऋण दिइसकेका ऋणीलाई अर्को लघुवित्तको थप ऋण दिने विकल्प रोज्छन् । लघुवित्तका एक कर्मचारीका अनुसार, यदि सदस्य थप र ऋण प्रवाह गर्न नसक्ने हो भने तुरुन्तै जागिर छोड्नु पर्ने हुन्छ ।

संस्थाको जसरी पनि ऋण प्रवाह गर्ने नीति र ऋणीको समयमा किस्ता व्याज तिर्न नसकी बढेको ऋणभार र त्यसको समाधानकोलागि एकपछि अर्को संस्थाको ऋणको चक्रव्यूह त हुदैहुन्छ । त्यसमा थप समुहका सदस्यले ऋण नतिरेमा वा समुह छोडेर भागेमा त्यसको अतिरिक्त ऋण भार पनि बोक्नु पर्छ। यसबाट उम्कन कसैले समूह छोड्छु भन्यो भने उसको बचत पनि फिर्ता नगर्ने नियम छ कतिपय संस्थामा । यसका कयौं असर र प्रभावका केही उदाहरण हामिले माथि नै दिइसकेका छौं । यी कारणहरुले अहिले लघुवित्त वित्तिय संस्थाहरुको विश्वासनियता घट्दै गएको छ । पुराना सुदखोरहरुको चर्को व्याजको शोषण अन्त्य गर्ने विकल्पका रुपमा अघि बढाइएको सरकारको औजार आफैमा दोहनकारी संयन्त्र बन्न पुगेको छ । लघुवित्त संस्थाहरुले आर्थिक मुनाफाकालागि निशाना (टार्गेट) गरेको अर्को महच्वपूर्ण पाटो हो बैदेशिक रोजगारी । नेपालमा ६०/७० को दशकमा वैदेशिक रोजगारीमा जानेहरुको संख्या हवात्तै बढ्यो ।

सरदरमा प्रत्येक घर एक वैदेशिक रोजगारीको स्थिति छ नेपालमा । पुरुषहरु बैदेशिक रोजगारीमा जाने भएपछि घरव्यवहार चलाउने जिम्मेवारी महिलाहरुको काँधमा आउने भयो। रेमिट्यान्सवाट आउने आर्थिक कारोवार महिलाहरुको हातवाट हुने भएपछि उनीहरुसँग नगदको कमि हुने भएन । नगद हातमा भएपछि स्वभावत महिलाहरु इमान्दार हुने भएकाले उनीहरुको पहिलो प्राथमिकता संस्थाको किस्ता र व्याज तिर्ने हुन्छ । त्यसबाट बचेको पैसा संस्थावाट ऋण लिने मात्र होइन बचत गर्ने स्थिति पनि बन्यो।

तोकिएको समयमा ऋणको किस्ताव्याज तिर्ने र बचत पनि गर्ने स्थितिमा संस्थाहरु स्वत मुनाफामा जान थाले । गाउँका लघुवित्त संस्थाहरुको निक्षेप संकलन र लगानी नडुब्ने सुनिश्चितता देखिसकेपछि ठूला बैंकहरु नै लघुवित्त संस्थाहरुमा लगानी लगाउने या आफ्नै बैंक मार्फत लघुवित्त संस्था खोल्न प्रतिस्पर्धामा उत्रिए (जस्तै ग्लोबल आईएमई लघुवित्त एनआईसी एसिया लघुवित्त आदी) । त्यसको परिणाम एउटै गाउँ वा टोलमा दर्जनौ लघुवित्त संस्थाहरु समूह गठन गर्न आईपुगे । त्यसले एउटा महिलालाई जतिवटा समूहमा बसे पनि मिल्ने स्थिति बन्यो ।

यसरी गरिवी निवारणको उद्देश्य लिएका वित्तीय संस्थाहरुले मुनाफा आर्जन गर्ने उद्देश्यमा केन्द्रित हुदै आफ्नो संञ्जाललाई शहरबजारका मध्यमवर्गीय महिलाहरुसम्म विस्तार गर्न पुगे। ग्रामीण महिलाहरुको लघुउद्यम र घरायसी खर्चमा हुने वचतऋण कारोबार र वैदेशिक रोजगारी वा अन्य आयश्रोत भएका शहरबजारका मध्यमबर्गीय महिलाहरुको वचतऋण कारोबारको संयुक्त संचालन लघुवित्त संस्थामार्फत हुने स्थिति बन्न पुग्यो। यसले लघुवित्तमा आवद्ध महिला समूहहरुको राष्ट्रिय स्तरकै संजाल बन्न पुगेको छ ।

लघुवित्तको मुनाफामुखी कारोबार, ऋणीहरुको आर्थिक स्थितिमा आएको संकट र वचतकर्ताको छिटो पैसा कमाउने आकांक्षाको त्रिवेणीबाट मौलाएको हो मिटरव्याज कारोबार ।

के हो मिटरव्याज ?

मिटरव्याज भनेको छोटो समयमा धेरै व्याज उपलब्ध गराउने आर्थिक कारोबार हो । सिधा भाषामा भन्दा मिटर घुमेजस्तै व्याज रकम फनफनी घुमेर जोडिने रकम नै मिटरव्याज हो। यसको कारोबार व्यक्ति व्यक्तिकोबीचमा आपसी समझदारी वा अत्यावश्यक आवश्यकता पूर्ति गर्नका लागि ऋणीले साहुको जस्तोसुकै शर्तमा मन्जुरी दिएर गरिन्छ । प्रचलित नियम कानून र सामाजिक जीवन व्यवहारमा सहजतामा लागू गरिने व्याजी कारोबार भन्दा यो निकै बढी र अफ्ठेरो सर्तमा कारोबार हुन्छ । व्यक्तिको आवश्यकता भएपनि यसलाई गैरकानूनी र अपराधमूलक कारोबार मानिन्छ । नेपालमा यो कारोबार भित्रभित्रै लामो समयदेखि चल्दै आएको भएपनि अहिले चर्चाको शिखरमा छ । नेपालमा यो कारोबारले धेरैको ज्यान लिइसकेको छ भने धेरैलाई सडकछाप बनाइसकेको छ । यस्तो कारोबारमा पुरुषहरु संलग्न भएपनि लिने र दिनेमा बढी महिलाहरु नै पीडित देखिन्छन् । कारोबारको उत्कर्षमा भएका आत्महत्याका घटना धेरैजसो मिटरव्याजका कारण र त्यसमा पनि महिलाको संख्या अधिक देखिन्छ ।

कसरी फसे महिलाहरु लघुवित्त र मिटरव्याजको दुश्चक्रमा ?

जीवनलाई व्यावहारिकरुपमा सरल र सहज बनाउँदै धेरै दुख नगरिकन छोटो समयमा धनी बन्ने अर्थात सम्पन्नतातिर जाने चाहाना हुनु मानवीय स्वभाव हो । तर सबैको जीवन सोचे जसरी अगाडि बढ्न सक्दैन । माथि नै उल्लेख गरियो, विपन्न महिलाहरुको जीवनस्तर उठाउने र गरीबी घटाउने उद्देश्यले गाउँ गाउँ पसेका लघुवित्त संस्थाहरू कालान्तरमा गरीबी घटाउने होइन महिलाहरूकोलागि ऋणको पासो नै बन्न पुगेका छन् । वाध्यताले मिटरव्याजमा ऋण लिने र थोरै समयमा अधिक व्याज लिएर बढी मुनाफा कमाउने लालसाले मिटरव्याजमा ऋण दिने महिलाहरु कालान्तरमा सडकछाप बन्ने र आत्महत्या गर्ने स्थितिमा पुगेको पनि नजरअन्दाज गर्ने विषय होइन ।

कसरी सिर्जना भयो त महिलाहरूको यो स्थितिरु यो निकै सोचनीय र खोजनीय विषय छ। घटना घटिसकेपछि वा समस्या आईपरेपछि सुन्ने र देख्ने मान्छेले सहजै भनिदिन सक्छन्, यस्तो कारोबार किन गरेको ? कसैलाई सोध्नु वा सल्लाह त गर्नु पर्थ्यो नि ? आदि आदि । तर नेपालको वस्तुगत धरातल, उत्पादन प्रणाली र अर्थप्रणाली यस्तो छ कि मानिसलाई जानीनजानी घचेटेर त्यो ठाउँमा पुर्याईदिन्छ । लघुवित्तको संजाल र त्यसको ऋण प्रवाह गर्ने तरिका र त्यसले दिएका परिणामको बारेमा माथि नै उल्लेख गरिसकिएको छ ।

खासमा सोचेको परिणाम नआउनुमा लघुवित्तको ऋणवाट संचालन गरिएका लघुउद्यम फस्टाउन नसक्नु वा घाटामा जानु हो । त्यसमा राज्यको उत्पादन प्रणालीको निकै ठूलो हात छ। घाटामा जाने उद्यमहरुलाई पुनर्जीवन दिन सरकारी राहत वा अनुदानको व्यवस्था नहुनु, लघुवित्तको उद्देश्य उद्यमशीलतालाई प्रबर्धन गर्नुभन्दा मुनाफा कमाउने ऋण प्रवाह र असूलीमा मात्र केन्द्रीत हुनु यसले पहिलो कारण हो । दोस्रो कारण लघुवित्तको ऋण घरखर्चमा प्रयोग हुनु । दिनप्रतिदिन बढेको घरखर्च र आधारभुत आवश्यकताले आम्दानी र खर्चको तालमेल मिल्न नसक्दा ऋणभार बढ्दै गएर अन्तमा त्यो ऋण महिलाको लागि गलपासो बन्ने गरेको छ ।

दोस्रो रह्यो मिटरव्याज मिटरव्याजको धन्दाको फेहरिस्त केलाउदै जाने हो भने त्यो त झन् रोचक मात्र छैन संवेदनशील पनि छ। पछिल्लो समय नेपालमा यस्तो मनोविज्ञान हावी भयो कि जसरी पनि पैसा कमाउने र धनी बन्ने । त्यो पनि उद्यमशील भएर वा मिहिनेत गरेर होइन, बसी बसी । छिटो पैसा कमाउने अनुत्पादक क्षेत्रमा लगानी लगाउन सरकारबाट कुनै छेकबार नभएपछि हरेक मान्छे कसरी छिटो र सजिलो पैसा कमाउन सकिन्छ भन्ने धाउन्न लाग्न थाल्यो । यसको सबैभन्दा सजिलो उदाहरण हो घरजग्गा कारोबार । लगानी र पहुँच हुनेहरु त्यस्तै खालका काममा लागे भने लगानी नहुनेहरू वैदेशिक रोजगारीमा जाने संस्कार नै बन्यो । यो रोगको भाइरस महिलाहरूमा पनि पस्यो ।

शुरु शुरुमा स-साना उद्यम व्यापार व्यवसाय गरेर धेरथोर बचत संकलन गर्ने गरेका महिलाहरू आफ्नो वचत रकम बैंक तथा लघुवित्त संस्थामा राख्ने गर्दथे । घरपरिवारका सदस्य वैदेशिक रोजगारीमा गएका छन् भने त घरव्यवहार चलाउने जिम्मेवारी पाएका महिलाहरूले रेमिट्यान्सको कारोबार पनि गर्ने भए। कतिपयले आफूसँग वचत भएको पैसाले घरजग्गामा लगानी पनि गरे । यस्तो काम गर्दा आफूलाई आवश्यक पर्ने ऋण लिनुपर्यो भने लघुवित्तका समूह छदै थिए । यसरी ग्रामीण वा शहरी क्षेत्रका महिलाहरुको घरव्यवहार वा आर्थिक कारोवार चलेकै थियो । कतिपयले बाहिर फस्टाएको घरजग्गा कारोबारको मुनाफा देखेर बैंकबाट वा लघुवित्तबाट ऋण लिएर मुनाफाकोलागी घरजग्गा खरिद गर्ने काम पनि गरे । यसो गर्दा कारोवारमा नाफा घाटा, ऋण, धन हुनु स्वभाविक थियो ।

जब नेपालमात्र होइन विश्वभर कोरोना माहामारी फैलियो र लकडाउनको स्थिति आयो तब सम्पूर्ण अर्थप्रणालीको चेन भत्कियो। उद्यम व्यापार रोजगारी सबै टुटेपछि आर्थिक कारोवार ठप्प भयो तर मान्छेका आधारभूत आवश्यकता भने बढ्दै जान थाले । महङ्गी आकासिन थाल्यो । कोरोनाको उपचारले त्यतिकै खर्च बढायो । यसले एकातर्फ आम्दानी नहुने महिलाहरुको लागि आवश्यकता पूर्ति गर्न एकपछि अर्को ऋण लिने वाध्यता पर्दै गयो भने वचत हुने महिलाहरूमा आफूसँग भएको पैसा त्यतिकै राख्नु भन्दा व्याजमा लगानी गर्दा फाईदा हुने भयो। यो नियम वित्तिय संस्थाहरुमा पनि लागू भयो। बाहिर लगानीको वातावरण नभएपछि नगद कारोबार नै व्यवसाय बन्दै गयो ।

तत्काल आवश्यकता पूर्ति गर्नको लागि बैंक तथा वित्तीय संस्थाको झन्झटिलो प्रक्रिया पुरा गर्नु भन्दा आपसी लेनदेनको प्रक्रिया सजिलो हुने हुँदा बैंक तथा वित्तिससंस्था भन्दा बढी व्याज भएपनि व्यक्तिगत ऋण लिनेको संख्या बढ्दै जान थाल्यो । खासगरी वैदेशिक रोजगारीमा जान, छोराछोरीलाई विदेश पढ्न पठाउन र घरजग्गा कारोबार गर्नलाई यस्तो कारोबार बढी चल्न थाल्यो। ऋण लिनेहरुले शुरु शुरुमा समयमै सावाव्याज बुझाउँदै गएपछि र चर्को व्याजले बढी आम्दानी भएपछि यो धन्दामा धेरैको आकर्षण बढ्न थाल्यो । जुन पछि गएर मिटरव्याजमा परिणत हुन पुग्यो । ऋण लगानीकर्ताले बैक तथा वित्तीय संस्थाबाट सस्तो व्याजमा ऋण लिने र महंगो मिटरव्याजमा लगानी गर्न थाले । बैंक तथा वित्तीयसंस्थाका संचालकहरुलाई आफ्नो लगानी कुन ठाउँमा के प्रयोजनमा लागेको छ र लगाउनु पर्छ भन्ने कुनै चासो नै भएन। बस, धमाधम ऋण प्रवाह गर्ने त्यो पनि बिनाधितो वा नाममात्रका कम्पनीका नाममा ।

जानकारहरुका अनुसार, यो धन्दा फैलाउन समाजमा भित्रभित्रै यस्तो चेन खडा भयो, जसमा, बैंक तथा वित्तिय संस्थाका कर्मचारी, ऋण लगानी गर्ने मिटरव्याजी, तिनको संरक्षण गर्ने राजनीतिक दलका कतिपय नेताकार्यकर्ता र ऋण लिने ऋणी । यता मिटरव्याजीहरुले ऋणको जोखिमबाट बच्न ऋणीहरुको घरजग्गा दृष्टिबन्धकमा राख्ने, ऋणको दोब्बर मूल्यको कागज बनाउने वा यस्तै कडा र अनुचित शर्त सहितका प्रमाण बनाई ऋण प्रवाह गर्न थाले । यो भरमारको अदृश्य लगानीले वित्तीय संस्थाहरूको मुनाफा दिन प्रति दिन बढ्दै जान थाल्यो । गाउँघरमा मिटरव्याजीहरु मोटाउदै जाने शहरमा वित्तीय संस्थाहरुको शेयर कारोवार उकालो लाग्ने । यो भूलभुलैयामा मध्यमवर्गका मानिसहरुको रुचि निकै बढ्यो । शेयर कारोबार बढ्दा ब्रोकर र कारोबारीहरुलाई मनग्य आम्दानी भयो भने मिटरव्याजीहरूको सम्पत्ति लाखौबाट करोडौमा पुग्यो केहि मिहिनेतै नगरी ।

यो आकर्षणले मध्यमवर्गका महिलाहरूलाई बेसी तान्यो किनकी चेन र संपर्क मिलाउन सक्नेहरुका लागि निकै मुनाफा युक्त व्यवसाय थियो । यसले मिटरव्याजको धन्दालाई यति व्यापक बनाई दियो कि, गाउँका मान्छे शहर र शहरका मान्छे गाउँगाउँ पुग्न थाले विभिन्न माध्यम बनाउदै । त्यसमा सबैभन्दा सजिलो भयो, महिला समूह । लगानी गर्ने प्रतिनिधि र ऋणी दुवै फेला पर्ने निकै सजिलो माध्यम ।

घरजग्गा कारोवारले तराई र बजारक्षेत्रका घरजग्गाको मूल्य केहि वर्ष भित्र कल्पनै गर्न नसक्ने गरी बढाईदिएको छ । मिटरव्याजीहरुलाई लगानी असूल गर्न सबैभन्दा उपयुक्त बस्तु बने तराईका घरघडेरी र जग्गा । सबैतिर चेन मिलाउन सक्नेहरु यो मुनाफाको प्याकेज बोकेर तराईका गाउँबस्ती र शहरको आवाद क्षेत्रमा पुगे । मध्यमवर्ग, पेसा व्यवसाय गरेर बसेका महिलाहरु र गृहिणी महिलाहरु जसका श्रीमान् वा छोराछोरी विदेशमा छन् वा श्रीमान सरकारी जागिर वा अन्य पेशामा छन्, तिनीकहाँ पुगेर यो आकर्षक प्याकेजको ब्रिफिङ्ग भए पछि त के चाहियो र ? दिनरात कसरी धनी बन्ने र अरु भन्दा आफु शानका साथ जिउने भन्ने तरिकाको खोजी गरिरहेका मध्यमवर्गीय महिलाहरूको मनोविज्ञानले यो प्याकेजलाई सहस्र स्वीकार गर्यो। घरायसी कारोवार गर्दा बचत गर्न सकेका र भैपरि आउदा आर्थिक परिचालन गर्ने गरेका महिलाहरुलाई लाग्यो होला, विदेशमा बस्ने श्रीमानको कमाई भन्दा, सरकारी जागिरे वा पेन्सनर पतिको तलब पेन्सन भन्दा वा विदेश पढ्न गएका छोराछोरीको पढाई खर्च र कमाई भन्दा बढी त म आफै कमाएर देखाउन सक्छु । यो महत्वाकांक्षाले आफ्नो कारोबारलाई घरपरिवारमा सल्लाह गर्न पनि दिएन । बस, गुपचुपमा शुरु भयो बढी मुनाफा युक्त व्याजी कारोबार ।

चमत्कारी परिणामको आशा र भगवान भरोसामा विश्वास गर्ने मनोविज्ञान भएको नेपाली समाज, त्यसमा पनि दमित महिलाहरूको एकैपटक सम्पन्नशाली बन्ने चाहनालाई कसैले रोक्न सक्ने कुरा भएन । बस्, ती महिलाहरुले आफूसँग भएको नगद, गरगहना लगायतको सम्पति बैंकमा धितो राखी ऋण निकाल्ने र मिटरव्याजमा लगानी गर्न थाले । उता मिटरव्याजमा ऋण लिनेहरुको संजाल समूहमा छदै थियो। समयमा ऋणीहरुबाट व्याज असुली नहुँदा आफुले तिर्ने बैंकको व्याज र किस्ता तिर्नलाई वित्तीय संस्थाबाट ऋण लिनुपर्यो । शुरु शुरुमा त ऋणीहरुले पनि समयमै व्याज भुक्तान गर्दा लगानी गर्ने साहुहरुको हौसला बढ्यो ।

जब पछिपछि ऋणीहरुको मिटरव्याज तिर्ने क्षमतामा ह्रास आउन थाल्यो साहुहरुनै दबाबमा पर्न थाले । आफुले लिएको ऋण तिर्न एक पछि अर्को वित्तीय संस्था प्रयोग गर्नुपर्यो । यसले एकजना महिलाले जतिवटा संस्थाको समुहमा बसेको छ त्यतिबाट ऋण लिने र तिर्नेको चक्र चल्यो । त्यहाँबाट पनि संभव नभएपछि आफुभन्दा ठूला मिटरव्याजीबाट मिटरव्याजमै ऋण लिने स्थिति बन्यो ।

यो चक्रले शुरुका ऋणीहरु त समस्यामा पर्ने नै भए। साहु बन्ने लालसाले ऋण प्रबाह गर्ने साना मिटरव्याजीहरुलाई संकटको भूमरीमा ल्याईदियो । उनीहरू पनि ऋण मात्र होइन घरजग्गा समेत गुमाई टाट पल्टिन पुगे । यसले कतिको घरपरिवारलाई विभाजन विखण्डन मात्र होइन, स्वयंलाई समेत आत्महत्या गर्न बाध्य बनाएको छ। यसले आधारभूत वर्गदेखि मध्यम हुदै कैयौ सम्पन्न वर्गका महिलाहरु, जो हिमालदेखि तराईसम्म, गाउँदेखि शहरबजारसम्म फैलिएर बसेका छन् ती सबलाई कुनै न कुनै रूपमा पीडित, प्रताडित र प्रभावित पारेको छ । यो कहालीलाग्दो दुश्चक्रमा ऋण लिने र ऋण दिने व्यक्ति मात्र होइन सहकारी, वित्तीय संस्था र बैकहरु समेत टाट पल्टेर संचालकहरू भाग्ने स्थिति बनिरहेको छ। यो धन्दाले केबल २/४ जनालाई मात्र फाईदा भएको छ, जसले साराको सम्पत्ति जम्मा गरेर अकुत सम्पत्तिको मालिक भएर बसेका छन् ।

यसका विरुद्ध भएका संघर्षहरु

लघुवित्त र मिटरव्याजबाट अधिकांश महिलाहरु पीडित भएपनि पुरुषहरु पनि यसबाट अछुतो छैनन् । यसले व्यक्तिगत र पारिवारिक मात्र होइन सामाजिक, सांस्कृतिक र सिंगो देशकै अर्थप्रणालीमा समेत गम्भीर असर पारेको छ । परिवारमा बस्न र बाँच्नै गाह्रो हुने स्थिति भएपछि कतिपय ठाउँमा त वित्तीय संघसंस्थालाई गाउँबाट लखेट्ने, गाउँ पस्न नदिने जस्ता संघर्ष गाँउलेहरुले नै गरेका छन् । संस्थाको ज्यादती सहन नसकेर कतिपय जिल्लाहरुमा तिनका कार्यालय समेत तोडफोड भएका छन् ।

सबैतिरबाट यो विकराल समस्या आईसकेपछि पीडितहरु गाउँगाउँ मै संगठित भई आन्दोलन गर्ने प्रक्रिया अगाडि बढेको छ । संस्थाका कार्यालय अगाडि धर्ना, जिल्ला प्रशासनमा धर्ना जुलुस प्रदर्शन लगायतका कार्यक्रम गर्दै आएका पीडितहरूको संघर्षको उच्चतम अभिव्यक्ति काठमाडौंको प्रदर्शन हो। उनीहरुको यो आन्दोलनमा विभिन्न संघ संस्था लगायत राजनैतिक दलहरुले समेत संघर्ष गर्ने र सहभागी भई एक्यबद्दता जनाउने गरेका छन् ।

लगातार काठमाडौंको सडक तातेपछि सरकारले पीडितहरुलाई वार्तामा बोलाई समस्या समाधान गर्ने आश्वासन दिने गरेको छ । चारैतिरबाट आएको दबाब स्वरुप गृहमन्त्रालयले अघिल्लो वर्ष यसको अध्ययनको लागि एउटा कार्यदल बनायो । ‘मिटरव्याज अपराध नियन्त्रण सिफारिस कार्यदल’ नामक उक्त कार्यदलले ‘मिटरव्याज एक आर्थिक अपराध’ शीर्षकको प्रतिवेदन २०७९ भाद्र २७ गते सरकार समक्ष पेस गरेको थियो । वित्तीय संस्थाहरुको विकृतिलाई हटाउन वित्तीय नीतिमा परिमार्जन गर्ने, मिटरव्याजीहरुलाई कार्वाही गर्ने अध्यादेश ल्याई कानून बनाउने जस्ता आश्वासन दिएपनि त्यो व्यवहारमा कार्यान्यन हुन सकेको छैन। अझ रमाइलो कुरा त के छ भने मिटरव्याज पीडितहरु त सडकमा आन्दोलित छन् नै, अब त बैंक, वित्तीय संस्था र सहकारीहरुमा बचत गर्ने बचतकर्ताहरु समेत बचत फिर्ताको माग लिएर आन्दोलनमा उत्रिएका छन् । यसले नै देखाउछ नेपाली अर्थप्रणालीको असली अनुहार ।

निष्कर्ष र समाधानः

औद्योगिक पुँजीवादबाट वित्तीय पुँजी हुदै भूमण्डलीकृत पुँजीवादमा प्रवेश गरेको विश्व पुँजीवादी अर्थतन्त्रले उत्पादन र श्रमबाट पुँजी निर्माण गर्ने भन्दा नगद पुँजीबाट नगद आम्दानी गर्ने नीति विश्वभर चलाएको छ । यही नीति अन्तर्गत नै नेपाल जस्ता देशहरुमा वित्तीय कारोबारको लागि आफ्ना एजेन्टको रुपमा निजी बैंक तथा वित्तीय संस्थाहरु खडा गरिएका छन् । त्यही नीतिले नै नेपालमा बैंक तथा वित्तीय संस्थाहरु मार्फत अनुत्पादक क्षेत्रमा लगानी लगाएर आत्मनिर्भर अर्थतन्त्रलाई ध्वस्त पारी अहिलेको अवस्था सिर्जना गरेका हो ।

उदाहरणको लागि नेपालमा दलाल पुँजीवाद हावी भएपछि चारैतिर अत्याधिक मुनाफाका अनुत्पादक क्षेत्रमा लगानी फस्टायो । घरजग्गा कारोवार, शेयर कारोबार, विलासिताका वस्तु आयातमा वृद्धि, शिक्षा र स्वास्थ्यमा भएको व्यापारीकरण आदि । करिव करिव अर्थतन्त्रको मूलभाग यसकै ओरिपरी घुमेपछि त्यो प्रणालीभित्र मान्छेको जीवन स्वतः घुम्छ, भूकम्पमा घर हल्लिएपछि त्यसभित्रका मान्छे हल्लिए जस्तै । यही अनुत्पादक व्यवसायले अहिले नेपालको अर्थतन्त्रलाई टाट पल्टाइ दिएको छ । यही अर्थतन्त्रको चक्रपातले घुमाएको नेपालीको जनजीवनभित्र अर्को चक्रपातमा परेको हो महिलाहरूको जीवन ।

माथिका जे जति घटना प्रकृति र विषय विश्लेषण छन् । ती सबको अन्तिम कहरमा महिलाहरुको जीवन जोडिएको छ। किनकी महिलाहरु नै आर्थिक सामाजिक उत्पीडनको पिँधमा छन् र सबै दुश्चक्रको भार महिलाले नै खेप्नुपर्छ। जानेर वा नजानेर, गल्ती होस् वा सजाय । अब महिलाहरुले हावाको महलमा काल्पनिक सपना सजाएर चक्रपातको भूमरीमा फस्ने होइन, यथार्थ धरातलमा उभिएर जीवन र जगतलाई बुझ्ने र बदल्ने आँट गर्नुपर्छ । आफ्नो समाज र देशको व्यवस्थाको चरित्र बुझ्न सकिएन भने पर्ने र भोग्ने यस्तै सजाय हो । चाहे त्यो घरपरिवारको तिरस्कार होस्, समाजको बहिष्कार होस, सडकछापको जीवन होस् या आत्महत्या जस्तो तिरस्कृत मृत्यु ।

आन्दोलनका हरेक पार्टमा हामीले देखेका छौं राज्यको संवेदनहिन व्यवहार । किनकी अहिलेको राज्य र राज्यप्रणाली नै श्रमिक उत्पीडित जनताको शोषण र दोहनमा टिकेको छ । त्यसैले यसलाई दलाल पुँजीवादी व्यवस्था भनिएको हो । दलाल पूँजीवादले कहिल्यै पनि मान्छेको जीवनलाई आत्मनिर्भर र स्वावलम्बी भएर बाच्न प्रेरित गर्दैन । उसको चरित्र भनेकै बढी भन्दा बढी मुनाफाबाट आफू सम्पन्न भई अरुलाई सिध्याउने वा दमन गर्ने हो ।

त्यसैले यी समस्याहरुका समाधान तत्कालिन राहत र आवश्यकतामा पनि खोज्नुपर्छ । त्यो भनेको हामी यस्ता गलत धन्दाबाट बच्ने, वित्तीय साक्षरता बढाउने, दोषीलाई कार्वाही गर्ने राहतको लागि पहल गर्ने आदि त गर्नैपर्छ। तर त्यो भन्दा महत्वपूर्ण दिर्घकालिन समाधान भनेको यो दलाल पूँजीवाद र पूँजीवादी अर्थ प्रणालीको अन्त्य गर्ने हो । आधारबिनाको बढी मुनाफा आर्जन गर्ने सपना देखेर आफ्नो जीवन नै ध्वस्त पारेका नेपालका महिला दिदीवहिनीहरुले यो कुरा बुझ्नै पर्छ कि आफु उत्पादनसँग नजोडिएर, आत्मनिर्भर नभएर कसैको जीवन उन्नत र समृद्ध हुन सक्दैन । त्यसको लागि वैज्ञानिक समाजवादी व्यवस्था र अर्थप्रणाली चाहिन्छ। त्यो नै अहिलेको आवश्यकता हो ।

सन्दर्भ सामग्री:
१. विभिन्न मितिमा प्रकाशित कान्तिपुर दैनिक हिमाल पाक्षिक लगायतका पत्रपत्रिका २. अनलाइन खबर, समाज टाइमस्, नेपाल मार्ग डटकम लगायतका विद्युतिय संचारमाध्यमहरु
३. लघुवित्त र मिटरव्याज विरुद्धका संघर्षहरु
४. विभिन्न समयमा पीडित महिलाहरुसँगको छलफल र कुराकानी
५. जीवनव्यवहारमा प्रत्यक्ष देखेका भोगेका दृष्टान्तहरु
(नाङ्गेली त्रैमासिक वर्ष १, अङ्क १, २०८०) 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।