९ मंसिर २०८१, आईतवार

किसान हराएको ‘अङ्कुरण’ कथामा तिमिल्सिना

0

सृजन–कर्मको मापदण्ड भनेर सौन्दर्य चिन्तकहरूले विचारधारात्मक, ज्ञानात्मक र सौन्दर्यात्मक पक्षलाई प्रस्तुत गरेका छन् । सुन्दर सृजनाको लागि कृति र कृतिकारले आफ्नो विश्व–दृष्टिकोण स्पष्ट गर्नुपर्ने हुन्छ । समाजमा शोषण छ, उत्पीडन छ र त्यसबाट मुक्तिको चाहना तथा प्रयासहरू जारी छ । सर्जक कसको पक्षमा उभिन्छ ? उसले जनताको पक्षमा पैरवी गर्छ कि कामचोर वर्गको स्तुति गान गर्छ ?? यो प्रधान विषय हो । यो प्रश्नमा लेखकको पक्षधरताले सृजना कर्मको उपादेयता निरुपण गर्दछ । त्यसैगरी सृजना–कर्मको अर्काे मापन हो सृजनामा समावेश वा प्रस्तुत ज्ञानात्मक पक्ष । लेखकलाई पाठकको धन र समय बर्वाद गर्ने छुट हुँदैन । त्यसो गर्नु पाठकप्रतिको अन्याय हुन्छ । कृतिबाट पाठकले धेरै–थोरै ज्ञान प्राप्त गर्न पाउनु पर्दछ । कृतिले पाठकको ज्ञानलाई कति समृद्ध गर्न सक्छ ? त्यसको आधारमा कृतिको मूल्याङ्कन हुन्छ । त्यसैगरी सृजना–कर्मको अर्को मापक हो सौन्दर्यात्मक पक्ष । दृश्य, धून, प्राकृतिक छटा यस्ता कैयौं विषयहरू छन्, जसले प्रत्यक्ष केही भन्दैनन्, तर त्यसमा सौन्दर्य अनुभूति गराउने तत्व हुन्छन् । शब्द संयोजन र वाक्य गठनबाट प्रस्तुत हुने भावले सौन्दर्य मूल्य सृजना गर्दछ । त्यसले पाठकको विचार निर्माणमा मद्दत नगर्न सक्छ । त्यसले पाठकको ज्ञानको दायरा समृद नगर्न सक्छ तर त्यसले पाठकलाई आनन्दानुभूति गराउन सक्छ । आनन्दानुभूति प्रदान गर्नु, मनोरञ्जन दिनु पनि कृतिको मूल्यबोधको विषय हो । त्यसकारण विचारचारात्मक पक्ष, ज्ञानात्मक पक्ष र सौन्दर्यात्मक पक्षबाट पर्गेल्दा कृति कस्तो देखिन्छ ? सर्जकको स्थान त्यही विन्दुमा रहन्छ । यी तीन मध्ये एउटा पक्षमा पनि सफल नहुनु भनेको कृतिको, औचित्य नहुनु हो । तसर्थ कथाकार आरपी तिमिल्सिनाको कृति कथा सङ्ग्रह ‘अङ्कुरण’ लाई यो मापदण्डको आधारमा मुल्याङ्कन गर्न सकिन्छ ।
कथाकार तिमिल्सिनाका यस अघि २०६४ सालमा ‘आगो र सपनाहरू’ कविता संग्रह र २०६६ सालमा ‘जेल र ज्वालामूखी’ निवन्ध सङ्ग्रह प्रकाशित भैसकेका छन् । कृतिको रुपमा ‘अंकुरण’ लेखकको तेस्रो कृति हो । लेखकको आत्मा स्विकृति छ, ‘कम्तीमा पनि प्रस्तुत कथासंग्रह ‘अङ्कुरण’ले रातो धर्तीलाई बाँझो नराख्ने अनि जतिसुकै असहज परिस्थितिमा पनि आगामी दिन अझै उन्नत र हराभरा हुने विस्वास अनि दृढता बोकेको छ ।’ लेखकको वचन र कर्मको बिचमा के कति सामन्जस्यता छ र इमानदारीता छ यसको मूल्याङ्कन पाठकहरूकै हातमा छोडौं ।
संस्कृतिको मूल पक्ष हो भाषा । भाषा राष्ट्रियताको विषय पनि हो । भाषाप्रतिको प्रेम देशप्रेम पनि हो । त्यसैले सर्जकले जुन भाषामा रचना वा कृति तयार गर्दछ, त्यही नै भाषाका शब्दहरू प्रयोग गर्नुपर्दछ । आफूले व्यक्त गर्न चाहेको भाव व्यक्तिले शब्दको अभाव भएको वा त्यस्तो महसुस भएको अवस्थामा छिमेकी भाषाबाट शब्द पैंचो लिन सकिन्छ । त्यसरी हेर्दा थारु, मगर, तामाङ, मैथिली, नेपाल, राईलगायत रैथाने भाषाहरू नेपाली भाषाका छिमेकी वा निकट भाषाहरू हुन् । यसले कृतिलाई स्तरीय र देशभक्तिको भावनाबाट पनि अब्बल बनाउन सक्छ । यो कोणबाट हेर्दा कृतिमा प्रसस्त कम्जोरीहरू देखिन्छन् । उदाहरणको लागि, हाईस्कूल, पासपोर्ट, फर्मेसन, मिसकल, टिनएज, छट्के, स्वीच, रिपोर्ट, अफिसर, कम्पाउण्ड, टिम, पास, सेन्सर जस्ता अंग्रेजी र हिन्दी भाषारुपी गलगाँडले कृतिलाई विरूप बनाएको छ ।
कृतिमा समावेश १७ वटा कथामध्ये
‘अङ्कुरण’ कथालाई नै कृतिको शिर्षक बनाइएको छ । एकताकाका नेतृत्वकर्ताले मुक्ति संग्राम विसर्जन गरेको, भ्रुण हत्या गरेको यथार्थप्रति लेखक असन्तुष्ट छन् । उनी सहिदको सपना नमर्ने बरु ‘अङ्कुरण’ भइरहने बताउँछन् । “म अनि मेरा सहयोद्धाले बडो मिहिनेत गरेर, पसिना र रगतको लेदोले सहिदका कङ्कालहरूको कङ्क्रिट तयार गरेर बनाइएको बाटो हुँदै मञ्जिल नपुग्दै समीक्षासहित फेरी यात्रामा अविचलित हिडिरहेको लालयोद्धा हुँ र त ‘म’ आजसम्म मात्र होइन, युगौंसम्म कमरेड क्रान्ति बाँचिरहने छु ।” (अङ्कुरण, पृष्ठ ७) यो कथामा आदी विद्रोही स्पार्टाकस र बारिनियाँको प्रसङ्गलाई लेखकले सुन्दर वाणी प्रदान गरेका छन् ।
विचार निर्माणको दृष्टिकोणले मान्छेमा द्वन्द्ववाद कमजोर हुनेगर्छ । उनीहरू अक्सर अधिभूतवादी ढङ्गले हेर्छन् । एउटा मोर्चा र समयमा सफल व्यक्ति अर्काे परिस्थिती र मोर्चामा असफल हुनसक्छ । एकपटक सफल अर्काेपटक असफल हुनसक्छ । भौतिक जगत जसरी नै जीवन अनिश्चत् र सम्भाव्यताले भरिएको हुन्छ । कथा ‘मिसकल’ र त्यसमा उल्लिखित पात्र ‘शिला’ त्यसको उदाहरण हो । असल नेता, क्रान्तिकारी योद्धा, मृत्युपर्यन्त क्रान्तिकारी नरहन सक्छ र दक्षिणपंथी नेता क्रान्तिकारी पङ्तिमा फर्किन सक्छ । यो द्वन्द्ववाद हो र त्यसरी नहेर्नु अधिभूतवाद हो । जसरी कथामा ‘शिला’ गिरफ्तार भएपछि क्रियाशील हुन सकिन ।
कथाको सवलता भनेको सम्वादात्मक शैली र नाटकीय प्रस्तुति हो । सम्वाद पक्ष अनुसार आञ्चलिक शैलीमा राख्दा राम्रो हुन्छ । कृतिको मूल भाषा विपरित भाषा–भाषिकामा सम्वाद छ भने ‘फूटनोट’ दिएर विषय प्रस्तुत गर्न सकिन्छ । लेखक आरपी जनयुद्धको समयमा लामो समय जेलको कहर झेलेका योद्धा हुन् । उनी ‘म’ पात्र मार्फत क्रान्तिकारी चरित्र चित्रण गर्दछन् । कथाहरूमध्ये ‘नपुङ्सक’ कथा फरक शैलीको कथा हो । त्यस कथाको अन्तिम अनुच्छेदमा छ, “प्रदीपभित्रको प्रदीप जससँग रोशनीले सफल दामपत्य जीवन बिताउन सक्थी; दुश्मनको यातना शिविरमा गुमेको थियो । कम्मर मुनिको सर्वाङ्ग सबैले देखे । कोठा एकतमासले स्तव्ध भयो । सबेलै प्रदीपप्रति सहानुभूति जनाए । कोठाबाट बाहिरिए (पृष्ठ४२) ।” यो फरक शैलीको गैरमाक्र्सवादी शैलीमा लेखिएको कथा हो । यो कथा स्वैरकल्पनावादी शैलीमा लेखिएको कथा हो । यो धारालाई नेपाली भाषामा शंकर कोइरालाले स्थापित गरेका छन् । यद्यपि यो कथाले मान्छे जटिल प्राणी हो र उसलाई गम्भीर रुपले मात्र धारणा बनाउनु पर्छ भन्ने सन्देश प्रवाह गरेको छ ।
कथाकार तिमिल्सिना जाति भेदबाट सतर्क देखिन्नन् । उनी जातिवादी होइनन् । तर जातिभेद सूचक शब्द प्रयोग गरेर असावधानी प्रकट गर्न पुग्छन् । ‘भीमसेन’ शिर्षकको कथामा उनी ‘काले कामी’ शब्द प्रयोग गर्न पुग्छन् उक्त शब्द जातिभेद सूचक शब्द हो । सामन्ती समाजमा जाति, लैङ्गिक, क्षेत्रीय अनेक भेद–सूचक शब्दहरूको निर्माण गरिएका थिए÷छन् । त्यस प्रकारका शब्द प्रयोगलाई आज कानुनले नै निषेध गरेको छ । प्रचलित कानूनको प्रतिकूल शब्द चयन गर्नु दुःखद विषय हो । त्यस्तै ‘मह’ कथा जनयुद्धको सौन्दर्यकृत गरिएको कथा हो ।
कथाकार तिमिल्सिना लामो समय जेलको कहर झेलेर आएका आस्थाका बन्दी हुन् । त्यसकारण उनका कथामा जेल,
हिरासत, यातना, वीरता, पलायनजस्ता सन्दर्भहरू यत्रतत्र पाइन्छन् । त्यस्तै कथा हो– ‘कविको रगत’ । उक्त कथामा कथाकार भन्छन्, “जेल मानव अधिकारको मापन गर्ने थलो हो । मानव अधिकारको स्थिति बुझ्न सर्वप्रथम कसैेले पनि कुनै पनि देशको जेलको भ्रमण गर्नुपर्दछ । त्यहीं देखिन्छ मानवप्रति सम्बन्धित देशले गर्ने व्यवहारको प्रतिबिम्ब !” (कविको रगत, पृष्ठ ७४) । यो एउटा सफल र वर्तमान व्यवस्थासमेतको भण्डाफोर गर्ने कथा हो । लोकतन्त्रको खोक्रोपन कथामा अभिव्यक्त
भएको छ । त्यसैगरी विचार, भावना र प्रतिरोधी चेतना समृद्ध भएको कथा हो ‘विभक्त’ । विचार, भावना, प्रस्तुति तथा शैलीगत वैशिष्ट्यताको दृष्टिले पनि कथा सुन्दर लाग्छ ।
कृतिमा समावेश कथाहरू मध्ये ‘प्रस्ताव नम्बर ९’ सबैभन्दा सुन्दर कथा हो । यो कथा दलबदल गरिरहने उपेक्षित नेता–कार्यकर्ताको कथा–व्यथा पनि हो । जहाँ मनोवैज्ञानिक विश्लेषण गरिएको छ । यो भूपू क्रान्तिकारीहरूको मनोदशा चित्रण गरिएको कथा पनि हो । कथामा कमरेड तारा भन्छन्, “मलाई अझै पनि पार्टी प्रवेश गर्दाको सङ्कल्प र सपनाहरू बेलाबखतमा ऐठन बनेर तर्साउने गर्छन् । सायद यही कारण होला झोंकमा तपाईहरू पनि कहिले काहीं विद्रोही नेपाल कम्युनिस्ट पार्टीसँगको निकटताबारे कुरा उठाउनु हुन्छ । यस कुराले मलाई तात्विक रुपले यसकारण पनि फरक पार्दैन कि राजनीतिमा हाम्रो व्यक्तिगत भूमिका जडतामा हुँदैन” (पृष्ठ १०१) । यहाँ तारा पात्र मार्फत कथाकारले अराजनीतिक संर्किणताको विपक्षमा आफूलाई उभ्याएका छन् । अर्काेतिर सपना र सङ्कल्पको मलामी बन्न इच्छुक छैनन् कथाकार । कमभन्दा कम उनका कथाहरू पलायन छैनन् र पात्रहरू मृत्यु स्विकार गर्दैनन् । उनका कथाका पात्रहरू नयाँ विचार, नेतृत्व र मार्गप्रति सहभागी बन्न पुग्छन् । कथाका पात्रहरूले कथाकारलाई खबरदारी गर्छन् । त्यस्तै सुन्दर र सफल कथा हो ‘प्रस्ताव नम्बर ९’ ।
कृतिमा समाबेश अर्काे कथा हो ‘उन्मुक्त कौसी’ । यो कथामा प्रकृतिलाई मानवीकरण गरिएको छ । मान्छे र प्रकृतिबिच सम्वाद छ । छापामारहरूमा पनि प्रेम, भावना, पीडा, दयाभाव सबै मानवीय पक्षहरू हुन्छन् । समाज र जीवनप्रति उत्कर्ष प्रेम नभइकन कोही पनि छापामार बन्न सक्दैन । कथामा समावेश कथाम्स हेरौं, “काफल अनि कोइलीका कुहुकुहुसँगै विजय र सरिताका दुई मनका तारहरू एक भएका थिए ; गितारका झंकार झै । त्यसपछि उनीहरूले कैयौ सपना देखे । अनगिन्ती लेखे होलान् गीत–गजलहरू । संसारमा लेखिएका सबै गीतमा सङ्गीत भरिन पाएको भए कस्तो हुँदो हो” (पृष्ठ १०६) । यस कथामा सरिता र कृष्णको सम्बन्ध र उतार–चढावलाई अझ भनौं नारी सङ्घर्षलाई र कल्पनालाई प्रस्तुत गरिएको छ । माक्र्सवादी कला–साहित्यले स्वैरकल्पनालाई स्विकार गर्दैन । कथाकार आरपी यो कथामा क्रान्तिकारी नेताहरूको पतनको यथार्थलाई सशक्त वाणी दिन्छन् ।
जातीय विभेद जस्तै नारी विभेद गरिएको कथा हो ‘सुरुची’ । खोलाघरे साइँला भन्छन्, “बाबै, तँ त छोरी होइनस्, यो गाउँको साहसी छोरो होस् । गाउँको शान होस्” (पृष्ठ ११४) । कथाकारले ‘सुरुची’ को महिमा गान त गरेका छन् । तर नारी जातिले साहसी र विवेकी काम गर्न सक्दैनन् । त्यसैले ‘सुरुची’ अपवाद हो । यो ‘स्वर्ग जाने, नरकको बाटो’ उखान जस्तै नारीको सौन्दर्यकृत गर्न खोजेको तर प्रस्तुती र विचारमा अत्यन्त कमजोर कथा हो ।
सङ्ग्रहमा समावेश अन्तिम कथा ‘रक्षक’ हो । यो कथा माओवादी धारमा भइरहेको राजनीतिक बहसमा केन्द्रित छ । प्रचण्डले नेतृत्व गरिरहेको दक्षिणपंथी, विसर्जनवादी धारसँग एकताको बहसलाई कथाकार तिमिल्सिनाले ‘तरकारीमा गोबर मिसाउनु’ भनेका छन् । यो कथाले सर्जक स्वयंलाई  नै गिज्याइरहेको अनुभूति हुन्छ । दागिस्ताका कवि हमताजोवले कथनी र करनीमा मेल नभएको कविलाई ‘भगौडा सिपाही’ भनेका छन् । सबै सर्जकले आफूलाई यो कोणबाट पनि हेर्न आवश्यक छ । नेकपाले उठाएको क्रान्तिको झण्डालाई कथाकारले सशक्त ढङ्गले सौन्दर्यकृत गरेका छन् । उनले केपी ओली नेतृत्वको सरकारको अराजनीतिक तथा प्रतिक्रियावादी चरित्रको पनि सशक्त प्रतिवाद गरेका छन् ।
कथाकार आरपी तिमिल्सना उदयमान युवा सर्जक हुन् । उनका सृजना र जीवन व्यवहारबिच एकरुपता होओस् भन्ने हरेक पाठक र समालोचकको अपेक्षा हुने गर्छ । लेखन र जीवनमा एकरुपता होस् । नेपाली साहित्यलाई उनबाट थप समृद्ध हुने अवसर प्राप्त होस् ! हार्दिक सुभेक्षा !!

स्राेत: जनपत्रिका तेस्रो अंक


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।