१० मंसिर २०८१, सोमबार

पुष्पलालको दस्तावेज : नयाँ जनवादका निम्ति नेपाली जनताको बाटो

0

१. गत सशस्त्र क्रान्ति र कम्युनिष्ट पार्टी

द्वितीय विश्वयुद्धमा फासिज्मको हार र सोभियत युनियनको नेतृत्वमा जनवादी क्याम्पको विजयले गर्दा विश्वमा साम्राज्यवाद विरोधी र जनवादी क्याम्प बलियो भयो र जनवाद विरोधी र साम्राज्यवादी क्याम्प कमजोर भयो । ठाउँ ठाउँमा जनशक्ति उठी आफ्ना शत्रुहरुलाई हमला गर्न थाले । सारा संसारमा क्रान्तिको भेल उठ्यो ।

नेपालमा पनि जातीय (National) मुक्ति आन्दोलनले जोर पकड्यो । सन् १९४७ को मार्च महिनामा विराटनगरको मजदुर हड्तालले जातीय (National) मुक्ति आन्दोलनको नयाँ अध्याय सुरु भएको सूचना दियो । तुरुन्तै नेपालका विभिन्न क्रान्तिकारी वर्गहरु सङ्घर्षको क्षेत्रमा उत्रे । जातीय (National) मुक्ति आन्दोलनले आफ्नो पहिलेको संकुचित इलाकीय रुपलाई छाडी देशव्यापी रुप धारण गयो । तर सो आन्दोलनको नेतृत्व पूँजीपति वर्गका प्रतिनिधि सुवर्ण राणा, कोईराला मण्डलीको हातमा थियो । यस मण्डलीको गद्दारीले गर्दा सो आन्दोलनले सफल क्रान्तिको रुप धारण गर्न सकेन ।

त्यस गद्दारीले गर्दा हाम्रो जनआन्दोलनलाई ठूलो धक्का लागेता पनि त्यसले विस्तारै विस्तारै शक्ति बटुल्दै अगाढि बढिरहेको थियो । हाम्रो छिमेकी देश चीनमा जनताको विजय र तिब्बतमा मुक्ति सेनाको प्रवेशले फेरि एकपटक नेपालमा क्रान्तिकारी लहर फैलियो । राणाशाही सामन्तवाद र साम्राज्यवाद विरुद्ध जनता एकचोटी फेरि मोर्चा लिनका निम्ति अगाडि बढे । क्रान्तिकारी शक्तिहरुलाई बलियोसँग सङ्गठित गरी एक मोर्चामा खडा नगराउन्जेलसम्म जनता सङ्गठित प्रतिक्रियावादीसँग मोर्चा लिन सक्दैन भन्ने कुरा पार्टीलाई थाहा थियो । त्यसकारण आफ्नो जन्मकालदेखि नै हाम्रो पार्टीले क्रान्तिकारी शक्तिहरुलाई सङ्गठित गरी तिनीहरुको विशाल संयुक्त मोर्चा बनाउन कोशिस गयो । नेपाली काँग्रेससँगा मित्रताको हात बढायो ।

तर नेपाली काँग्रेसका सुवर्ण राणा, कोइराला मण्डली जन शक्तिदेखि डराउँथे। सामन्तवाद र साम्राज्यवाद खतम गर्नु तिनीहरुको लक्ष्य थिएन । राणाशाहीहरुलाई दबाब दिन तिनीहरु एकातिर त जन आन्दोलनको प्रयोग गर्दथे, अर्कोतिर अंग्रेज अमेरिकी साम्राज्यवादसँग विभिन्न किसिमका कबुल पनि गर्दथे । जनतालाई अलग गरी आतंकवादी तरिकाले राज्य शक्ति हत्याउनेसम्म कोशिश उनीहरुले गरे, त्यो प्रयत्न असफल भयो । राणाशाहीलाई झुकाउन केवल जनबलले नै सकिन्छ भन्ने कुरा उनीहरुले थाहा पाए । त्यसकारण जनआन्दोलनको सहारा लिनका निमित्त उनीहरुलाई बाध्य हुनुपर्यो । वीरगञ्जमा भएको फैजी हमला यसैको झलक थियो । यो हाम्रो जातीय (National) मुक्ति आन्दोलनको एक हिस्सा थियो ।

उनीहरुको यो कुचाल पार्टीले राम्ररी बुझेको थियो । सुवर्ण राणा- कोइराला मण्डलीले हामीलाई सशस्त्र सङ्घर्षबाट अलग गराउनका निम्ति भरसक कोशिश गरे । यसमा नेहरु सरकारको पनि पुरापुर सहयोग थियो, तर उनीहरुले सारा कोशिशलाई व्यर्थ गरिकन हामीहरुले सक्रिय रुपले भाग लियौं । पार्टीले सशस्त्र सङ्घर्षको त्रढाएर क्रान्ति सफल गर्न कोशिस गयो । यदि क्रान्तिकारी शक्तिहरुले सङ्गठित मोर्चा कायम गर्न नसकेको खण्डमा क्रान्तिमा फेरि गद्दारी हुनेछ भन्ने कुरा पार्टीलाई थाहा थियो । यसकारण पार्टीले फेरि एक चोटी संयुक्त जातीय (National) जनवादी मोर्चा बनाउनका निमित्त अपील गर्यो । सशस्त्र सङ्घर्षलाई संकुचित गर्ने सुवर्ण राणा, कोइराला मण्डलीको दुष्प्रयास हुँदाहुँदै पनि सो सङ्घर्ष सीमित रहन सकेन । देशका सम्पूर्ण क्रान्तिकारी शक्तिहरु रण क्षेत्रमा उत्रे । ठाउँ ठाउँमा जनविद्रोह थाल्यो । किसानहरुले जमीन दखल गरी सामन्तशाहीलाई खत्तम गर्न थाले । क्रान्तिको लहरले सबै वर्गहरुलाई लपेट्यो ।

२. क्रान्तिमा गद्दारी र म्यादी (अन्तरिम) सरकारको स्थापना

जनताको यस्तो बढदो ताकतदेखि विश्वका सारा प्रतिक्रियावादी शक्तिहरु डराए । अंग्रेज- अमेरिकी साम्राज्यवादी, हिन्दुस्तानका ठूला पूँजीपतिहरु, त्रिभुवन – कोइराला मण्डली र मोहन मण्डलीको आपसमा अब के गर्ने भन्ने छलफल भयो । फलस्वरुप मोहन – घोषणा, त्रिभुवन- घोषणा र दिल्ली – सम्झौता जनतामाथि लादिए । हरेक मोर्चामा जित्दै अगाडि बढिरहेको क्रान्तिप्रति गद्दारी गरी प्रतिक्रियावादीहरुले नेपालमा त्रिभुवन – राणा- कोइरालाको सम्झौते म्यादी सरकार खडा गराए । जनताको आँखामा छारो हाल्न विधानसभा चुनाव, प्रजातन्त्र र दुई वर्षपछि सबै कुरा ठीक हुन्छन् भन्ने भ्रम फैलाए ।

३. बढ्दो जन सङ्घर्ष र म्यादी सरकार

तर मुक्तिको बाटोमा लम्किसकेको जनतालाई कसैले पनि रोक्न सक्दैन । मुलुकका कुना कुनाबाट यसको विरोधमा आवाज घन्कियो । त्रिभूवन – राणा- कोइराला र तिनका मालिक साम्राज्यवादी र हिन्दुस्तानको पूँजीपतिहरुलाई लत्याई जनता अगाडि बढे । विरोधी प्रदर्शन र जुलुस चारैतिर हुनथाल्यो । जनताका तमाम वर्गहरुले आफ्नो मागहरुका साथसाथै राजनीतिक मागहरु पनि उठाउन थाले । जनताको बढ्दो आन्दोलनलाई म्यादी सरकारले दबाउन नसकेको देखि अन्तर्राष्ट्रिय नियमलाई उल्लंघन गरी नेहरुको फौजले नेपालमा पसी भैरहवा किसान हत्याकाण्ड, नेपालगञ्ज किसान हत्याकाण्ड, विराटनगर मजदुर हत्याकाण्ड रच्न म्यादी सरकारलाई मद्दत गर्यो । वीरगञ्ज मजदुर किसान हत्याकाण्डमा चाहिँ फौज ल्याउने धम्की दियो । लाठी गोलीले मात्र जन विरोध रोक्न नसक्दा त्रिभूवन – राणा- कोइराला सरकराले प्रेस कानून र सुरक्षा कानुन जारी गयो ।

अहिले फेरि खुकुरी दल (वीर गोर्खा दल) जस्तो प्रतिक्रियावादी संस्थाका मुख्य नेताहरुलाई खुल्ला छुट दिई बढ्दो जनआन्दोलनमा फूल पैदा गर्नका निमित्त साम्प्रदायिक भावना फैलाइरहेको छ । यो पनि देशी र विदेशी प्रतिक्रियावादीहरुको राय बमोजिम नै भएको छ ।

४. सम्पूर्ण जनता र म्यादी सरकार
मुलुकको आर्थिक अवस्था पनि उत्तिकै खराब छ । मजदुर किसानको अवस्था दिनहुँ खराब हुँदैछ । रोटी माग्दा यो सरकार मजदुरलाई गोली दिन्छ, जेल हाल्दछ र तिनका लडाकु सगठन उपर हमला गर्दछ ।

सरकार मन्त्रीहरुको तलब र भत्तामा पानी सरह पैसा बगाउँदैछ र राणा र राणाका भारदारहरुको खुवा, खान्गी, भत्ता आदि साबिकै बमोजिम कायम गरेको छ । तर आफ्नो न्यून वैतनिक कर्मचारी र जागिरदारहरुले बाँच्न योग्य तलब देऊ भन्दा जेल हाल्ने र सबैलाई जागीर खोस्ने धम्की दिन्छ ।

किसानहरुलाई सामन्तहरुको जग्गा खोसी बाँढ्नु पर्नेमा उनीहरुले नै आफ्नो बाहुबलको जोरले क्रान्तिको बखतमा कब्जा गरेका जग्गा, अन्न आदि फौजको बलले खोसी सामन्तलाई सुम्पन्छ र उनीहरुमाथि गोली चलाउँदछ । हाम्रो मुलुकमा सयकडा ९५ भन्दा बढी जनता किसान नै छन् । उनीहरुको शोषण चली नै रहेको छ । उनीहरुले आफ्नै जग्गामा आफ्नै पसिना बगाई, आफ्नै हलो कोदालो चलाई पैदा गरेका अन्न ठूला जमीनदार, ठूला सुदखोर तथा सामन्तहरुलाई बुझाउनु पर्दछ । घुसखोरी तथा सोभै डकैतीद्वारा उनीहरु ठगिदै छन् । तीन चौथाई किसानहरुको आफ्नो खेत छैन । उनीहरु त सधै भोक र गरीबीको शिकार छन् । केही गरी जमीन्दार साहुकारको जग्गामा खेताला वा हरुवाको रुपमा काम गर्नपछि पनि उनीहरुको अवस्था कमाराको भन्दा असल छैन । एक दुई बाली सप्रेमा अवस्था असल हुने किसानको पनि हालत ठिक छैन ।

फेरि भारत-नेपाल सन्धिले नेपालको धनी किसानहरुको अवस्थालाई सोभै धक्का पुऱ्याई उनीहरुलाई आफ्नो स्थितिबाट तल बराल्ने डर पैदा गरिसकेको छ र साथै धनी किसानहरु पनि अरु किसान सरह सरकारी लुट, घुसखोरी र अरु सामन्ती र साम्राज्यवादी शोषणको सिकार भएका छन् । यसले गर्दा पैदावार कम भइरहेको छ । अकाल चारैतिर बढिरहेको छ । मानिस भोकभोकै मर्ने अवस्थामा पुग्दैछन् ।

जातीय (National) उद्योगको विकास गराउनु पर्नेमा यो सरकारले हाम्रो उद्योग व्यवसायलाई साम्राज्यवादीहरुको हातमा सुम्पिरहेको छ । मुलुकका खानीहरु टुम्यानको चार बुँदा ( प्वाइन्ट फोर) प्रोग्राम, खानी आदि हिन्दुस्थानी पुँजीपतिहरुका हातमा जाँदैछन् । देशको कोइला खानी भारतीय पूँजीपतिहरुद्वारा खनिँदैछ। विराटनगरको कलकारखानामा उनीहरुकै हात माथि छ । फेरि नेपालको सयकडा ७५ भन्दा बढी निकासी पैठारी व्यापार पनि उनीहरुकै हातमा छ । यसले गर्दा हाम्रो जातीय (ल्बतष्यलब) व्यापारी वर्ग विदेशी पूँजीपतिहरुको दाँजोमा टिक्न नसकी दिनहुँ तलतिर खस्कदै छन् ।

शहरका मध्यम वर्गका जनताको पनि यस सरकारबाट कुनै भलो भएको छैन । सबै चीज वस्तुहरुको दरभाउ बढेको छ । तर मध्यम वर्गको आम्दानी तलब वा ज्यालाको रुपमा केही बढेता पनि मुद्रा प्रदायले गर्दा पहिलेको भन्दा हाल भन कम भएको छ । सरकारी नोकरीमा लागेका हाम्रा मध्यम वर्गलाई तलब बढाऊ भन्दा सरकार पैसा छैन भन्ने ठाडो जवाफ दिन्छ । तर आफ्नो देशको योग्य कर्मचारी छँदाछँदै पनि सरकारी पदमा बढ्ता तलब दिई विदेशीहरुलाई भर्ना गर्दछ । खुदा व्यापारीहरु देशको सामन्तवादी व्यवस्था र विदेशी होडले गर्दा दिनहुँ बिग्रदै गइरहेका छन् ।

भएका स्कुल कलेजहरुलाई मद्दत गरी भर मुलुकमा स्कुल कलेजहरु खोली देशका जनताको निरक्षरता हटाई सांस्कृतिक स्तर उठाउनुको सट्टा फौजी स्कुलहरु खोलिरहेका छन् । देश विदेशमा उच्च शिक्षाको निमित्त विद्यार्थीहरुलाई पढाउनुको सट्टा फौजी र गुप्तचरको ट्रेनिङको निम्ति विदेश पठाइँदैछ । महिला कलेज खोल भन्दा यो सरकार पैसा छैन भन्दछ, तर महिला पुलिस खडा गर्दछ । उच्च शिक्षाको निम्ति विश्वविद्यालय खोल्नु त परै जावस् भएको एउटा कलेजलाई पनि सरकार फुटेको आँखाले हेर्न सक्दैन । यसका प्रोफेसरहरुलाई सरकारी नोकरीमा जबरजस्ती भर्ना गरिँदैछ। विरोधमा विद्यार्थीहरु उठ्दा सरकारले उनीहरुलाई हमला गर्दछ । साफ साफ भन्ने हो भने शिक्षा, संस्कृति तथा जनताको बौद्धिक उन्नतिको सरकार कतै वास्ता गर्दैन । बरु यसको निमित्त सङ्घर्ष गर्ने लडाकुहरुमाथि हमला गर्दछ ।

५. म्यादी सरकार र भविष्य

यस सरकारको मातहतमा हाम्रो भविष्य पनि सुरक्षित छैन । जुन सरकारले मुलुकको उन्नति र विकासको कुनै ठोस योजना तयार गर्न सकेको छैन, जुन सरकारले मजदुर किसानको भलोको निम्ति कुनै ठोस कदम उठाउन सकेको छैन, जुन सरकारले जातीय (National) उद्योग व्यवसायलाई विदेशीहरुको हातमा सुम्पिइरहेको छ र जुन सरकारले साम्राज्यवादीहरुको ताबेदारी गर्दछ, त्यस सरकारले जनताको कदापि भलो गर्न सक्दैन । देशमा औद्योगिककरणविना हाम्रो मुलुकको उन्नति हुन सक्दैन । विदेशी पूँजीपतिहरुका आधिपत्य र सामन्तवादलाई निर्मुल नगरुन्जेलसम्म देशको औद्योगिकरण हुन सक्दैन । सामन्तशाही नाश हुनुपर्दछ । किसान जग्गा–जमिनको मालिक हुनुपर्दछ । अनि मात्र अन्नको पैदावारका साथै उद्योग व्यवसायलाई चाहिने कच्चा मालको पनि पैदावार बढ्दछ । स्वतन्त्र भएका हुनाले किसानहरुको क्रयशक्ति बढेको हुन्छ । उनीहरु मुलुकका कल कारखानामा पैदा भएका वस्तुहरु किन्न सक्दछन् ।

तसर्थ हाम्रा मुलुकका कलकारखानाले मुलुकभित्रै व्यापक स्थायी बजार पाउँदछन् । विदेशी पूँजीपतिहरुले स्वदेशी उद्योग व्यवसायलाई घेराबाट मुक्त नगरेसम्म उनीहरुको विकास र उन्नती सम्भव छैन, र अर्धऔपनिवेशिक देशहरु यस कुराको बहुसंख्यक किसान वर्गको हितमा काम गर्दछन् । त्यस सरकारले मुलुकको कदापि औद्योगिक विकास गर्न सक्दैन । त्यसकारण त्रिभुवन-राणा- कोइरालाको सम्झौता म्यादी सरकारको मातहत वर्तमान त अँध्यारै छ भविष्य झन् अध्यारो छ ।

६. जनता नयाँ सरकार चाहन्छन्

यस्तो अवस्थामा हाम्रो मुलुकका रगत बगाई लडी राणाशाही र विश्वका प्रतिक्रियावादीहरुका मुटु हल्लाइदिने जनताले यस सरकारलाई विश्वास गर्न छोड्नु स्वाभाविक नै हो । चारैतिर सरकारप्रतिको असन्तोष विष्फोटकको रुपमा फुटिरहेको छ । जनता यस सरकारको सट्टा अर्को सरकार चाहन्छन् भन्ने कुराको यो स्पष्ट प्रमाण हो ।

वास्तविकताको यस कठोर परिस्थितिको पुरा तबरले विचार गरी जनमुक्ति आन्दोलनमा आफूले पुरा गर्नुपर्ने गम्भीर जिम्मेवारीको पुरा ज्ञान राख्दै नेपालको सर्वहारा वर्गको पार्टी, कम्युनिष्ट पार्टी पहिले झैं जनताको सामक्ष आफ्नो कार्यक्रम र नीति लिई आउन जरुरी सम्झन्छ । हाम्रो पार्टीलाई पुरा तवरले थाहा छ कि मार्क्सवाद, लेनिनवाद, स्तालिन र माओका विचार कुनै रटु सिद्धान्त होइनन् । देश र परिस्थितिको अध्ययन गरी यी सिद्धान्त र विचार लागु गर्नु पर्दछ । यस कारणले नेपाल कम्युनिष्ट पार्टी वर्तमान अवस्थामा आफ्नो अन्तिम उद्देश्य समाजवाद साम्यवादलाई कार्यक्रमको रुपमा जनताको सामुन्न राख्दैन । हाम्रो मुलुकको आर्थिक राजनीतिक तथा सांस्कृतिक पछौटेपनाको अवस्थामा यस्तो कार्यक्रमलाई व्यावहारिक रुप दिनु असम्भव छ ।

तर यस्तो अवस्थामै वर्तमान सरकारको ठाउँमा साम्राज्यवाद सामन्तवाद विरोधी गैह्र (सम्पूर्ण) शक्तिहरुको जनवादी सरकार खडा गर्न सकिन्छ । यस्तो सरकार जसले सामन्तशाहीको नाश गरी किसानलाई मुक्त गर्नेछ, जसले शोषित वर्गका मागहरु पुरा गरी मजदुरहरुको रक्षा गर्नेछ, जुनसरकारले साम्राज्यशाहीलाई खतम गरी मुलुकको स्वतन्त्र उद्योग व्यवसायको खडा गर्नमा जातीय (National) पूँजीपति वर्गलाई मद्दत गर्नेछ, जुनले मध्यम वर्ग र अन्य जनताका हक र मागको रक्षा गर्नेछ, तबमात्र हाम्रो मुलुक साम्राज्यवादी र सामन्त शाही शोषणको पञ्जाबाट मुक्त हुनेछ र जनमत जाहेर गर्ने सरकरा खडा हुनेछ। यस सरकारले मात्र आफूलाई साम्राज्यवादी पञ्जाबाट मुक्त गरी मुलुकलाई प्रगति, उन्नति, शान्ति र स्वतन्त्रतातिर द्रुत गतिले बढाउनेछ ।

७. आउँदो विधान सभा र म्यादी सरकार

तर त्रिभूवन- राणा- कोइरालाको यस सरकारले यतातिर पाइला चाल्न सक्दैन । तसर्थ माथि भनेझैँ जनवादी सरकार खडा हुनुभन्दा पहिले निम्न लिखित जरुरी कार्यनीतिक शर्तहरुको निम्ति देशव्यापी मोर्चा कस्नोस् भन्ने नेपाल कम्युनिष्ट पार्टी मुलुकका सम्पूर्ण जनतासित अपिल गर्दछ :
१. वर्तमान म्यादी सरकारबाट मोहन गुटलाई तुरुन्त निकाल ।
२. मुलुकभरका सम्पूर्ण जनवादी पार्टी, दल, जन र वर्गीय सङ्गठन र व्यक्तिहरुको एउटा जनताको राजनीतिक छलफल समिति खडा गर ।
३. यस जनताको राजनीतिक छलफल समितिको सिफारिस बमोजिम तमाम जनवादी पार्टी, दल, जन र वर्गीय सङ्गठन र व्यक्तिहरुको संयुक्त सरकार खडा गर ।
४. यस सरकारले तुरुन्त राणा सामन्तहरुको सबै आर्थिक तथा राजनीतिक अधिकारहरु खोस्ने ।
५. राणा र उनका पिठ्ठुहरुको जग्गा जमिन खेती किसानहरुमा तुरुन्त बाँडिदिने ।
६. उनीहरुले अहिलेसम्म जनताउपर गरेको अमानुषिक अत्याचारको निम्ति जनताको खुला न्यायलयमा उनीहरुलाई मुद्धा चलाउने । ७. तुरुन्त विश्वको जनवादी क्याप (सोवियत रुस, चीन) सित राजदुतको सम्बन्ध खडा गर्ने ।
८. वैधानिक हकहरुको पेवा त्रिभूवनको हातबाट खोसी जनताको राजनीतिक छलफल समितिलाई दिने ।
९. राहदानी र राती लगाउने कर्फ्यू (रातमा तोपको प्रथा) हटाउने । १०. सुरक्षा र प्रेस कानून खतम गर्ने, प्रेस स्वतन्त्रता र नागरिक हकको रक्षा गर्ने । सम्पूर्ण राजनीतिक बन्दीहरुलाई मुक्त गर्ने । ११. नेपालको जनआन्दोलन दबाउनका निम्ति प्रयोग गरिएको नेहरुको फौज र अंग्रेज-अमेरिकी साम्राज्यवादीहरुको हस्तक्षेप खत्तम गर्ने ।
१२. मोहन गुटका भाइ भारदारहरुलाई सरकारी जागिरबाट बर्खास्त गर्ने ।
१३. जिल्ला जिल्लाको शासन व्यवस्था चलाउनका निम्ति स्थानीय जनताले चुनेको स्थानीय सरकार खडा गर्ने ।
१४. गत क्रान्तिको समयमा किसानहरुले कब्जा गरेका जमीन सरकारले किसानहरुलाई फिर्ता दिलाउने र यसमा किसानहरुको अधिकार कायम गराउने ।

८. आउँदो विधान सभा र कम्युनिष्ट पार्टी

माथि तोकिएका शर्तहरु पुरा नगरी स्वतन्त्र र जनमत जाहेर गर्ने विधान सभा खडा हुन सक्दैन । तसर्थ विधान सभा खडा गर्नुभन्दा पहिले मुलुकमा माथि तोकिए बमोजिमको काम हुनैपर्छ भन्ने हाम्रो विचार छ । विधानसभा पछि खडा हुने नयाँ जनवादी सरकारले तोकिए बमोजिमको कार्यक्रम पुरा गर्नुपर्दछ । यो कार्यक्रममुलुकका सामन्त र साम्राज्यवाद विरोधी सम्पूर्ण जनताको युग युगको इच्छा र चाहनालाई प्रतिनिधित्व गर्दछ भन्ने कुरामा नेपाल कम्युनिष्ट पार्टीलाई पुरा पुरा विश्वास छ ।

९. कम्युनिष्ट पार्टी र शासन व्यवस्था

मुलुकमा सर्वोच्च अधिकार जनताको हातमा हुनुपर्दछ । यसै अधिकारको आधारमा शासन व्यवस्था खडा हुनुपर्दछ । यस शासन व्यवस्थामा साम्राज्यवाद सामन्तवाद विरोधी सम्पूर्ण जनता मजदुर किसान र जातीय (National) पूँजीपति सामेल छन् । यसको रुप नयाँ जनवादी हुन्छ । शासन गर्ने तरिका जनताको जनवादी अधिनायकत्व हुन्छ । जनताका निमित्त जनवाद र साम्राज्यवाद र तिनका दलालहको निम्ति अधिनायकत्व हाम्रो सरकराको नीति हुनेछ । यस नीतिलाई निम्न लिखित शर्तहरुद्वारा व्यवहारिक गराइनेछ ।

१. जनताको सार्वभौमिकता अर्थात् देशको सबै शक्ति जनताको हातमा राख्ने राज्यको सर्वोच्च अधिकार जनताले चुनेका जनप्रतिनिधिहरुको हातमा राख्ने । यी प्रतिनिधिहरुलाई निर्वाचकको बहु सङ्ख्याले चाहेमा फिर्ता बोलाउन सक्ने । यिनै प्रतिनिधिहरुले जनताको एउटा विधान र ऐन बनाउन सभा खडा गर्ने ।
२.सभापति पनि यही सभामा रोज्ने । सभापतिको हातमा कुनै विशेष अधिकार रहन नदिने ।
३.१६ वर्ष पुगेका सम्पूर्ण पुरुष र महिलालाई सार्वजनिक समानता र प्रत्यक्ष भोटको अधिकार दिने । बालिग मताधिकारको आधारमा प्रत्यक्ष चुनाव गराउने ।
४. गुप्त मतदान प्रणालीको चलन गराउने । राजनीतिक पार्टीहरुलाई आनुपातिक प्रतिनिधित्वको अधिकार दिने ।
५. स्थानीय र इलाकीय (क्षेत्रीय) सरकराको व्यापक चलन गराउने । यी सरकारलाई बालिग जनताले चुन्ने र यिनीहरुलाई स्थानीय समस्या सम्बन्धी धेरै अधिकार दिने । माथिबाट नियुक्त भएका हाकिम, बडा हाकिमको चलन हटाउने । हाकिम, बडा हाकिम र अरु अफिसरहरु स्थानीय जनताले नै चुन्ने ।
६. जुनसुकै ठाउँमा पनि घरबार गर्ने अनुलघनीय अधिकार, व्यक्तिको शरीरको (जीवनको) अनुलघनीय पवित्रता, छलफल, भाषण, प्रेस, सङ्घ, हड्ताल वा सङ्घ समेत बनाउने पूर्ण अधिकार, जुनसुकै ठाउँमा पनि आवतजावत गर्न र पेशाको अधिकार दिने ।
७. धर्म, जात, योनि, वर्ण र जातीयताको भेदभाव नगरी सबैलाई बराबर नागरिक अधिकार दिने ।
८. सबै जातिहरुलाई आत्म निर्णयको अधिकार दिने । नेपालमा बस्ने सबै जातिहरुको आपस्तको फाइदाको निम्ति कर, बल र छलले होइन, सबैको मनोमान राजी खुशीले एउटा साझा राज्य नयाँ जनवादी नेपालको खडा गर्ने ।
९. आफ्नो मातृभाषामा शिक्षा प्राप्त गर्न पाउने अधिकार दिने । सरकारी वा जनताको संस्थामा आ-आफ्नो भाषाको प्रयोग गर्न पाउने अधिकार दिने, नेपाली भाषालाई राज्यलाई मान्नै पर्दछ भन्ने कर नरहने ।
१०. सबै व्यक्तिले कुनै पनि सरकारी अधिकारीको विरुद्ध जनताको न्यायालयमा मुद्धा चलाउन पाउने अधिकार रहनेछ।
११. जनताद्वारा निर्वाचित न्याय विभाग खडा गर्ने । न्यायाधिशहरुलाई पनि जनताले चुन्ने अधिकार दिने, सरकारद्वारा नियुक्त गरिने होइन ।
१२. पुलिस व्यवस्थाको सट्टामा जनरक्षा फौज (:षष्तिष्ब) खडा गर्ने । बालगिरी र अरु दमनका निम्ति खडा गरिएका फौज खतम गर्ने र नेपालको रक्षाको निम्ति जनवादी पैदल र हवाई फौजको निर्माण गर्ने ।
१३. देशका मुख्य मुख्य केन्द्रहरुमा जनस्वास्थ्य रक्षा समितिहरु खडा गरी हैजा, कालाज्वर, विफर आदि महामारीलाई समाप्त गर्ने ।

१०. मुलुकको कृषि किसान समस्या र कम्युनिष्ट पार्टी

कृषि, किसान समस्या हाम्रो मुलुकको मुख्य सवाल हो । किसान समस्यालाई हल नगरी हामी मुलुकको कुनै किसिमको विकास गर्न सक्दैनौं । मुलुकको बहुसङ्ख्या किसानलाई सामन्तशाही साम्राज्यशाहीको पञ्जाबाट मुक्त गर्नु नै मुलुकलाई अकाल भोकमरी र सांस्कृतिक अधिकारबाट मुक्त गर्नु हो ।

यस सम्बन्धमा हाम्रो पार्टीको नीति :
१. जग्गा जोत्नेलाई पर्ती जग्गा, ठूला विर्तावालको विर्ता, राणा र ठूला जमीन्दार जिम्मावालको परिवारलाई उदरपूर्तिको निम्ति छोडी अरु जग्गा खोसी किसानलाई बाड्ने । यस भूमि सुधारलाई ऐन बनाई स्वीकृति दिने ।
२. खेतालाहरुको ज्याला बढाउने, अन्नको रुपमा वा पैसाको रुपमा । ३. जमिन्दारी र जिम्मावाली प्रथा खतम गर्ने, तिरो पञ्चायतमार्फत उठाउने, भूमि सुधारमा जनताको सरकारलाई सहयोग दिने र देशभक्त जमिन्दार जिम्मावाललाई तिरो उठाउने व्यवस्थामा काम
दिने ।
४. जनताले चुनेको तमसुक जाँच कमिसन खडा गर्ने र कमिसनले अन्यायपूर्ण ठहऱ्याएका तमाम तमसुक च्यात्ने र यस किसिमको अन्यायपूर्ण ऋणबाट किसानलाई मुक्त गर्ने ।
५.कृषि विकासका निम्ति सरकारबाट किसानलाई सस्तो ब्याजमा ऋण दिने बन्दोबस्त गर्ने । बिऊ र खेती गर्ने सामान जस्तो दरमा सरकारको तर्फबाट दिने र बाँध, पैनी, कुलो पानीको बन्दोबस्त गर्ने । गाउँका साना साना कारिगरलाई सस्तो र लामो म्यादमा उनको उत्पादन र व्यापार चलाउनका निम्ति सरकरा तर्फबाट ऋण
दिने ।
६कृषि किसास र अन्नको उत्पादनको निम्ति मध्यम किसानलाई हरसम्भव मद्दत गरेर धनी किसानी आर्थिक व्यवस्थाको रक्षा गर्ने ।
७. गैर कानूनी लुट र बेगार प्रथा खतम गर्ने ।
८. सम्बन्धित गाउँ, इलाका वा जिल्लाका सबै किसानको सहयोग र समर्थनको आधारमा बाँधा प्रथा खतम गर्ने ।
९. तिरो कम गर्ने ।
१०. जिल्लाको आम्दानीको सयकडा ५० जिल्लाकै उन्नतिका निम्ति खर्च गर्ने ।

११. उद्योग, व्यवसाय, मजदुर समस्या र कम्युनिष्ट पार्टी :

साम्राज्यवादीहरुको घेराबाट हाम्रो जातीय (National) उद्योग व्यवसायलाई मुक्त पारी उनीहरुको विकास गराई नेपाललाई औद्योगिकरण गर्नु पर्नेमा त्रिभुवन-राणा-कोइरालाको सरकारले हाम्रो जातीय (National) उद्योग व्यवसायलाई झन खाल्डोमा जाकिरहेका छन् । टुम्यानका चार बुँदा प्रोग्राम र दिनुहँ बढ्दो हिन्दुस्तानका पूँजीपतिहरुको हस्तक्षेपले हाम्रो जातीय (National) उद्योग व्यवसायको भविष्यलाई अँध्यारो पारिरहेको छ । मुलुकको कलकारखाना, निकासी पैठारी व्यापारको एकाधिकार हिन्दुस्ताका पूँजीपतिहरुले हत्याईसकेका छन् । तसर्थ उद्योग व्यवसायलाई साम्राज्यवादी र हिन्दुस्तानका पूँजीपतिहरुको हातबाट स्वतन्त्र पार्न र देशको औद्योगिकरण गर्नका निम्ति हाम्रो पार्टीको नीति:

१. मुलुकको जातीय (National) उद्योगको उन्नतिको निम्ति हरसम्भव उपायले मद्दत गर्ने । यस उद्योगलाई चाहिने कच्चा माल पैदा गर्न र पैदा भएका मालको विक्री र एक ठाउँबाट अर्को ठाउँमा ओसार्न यातायातको विकास गर्ने र मद्दत गर्ने ।
२. मुलुकको उद्योग व्यवसायमा जातीय (National)पूँजीपतिहरु मार्फत चलाउने ।
३. निकासी पैठारीको व्यापार हिन्दुस्तानी पूँजीपतिहरुको हातबाट खोसी जातीय (National) व्यवसायी-व्यापारीमार्फत चलाउने । विदेशी साम्राज्यवादी पूँजीको भर नपर्ने । समाजवादी र जनवादी देशहरुको मद्दतले मुलुकको औद्योगिकरण गर्ने ।
४.विदेशी र उसका देशीय दलाल पूँजीपतिहरुको पूँजी र कलकारखाना जफत गरी जातीयकरण गर्ने ।
५मुलुकको मुख्य उद्योगहरु (Key Industries) सरकारले चलाउने । तर मजदुर वर्गको अवस्था नसपारी उद्योग व्यवसायको विकास गराउन सकिँदैन । तसर्थ:
क. मजदुरको तबल र ज्याला महंगी, आठ घण्टा काम, बनोस र मजदुर युनियन सम्बन्धी हकहरुलाई कानुनद्वारा मञ्जुरी दिने र रक्षा गर्ने ।
ख. जातीयकरण (Nationalization) भएका तथा सरकारी उद्योग सञ्चालन समितिहरुमा मजदुरहरुको सहयोग र प्रतिनिधित्व
राख्ने ।
ग. सर्वसाधारण जनताको उपयोगका वस्तुहरुको मूल्यमा कन्ट्रोल गर्ने ।

१२. मुलुकका जातिहरु र कम्युनिष्ट पार्टी

नेपालमा बस्ने सबै जातिहरु अधिकार र कर्तव्यमा बराबर मानिने छन् । यी सबै जातिहरुले सारा मुलुकका बैरी साम्रज्यवादी र सामन्तवादलाई खतम गर्नमा तमाम जनताका साथ काँधमा काँध जोरी लड्न पर्दछ । जातिहरुको आत्मनिर्णयको अधिकार पार्टीले स्वीकार गर्दछ । तर हाम्रो पार्टी संकिर्णवादी जातीयताको विरुद्ध छ । एउटा जातिलाई अर्को जातिको विरुद्ध उचाली सबै जनताको संयुक्त विरोध कमजोर पार्ने साम्राज्यवादीहरुको षड्यन्त्रलाई खतम गर्नमा हाम्रो पार्टीको दृढ संकल्प छ । जातिहरुको जीवनस्तर उठाउने, उनीहरुलाई सही दिशामा उन्नति गर्नमा सहयोग गर्ने, राजकाजमा सामेल हुने वा आ-आफ्नो इलाकामा आफ्नै भाषामा शिक्षा …अदालतको काम गर्न दिई नेपाल कम्युनिष्ट पार्टी जातीयहरुको संस्कृतिको रक्षा, विकास र अन्य हकरुको निम्ति लड्दछ । विभिन्न जातिहरु प्रति राणाशाहीको जुन घातक र संकुचित नीति थियो, सोही नीका बाटोमा यो म्यादी सरकार पनि लागिरहेको छ । नयाँ जनवादी सरकार कायम भएमा मात्र जातिहरुले आर्थिक र राजनीतिक स्वतन्त्रता पाउनेछन् र भाषा, संस्कृति आदिको रक्षा गर्न सक्नेछन् ।

१३. धर्म र कम्युनिष्ट पार्टी

कम्युनिष्ट पार्टी धर्मलाई व्यक्तिगत विश्वासको वस्तु मान्दछ र जनताको धार्मिक भावनाको आदर गर्दछ अतः कसैको धर्म मान्न र नमान्न हस्तक्षेप गर्न पाउदैन । पार्टीले सम्पूर्ण धार्मिक स्वतन्त्रताको रक्षा ग्यारेण्टी दिन्छ । तर धर्मको नाउँमा सामन्तवाद र साम्राज्यवादले गर्ने जनताका शोषणको विरुद्ध कम्युनिष्ट पार्टी लड्दछ ।

१४. संस्कृति – शिक्षा र कम्युनिष्ट पार्टी

मुलुकको आर्थिक शोषण गर्नुको साथसाथै जनताउपर सामन्तवादी र साम्राज्यवादीहरुले अर्धसामन्ती र अर्धऔपनिवेशिक शिक्षा र संस्कृति लादेका छन् । यस किसिमको सांस्कृतिक गुलामी जनताउपर नलादी सामन्त र साम्राज्यशाही टिक्न सक्दैनन् । अतः कम्युनिष्ट पार्टी सांस्कृतिक मोर्चामा पनि साम्राज्यवाद र सामन्तवादको विरुद्ध मोर्चा लिन्छ । अर्धसामन्ती र अर्ध औपनिवेशिक शिक्षा र संस्कृति नाश गरी त्यसको सट्टा नयाँ जनवादी संस्कृतिका विकास गर्नेछ । यस किसिमले जनताको सांस्कृतिक पिछौटेपनलाई हटाई जन संस्कृति र शिक्षाको स्तर उठाउने छ । यस विषयमा हाम्रो पार्टीका नीति

१. साम्राज्यवाद र सामन्तवाद विरोधी भावना प्रवल गराई स्वस्थ देशप्रेम र अन्तरजातीयता (Internationality) को विकास गराउने ।
२. देशका सबै जातिहरुको शिक्षा र संस्कृति बराबर रुपमा विकास गराउने ।
३. अन्तरजातीय (International) क्षेत्रमा समाजवादी र जनवादी संस्कृतिसँग सम्बन्ध स्थापित गराउने ।
४. जनताको विज्ञान, कला आदिको विकास गराउने । नयाँ जनवादका निम्ति जनतामा उत्साह पैदा गराउने ।
५. निरक्षरता दूर गराउने र शिक्षा पद्धतिलाई जनवादी बनाउने।
१५. मुलुकको वैदेशिक नीति र कम्युनिष्ट पार्टी

कुनै पनि प्रजातन्त्र राज्यको वैदेशिक नीति स्वतन्त्र हुन्छ । आफ्नो मुलुकको भलोको निम्ति कुनै पनि देशसँग सांस्कृतिक, राजनीतिक तथा व्यापारिक सन्धी सम्झौता गर्न उसलाई पुरा स्वतन्त्रता रहन्छ । तर यो म्यादी सरकार सोवियत रूस, जनवादी चीन तथा अरु जनवादी सरकरासँग आफैंले मित्रताको सम्बन्ध स्थापित गर्न त परै जाओस् उल्टो जनताले सोवियत रूस, जनवादी चीनका जनतासँग नेपालका जनताको एकता र मित्रताको निम्ति गरेको प्रयत्नहरुमा पनि वाधा दिन्छ ।

अंग्रेज-अमेरिकी साम्राज्यवाद र भारतीय पूँजीपतिहरुको हुकुम बमोजिम, देशका महिला, युवक विद्यार्थी र शान्ति योद्धाहरुलाई बर्लिन विश्व युवक विद्यार्थी उत्सवमा जान दिएन । हाम्रो मुलुक विश्वको जनवादी क्याम्पको सम्पर्कमा नआओस् भन्ने यस सरकारको नीति छ । हाम्रो मुलुकको अन्तरजातीय (क्ष्लतभचलबतष्यलब), नीतिलाई साम्राज्यवादीहरुको सारा विश्वलाई गुलाम पार्ने, विश्युद्ध गराउने अन्तरजातीय (क्ष्लतभचलबतष्यलब) नीतिको पुच्छर यो सरकारले बनाई रहेको छ । तर हाम्रो जनता स्पष्ट तवरले सोभियत रुसको नेतृत्वमा बलियो र विजयी हुँदै गरेको साम्राज्यवाद विरोधी जनवाद र शान्ति क्याम्पमा छन् ।

हाम्रो वैदेशिक नीति निम्न लिखित सिद्धान्तको आधारमा छ :- जातीयहरु (Nations) को स्वतन्त्रता, सार्वभौमिकता र भूमिको अक्षुण्णता (Territorial Integrity), साना ठूला सबै जातिहरुलाई बराबरी हक । विश्वशान्ति र जनतन्त्रको रक्षा तथा शान्ति, सुरक्षा र जनतन्त्र विरोधी अन्तरजातीय (International) साम्राज्यवादको विरोध ।

यसकारण यस सम्बन्धमा हाम्रो पार्टीको नीति :
१. समाजवादी र जनवादी मित्र देशहरु सोवियत रूस, चीन र अरु जनवादी मुलुकहरुसित सम्बन्ध स्थापित गर्ने ।
२. उपनिवेश र अर्ध उपनिवेशमा चलिरहेको जातीय (National) मुक्ति आन्दोलनलाई सक्रिय रुपले मद्दत गर्ने । विदेशी फौजमा रहेका नेपालीहरुलाई फिर्ता लिने ।
३. स्वतन्त्रता, बराबरी र आपस्तको फाइदाको आधारमा हाम्रो मुलुकको स्वतन्त्रताको इज्जत गर्ने सबै देशहरुसँग सम्बन्ध राख्ने ।
४. हिन्दुस्तान र नेपालको आपस्तको आर्थिक फाइदाको निम्ति हिन्दुस्तानसँग मित्रता र सम्बन्ध बढाउने र साम्राज्यवादको विरोधमा हिन्दुस्तानी जनताको साथ दिने । तर हिन्दुस्तानको पूँजीपतिहरुको हस्तक्षेपको घोर विरोध गर्ने ।
१६. विश्व शान्ति, जनवाद र कम्युनिष्ट पार्टी

विश्वशान्ति र जनवादको निम्ति लड्नु हाम्रो जातीय (National) मुक्ति आन्दोलनको अन्तरजातीय (International) कर्तव्य हो यो मोर्चा कमजोर भएको खण्डमा हाम्रो मुक्ति आन्दोलनलाई ठूलो धक्का लाग्दछ । यसकारण यस विषयमा पार्टीका नीति निम्न लिखित छन् ।

१) विश्व शान्ति आन्दोलनमा सक्रिय भाग लिने र यस आन्दोलनमा नेपाल सरकारको पूर्ण समर्थन जनाउने । युद्ध प्रचारको विरोधमा कानून पास गर्ने र युद्ध प्रचारकहरुलाई ऐनद्वारा दण्ड दिने ।
२) विश्वशान्ति, जनवाद र देश विदेशको जातीय (राष्ट्रिय) मुक्ति आन्दोलनसँग हाम्रो सम्बन्ध गराउने ।
३) पाँच ठूला राज्यहरुको बीचमा शान्ति सम्झौता गराउने । यी उद्देश्यका निम्ति हाम्रो देशका सबै जनता सङ्घर्ष गरिरहेका छन्, त्यसको यो एउटा साफ तस्वीर हो भन्ने कुरामा हाम्रो पार्टीलाई पूरा विश्वास छ। आजको अवस्थामा सबै जनताको इच्छा र आकांक्षालाई जाहेर गर्ने योभन्दा राम्रो वैज्ञानिक कार्यक्रम अरु हुन सक्दैन । यस कार्यक्रमको आधारमा मुलुकका सम्पूर्ण जनतालाई उनीहरुको जनवर्गीय सङ्गठनहरुमा सङ्गठित गरी तमाम जनतालाई देशव्यापी विशाल सयुक्त मोर्चामा भेला गरी साम्राज्यवादी र सामन्तवादीहरुको किल्लामा जोरदार हमला माथि हमला गरी मुलुकलाई सधैंका निम्ति स्वतन्त्र पार्ने ऐतिहासिक कर्तव्य पुरा गर्नमा हाम्रो पार्टी जीउ ज्यानको परवाह नगरी लड्नेछ ।

मुलुकका सबै जनता मजदुर, किसान, बुद्धिजीवी, मध्यमवर्ग र जातीय (National)…, जो मुलुकलाई स्वतन्त्र पारी विकास र उन्नतिपट्टी बढ्न चाहन्छन्, सँग उनीहरुको आ-आफ्नो जनवर्गीय सङ्गठन बलियो पारी देशको जनताको इच्छाको… रुपमा बनेको ‘जनताको जातीय (National) जनतान्त्रिक संयुक्त मोर्चालाई बलियो पार्नुस् भन्ने हामी अपील गर्दछौं । संयुक्त मोर्चा बलियो भएको खण्डमा मात्र हामी आफ्नो दुश्मनहरुलाई खत्तम गरी देशमा नयाँ जनवाद कायम गर्न सक्नेछौं । अनि मात्र आजको शोषित र सांस्कृतिक अन्धकारको खाडलमा गाडिएको अर्ध सामन्ती अर्धउपनिवेशिक नेपालको ठाउँमा नयाँ जनवादी नेपालको जन्म हुनेछ ।

मार्क्स, एंगेल्स, लेनिन र स्तालिनका सिद्धान्तले लेस भएका सोवियत रुस, जनवादी चीन, उत्तर कोरिया, भियतनाम, पोलेण्ड, चेकोश्लोभाकिया, हंगेरी, रोमानिया, बुल्गेरिया, अल्बानिया र पूर्व जर्मनीका कम्युनिष्ट पार्टीहरुले विश्वका करीब आधा जनतालाई मुक्त पारिसकेका छन् । हाम्रो पार्टी पनि यसै सिद्धान्तलाई नेपालको विशेष परिस्थितिमा लागु गरी नेपालका जनतालाई मुक्त गर्न दत्त चित्तले लागेको छ । नेपालका मजदुर वर्ग र उसको पार्टी कम्युनिष्ट पार्टीले किसान र अरु विभिन्न क्रान्तिकारी वर्गहरुको सक्रिय सहयोग प्राप्त गरी पार्टीको प्रथम एतिहासिक सम्मेलनले देशको सयकडा ९५ जनताको ईच्छालाई प्रतिनिधित्व गर्ने बीउको रुपमा छरेको यस कार्यक्रमलाई त्याग, बलिदान र अथक परिश्रम रुपी मलजल गरी फलाई फुलाई कार्यरुपमा अवश्य पनि परिणत गर्नेछ ।
(१९५१ सेप्टेम्बर २७ देखी अक्टोबर २सम्म भारतको कलकत्तामा आयोजित नेपाल कम्युनिस्ट पार्टीको प्रथम ऐतिहासिक सम्मेलनमा पुष्पलालद्वारा तथा पारित कार्यक्रम )


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।