२१ बैशाख २०८१, शुक्रबार

नाइजरमा सैन्य विद्रोह

0

पश्चिम अफ्रिकी मुलुक नाइजरमा सैनिक विद्रोह भएको छ । सेनाको एक टोलीले राष्ट्रिय टेलिभिजनबाट विद्रोहको घोषणा गर्दै राष्ट्रपतिलाई अपदस्त गरेको घोषणा गरेको छ । सैन्य टोलीले राष्ट्रपति मोहम्मद बाजुमलाई बुधबार बिहानैदेखि नियन्त्रणमा लिएको थियो भने देशको संविधान विघटनका साथै सबै संस्था निलम्बन गरिएको घोषणा गरेको छ ।

सेनाले देशको सिमाना बन्द गरेको छ । राजधानी नियामेस्थित राष्ट्रपतिको निवास र कार्यालयसम्म जाने बाटो बन्द गरिएको छ । त्यस्तै बन्दी बनाइएका राष्ट्रपतिलाई रिहा गर्न विश्व तथा क्षेत्रीय नेताले गरेको आग्रह सेनाले बेवास्ता गरेको छ । संयुक्त राष्ट्र संघ, अफ्रिकी संघ र युरोपेली संघले पनि सैन्य विद्रोहको विरोध गर्दै राष्ट्रपति बाजुमको रिहाईको माग गरेका छन् ।

सेनाले गए राति १० बजेदेखि बिहान ५ बजेसम्म अर्को सूचना नभएसम्मका लागि ‘कफ्र्यु’ आदेश जारी गरेको छ । नौजना वर्दीधारी सैनिकबाट घेरिएका कर्णेल अमाडो अब्द्रामानेले बुधबार राति टेलिभिजन सम्बोधनमार्फत राष्ट्रपतिलाई अपदस्थ गरिएको घोषणा गरेका थिए ।

सेनाले राष्ट्रपति र उनको परिवार सकुशल रहेको बताएको छ । मोहम्मद बाजुमले दुई वर्षअघि नाइजरको सत्ता सम्हालेका थिए । छिमेकी बेनिनका राष्ट्रपति प्याट्रिस टालोन मध्यस्थता प्रयासका लागि नियामेतर्फ प्रस्थान गर्ने तयारीमा रहेको पश्चिम अफ्रिकी राज्यहरूको आर्थिक समुदायले जनाएको छ ।

सैनिक हिरासतमा रहेका नाइजरका राष्ट्रपति मोहम्मद बाजुमले ठूलो संघर्षबाट प्राप्त लोकतन्त्रलाई जोगाउने प्रतिबद्धता व्यक्त गर्दै सामाजिक सञ्जालमार्फत लोकतन्त्रका निम्ति साहसपूर्वक लड्ने दृढता व्यक्त गरेका छन् । नाइजरका विदेशमन्त्री हसौमी मसुदुउले देशको वैध शक्ति निर्वाचित राष्ट्रपति भएकाले विद्रोहमा उत्रेका सबै सेनालाई काममा फर्कन र वार्ताका माध्यमबाट समस्याको निकास खोज्नुपर्नेमा जोड दिएका छन् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।