१ मंसिर २०८१, शनिबार

समाजवादी अर्थप्रणाली मजबुत बनाउन नेकपाको श्रम–उत्सव

0

नेपाल कम्युनिस्ट पार्टीले केन्द्रीय समितिको निर्णय अनुसार असारमा देशभर श्रम–उत्सव मनायो । श्रम–उत्सवमा नेकपाका महासचिवलगायत हजारौं नेता–कार्यकर्ता सहभागी भएका थिए । नेता–कार्यकर्ताहरुले समाजवादी अर्थप्रणालीको अभ्यासका लागि पार्टीको केन्द्रीय योजना अनुसार श्रम–उत्सव थालनी गरेको प्रतिक्रिया दिएका थिए ।
पूर्व–पश्चिम जताततै पार्टीका नेता–कार्यकर्ता, कलाकार, विद्यार्थी, युवाहरु पार्टीको झण्डा, कोदालो, धानको बीउ बोकेर हिलाम्मे भएर राष्ट्रिय रोपाइँ महोत्सव जस्तो छनक देखिने गरी उत्सवमा रमाएका थिए । पार्टीलाई आत्मनिर्भर बनाउन र समाजवादी अभ्यासतिर देशलाई लैजान श्रम–उत्सव मनाएको नेकपाले देशभर झण्डै ३०० रोपनी जमिनमा धान रोपेको छ ।
पार्टीका महासचिव विप्लव, प्रवक्ता प्रकाण्ड, सन्तोष, विरही, शिलु, रणवीर, कर्णजितलगायतका स्थायी समितिका नेताहरू कपिलवस्तु, चितवन, बाँके, सुनसरीलगायत विभिन्न जिल्लामा छरिएर श्रम–उत्सवसहितको रोपाइँ महोत्सवमा सक्रियता पूर्वक सहभागी भएका थिए ।
श्रम वास्तवमा जिविकोपार्जनको साधन मात्रै होइन, मानव सभ्यताको जननी हो भन्ने कुरालाई स्थापित गराउन श्रम संस्कृति विकास गराउन जरुरी छ ।
श्रम–उत्सव भनेको धान रोप्ने कामसँग मात्र सीमित छैन। यो श्रमलाई घृणा गर्ने र विदेशी उत्पादनको आयातमा जोड दिने सामन्ती उत्पादन प्रणालीको संरक्षण गर्ने प्रवृतिका विरुद्धको लडाइँ पनि हो । भुमण्डलीकृत पुँजीवादले स्वदेशी उत्पादनलाई निरुत्साहित गर्ने, श्रमशक्ति विदेश पठाउने, देशलाई कामदार उत्पादन गर्ने थलो बनाउने जस्ता प्रवृति विरुद्ध नयाँ सन्देश दिन खोजिएको उत्सवमा प्रष्ट देखिन्थ्यो ।
समाजवादी अर्थप्रणालीको विकास गर्न र विदेशी उत्पादनसँग स्वदेशी उत्पादनले प्रतिस्पर्धा गर्दै आत्मनिर्भर हुन श्रम–उत्सव अनिवार्य छ । यो देश श्रम नगरी बन्दैन भन्ने भावसमेत उत्सवले स्थापित गराउन खोजेको देखिन्छ । यो उत्सव सामुहिक उत्पादन प्रणालीको अभ्यास पनि हो । यो समाजवादी व्यवस्थाको आधारभूत अभ्यास पनि मानिएको छ । जसका कारण नेकपा जनताका बिचमा केही फरक र लोकप्रिय बन्दै गएको देखिन्छ ।
बुर्जुवाहरुले श्रम संस्कृतिलाई कमजोर र बाध्यताको रुपमा बुझाउन खोजे । तर श्रम वास्तवमा मानव विकासको केन्द्रीय भूमिकामा छ । दार्शनिक फ्रेडरिक एंगेल्सले ‘बाँदरबाट मानिस बन्ने प्रक्रियामा श्रमको भूमिका’ विषयक लेखमा सामान्य बाँदर प्रजातिको प्राणी श्रम गर्दै जाँदा कसरी मान्छेमा रुपान्तरण भयो भन्ने कुरालाई वैज्ञानिक तथ्यसहितको व्याख्याद्वारा प्रमाणित गरेका छन् । एंगेल्सको निष्कर्ष के छ भने श्रम नै मानव सभ्यता र समृद्धिको स्रोत हो । यस्तै मेक्सिम गोर्कीले श्रमलाई कला र सिर्जनाको स्रोतको रुपमा परिभाषित गरेका छन् ।
तसर्थ श्रम जीवन निर्वाहको बाध्यत्मक कार्य मात्रै नभएर मानव विकासको रचना र सिर्जनाको एउटा बलियो अङ्गसमेत रहेको बुझ्न सकिन्छ ।
पछिल्लो विकसित राजनीतिक परिस्थितिमा नेपाल कम्युनिस्ट पार्टीले केन्द्रीय समितिको बैठकमा निर्णय नै गरेर श्रम–उत्सव मनाउने निर्णय गरेको थियोे । असार १५ गतेदेखि कृषिमा आधारित श्रम–उत्सवलाई देशभर सञ्चालन गरिएको थियोे ।
श्रम पनि आधुनिकिकरण गर्ने, विकास गर्ने र आम नागरिकलाई आत्मनिर्भर बनाउँदै रोजगारीका वातावरण सिर्जना गराउने साथै जनताको क्रयशक्ति बढाउने कार्यलाई जोड दिन जरुरी छ । साथै, कृषिको माध्यमबाट कृषिमा आधारित उद्योगका साथै राष्ट्रिय पुँजीको विकास गर्दै देशलाई औद्योगिकरण तर्फ लैजान श्रम–उत्सव कोशेढुङ्गा सावित हुन सक्नेछ ।
नेपाल कम्युनिस्ट पार्टीले आफ्ना केन्द्रीय नेताहरूलाई मात्रै होइन सबै तहका नेता–कार्यकर्तालाई श्रम–उत्सवमा अनिवार्य सहभागी हुन निर्देशनसमेत जारी गरेको थियोे ।
पार्टीले रोपाइँ मात्रै होइन देशका विभिन्न ठाउँमा स्याउ, सुन्तला, ओखर, कागती जस्ता फलफूल खेतीसमेत सुरुवात गरेको छ । यसप्रकारका समाजवादी श्रम–उत्सवले नेपालको कम्युनिस्ट आन्दोलनमा नयाँ छलफल–बहस–अभ्यासको प्रारम्भ गरेको छ ।
विश्वमा कम्युनिस्ट आन्दोलनले सत्ता जन्मायो तर वास्तविक श्रमिक जन्माउन सकेन तसर्थ कम्युनिस्ट पार्टीलाई श्रमिकीकरण गराउँदै लैजाने प्रयासको रुपमा यो श्रम संस्कृतिलाई विकास गराउन पनि जरुरी छ ।
कम्युनिस्ट कार्यकर्ता शासक होइन श्रमिक रहिरहन र कम्युनिस्टको नाममा श्रमिकको पसिनामा बाँच्ने परजीवी ‘कम्युनिस्ट’ नहुन अपिल र अभियान सञ्चालन गर्न जरुरी छ ।

   स्राेत: जनपत्रिका चाैथाे अङ्कमा प्रकाशित


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।