८ पुष २०८१, सोमबार

सङ्घर्षमय जीवनको अन्तिम क्षणमा चुनु गुरुङ

0

                  राजु क्षेत्री

 

चुनुसँग मेरो अन्तिम भेट शाही सेनाको फूलबारी ब्यारेक, पोखरामा भएको थियो २०५८ फाल्गुनमा । उनीसँग अन्तिम भेटताकाका दिनहरू पीडादायी थिए, सम्झँदा मात्रै पनि म भावविह्वल हुने गर्छु । सङ्कटकाल लाग्नु अघिसम्म हामीसँगै थियौं पोखरामा । उनी जनसाँस्कृतिक संघ, कास्कीको अध्यक्ष र म सदस्य एवम् सक्रिय पत्रकारका रूपमा बजारमै बढी खट्ने भएकोले हाम्रो भेट भइरहने गथ्र्याे । म राष्ट्रिय स्वाभिमान साप्ताहिकको पत्रकारकारूपमा काम गर्ने गरेको कार्यालयमा सङ्कटकाल लाग्नु ठीक एक हप्ता अघि आएर उनले दुईवटा कविता दिएकी थिइन् । ती कवितामध्ये एक मैले सङ्कटकालमा पत्रिका बन्द हुनुपूर्वको अन्तिम अङ्कमा छापेको थिएँ र अर्को कविता काठमाण्डौबाट प्रकाशित हुने जनआव्हान साप्ताहिकको कार्यालयमा पठाइदिएको थिएँ र त्यो कविता प्रकाशन हुन नपाउँदै सङ्कटकाल लाग्यो ।

मेरो सम्झनामा भए अनुसार ती दुई कविता उनका अन्तिम कविता थिए, जसलाई मैले सुरक्षित गर्न सकिन । सङ्कटकाल लाग्यो । चारैतिर अन्यौल भयो । के गर्ने, के नगर्ने । माओवादीप्रति आस्था राख्ने कसैले पनि निक्र्याैल गर्नै सकेनन् र त्यही समय केही साथीहरू गाउँतिर लागे तर सुरक्षाको हिसाबले आश्वस्त हुन नसकेपछि उनी बजारभित्रै सहयोगीहरूका घरहरूमा भूमिगत भएर बस्न थालिन् । सङ्कटकालको कहर भोगिरहेको थियो देशले । माओवादीप्रति आस्थावान शहरिया मानिसहरू सेनाको त्रासले त्राहिमाम बनिरहेका थिए, तैपनि विद्रोहीहरू शहरमै मानिसहरूकै बिच ढुक्कसँग बसिरहेका थिए । सङ्कटकाल लगत्तै केही समय उनी पोखराकी कलाकार कल्पना थापासँगै उनको आफन्तको घरमा अत्यन्तै भूमिगतरूपमा बसिन् । केही हप्ता त्यहाँ बसेपछि उनले अर्को बास सारिन् एक कार्यकर्ता शम्भु खातीको घरमा । चुनु बास सरेको केही समयपछि चुनुको सम्पर्कमा रहेका खाती सेनाको कब्जामा परे । चरम यातनाका सामु टिक्न नसकेपछि सम्पर्क व्यक्तिले चुनु गुरूङको बासको सुराक सेनालाई दिए । पक्राउ परेको लगत्तै आफूले चुनुलाई लुकाएर राखेको ठाउँको सुराक सेनालाई दिएपछि २०५८ फाल्गुण महिनाको मध्य दिन कास्की जिल्लाको भरतपोखरीस्थित बागमाराबाट उनी गिरफ्तारीमा परिन् । सयौं स्थानीय मानिसकामाझ उनलाई गिरफ्तार गरेर पोखरा ल्याइयो र फूलबारी ब्यारेकमा ल्याएर चरम यातना दिन थालियो । उनलाई पक्रेको केही समयपछि पोखराबाटै म पनि पक्राउ परें । मध्य दिन, बजारको मुख्य चोकबाट पक्राउ गरिने बित्तिकै मलाई कालो पट्टी बाँधियो र कसक्क पारेर कसियो । त्यही अवस्थामा मोटर चढाएर मलाई ब्यारेक पु¥याइयो । ब्यारेकभित्र यातना दिनैका लागि बनाइएको यातना शिविरमा घण्टौ चरम यातना दिइएपछि मलाई घिसार्दै लगेर एउटा ठूलो हलमा राखियो । पछि थाहा पाएँ, त्यहाँ मजस्ता दर्जन बढी साथीहरू राखिएका रहेछन् ।
यातनाले सुन्निएको जीउ, पछाडि पाता फर्काएर कसक्क बाँधिएका हात र च्याप्प पारेर फलामे साङ्गलाले बाँधिएका गोडा, माघ ९ फाल्गुनको ठण्डी, शरीरको सबै भाग छोप्न मिल्ने गरी ओढ्न ओछ्याउन पाएका जम्माजम्मी छोटाछोटा दुईवटा बोरा । पछि थाहा हुँदै गयो, कतिपय साथीहरू त सिमेन्टको निख्लो भुइँमा सत्र्याम्म सुतेका थिए कैयौं दिनसम्म । म त्यही अवस्थामा ७० दिनसम्म बसें । ७० दिनमध्ये एकक्षण पनि उज्यालो संसार देख्ने अवसर मिलेन । फेरि पनि ७० दिनसम्म बसेको ठाउँलाई मेरा अन्तरचक्षुले कसरी नदेखिरहन सक्थे र ! १२ हप्तापछि मञ्चबाट झारेर मलाई एउटा कुनामा लगेर राखियो, जहाँ ५ मिटर कमको दुरीमा चुनु गुरूङ्ग मेरै जस्तो अवस्थामा राखिएकी थिइन् । कति त्रासद र कहालीलाग्दा थिए त्यस समयका रातहरू । मध्यरातमा जब गैचीको ठक्कर जमिनमा पथ्र्याे र त्यहाँबाट निस्केको आवाज ट्याङ्ग गर्दै हामीहरू छेऊ आइपुग्थ्यो अनि त्यो आवाजलाई परिभाषित गथ्र्याे नजिकै बसेको सिपाहीले ‘लौ अब तिमीहरू मध्ये कसको पाले आयो, पछाडिपट्टी खाडल तयार हुँदैछ ।’ यसरी जमिनमा ठोक्किने प्रत्येक पटकको आवाज आफ्नो छातिमाथि बजे जस्तो प्रतित हुन्थ्यो । लेखा नै छैन हाम्रै बिचबाट लगेर कति साथीहरूलाई त्यस्ता खाडलहरूमा जिउँदै पुरियो । खोतल्नुपर्छ अब एक–एक गरी ती चिहानघारीहरू । हातखुट्टा बाँधेर आँखामा पट्टी लगाएकै अवस्थामा जिउँदो मानिसलाई खाडलमा लगेर हालेपछि ज्यावेलले उसको जीउमाथि माटो फालिरहँदा कति छट्पटाउँछ होला मानिस ? कस्तो हुन्छ होला त्यसबेला एउटा सामान्य मानिसको मनस्थिति ? जिउँदै मानिसहरूलाई त्यसरी मार्न कसरी सकेका होलान् असत्तीहरूले ?
यातना शिविरमा हामी करिब सँगै थियौं । खाना खानु, शौचालय जानु र यातना खानु हाम्रो दैनिकी थियो । हृदयहीन कसाहीहरू कहिले विहान चराहरू चिरविर नगर्दै आइपुग्थे हाम्रा छातिमाथि बुट बजार्न त कहिले जाँडले मातेर मध्यरातमा आइपुग्थे झ्याउँकिरी पनि निद्रामा परेको समयमा । सिमेन्टको भुइँमा बुटको आवाज गडक–गडक गर्दै उनीहरू हाम्रा छेउ आउँथें र घण्टौसम्म बुट बजारिरहन्थे हाम्रा जीउमाथि । हामी चिच्याउँथ्यौं, हारगुहार गथ्यौं, रून्थ्यौं र चीत्कार छाड्थ्यौं । तर के मूल्य रहन्थ्यो फलामका मन भएकाहरूका लागि पीडा र चीत्कारको ? मलाई लाग्दैन उनीहरू मानिस थिए; मानिस त कम्तीमा अरूका पीडाहरूमा पग्लिन्छ र अरूका चीत्कार सुन्दा द्रविभूत हुन्छ । ठीक उल्टो उनीहरू हाम्रा पीडा र चीत्कार सुनेर अट्टहास गरिरहेका हुन्थे । मेजर रवि थापाको कमाण्डमा आउँने त्यो टोलीले चुनुलाई “हिँड् ट्वाइलेट” भन्दै घिसार्दै लग्थ्यो । चुनु दिदी जोड्ले चिच्याएर प्रतिकार गर्नुहुन्थ्यो । राक्षसहरूका अगाडि त्यस्तो निरीह प्रतिकारको के अर्थ रहन्थ्यो र ? उनीहरूले हातमा तानेर घिसार्दै उनलाई ट्वाइलेटसम्म लग्थे । म छेउमा बसेर आक्रोस र घृणाका आँसु बरबर्ती झारिरहन्थें । उनीहरू मध्येको कोही आएर भन्छ, “किन रोइस् ? तेरी स्वास्नी हो कि क्या हो ?”
मानवता मरेर दानवता बाँचेको त्यो समय, इतिहासको एउटा घृणित र कुरूप समय जहाँबाट म गुज्रेर आएँ र बाँकी दर्जनभन्दा बेसी सबै साथीहरू आफ्नै सामुन्ने जिउँदै खाल्डोमा पुरेर मारिए । शाही सैन्य शिविरमा लगेर मारिनुपूर्व ती युवाहरू कति दारूण अवस्थामा बाँचेका थिए– तिनको म एउटा ज्वलन्त साक्षी हुँ । म त्यो समयको दर्शक हुँ र मैले देखेको त्यो समय घृणा र अपमानको समय थियो । अब घृणा र अपमानको समय हामीले नसम्झँदा आगत खुशी हुन्छ भने हामी त्यसो गर्नेछौं तर यो बिर्सनु गल्ती हुनेछ कि मानवताको बलात्कार गर्ने सत्ताका रक्षकहरूलाई हामीले घृणापूर्वक सम्झेनौं भने भविष्यको लागि अबको पुस्ताले उनीहरूका लागि चिहान खन्न सक्नेछैन । त्यसैले घृणाको इतिहासलाई पुनरावृत्ति हुन नदिन इतिहासको सम्झना गर्नैपर्छ ।
चैत्र २६ को मध्यरात । हामी सबै सुतिरहेका थियौं, सुत्न त हामी २४ सै घण्टा सुतिरहेका हुन्थ्यौं । यातनागृह जहाँ उठ्न वर्जित थियो, त्यहाँ सुत्न बाहेक विकल्प नै के थियो र ? हामी सुतेका त थियौं तर निदाएका भने थिएनौं । एक हुल मानिसहरू हामीलाई राखेको हलभित्र पसे र हल्लाखल्ला नगरीकन चुनुलाई उठाएर लगे । हामीलाई राखिएको हलको एकाछेउपट्टि कोठामा उनलाई लगियो । बयान लिएको वा अन्य यातना दिएको जस्तो लाग्दैनथ्यो । यत्तिकैमा चुनु जोडसँग चिच्याइन् । मेरो मुटुको गति बढेर ढुकढुक गर्न थाल्यो र स्वास–प्रस्वास् ह्वात्तै बढ्यो । जीउ सिरिङ हुनथाल्यो र रगत आफैं उम्लेजस्तो हुन थाल्यो । चुनु एकोहोरो चिच्याइरहेकी थिइन्, छोड् मलाई …….. छोड मलाई । बाहिर सिसौको रूखमा बास बसेका चराहरू निद्राबाट ब्युँझेर चिरबिर गर्न थाले । घरीघरी महेन्द्रपुल छेउछाउतिर मोटर घुइकिएको आवाज आउँथ्यो । सिङ्गो शहर मस्तसँग सुतिरहेको समयमा जागै रहने सायद हामी मात्र थियौं । दुनिया शान्तिसँग निन्द्रामा सपना देखिरहेको बेलामा हामी घृणाको अमानवताको विपना भोगिरहेका थियांै । कति पृथक छ हामी र अरू बाँचिरहेको समय । उनलाई लगिएको कोठामा एक–एक गर्दै मानिसहरू प्रवेश गर्दै निस्कँदै गर्थे । प्रत्येक पटक एउटा मानिस कोठाभित्र पसेपछि उनी आकाशै थर्काउने गरी चिच्याउँथिइन् । यसै गरी उनी एकदर्जन बढी पटक चिच्याइन् र अर्को प्रत्येक चिच्याहटमा हामी भित्रको मान्छे मर्ने गथ्र्याे केही गर्न नसक्नुको पीडाबोधले आहत बनाएर । थाहा भएन कतिखेर चुनु बेहोस भइन् तर मलाई राम्रैसँग थाहा छ, उनी बेहोस भएपछि थुप्रै पटक उनीमाथि बलात्कार गरियो । बेहोस भएर अर्धमृत अवस्थामा ढलिरहेको महिलामाथि बलात्कार गर्न सक्ने देशको रखवाल सेनाप्रति मेरो मष्तिस्कमा उत्रेको बिम्ब सदा एउटा राक्षसको जस्तो रहिरह्यो । शाही सेनाका हाकिमहरूलाई तसर्थ मलाई राक्षसी हाकिमको संज्ञा दिन मनलाग्छ ।
चुनुमाथिको त्यो घृणित व्यवहारपछि उनी केही दिन बेहोस र अर्धबेहोस जस्तो अवस्थामा रहिन् । जब उनी होशमा आँउथिन त्यसपछि रून सुरू गर्थिन र एकोहोरो रोइरहन्थिन् । रूँदारुँदै बेहोस हुन्थिन् र होश खुलेपछि फेरि रून सुरू गर्थिन् । मलाई सम्झना छ त्यसपछिका दिनहरूमा पानी बाहेक उनले केही पनि खाइनन् । म राती ननिदाउँदासम्म उनी रोइरहेकी हुन्थिन् र बिहान म उठ्दा उनी रोइरहेकै अवस्थामा भेटिन्थिन् । सेनाका हाकिमहरूद्वारा बलात्कृत एक महिलाका छेउमा बसेर मैले १५ दिन बढीको समय बिताएँ । बलात्कारको पीडाले विक्षिप्त हुने मनहरूलाई मैले त्यसबेला नजिक बसेर छाम्ने समय पाएँ । बैशाख १२ गते मध्य दिनको ठीक १२ बजे चुनुलगायत केही साथीहरूलाई त्यहाँबाट अन्यत्रै लगियो । त्यहाँबाट लैजानु केही अघि एउटा मान्छे आएर भनेको थियो, “केही छ तिमीहरूको अन्तिम इच्छा ?” हलमा सन्नाटा छायो । हुन त त्यसअघि पनि सधैं त्यो यातना हलमा सन्नाटा छाइरहन्थ्यो । त्यो सिपाहीको प्रश्नपछि भने चुनु रून छोडिन् । यस्तो घृणित व्यवहार सहनुभन्दा त मृत्यु धेरै आनन्दको चीज हुनेछ भने झैं गरी चुनु मौन भएर बसिन् । प्रश्नकर्ता चाहिं वाल्ल परेर चुनुको छेउतिर लाग्यो र दङ्ग परे झै गरी सोध्यो, “हैन त यत्रो दिनसम्म रोइरहिस् तर मर्ने बेलामा चाँही मृत्युको खबर पाउँदा झन् मौन छेस् ?” उनले तत्कालै जवाफ दिइन्, “तिम्रा लागि मृत्यु भयानक आतङ्क बन्नेगर्छ र हाम्रा लागि मृत्यु महान् आदर्श बन्ने गर्छ । तिमी मृत्युलाई जीवनको हार ठान्छौ र हामी मृत्युलाई जीवनको हार हैन जित ठान्छौं ।” एकछिनसम्म त्यहाँ कुनै आवाज आएन । न कुनै सेनाको मान्छे हलचल गरेको नै चाल पाइयो । सधैं गड्याप–गड्याप बुट बजार्दै हिंड्ने मान्छे त्यो दिन भने लुसुक्क त्यहाँबाट बाहिर निस्क्यो । मृत्युलाई जित्न सक्ने मान्छेका आदर्शहरू कति महानतम् हुन्छन् । एउटा क्रान्तिकारी यातना र दुश्मनले घोषणा गरेको मृत्युदण्डका अगाडि पनि कति दृढ हुन्छ आफ्नो आस्थाप्रति । त्यसपछि हामीलाई राखिएको ठाउँमा अरू केही हाकिमहरू पनि आए र बधशालामा लग्नु अघिका मानिसका मनस्थितिहरू एकपटक पढेर गए । सायद उनीहरूले ठानेका थिए होलान् मृत्युदण्डको खबर पाएपछि यिनीहरू चिच्याई चिच्याई रूने छन्, बिलौना गर्नेछन्, बरू पार्टीप्रति गद्दारी गर्छु भनेर जीवनको भिख माग्लान् भन्ठानेर त्यहाँ आएका थिए होलान् । तर उनीहरूले थोपरेको मृत्युको चुनौतिलाई शीर ठाडो पारेर स्वीकारेका बहादुर क्रान्तिकारीका सामु सेनाका ती नतमस्तक हाकिमहरू लत्रक्क लत्रिएर एकछिनसम्म गम खाएर उभिइरहे । सायद सोचे होलान्– आतङ्ककारीहरूलाई आफ्नै जीवनको पनि माया हुँदैन ।
शारदा सुवेदी, दिनेश कायस्थ र म बाहेक बाँकी सबै साथीहरूलाई त्यहाँबाट लगियो । साँझमा डिउटीवाला एक सहयोगी सिपाहीले भनेको थियो, “अहिलेसम्म उनीहरूलाई ठूलो मान्छेले बयान लिइरहेको छ र बयान सकिएपछि जिउँदै लगेर तिनै खाल्डोमा गाड्नेछ, जुन हिजो रातभरी खन्न लगाएको थियो ।” त्यसपछिका दिनहरूमा डियुटीमा आउने एक सिपाहीले क्रुद्ध हुँदै सुनाउने गथ्र्याे, “अपराधी हाकिमहरूले खाडलमा हालेर तड्पाई तड्पाई मारे, चुनु र अरू साथीहरूलाई ।” उसले भनेको थियो, “आँखामा पट्टी, हात र गोडामा हत्कडी, मुखमा पट्टी लगाएर खाडलमा हालेपछि उनीहरूमाथि माटो हाल्दा छट्पटाएको दृश्य कति हृदयविदारक थियो भने म त्यहाँबाट कोठामा आएर डाँको छोडेर रोएँ ।”

स्राेत: जनपत्रिका चाैथाे अङ्क


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।