२८ बैशाख २०८१, शुक्रबार

देशलाई दलाल पुँजीवादबाट समाजवादतर्फ लैजान प्रचण्ड- माधव तयार हुनु प्रगतिशील कदम

0

कपिलवस्तु / नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले देशलाई दलाल पुँजीवादबाट मुक्त गरेर समाजवादका लागि प्रचण्ड र माधव नेपाल तयार हुनु प्रगतिशील कदम भएको बताएका छन। नेकपा केन्द्रिय कार्यालय कपिलवस्तुमा शुरु भएको नवौं केन्द्रिय समितिको चौथो पुर्ण बैठकमा उद्घाटन मन्तव्य राख्ने क्रममा महासचिव विप्लव सीले यस्तो धारणा राखेका हुन।

“देश यतिबेला सम्पुर्ण रूपमा संकटग्रस्त छ, बिदेशी हस्तक्षेप बिशेषत: अमेरिकी साम्राज्यवादी हस्तक्षेप प्रत्येक्ष अगाडी आएको छ, यसको मुख्य कारण देशमा विद्यमान दलाल पुँजीवाद हो, यसबाट मुक्त गर्न र समाजवादको बाटोमा अगाडि बढ्न प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल तयार हुनु प्रगतिशील कदम हो, यसलाई हामीले सकारात्मक रुपमा लिनुपर्दछ ” उनले भने ” अहिले देशमा एकातिर नेपाल कम्युनिस्ट पार्टी र अर्कातिर संसदवादी पुँजीवादी, यथास्थितिवादी तथा दलाल शक्तिहरुबिच टक्कर परिरहेको छ, नेपालमा दलाल पुँजीवाद असफल साबित हुँदै गएको र भुमण्डलीकृत पुँजीवाद र अमेरिकी साम्राज्यवाद सङ्ग मुख्य अन्तरबिरोध अगाडि आएको हामीले निश्कर्ष निकालेका छौँ ।”

केन्द्रिय समिति बैठकमा बोल्दै बिप्लवले भने-” मुलुकको मुख्य अन्तरबिरोध फेरिएपछि स्वभाविक रुपमा क्रान्तिकारीहरुको जिम्मेवारी र कार्यभार पनि बदलिएको छ, यसलाई नयाँ योजना सहित हस्तक्षेप गर्न जरुरी छ।”

महासचिव विप्लवले बिश्वपरिस्थिति र समाजवादी क्रान्तिकोबारेमा चर्चा गर्दै अहिलेको परिस्थिति बहुध्रुविय छ भनेर आफुले बिगतमा गरेको बिश्लेषण सहि साबित हुँदै गएको र त्यो अझ बढी तीव्ररुपमा ध्रुवीकरणको प्रक्रियाबाट गुज्रिदै पछिल्लो युक्रेन युद्दमा थप प्रकट भएको बताए ।

आइतबारबाट शुरु भएको केन्द्रिय समिति बैठकमा २२ पृष्ठ लामो लिखित प्रतिबेदनको मुख्य भावबारे धारणा राख्दै महासचिव विप्लवले -अमेरिकी साम्राज्यवादले नेपालका पुराना दलालको सट्टा नयाँ दलाल खडा गरेर साम्राज्यवादी हस्तक्षेप लाद्न खोजेको,अमेरिकी साम्राज्यवाद एमसीसी, एसपिपी, धार्मिक संस्था, गैरसरकारी संघ संस्था, आर्थिक लगायत अनौपचारिक रुपमा देश भित्र प्रवेश गरिसकेको र अहिले देशमा देखिएको आर्थिक संकट समेत उनिहरुले प्रायोजित रुपमा पैदा गरेको दाबी गरे।

नेपाल कम्युनिस्ट पार्टीले शुरु गरेको ६ महिने आवधिक योजनामा राजनीतिक पहलकदमी, आत्मनिर्भर उत्पादनका लागि श्रम अभियान , साँस्कृतिक क्षेत्रमा सी जातिको अवधारणा, जन्म , मृत्यु र बिबाह संस्कारबारे नेकपाले अघि सारेको दृष्टिकोणले अन्य पार्टी , बुद्धिजीवि,र समाजलाई उत्प्रेरित गर्दै सकारात्मक सन्देश दिएको ,पहिलो योजनाका आधारभूत लक्ष्यमा उत्साहजनक सफलता प्राप्त भएको र अब नयाँ योजनामार्फत आन्दोलनलाई नयाँ स्तरमा उठाउने सोचाइ  रहेको बिप्लवको भनाइ थियो।

नेपाल कम्युनिस्ट पार्टीको जारी बैठक आगामी ३२ गतेसम्म सञ्चालन हुनेछ।बैठकमा महासचिवको प्रस्ताव माथि समुहगत धारणा राख्न केन्द्रिय सदस्यहरुलाई १३ ओटा समुहमा बिभाजन गरिएको छ भने भोलि बिहान १२ बजे अगाडि समुहगत छलफल गर्ने र त्यसपछि दस्तावेज माथी बोल्ने समय तालिका रहेको बताइएको छ।

नेकपाले यस अघि नै पार्टीको केन्द्रिय प्रतिनिधि समितिको बैठक बसी आगामी योजनावारे सुझाव लिइसकेको छ भने पार्टी स्थायी समिति र राजनीतिक परिषदमा समेत योजनाको समिक्षा र आगामी प्रस्तावबारे छलफल सम्पन्न गरिसकेको छ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।