शुरुआत
विश्वभर माध्यमका हिसाबले दुई प्रकारका मिडियाहरू सञ्चालनमा रहेको पाइन्छ- (१) छापा माध्यम र, (२) विद्युतीय माध्यम । पत्रकारिताको इतिहास पत्रपत्रिकाबाट सुरु भई रेडियो, टेलिभिजन हुँदै अनलाइनसम्म आइपुगेको छ । व्यावसायिक रूपमा यी दुई प्रकारका मिडियालाई तीन भागमा विभाजन गर्न सकिन्छ : (१) व्यावसायिक मिडिया (२) मिसन मिडिया (३) स्वरोजगार मिडिया ।
व्यावसायिक , मिडियाहरूको मुख्य उद्देश्य नाफा आर्जन गर्नु हो । यस्ता मिडियाको मालिकले साम,दाम, दण्ड, भेद प्रयोग गर्दै नाफा आर्जन गरिरहेका हुन्छन् । यस्ताखालका मिडियामा काम गर्ने पत्रकार मालिकहरूबाट शोषित हुन्छन्, पीडित हुन्छन् । उनीहरूले धेरै श्रम गर्नुपर्छ तर पारिश्रमिक सोचेजस्तो पाउँदैनन् । मिसन मिडिया आफ्नो निश्चित । राजनीतिक उद्येश्य पूरा गर्नका लागि सञ्चालित हुन्छन् ।
यसमा कार्यरत पत्रकारले सामूहिक रूपमा आफ्नो जिम्मा आएको काम पुरा गर्छन् । यसमा मालिक कोही पनि हुँदैन तर एउटा व्यक्तिलाई लिडरको रूपमा जिम्मेवारी तोकिएको हुन्छ । उक्त मिडियामा काम गर्ने पत्रकारको पारिश्रमिक तोकिएको हुदैन तर मिडियाले उनीहरूका न्युनतम आवश्यकता पूरा गरिदिएको हुन्छ । उनीहरू आफ्नो विचारमा प्रतिबद्ध हुन्छन् । यस्ता मिडियाहरू आफ्नो मिसन पूरा भएपछि बन्द हुने गरेको पाइन्छ ।
अर्कोथरी स्वरोजगारमूलक मिडिया छन् । यस्ता मिडियामा मालिक पनि आफैँ हुन्छन् भने श्रमिक पनि आफैँ । उनीहरू आफ्नो स्वाभिमानमा बाँचेका हुन्छन् । ठूलो आशा र अपेक्षा हुँदैन । तर यिनीहरूले राज्यसत्ताको कुर्सीलाई बारम्बार हल्लाइरहेका हुन्छन् । यिनीहरू सानो लगानीमा सञ्चालन हुने भएकाले समाजमा प्रभाव पनि त्यही किसिमको हुन्छ । प्रायः राष्ट्रिय दैनिक, केही साप्ताहिक पत्रिकाहरू, रेडियो, टेलिभिजन र ठूलो लगानीमा सञ्चालित अनलाइन मिडियाहरू व्यावसायिक मिडियाभित्र पर्छन् । यस्ता मिडियाहरूको सङ्ख्या थोरै भए पनि समाजमा यिनीहरूको प्रभाव धेरै हुन्छ ।
तर समाचार सामग्री स्वरोजगारमूलक मिडियामा भन्दै यिनीहरूको बिकाउ हुन्छन् । यस्ता मिडियाले आफ्नो स्वार्थका लागि समाचार सामग्री तयार पार्छन् र प्रकाशन प्रसारण गर्छन । तर
स्वरोजगार मिडियाले जनताका पक्षमा कलम चलाउँछन् । उनीहरूले वर्गलाई प्राथमिकता दिन्छन् । समाचारलाई बार्गेनिङ गर्ने हतियारको रूपमा प्रयोग गर्दैनन् जस्ताको त्यस्तै समाचार सार्वजनिक गर्ने हुनाले यिनीहरूबाट बेला-बेलामा राज्य आतङ्कित भएको पनि देखिन्छ ।
मिडियाको अवस्था
प्रेस काउन्सिल नेपालको तथ्याङ्कअनुसार नेपालमा १३ हजार २ सय ६४ मिडिया दर्ता भई सञ्चालनमा रहेका छन् । यसमध्ये १० प्रतिशत मिडियाहरू विविध कारणले बन्द भएका छन् भने केही सञ्चालनमा आएका छैनन् । झन्डै १६ प्रतिशत मिडियाहरू व्यावसायिक रूपमा सञ्चालित छन् भने केहीले मिसन पत्रकारिता गरिरहेका छन् । बाँकी रहेका ७४ प्रतिशत मिडियाहरू स्वरोजगारमूलक छन् । उनीहरूले आफ्नो रोजीरोटीका लागि पत्रकारिता गरिरहेका छन् । आफ्नो स्वाभिमानका लागि पत्रकारिता गरिरहेका छन् । आफूले देखेको अन्याय, अत्याचार, थिचोमिचो, अनियमितता, घुसखोरी, भ्रष्टाचारलगायतका विषय उनीहरूका समाचारका स्रोत हुन् ।
नेपालमा सबैभन्दा धेरै अनलाइन मिडियाहरू दर्ता भएर सञ्चालनमा आएको प्रेस काउन्सिल नेपालको तथ्याङ्कले देखाउँछ । २०८० वैशाख २० गतेसम्मको विवरणअनुसार ३ हजार ९ सय ४० अनलाइन मिडिया दर्ता भएका छन् । यी मिडियाहरू कोही आफ्नो राजनीतिक अभीष्ट पूरा गर्नका लागि मिसनका रूपमा सञ्चालित छन् भने कोही व्यावसायिक रूपमा सञ्चालित छन् । यसमध्ये अधिकांश अनलाइन मिडिया आफ्नो रोजीरोटीका लागि सञ्चालित छन् । मूलधारको मिडियामा काम गर्दा गर्दै दिक्क लागेर, उनीहरूको थिचोमिचो र पेलान सहन नसकेर केहीले अनलाइन मिडिया सञ्चालन गरिरहेका छन् । कसै-कसैले आफूले लेखेको समाचार प्रकाशन प्रशारण नभएका कारणले पनि आफैँ अनलाइन मिडिया सञ्चालन गरेको देखिन्छ ।
दोस्रो स्थानमा साप्ताहिक पत्रिकामार्फत नेपालमा पत्रकारिता भइरहेको छ । सूचना तथा प्रशारण विभागको तथ्याङ्कअनुसार २०७९ असारसम्म २ हजार ९ सय ७५ वटा साप्ताहित पत्रिका दर्ता भएका छन् । उनीहरूमध्ये धेरैले आफूलाई अनलाइनमा रूपान्तरण गरिसकेका छन् । साप्ताहिक पत्रिका पनि स्वरोजगारमूलक मिडियाभित्रै पर्छन् । २ हजार ३ सय ६१ मासिक पत्रिका दर्ता भएका छन् भने दैमासिक ३ सय ८७, त्रैमासिक ६ सय ५४, पाछिक ४ सय ८०, अर्धसाप्ताहिक ४० र अन्य २ सय ६० दर्ता भएको विभागको तथ्याङ्कमा उल्लेख छ । आर्थिक वर्ष २०७९/८० मा यसको सङ्ख्या केही बढेको हुन सक्छ । त्यस्तै, व्यावसायिक रूपमा सञ्चालनमा रहेका ७ सय ५४ दैनिक पत्रिकाहरू छन् भने १ हजार १ सय ७६ वटा रेडियो सञ्चालनमा छन् । त्यस्तै टेलिभिजनको सङ्ख्या २ सय ३७ वटा छ ।
अनलाइन, साप्ताहिक, अर्धसाप्ताहिक, मासिक, द्वैमासिक, त्रैमासिक पत्रिकाहरू सानो लगानीमा सञ्चालन गर्न सकिने भएकाले धेरैजसो स्वारोजगारमूलक छन् । उनीहरू आफैँ मालिक, आफैँ सम्पादक, प्रकाशक, आफैँ सामाचारदाता, आफैँ हकर,आफैँ व्यवस्थापक भएर काम गरिरहेका छन् । उनीहरूले १/२ जना सहयोगी राख्नेबाहेक धेरैलाई रोजगारी दिन सक्दैनन् । मिडिया टिकाउनु र परिवार पाल्नु उनीहरूको मुख्य उद्देश्य हुन्छ ।
यस्ताखालका पत्रिकाहरूले आफूलाई आवश्यक सामग्री सम्प्रेषण गर्ने, विज्ञापन कलेक्सन गर्ने र नियमित पत्रिका प्रकाशन गर्ने/अनलाइन अपडेट राख्ने गदर्छन। यस्ता मिडियाका सञ्चालकहरू मूलधारको मिडियामा लामो समय काम गर्दा तलव नपाएका, मिडियामा मालिकको थिचोमिचो सहन नसकेर, आफैँ केही गर्नुपर्छ भन्ने सोचले प्रेरित भएर आएका हुन्छ । अरू पत्रकारहरूभन्दा उनीहरू अनुभवी पनि हुन्छन् । ठूला मिडियाहरूको सिन्डिकेटका कारण यस्ता मिडियाहरूको भविष्य अन्धकार छ । उनीहरूले स्वतन्त्र रूपमा पत्रकारिता गर्छु भन्दा टिक्न गाह्रो छ ।
मिडियाका समस्या
एक वर्ष पहिलेको कुरा हो । एउटा फाइनान्स कम्पनीको कार्यालयमा विज्ञापनका लागि भनेर पुगेका थियौँ । कम्पनीको गोपनीयताका लागि फाइनान्सको नाम गोप्य राख्न उपयुक्त ठानिएकाले खुलाइएको छैन । कम्पनीमा कार्यरत डेपुटी सीईओसँग भेट भयो । लामो छलफल र बहसपछि सकारात्मक प्रतिक्रियाको अपेक्षासहित हामी फर्कियौँ । सङ्कटग्रस्त अवस्थाबाट भर्खरै बाहिर आएको कम्पनीले विज्ञापन पठाउँछ भन्ने त हामीलाई लागेको थिएन तर उच्च तहका कर्मचारीसँग छलफल भएकाले आशावादी भने थियौँ । छलफल भएको झन्डै एक हप्तापछि मार्केटिङ विभागबाट विज्ञापन स्वीकृत भएको भन्दै इमेल आयो । इमेलमा, ‘१ महिनाका लागि विज्ञापन स्वीकृत भएको, विज्ञापन प्रकाशन भएको प्रमाण र बिलसहित भुक्तानीका लागि लेखा शाखामा सम्पर्क गर्नू’ भनेर लेखिएको थियो । इमेल आएको केही समयपछि उक्त कम्पनीको मार्केटिङ विभागबाट फोन आयो, “सर नमस्कार ! मैले हजुरको इमेलमा एप्रुभल पठाएको छु । मैले पठाएको एनिमेटेड विज्ञापन अनलाइनमा राखेर स्क्रिनसट पठाउनुहोला । त्यसपछि त्यो विज्ञापन हटाइदिनुहोला ।’
मलाई अच्चम लाग्यो । “विज्ञापन त एक महिनाका लागि एप्रुभल भएको होइन र? मैले उनलाई प्रश्न गरेँ। उनले त्यसको सजिलै जवाफ दिए, विज्ञापन तपाईंकोमा देखेपछि अरू पनि आउँछन् । हामी सबैलाई विज्ञापन दिन सक्ने अवस्थामा छैनौँ । यो एउटा प्रतिनिधि घटना हो । माथिको घटनाले स्वरोजगार मिडियाको अवस्था दर्शाउँछ । हामीले अलिकति हाटहुट पनि गर्ने भएकाले एक महिनाका लागि विज्ञापन दिएका हुन् । हामीले सम्प्रेषण गर्ने सामग्रीहरूको बारेमा त्यो कम्पनीमा कार्यरत कर्मचारीलाई जानकारी भएकाले डराएर भए पनि विज्ञापन दिएको हुनुपर्छ ।
नेपालको विज्ञापन बजार विचौलियाको कब्जामा छ । विज्ञापन एजेन्सीहरूले ब्रोडसिड पत्रिका, टेलिभिजन र केही रेडियो बाहेक अरूलाई मिडिया नै मान्दैनन् । उनीहरूले विज्ञापनदातालाई पनि त्यहीअनुसार रिर्पोटिङ गरेका हुन्छन् । विज्ञापनदाताले पनि उनीहरूले लिएको प्रास्ताव पास गरिदिन्छन् । यस्ता एजेन्सीहरूले गर्दा नेपालको नयाँ माध्यमको पत्रकारिता र पुरानो इतिहास बोकेका साप्ताहिक पत्रिकाको अवस्था नाजुक बनेको छ ।
स्वरोजगार मिडियाको अर्को चुनौती भनेको विज्ञापनदाता संस्थाले मिडिया मार्केटिङ विभागमा पूर्व-पत्रकारलाई जागिर दिनु हो । पत्रकारिता गर्न नसकेर जागिर खान गएकाहरूको ठूला ठूला कुराहरूका कारण पनि स्वरोजगार मिडियाहरूले विज्ञापन पाउन छोडेका छन् । मिडियामा काम गर्दा तलब नपाएर पत्रकारिताबाट पलायन भएका यस्ता पूर्व पत्रकारहरूले विज्ञापन एजेन्सीसँगको सेटिङमा आफ्नो धन्दा गरिरहेका छन् । यो विषय विज्ञापनदाता संस्थाहरूलाई जानकारी हुँदैन । अर्को भाषामा भन्दा विज्ञापन एजेन्सीको रिर्पोटिङ र मार्केटिङ विभागमा काम गर्ने पूर्व- पत्रकारले गर्ने रिर्पोटिङ एउटै हुने हुनाले सङ्काको घेराबाट बाहिर हुन्छन् उनीहरू | धेरै विज्ञापनदाता संस्थाहरूले पूर्व-पत्रकारलाई विज्ञापन रोक्नकै लागि राखेका हुन्छन भन्ने चर्चा पनि बेला-बेलामा हुने गर्दछ ।
समाधान
नेपालका शक्तिशाली र जनपक्षीय पत्रकारिताको धरोहर स्वरोजगारमूलक मिडियालाई बचाउन सरोकारवाला सबैको ध्यान जान जरुरी छ । राज्यले यी • मिडियाको भविष्यका लागि उपयुक्त कदम चाल्नुपर्छ । साप्ताहिक र केही मासिक पत्रिकाहरूलाई वर्गीकरण गरेर लोककल्याणकारी विज्ञापन उपलब्ध गराउने गरेको भए तापनि वास्तविक पत्रकारले सञ्चालन गरेको मिडियाहरू पनि यसबाट बञ्चित भइरहेका छन् । यसलाई व्यवस्थित गर्न विज्ञान बोर्डलाई शक्तिशाली बनाएर सम्पूर्ण सरकारी विज्ञापनहरू विज्ञापन बोर्डमार्फत समानुपातिक रूपमा वितरण गर्ने व्यवस्था गर्नु आवश्यक छ। सरकारी विज्ञापनहरू विज्ञापन एजेन्सीमार्फत गर्ने कार्यको बन्देज लगाउँदै उनीहरूलाई कडा निगरानी गर्नुपर्ने तत्कालको आवश्यकता हो ।
विभिन्न सरकारी कार्यालयहरूले खुलाएका विज्ञापनहरूमा उनीहरूको सिन्डिकेट देखिन्छ । चर्को कमिसनका कारण सरकारी सेवा प्रवाहसमेत प्रभावित भएको पाइन्छ ।
विज्ञापन एजेन्सीहरूले विज्ञापनबापतको रकमको ७० प्रतिशतसम्म कार्यालय प्रमुखलाई फिर्ता गर्ने सर्तमा सम्झौता गरेर काम गरिरहेका छन् । उनीहरूका कारण पत्रिका लुकाउने चलन बढेको छ । यसरी छापिएको विज्ञापन सार्वजनिक नहुँदा पत्रिकाको गुणस्तर घटेको छ । यसको मुख्य कारण सार्वजनिक खरिद ऐन हो । यो ऐनका कारण नेपालका स्वरोजगारमूलक मिडियाहरू समस्यामा छन् । सार्वजनिक खरिद ऐनलाई संशोधन गरेर देशभरका जुनसुकै मिडियामा पनि टेन्डरको सूचना सार्वजनिक गर्ने व्यवस्था गरिएको खण्डमा साना तथा स्वरोजगारमूलक मिडियाका धेरै समस्याहरू समाधान हुँदै जाने सम्भावना बढी हुन्छ ।
अहिले एउटा दूरदराजको सामान्य सरकारी कार्यालयले टेन्डर गर्नुपरे राष्ट्रिय दैनिक पत्रिकामा विज्ञापन प्रकाशन गर्नुपर्ने प्रावधान छ । यसलाई हटाउनुपर्छ । तर यो व्यवस्थामा यो सम्भव छैन । विचौलियाहरूले चलाएको देशमा विचौलियाको रोजीरोटी गुम्ने कानुन बनाउन यो व्यवस्थाले सक्दैन । पत्रकारहरूको वास्तविक समस्या समाधानका वैज्ञानिक समाजवादमा सम्भव छ । यसका लागि दलाल संसदीय व्यवस्थाको समूल नष्ट गरी देशमा वैज्ञानिक समाजवादको स्थापना गर्न सबैजना एकताबद्ध हुँदै समाजवादी क्रान्तिका लागि लामबद्ध हुन जरूरी छ ।
(२१ वैशाख, २०८०, जनपत्रकार संगठन नेपालको मुखपत्र – `जनपत्रकार´ अंक २ )