२३ बैशाख २०८१, आईतवार

प्रगतिशिल तिज गीत ‘अवस्था होइन, व्यवस्था बदलौँ’ सार्वजनिक

0

काठमाडौँ: नेपाली हिन्दु नारीहरुको महत्वपूर्ण चाड तीज पर्व नजिक आइरहेको छ । नेपाली महिलाहरु तिजको सन्दर्भमा जम्मा हुने, गीत गाउने र नाच्ने क्रम पनि शुरु भएको छ । विभिन्न युटुव च्यानलहरुबाट तीजका सन्दर्भमा विभिन्न खाले गीतहरु पनि सार्वजनिक हुने क्रम पनि जारी रहेको छ। यसै सन्दर्भमा चिरन पुन अफिसियल यु टुव च्यानलबाट हालै ‘अवस्था होइन, व्यवस्था बदलौँ‘ शिर्षकको प्रगतिशिल तिज गीत २०८० सार्वजनिक भएको छ । हाम्रो समाजमा संस्कृति र कला कलाको लागि कि समाजको लागि भन्ने बहस निकै पुरानो हो । गीत संगीतले केवल कला र मनोरन्जनका लागि मात्र हो भन्ने बुझाई एकातिर छ भने अर्कोतिर कला समाजका लागि र प्रस्तुत हुने कलाले समाजलाई योगदान पुर्याउने हुनुपर्दछ भन्ने भनाई रहि आएको छ । आज पनि कैयौ पार्टी, एनजिओ, आईएनजिओ र आफुलाई महिला अधिकारकर्मी भन्नेहरुले व्यवस्था बारम्बार परिवर्तन भएकाले अब अवस्था मात्र परिवर्तन र विकास भए पुग्ने तर्क गरिरहेका छन् । यसले नेपाली समाज र नेपाली चेलिहरुलाई संघर्ष गर्ने र समाज परिवर्तन र अधिकारहरुमा राज्य व्यवस्थाले मुख्य भूमिका खेलेको हुन्छ भन्ने मान्यतालाई डाईभर्ट गरेको छ यसै सन्दर्भमा चिरन सीले कोही भन्छन् – ‘अवस्था बदलिए पुग्छ बरिलै, हामी भन्छौँ व्यवस्था बदलिनु पर्छ बरिलै’ । गीतले समाजको विभिन्न पाटो र पक्षको बारेमा उजागर गरेको छ । गीतको शुरुमै तर्क गरिएको छ कि, ईटा बनाउने साँचो नै बाङ्गो भएपछि कसरी सोझो ईटा बन्छ ? गीतमा यसरी समाजको विभिन्न पाटो र पक्षलाई उठाईएको छ ।
घुमिफिरी आयो, वर्षदिनको तिज बरिलै
घुमिफिरी आयो, वर्षदिनको तिज
सुखी छैन मन हामी चेलीलाई
वैज्ञानिक युगमा पनि पिल्सिएर बस्नुपर्ने
समानता कहिले आउँछ, हामी चेलीलाई
उठ चेली हो कम्मर कस चेली हो,
अधिकार लिनलाई जुट चेली हो
कोही भन्छन् अवस्था बदलिए पुग्छ बरिलै
हामी भन्छौ व्यवस्था बदलिनु पर्छ बरिलै
आज समाजमा प्रस्तुत हुने गीत सङ्गीतको मूल पक्ष भनेको कैयौ भ्रमहरु बाडिरहेको छ, कैयौ अस्लिलताको व्यापार गरिरहेको छ, कैयौ अध्यात्मिक आदर्शको प्रचार गरिरहेको छ । जसले नेपाली नारीहरुलाई विज्ञापनको साधन बनाउने र समाजमा दोश्रो दर्जाको नागरिकको भूमिकाका उद्धेलित पार्ने दिशातर्फ परिलक्षित बनाएको छ । यस्तो अवस्थामा समाजमा हुने र भए गरेका अन्याय, अत्याचार, शोषण, दमन, राष्ट्र र राष्ट्रियताको विषयलाई केन्द्रविन्दुमा राखेर प्रगतिशिल तिज गीत सार्वजनिक हुनु आफैमा राम्रो कुरा हो । अवस्था होइन, व्यवस्था बदलौ भन्ने गीतमा निकै सान्दर्भीक सन्दर्भहरु उठाइएको छ ।
बेचविखन नारीलाई, हत्या र बलात्कार
कति सुन्नु समाचार हामी नारीले
दाईजो प्रथा छँदैछ, दु:खदायी छाउपडी
कति सहुँ व्यावीचार हामी नारीले
अत्याचार अति छ, महँगी बढ्छ बारम्बार
शान्त छैन मन हामी चेलीको
कमिसन भ्रष्टाचार, सीमा मिच्ने बारम्वार
कति सँहु हाहाकार, हामी चेलीले
यसरी नेपाली महिलाहरुमाथि भएको महिला बेचविखन, हत्या, बलात्कार, दाईजोप्रथा, छाउपडी, व्यवविचार, महँगी, कमिसन, भ्रष्टाचार, सीमा अतिक्रमण जस्ता विषयहरु निकै मिठो ढंगले गितमा प्रस्तुत गरिएको छ । यसका साथै गीतको अन्तिम टुक्कामा नेपाली नारीहरुलाई अगाडि बढ्ने बाटोको बारेमा समेत गीतले दिशानिर्देश गरेको छ,
अधिकार बराबर, न्यायपूर्ण समाज
हाँसीखुसी बल्ल हुन्छ हामी नारीलाई
यो व्यवस्था बदलेर समाजवादी बाटोमा
बल्ल नाच्ने दिन आउछ हामी नारीलाई
जब अधिकार बराबर हुन्छ, न्यायपूर्ण समाज बन्छ यो दलाल संसदवादी राज्य व्यवस्था बदलेर वैज्ञानिक समाजवादी राज्यव्यवस्था स्थापना हुन्छ अनि मात्र नेपाली नारीहरुको नाच्ने र खुसी हुने दिन आउँछ भनेर नेपली चेलीहरुलाई आफ्नो अधिकार स्थापना गर्न उठ, कम्मर कस, अधिकार लिनलाई जुट भनेर गीतले आव्हान गरेको छ ।
उठ चेली हो कम्मर कस चेली हो,
अधिकार लिनलाई जुट चेली हो
कोही भन्छन् अवस्था बदलिए पुग्छ बरिलै
हामी भन्छौँ व्यवस्था बदलिनु पर्छ बरिलै
गीतको शब्द/सङ्गीत बरिष्ठ जनवादी गीतकार, सङ्गीतकार चिरन सीको छ । गीतमा आवाज रिता पुनले दिएकी छिन्, भने कोरस आवाज सारदा रसाईली, जयन्ता मगर र क्षितिजा राहादीको रहेको छ । गीतको एरेन्ज नारायण दङ्गालले गरेका छन् । गीतलाई अकेस्टिक नेपाल स्टुडियोमा रेकर्ड गरिएको छ भने गीतको मिक्सिङ तथा मास्टरिङ चन्द्र चौधरीको रहेको छ भने, रेकर्डिङ दिल समर्पण र राजाबाबुले गरेका छन् । चिरन पुन आफैले निर्दशन गरेको म्यजिक भिडियोमा नृत्य निर्देशन तेजेन्द्र थापा तथा मिना बुढाथोकी मगरको रहेको छ । गीतको म्युजिक भिडियोको क्यामरा, इडिटिङ तथा कलर जितु तामाङले गरेका छन् । मेरिगोल्ड होटलमा छायाङ्न गरिएको म्युजिक भिडियोमा मिनुजा खत्री, अक्षिता नेपाल, अनुश्का घर्तिमगर, अन्जली पान्डे, क्षितिजा राहादीमगर, सुस्मा सर्तुङ्गी गौतम, रिता पुन, सृष्टि पुन, मन्जु रनपाल, रोसना हिस्कीमगर, सिमाना राहादी, मिना राहादी, प्रीतिका राहादी, करुणा राहादी, कुशुम केसी, ज्योति फौजा, कमला केसी, निरु थापा, सिमा रेश्मी, दिलमाया फौजा, महालक्ष्मी त्रिपाटी लगायत कलाकारहरुको भूमिका देखिएको छ । गीतको समग्र पाटो पक्षहरुलाई हेर्दा गीत निकै राम्रो बनेको छ । गीत सार्वजनिक भएको २ हप्ता नपुग्दा ५४ हजार भन्दा धेरैले यो गीत हेरिसकिएको छ । गीतले नेपाली समाजलाई सकरात्मक सन्देशका साथै प्रगतिशिल गीत सङ्गीतको क्षेत्रमा एउटा ईटा थप्ने कोशिस गरेको छ ।
हेर्नुस् गीतको लिङ्क :


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।