१६ बैशाख २०८१, आईतवार

निरन्तर यात्रामा नयाँ पाइला

0

सञ्चारमाध्यम समाजको ऐना मात्र होइन समाज रुपान्तरणको सम्वाहक पनि हो । पत्रकारिता विद्यमान परिस्थितिको यथार्थ चित्रण मात्र होइन उपयुक्त विकल्पको वैचारिक माध्यम पनि हो । वास्तवमा पत्रकारिता केवल जीवनयापनको पेशा नभएर सचेतनाको बहुआयामिक जिम्मेवारीपूर्ण दायित्व पनि हो ।
हो, त्यही जिम्मेवारीपूर्ण दायित्व पूरा गर्न हामी आइपुगेका छौँ । सञ्चार जगत समाजको अग्रगामी परिवर्तनको निरन्तर आन्दोलन हो । सञ्चारको मोर्चामार्फत राष्ट्र र जनसमुदायको सेवा, सचेतना र परिवर्तनको यात्रामा विगत लामो समयदेखि नै हामी यस अभियानमा छाैँ । जीवनका अनेकाैँ मोड र घुम्ती जस्तै सञ्चारमाध्यमका अनेकाैँ आरोहअवरोह, कठिनाई, चुनौतिहरु पार गर्दै फेरि यात्रालाई निरन्तरता दिदैछाैँ, निरन्तर यात्रामा नयाँ पाइला बनेर–जनपत्रिका बनेर ।
हामी सञ्चारको क्षेत्रमा कार्यरत तमाम जिम्मेवार सञ्चारमाध्यम र जनउत्तरदायी सञ्चारकर्मीसँग हातेमालो गर्न चाहन्छाैँ साझा अभियानको अपेक्षा गर्दछौँ । हामी जनपत्रिकामार्फत वर्तमान राज्य व्यवस्थाका विकृति विसंगतिहरुको धज्जी उडाउनेछाैँ, भ्रष्टाचार र भ्रष्टाचारी विरुद्ध आगोको मुस्लो ओकल्नेछाैँ, राज्यले उपेक्षा गरेका दुर्गम बस्ती र उत्पीडित जनसमुदाय लगायत आवाज विहिनहरुको आवाज बनेर बोल्नेछौँ । सर्वसाधारण, किसान, मजदुर, मध्यम वर्ग, आम पेशाकर्मी अधिकारको पक्षमा बुलन्द गर्नेछाैँ ।
न्यायपूर्ण आन्दोलन र बौद्धिक नागरिक समुदायको जायज विषयमा साथ दिनेछाैँ । वैदेशिक हस्तक्षेपका विरुद्ध राष्ट्रियताको पक्षमा देशभक्तहरुका साथ संघर्षमा अग्रमोर्चामा डट्नेछौँ । समग्रमा वर्तमान राजनीतिक, आर्थिक, सामाजिक र साँस्कृतिक हरेक समस्या उधिन्दै त्यसको वैकल्पिक विचारका विषयमा बहस सिर्जना गर्नेछाैँ ।
जनपत्रिकालाई तपाई हाम्रो पत्रिका बनाउन, जनपत्रिकालाई बहुसंख्यक जनताको आफ्नै पत्रिका बनाउन सम्बन्धित जिम्मेवार सबै पक्ष, व्यवसायी, पेशाकर्मी र सचेत पाठकहरुबाट रचनात्मक सुझावसहित निरन्तर साथ र सहयोगको हार्दिक अपेक्षा गर्दछाैँ ।
२१ असार, २०७९


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।