१५ बैशाख २०८१, शनिबार

संसदवादबाट होइन क्रान्तिबाट मात्र वैज्ञानिक समाजवाद आउँछ: विप्लव

0

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले संसदवादबाट समाजवाद प्राप्त नहुने भन्दै त्यसका लागि नयाँ क्रान्तिको आवश्यकता रहेको बताएका छन् ।

महासचिव विप्लवले आफुहरुले स्थानीय निकायको निर्वाचनलाई स्वतन्त्र उम्मेदवारको रुपबाट अपनाएको कुरालाई संसदवाद देख्नु जडसुत्रवादी सोंचको परिणाम भएको बताए ।

काठमाडौंमा ‘क्रान्तिको बाटोको सवाल’ नामक किताबको विमोचन गर्दै महासचिव विप्लवले यस्तो बताएका हुन् ।

‘मार्क्सवाद र संसदवादबीचको अन्तरलाई छुट्टाउन नसक्नेहरुले हामीलाई संसदवादी भएको आरोप लगाएका छन् ।’ विप्लवले भने, ‘हामी स्पष्ट छौं कि संसदवादबाट क्रान्ति हुँदैन भनेर, जो नेपालमा ०४७ सालपछि देखिएको कुरा हो ।’

महासचिव विप्लवले नयाँ कुरा गर्ने नाममा माक्र्सवाद नै छोड्ने एउटा अति रहेको छ भने अर्को क्रान्तिको नाममा साँघुरो घेरामा रहने गलत प्रवृत्ति रहेको बताए ।

महासचिव विप्लवले भने, ‘आजको बहुध्रुवीय विश्वको चरित्रले समाजवादी क्रान्ति नजिक ल्याउँदैछ । प्रथम विश्व युद्धले रसियन क्रान्ति जन्मायो, दोस्रो विध्वयुद्धले चीन लगायतका देशमा समाजवादी र राष्ट्रिय मुक्ति आन्दोलन अगाडि आयो । अहिलेका विश्वका पछिल्ला शक्ति संघर्षहरुले फेरि समाजवाद र साम्यवादलाई सन्निकट ल्याउने निश्चित छ ।’

प्रगतिशील लेखक देव बहादुर पौडेलद्वारा लिखित क्रान्तिको बाटोको सवाल पुस्तकको विमोचनसहित भएको कार्यक्रममा नेकपा सचिवालय सदस्य सन्तोष बुढा, केन्द्रिय सदस्यहरु बन्धु चन्द, खुमा सुवेदी, आस्था र लेखक तथा वामपन्थी बुद्धिजीवि झलक सुवेदी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको अध्यक्षता जनअधिकार अभियान मञ्चका अध्यक्ष एकराज भण्डारीले गरेका थिए ।                 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।