११ श्रावण २०८१, शनिबार

समाजवादी मोर्चा संसदवादका लागि होइन, समाजवादका लागि हो : भरत सी

0

बाँके: नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य भरत सीले समाजवादी मोर्चाको गठन समाजवादमा पुग्नका लागि भएको र संसदवादका लागि नभएको बताएका छन् ।
युवा संगठन नेपाल दक्षिण कर्णाली व्यूरोको तेस्रो बैठकलाई आइतबार बाँकेको कोहलपुरमा सम्वोधन गर्दै स्थायी समिति सदस्य भरत सीले समाजवादी मोर्चा नेपाललाई अग्रगामी निकासको बाटोतिर लिन गठन भएको र यसले संसदवादलाई स्वीकार नगरको बताएका हुन् ।
उनले कतिपयले समाजवादी मोर्चामा नेकपा सहभागी हुँदा संसदवादमा गएको कि भनेर भ्रम पैदा गरेको आरोप लगाए ।
उनले भने, “संसदीय व्यवस्था असफल भयो । यो व्यवस्थाबाट निकास सम्भव छैन । समाजवादमा जानु पर्छ भनेर नै समाजवादी मोर्चा बनेको हो । बरु अहिलेसम्मका सबै आन्दोलनका उपलब्धीहरुको रक्षा गर्नु पर्छ भनेर मोर्चाले भनेको छ । यो कसरी संसदवाद हुन्छ ? ”
उनले नेपालमा दलाल पूँजीवाद र नेपाली जनता बिचको अन्तरविरोध बदलिएको उल्लेख गर्दै अमेरिकी साम्राज्यवाद र कट्टर नेपालका दलाल र नेपाली जनता बिचको अन्तरविरोध प्रधान भएको बताए ।


स्थायी समिति सदस्य भरत सीले नेपालमा अन्तरविरोध बदलिएकाले पनि नेपालका कम्युनिष्ट शक्तिहरु एक हुन र समाजवादतिर जान समाजवादी मोर्चा बनेको दाबी गरे ।
उनले युवाहरुलाई साम्राज्यवाद र नेपालका दलालहरुका विरुद्ध आक्रमक भएर योजनामा लाग्न समेत निर्देशन दिए । बैठकमा नेपाल कम्युनिष्ट पार्टी दक्षिण कर्णाली व्यूरोका इन्चार्ज संगम सीले युवाहरुको काँधमा देश बनाउने जिम्मेवारी थपिएको बताए । उनले नेपालका युवाहरुलाई बेरोजगार बनाएर विदेश पठाउने र नेपाल विदेशीको हातमा सुम्पने काममा नेपालका दलालहरु लागेको आरोप लगाए । नेता संगमले युवाहरु एक भएर साम्राज्यवादी हस्तक्षेपका विरुद्ध एक हुनुपर्ने र त्यसमा सबै युवाहरुलाई एकतावद्ध गर्न निर्देशन दिए ।
बैठकमा युवा संगठन नेपालका केन्द्रीय उपाध्यक्ष दिनेश सीले आगामी दिनमा संगठनको योजनालाई सक्रियतापूर्वक कार्यान्वयन गर्न सहभागीहरुलाई आग्रह गरे ।
बैठकले युवा संगठन नेपालको आगामी माघ २० र २१ गते धनगढीमा हुने पाँचौ राष्ट्रिय सम्मेलनको भव्य तयारी गर्ने निर्णय गरेको छ ।
यस्तै राष्ट्रिय सम्मेलनको पूर्वसन्ध्यामा संगठनले केही रचनात्मक कामहरु गर्ने निर्णय पनि गरेको छ ।
जसअनुसार असोज ५ गते व्यूरो भरीका जिल्लाहरुमा रक्तदान कार्यक्रम गर्ने, असोज २४ गते वृद्धाश्रममा फलफुल तथा लत्ताकपडा सहयोग गर्ने, असोज १५ गते कालोबजारी, भ्रष्टाचारी विरुद्ध जिल्ला प्रशासन कार्यालयहरुमा ज्ञापनपत्र दिने, सोही दिन नाप तौल तथा गुण नियन्त्रण कार्यालयलाई समेत ध्यानाकर्षण गराउने रहेका छन् ।यस्तै युवा संगठन नेपालले दशैँ तिहारको समयमा जाजरकोट जिल्लामा खेलकुद प्रतियोगिता गर्ने र व्यूरोभरीका जिल्लाहरुमा स्वास्थ्य शिविर संचालन गर्ने लगायतका निणर्यहरु गरेको युवा संगठन नेपालका केन्द्रीय सदस्य दिपक सीले जानकारी दिएका छन् । दक्षिण कर्णाली व्यूरोमा जाजरकोट, डोल्पा, बाँके र बर्दिया जिल्ला रहेका छन् ।

बैठकमा नेकपाका केन्द्रीय सदस्य रणदिप सी,वैकल्पिक केन्द्रीय सदस्य नारायण सी,काठमाडौ तीन नम्वर जिल्ला इन्चार्ज धनराज सी,पत्रकार वसन्त सी र दक्षिण कर्णाली व्यूरो अन्तरगत युवा संगठनका युवाहरुको सहभागिता रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।