२२ भाद्र २०८१, शनिबार

वर्गीय दृष्टिकोणकै प्रतिविम्व हो हरितालिका तिज

0

             भृकुटी सी                              

 

विषय प्रारम्भ
आध्यात्मवादी दृष्टिकोणबाट निर्देशित काल्पनिक कथामा आधारित शासक वर्गीय सत्ता संरक्षणका लागि निर्माण गरिएको संस्कृतिको एउटा रुप हो तिज । सारमा शासकीय सत्ता टिकाइ राख्ने उत्पीडित मूल रुपमा महिलामाथि लादिएको शोषण दमनको हत्कण्डा हो । सामान्तवादी मान्यता अनुसार महिलालाई दास, खेलौना, बच्चा जन्माउने मेसिन, यौन चाहना पुरा गर्ने उपकरणका रुपमा पितृसत्ताले बनाएको छ । पुँजीवादी मान्यता अनुसार भूमण्डलीकृत साम्राज्यवादी संस्कृतिले महिला स्वतन्त्रताको नाममा अराजकता, विकृति विसंगती र विशुद्ध माहिलावादी बनाइदिएको छ । हिन्दु धर्ममा आधारित भएता पनि तिजको आधुनिकीकरणका नाममा यसलाई अझ बढि मलजल गरेको छ ।
महिलाभित्र पनि धनी र गरीब वर्गका बीचमा अन्तरविरोध चर्को भएको छ । धनी महिलाहरुको लवाई, खुवाई, तामझाम, फेसन सो, गहना प्रदर्शन गर्ने होटल बुक गरेर विभिन्न परिकारका भोजन, मिष्ठान र महङ्गो रक्सीका बोतलमा रमाउँदै एक अर्कामा चर्को प्रतिश्पर्धा गरेको देखिन्छ । गरीब महिलाहरु यिनीहरुको सामु निरिह लज्जित महसुस गर्नुपर्ने अवस्था हुँदा ऋण गरेर पनि धनी महिलाको सिको गर्नुपर्ने बाध्यात्मक स्थिति सिर्जना भएको छ । महिलामा देखिएको यो असमानता वर्गीय अन्तरविरोधकै सामाधान हो । त्यसैले वर्गीय सत्ताको समस्या समाधान नगरी बहुसंख्यक उत्पीडित वर्गको समस्या समाधान हुँदैन ।
यसर्थ, आजका एक्कासौं सताब्दीका युवा, विद्यार्थी, बुद्धिजीवी, शिक्षित महिलाहरुको पहिलो दायित्व दलाल संसदीय पुँजीवादी व्यवस्थाको अन्त्य र वैज्ञानिक समाजवादी व्यवस्थाको स्थापना गर्नु हो । दोश्रो सत्ता परिवर्तनसंगै बहुसंख्यक जनताको मनोभावना सम्बाेधन हुने सहज र सरल संस्कार र संकृति निर्माण गर्न जरुरी छ । अनि मात्र वास्तविक समानता पैदा हुन्छ । यहाँ तिज के हो ? यसको उत्पत्ति कसरी भयो ? वैज्ञानिक युगका महिलाहरुको भूमिका के हुने ? भन्ने बारेमा छोटो चर्चा गर्न खोजिएको छ ।

हरितालिका तिजको उत्पत्ति

पौराणिक मान्यता अनुसार काल्पनिक कथामा आधारित हरत+हालिकाबाट हरितालिका शब्द बनेको हो । हिन्दी शब्दमा हरत भनेको अपहरण हालिका भनेको संगिनीहरु भन्ने बुझिन्छ । उक्त काल्पनिक कथाको आधारमा परापूर्व कालमा माता गौरीले सतिदेवीको निधनपछि हिमालय पर्वतकी पत्नी मेनकाको गर्भबाट पार्वतिको रुपमा जन्म लिइन । सानै उमेरदेखि पार्वतीले महादेव पति पाउँ भनी चिसो समयमा पानीमा उभिएर, गर्मियाममा अग्नीको छेउमा बसेर १२ बर्षसम्म पात पतिङ्गर खाएर कठोर तपस्या गरिन । उनको यस्तो निष्ठाबाट प्रभावित भई भगवान विष्णुले पार्वतीको बुवासँग आफूसँग विवाहको लागि मागे र हिमालय धेरै खुशी भएर आफ्नी छोरीलाई सुनाए । पार्वती धेरै दुःखी भइन । पार्वतीको जीवनमा संकट आयो । बुवाको कुरा नमानौं जन्मदिने बुवाको अपमान हुने, मानौं विष्णु मनपरेको छैन । शिवजी पति पाउन त्यत्रो तपस्या गरेको त्यसैले पार्वतीले विष्णुसँग विवाह गर्नु भन्दा आफ्नो प्राण त्याग गर्ने निर्णयमा पुगिन । त्यो कुरा आफ्ना सङ्गीहरुसँग सुनाइन । तिनका सङ्गीहरुले भाद्र महिनाको शुक्ल पक्षको तृतिया तिथिको दिन पार्वतीलाई अपहरणको सैलिमा अनकंटार जङ्गलमा लिएर शिव लिङ्ग बनाएर तपस्या गरिन । त्यसबाट प्रभावित भई जोगीको भेषमा शिवजी आई बरदान दिए । म तिम्रो पतिको रुपमा आउने छु । पछि हिमालय पर्वतले बाध्य भएर ज्वाई स्वीकार्नु पर्ने अवस्था आयो । यो सुन्दा प्रारम्भिक चरणमा पार्वतीले आफ्नो बुवासँग गरेको विद्रोह हो । यसलाई प्रगतिशील कदम नै मान्न सकिन्छ । तर विस्तारै समाज विकास र विस्तारसँगै सत्ता संरक्षणको साधनमा परिणत हुन पुग्यो ।

कसरी तिज उत्पीडनको साधनको रुपमा परिणत भयो ?

समाज विकासको प्रक्रियासँगै मुलरुपमा महिलामा रहेको सहनशिलता र कोमलताको फाइदा उठाएर मातृसत्ताको विघटन गर्दै पितृसत्ताको स्थापना भएको थियो । त्यही सत्ताका शासक वर्गको अधिनायकताको राज्यसत्ता बलियो बनाउन उत्पीडित वर्गमाथि विभिन्न नामका उत्पीडनका स्वरुपहरु खडा गरियो । सांस्कृतिक रंगको लेपन लगाएर धर्मको आड लिएर आफ्नो लुटको स्वर्ग टिकाउन महिलामाथि शोषण, दमन र उत्पीडन आवश्यक भएकाले विभिन्न चाडपर्वको साहरा लिएको पाइन्छ । एउटा नमुना हरितालिका तिज पनि हो । यो न कुनै सत्यतामा आधारित छ, कसैले आफ्नो आँखाले देखेको छ, काल्पनिक कथाको आधारमा महिलहरुमाथि लादिएको शोषणको एउटा रुप हो । हिन्दु धर्मको पौराणिक कथाका अनुसार विवाह नगरेको कन्या केटीले तिजको ब्रत लिए राम्रो पति पाउने, विवाह गरेकी महिलाले श्रीमानको आयु लामो हुने, त्यसैले पानी नखाएर निराधार ब्रत बस्नु पर्ने, तिजको दिन श्रीमानको खुट्टा धोएर पानी खानु पर्ने मान्यता छ । अर्को पौराणिक कथामा भनिएको छ, ‘तिजको ब्रतको दिनमा जो महिला सुत्छ त्यो अर्को जन्ममा अजिङ्गर बन्छ, जसले दुध पिउँछ सर्पेनी बन्छ, जो ब्रत बस्दैन त्यो विधुवा बन्दछ, जसले सखर खान्छ त्यो झिँगा भन्छ, जसले मासु खान्छ त्यो बगिनी बन्छ, जसले पानी पिउँछ त्यो माछा बन्छ, जसले अन्न खान्छ त्यो सुगुर बन्छ, जसले फलफूल खान्छ त्यो बाख्रा बन्छ त्यसैले शिव, पार्वती, गणेशको मुर्ति बनाएर पुजा आराधना गर्नुपर्ने भन्ने मान्यता छ ।
तथाकथित हिन्दुधर्म संस्कृतिमा आधारित सामान्ती पृतिसत्ताबादी सोच र चिन्तनले ग्रसित महिलाहरुमाथि लादिएको उत्पीडनको एउटा हत्कण्डा हो । यसले महिला समुदायलाई तीन ओटा वर्गमा विभाजित गरिदिएको छ ।
१) हुने खाने वर्ग : यो वर्गका महिलाहरु तिज आउनु एक महिना अगाडिदेखि सुन्दरी हुने, फेसन सो गर्ने, ठूल्ठूला गहनाहरु प्रदर्शन गर्ने, ठूला होटल बुक गरेर महङ्गो रक्सी र विभिन्न परिकारको भोजन मिष्ठानमा रमाउने एक अर्कामा चर्काे प्रतिश्पर्धा गर्ने गरेको देखिन्छ ।
२) हुँदा खाँदा वर्ग : यो वर्गका महिलाहरुले पनि सकि नसकी हुनेखाने वर्गका महिलाको सिको गरिरहेका छन् । यो वर्गका महिलाहरु जता बलिया उतै ढलिया हुन्छन् ।
३) गरीब वर्ग : यो वर्गका महिलाहरुको पीडा अचानाको पिर खुकुरीलाई थाहा हुँदैन भने जस्तै, यिनीहरुले आफ्नो भाग्यलाई सराप्दै,
जता धन त्यतै मन यो मान्छेको जातपनि
मेरो भाग्य यस्तै रैछ छोड्यौ साथ पनि

भन्ने गीत गाउँदै एक अर्काका दुःख पोख्दै आँशु झारेर रोइरहेका हुन्छन । आज महिलाहरुको असमानताको जडनै पृतिसत्तावादी वर्गिय राज्यसत्ता नै हो । अब नेपाली महिलाले आफ्नो भाग्यलाई सरापेर बस्नेकी समस्याको पहिचान गरी संघर्षमा उत्रेर आफ्नो अधिकार प्राप्त गर्ने भन्ने प्रश्न नै मुख्य बनेको छ ।

वैज्ञानिक युगका महिलाको दायित्व

युग परिवर्तनका सम्बाहक अग्रगामी समाज रुपान्तरणको प्रतिनिधित्व गर्ने नेपाली समाजका युवा, विद्यार्थी, बौद्धिक, शिक्षिक महिलाहरुले, ‘रोम जलिरहेछ, निरो बाँसुरी बजाई रहेछ’ झै गरेर यथास्थितिमै रुमलिने भन्दा पहिलो म को हुँ ? भनेर आफूलाई बुझ्न सक्नु पर्दछ । दोश्रो हाम्रो समाजलाई बुझ्नु पर्दछ । समाजको प्रधान समस्याको पहिचान गर्न सक्नुपर्दछ ।  तेश्रो समाज बदल्ने संघर्षमा आफूलाई तयार गर्नु पर्दछ । ‘रुढिवादी परम्पराबादी धर्म, संस्कार र संकृतिको सामु लम्पसार पर्नुभन्दा अग्रगामी परिवर्तनको खोज र अनुसन्धानमा संर्घषशिल हुनु उत्तम हुन्छ ।  कमरेड माओले युवाहरुलाई सम्बाेधन गर्दै भन्नुहुन्छ, ‘युवाहरु हो, तिमी विहान उदाउँदो सूर्य होउ, हामी अस्ताउँदा सूर्य होउँ । उदाउँदो सूयलाई हस्तकेलाले छेकेर पनि छेकिन्न, रोकेर पनि रोकिन्न । यो संसार तिम्रो पनि हो हाम्रो पनि हो । अन्तिममा त तिमीहरुकै हो ।’ त्यसैले हामी युवा विद्यार्थीले समाजका समस्यालाई सिरानी हालेर सुत्नु हुँदैन ।  उदाउँदो सूर्य जस्तै तेज दिन सक्नुपर्दछ ।
एक्कासौं सताव्दीको विज्ञान र प्रविधिको युगमा पनि हाम्रा दिदीबहिनीहरु बलात्कार जस्तो जघन्य अपराधको सिकार भएर हत्या गरिएका छन । एक जना पुरुषले यौन तृष्णा मेट्न नपाउँदा एसिड प्राहारबाट घायल भएर अस्पतालको वेडमा छटपटाइरहेका छन । रोजगारीको बहानामा विदेशका कोठीहरुमा बेचिएका छन । भ्रष्टाचार, कर बृद्धि, र महङ्गीले आमा दिदीहरुको ढाड भाँचिएको छ । आजपनि रुढिबादी, धार्मिक र अन्धविश्वासको चङ्गुलमा फसेका छन । कुनै टाढाको कुरा होइन । हाम्रो आँखा अगाडि काला सर्पहरु मडारी रहेको देखेर पनि हामी बैज्ञानिक युगका महिलाहरु सुतिरहेका छौं । उठौं ! जागौ ! उदाउँदो सूर्यको किरणलाई अन्यायका विरुद्ध अग्नीं ज्वालामा परिणत गर्दै सुनौलो विहानीको सपनाको लागि अगाडि बढ्न जरुरी छ । तपाईँ युवा, विद्यार्थीहरु उदाए संसार उदाउनेवाला छ । तपाईँहरु अस्ताए संसार अस्ताउनेवाला छ । त्यसैले, ‘विज्ञानको युगमा पनि अत्याचारी फाँसिवादी कालो शासनको पर्दाभित्र बुझि बुझि बुझ पचाएर बस्नु भनेको जिउँदो लास हुने सिवाय केही होइन ।’ परिवर्तनका संबाहक युवा विद्यार्थीहरुले अधिकार प्राप्तिका लागि कर्तव्यको पनि प्रत्याभूति गर्दै अहिलेको मुख्य अन्तरविरोध भनेको भुमण्डलीकृत साम्राज्यवाद र नेपालका कट्टर दलाल र नेपाली जनताबीचको अन्तरविरोध नै मुख्य हो । अहिले राष्ट्रिय स्वाधीनता बचाउनु हो । दलाल संसदीय व्यवस्थाको अन्त्य गर्नु हो । अनि बैज्ञानिक समाजबादी व्यवस्था स्थापनाले मात्रै समानता, स्वतन्त्रता, स्वाधीनता, मुक्ति र परिवर्तन सम्भव छ । यसका लागि आजका युवाहरुले आफूलाई तयार गर्न जरुरी छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।