११ कार्तिक २०८१, आईतवार

पूर्व क्षेत्रमा नियोजित अशान्ति र देशमा पैदा हुन सक्ने संकट

0

                  सुमनसिंह सी

 

एमसीसी संसदबाटै पास भएपछि कानुन नै बनेर लागु भैरहेको अमेरिकी परियोजनाले नेपालको राजनीतिलाई अन्तराष्ट्रिय ध्रुवीकरणतर्फ प्रवेश गराएको छ । पुजीवादी विश्व आतंक, अमेरिकी दादागिरी र साम्रज्यवादी निकृष्टता विरुद्ध चुनौतिको रुपमा उदाइरहेको चीन विरुद्ध परिलक्षित हुनु हिन्द प्रशान्त रणनीतिको मुख्य उदेश्य हो र त्यही रणनीतिलाई प्रवेश गराउने योजनाको रुपमा एमसीसी नेपालमा आएको छ ।
अमेरिकालाई विश्व पुजीवाद विरुद्ध संघर्षशिल कम्युनिस्ट आन्दोलन ध्वस्त पार्न, नेपालको प्राकृतिक श्रोतको दोहन गर्न (युरेनियम, पानी आदी) र नेपालको भूमि प्रयोग गरेर तिब्बत फ्री आन्दोलन चर्काउँदै चीनमा गृह युद्धको वातावरण बनाउन र त्यसबाट बन्ने अस्थिरतासँगै युद्ध थोपर्न कुनै पनि मुल्य चुकाएर नेपालमा आफ्नो सैन्य उपस्थिति गराउनु छ । अमेरिका उक्त कार्यमा एकपछि अर्को गर्दै तिब्र गतिमा आइरहेको छ । र प्रायजसो योजनाहरुमा अमेरिका सफल पनि बनिरहेको देखिन्छ ।
नेपाली जनताको उल्लेख्य विरोध र प्रतिकारको बाबजुत अगाडि बढिरहेको अमेरिकी योजनालाई मुख्य चुनौती भनेकै नेपाली देशभक्त जनता, प्रगतिशिल तप्का, वामपन्थी र कम्युनिस्ट क्रान्तिकारीहरु हुन् । त्यसकारण अमेरिका सबैभन्दा पहिला यो प्रवृतिको कत्लेआम गर्न चाहन्छ । यसको निम्ति प्रायोजित रुपमा नेपालमा संकट पैदा गराउदै आएको अमेरिकाले जनताको असन्तुष्टिमा खेल्ने र पुराना नेतृत्व र दलको ठाउँमा नयाँ पात्र र नयाँ दल, व्यवस्था परिवर्तनको आवश्यकताको ठाउँमा सुधारको विषयलाई अगाडि सारेर नयाँ पार्टीहरु जन्माएको छ । जसमा अमेरिकाले सुविचारित ढंगले राष्ट्रिय स्वतन्त्र पार्टी घण्टी जस्ता पार्टीहरुलाई तयार गरेको छ ।
यतिमात्र होइन की उसले सामाजिक अभियान्ता भनिनेहरुलाई पनि जोडतोडले परिचालन गरिरहेको छ । मधेसमा, सुदुरपश्चिममा समेत नयाँ दृश्यसहित पात्र र पार्टीहरु खडा गर्ने काम भएको छ । एउटा समय अमेरिकी योजनाले अझ अगाडि बढेर नयाँ पार्टीहरु, संसदवादी दलभित्रका दलालहरु, कर्मचारी, सुरक्षाकर्मि, व्यवसायी, अभियान्ता भनिने तत्वहरु लगायतलाई मिलाएर अर्को पार्टी बनाउन सक्ने सम्भावना पनि छ । नेपालमा पछिल्लो चरण नेपालकै संसदवादी दलकै नेताहरु समेत खुलेआम रुपमा एमसीसी र अमेरिकाको दलाली गरिरहेका छन् । खास गरेर पूर्व क्षेत्रमा पछिल्लो समय अनौठो र अप्रत्याशित घटनाहरु घटिरहेका छन् । यसले पनि समग्र नेपालको आगामी समयलाई बुझ्न मद्धत गर्छन् । अमेरिकी खतरानाक चालको चपेटामा परिरहेको नेपालको रक्षा हामीले कसरी गर्ने ? यो विषयलाई ध्यान दिएर काम गर्न जरुरी भएको छ । आउनुस् केही चर्चा गरौं ।
 पूर्वका केही घटनाहरुलाई सरसर्ती हेरौं:                        (१) कोशी प्रदेशको नामाङ्कन

जनताहरुको व्यापक विरोध र आन्दोलनको कारण लामो समयदेखि कोशी प्रदेशको नामाङ्कन सम्भव भएको थिएन वा–केहि बिढङ्गो गराउने उपयुक्त समयको लागि त्यसलाई थाती राखिएको थियो । अमेरिकी प्रभाव उत्कर्षमा पुगेको समय पारेर जनताको विरोध र बलिदानको बिचैबिच जबर्जस्ती रुपमा कोशी प्रदेशको नाम राखियो । अधिकांश दल र संसदले कोशी प्रदेश नाममा सहमति जनाए ।  त्यसपछि पूर्व क्षेत्र तरङ्गित बन्यो र वातावरणलाई अशान्त बनाइयो । पूर्व क्षेत्रमा मिलेर बसेका जनताको मनोविज्ञानलाई नियोजित रुपमा विभाजित गर्ने कामको आरम्भ गरियो । हामी सबैले ध्यान दिनु पर्ने कुरा नाम यस्तो समयमा राखिएको छ कि अमेरिकालाई नेपाल अशान्त हुनुपर्ने परिस्थिति चाहिएको छ ।  कोशी नाम राख्न संघ, प्रदेशका सबै मुख्य नेताहरुकै भूमिका रहेको छ । जनताको मनोभावमा खेल्ने प्रपञ्च कोशी प्रदेशको नामाङ्कन थियो र जसको फाइदा अमेरिकाले उठाइरहेको छ ।

(२) धरानमा हिन्दू मन्दिर अगाडि चर्च निर्माण

धरानको विजयपुरमा रहेको एक हिन्दू मन्दिर अगाडि चर्च बनाएको घटना सतहमा आयो । यो पनि धार्मिक क्षेत्रलाई असहिसष्णु बनाउने चलखेलको रुपमा आयो र यस कार्यमा धरानका मेयर हर्क सम्पाङ स्वयम धार्मिक आस्थामा खेल्दै जनतालाई उत्तेजित बनाउन अगाडि आए । कतिपय सुचना अनुसार धरानका मेयर क्रिश्चियन धर्मका अनुयायी रहेको समेत पाइएको छ । चाहे जे होस् तर यो विवादलाई चरम उत्कर्षमा पुर्याइयो । यसमा जनताको मनोभावनामाथि खेल्दै पूर्वलाई आशान्त बनाउन बल पुगाउने हेतु अमेरिकाले नै फाइदा लिइरहेको प्रष्ट छ ।

(३) धरानमा गाई काटेको घटना

धरानमा गाई काटेको घटनाले चर्चा पायो । यसअघि पनि गाई गोरु नखाइएका होइनन् । नेपालमा धेरै जनताले गाई गोरुको पनि मासु प्रयोग गर्ने गरेका छौं । कतिपय जात सम्प्रदायमा त यो अनिवार्य नै छ । यसलाई वैध रुपमा खाने विधिबारे राज्यले सोच्नु पर्छ तर जनताको मनोविज्ञानलाई उत्तेजित पार्ने गरी सार्वजानिक रुपमा गाई काट्ने र खाएको भिडियो सामाजिक संजालमार्फत पोस्ट गर्ने साथै खुल्ला विवादमा समाजलाई उतार्ने काम भयो । यसले त हिन्दू सम्प्रदायका मानिसहरुलाई ठुलो संख्यामा धरान प्रवेश गर्न उत्तेजित पार्ने र त्यसको प्रतिकारको निम्ति पनि गाई खानु पर्छ भन्ने तप्का तयार हुने अवस्था बन्यो । सरकारले निषेधाज्ञा जारी गर्दै ठुलो मात्रामा सुरक्षाकर्मी परिचालन गर्नु पर्ने अवस्था बन्यो । यसमा पनि अमेरिकी स्वार्थ स्पस्ट हुन्छ । चाहे गाई काट्ने होस् वा त्यसको विरोध गर्ने यो दुवै अतिलाई उकास्न र उत्तेजित बनाउदै भिडन्तमा प्रवेश गराउन एउटै तत्व कही न कही कृयाशिल छ, जसको नाभि अमेरिकी स्वार्थसँग जोडिएको छ र यो घटना छिमेकी मुलुक भारतको मनिपुरमा जारी साम्प्रदायिक हिंसाको मोडेलमा लैजान गरिएको प्रयत्नको प्रारम्भिक चरण हो भन्न सकिन्छ । यो षड्यन्त्रलाई हामीले कुनैपनि हालतमा रोक्नै पर्छ । समाजमा मौलाएका सबै प्रकारका अतिवादहरुलाइ निषेध गर्नै पर्छ ।

(४) कोशी सरकारको गठन विघटन

कोशी सरकार यतिबेला गठन विघटनको झमेलाका बिच गुज्रिरहेको छ । यसमा अदालतले भूमिका खेलिरहेको छ । स्मरण रहोस् अमेरिका एमसीसी अनुमोदनमा बहुमत जुटाउन असम्भव भएपछि अदालतको प्रत्यक्ष प्रयोग गरेर पार्टीहरु फुटाउने, सरकार गिराउने, बनाउने र आफु अनुकुलको बहुमत बनाउने खेल खेल्दै आएको थियो । त्यस्तै कोशी प्रदेशमा पनि अहिले अदालत कृयाशिल छ । र अदालतले फेरी एमाले ठुलो दल भएको हुनाले सरकार गठनको अधिकार एमालेलाई नै दिएको छ । अहिले हिक्मत कार्की मुख्यमन्त्री बनेका छन् । अब फेरी एमाले नेतृत्वको सरकारले विश्वासको मत प्राप्त गर्नु पर्ने छ । यदि विश्वासको मत प्राप्त गर्न नसकेको खण्डमा कथित कोशी प्रदेश ताजा जनादेशको नाममा मध्यावधी निर्वाचनमा जानु पर्ने संवैधानिक बाध्यतामा फस्ने छ । किनकी कोशि प्रदेशमा अमेरिका मध्यावधि चाहन्छ । कोशी प्रदेशमा बहुमत बन्न नदिने, मध्यावधिमा लैजाने, र आफ्ना पात्रहरुलाई ल्याउने (सिंगो देशलाई देखाउन) खेलमा अमेरिका छ । कथित कोशीका नेताहरुमा थोरै पनि बुद्धि छ भने सहमति जुटाएर सरकार बनाउनु र मध्यावधि रोक्नु उपयुक्त देखिन्छ ।

(५) पूर्वमा रवि लामिछानेको दौडधुप

कोशी प्रदेशको सरकार गठन, विघटनको अवस्था आएपछि कोशीलाई मध्यावधीमा लाने र रवीहरुलाई खडा गरेर कोशी कब्जा गर्ने, सिंगो नेपाललाई आफ्नो शक्तिको सन्देश प्रवाह गर्ने र पूर्वलाई आवश्यकता अनुसार बितण्डतामा प्रवेश गराउने अमेरिकी योजना अनुसार पूर्वमा रवीको दौडधुप तिब्र बन्यो । पूर्व सुनसरी, उदयपुर, मोरङ, झापा, इलाम, ताप्लेजुङ्सम्म रवि अभियान संचालित बन्यो । रविको पार्टीमा गएका पूर्व क्षेत्रका मित्रहरु सोझै भन्छन्– अब चुनावमा जाने, चुनावको तयारी गर्ने, संसद मन्त्री बन्ने हो । पूर्व क्षेत्रका जनताहरुको गतिशिलता र क्रान्तिको सम्भावना पूर्वमा रहेको बुझेको अमेरिकी साम्राज्यवाद र उसका कारीन्दाहरु पूर्व क्षेत्रमार्फत आफ्नो शक्तिलाई उदय गराउन र सम्भवत संघको निर्वाचनमा पनि केही समयपछि मध्यावधी गराउने र आफ्ना पात्रहरुलाई अगाडि ल्याउने खेलमा लागेको देखिन्छ । यो पनि अमेरिकी योजना भित्रै छ ।

६) दुर्गा प्रसाईको अभियान

अमेरिकी योजना भन्दा अरु धेरै नभैरहेको समकालीन समाजमा दुर्गा प्रसाइलाई पनि नजरअन्दाज गर्न हुँदैन । उनले धर्म र नागरिक बचाउ अभियान भन्ने नारा दिएर एउटा अभियानको सुरुवात गरे र त्यसको उद्घाटन पूर्वबाट भयो । उनले बोलिरहेका र बाहिर ल्याइरहेका कतिपय तथ्यहरु जायज र ठिक पनि छन् । तर त्यसको निकासको अस्पष्टता भने उनमा छ । उनले राजालाई पुनस्थापना गर्नुपर्ने आवाज पनि ओकलेका छन् । वित्तिय क्षेत्रका विकृति विरुद्ध पनि प्रसाइले बोलिरहेका छन् । मारवाडी व्यवसायी विरुद्ध पनि उनी उत्रिएका छन् ।
यी सबै भएर पनि दुर्गा प्रसाइको प्रचार झन बढ्दो छ किन ? अमेरिका कुनै पनि मुल्यमा जनतालाई एकताको सन्देश पैदा गराउने प्रकारको राजा ल्याउन चाहदैन । पुजीवाद जनतालाई टुक्रा टुक्रा पार्ने र लुटि खाने प्रवृति हो ।  राजा यो नीतिको प्रतिकुल हुन्छ र हुने भएकाले ’सिआइए’ ले विरेन्द्रको वंशनास गरेको हो । तर प्रायोजित रुपमा निराशा फैलाइएको नेपाली समाजमा आजको अवस्था भन्दा हिजोको राजा नै ठिक थिए कि कतै भन्ने एउटा मनोविज्ञान पनि बन्दै गयो र त्यो बितृष्णालाई एउटा समय सम्म नियन्त्रण गर्न , जोगाइराख्न र आफु अनुकुल प्रयोग गर्न पनि राजावादी पार्टी र दुर्गा प्रसाईं जस्ता मानिसहरु अमेरिकालाई चाहिन्छन । भारतलाई थोरै भएपनि दबाबमा राख्न अमेरिकालाई यो प्रवृति जहिलै आवश्यक छ । त्यसो भएको हुनाले  दुर्गा प्रसाइमार्फत मारवाडीहरुको विरोध गर्न लगाएर एउटा भास्य खडा गर्न खोजिएको छ । यद्यपि मारवाडी एकाधिकार नेपालमा सह्यै छैन र यसको विरोध गर्नु पर्छ । दुर्गा प्रसाइको अभियान स्वयम् उनलाई यसको उपादयताबारे थाहा नहुन सक्छ तर यसबाट पनि अमेरिकाले फाइदा हेरिरहेको छ । त्यसैले निर्वाध छ प्रसाईं अभियान ।

(७) राजावादी पार्टीको पुर्वी कृयाशिलता

सायद राजसंस्थाबारे वकालत गर्ने पार्टी पूर्व  र त्यसमा पनि झापा नै अगाडि होला । झापाका एकजना कट्टर राजावादी मित्रले खुलेआम निरन्तर एमसीसीको विरोध गर्दै आएका थिए । हाम्रो सिंगो पार्टी एमसीसी विरुद्ध निरन्तर लड्दै थियो । उनले म सँग भेटमा भने राजेन्द्र लिङ्देन दाईले मलाई भेट्न बोलाउनु भयो र भन्नू भयो कि,– “ एमसीसीको अब विरोध नगर्नु, यसले राम्रो गर्दैन“ । चेतावनीको भासामै एमसीसीको विरोध नगर्न लिङ्देनले उनलाई भनेको मलाई सुनाएका थिए  । ती मित्रले उक्त पार्टी छाडेर अहिले पनि एमसीसी विरुद्ध वकालत गरिरहेका छन् ।
हो राजावादी पार्टीभित्र पनि देशभक्ति छ, त्यहा पनि धेरै राम्रा मान्छेहरु छन् तर राजावादी मुद्दालाई समेत कब्जामा राख्नु र आफू अनुकुल चलाउन सकियोस् भन्ने अमेरिकी योजना रहेको छ । मनिषा कोइराला कांग्रेसको कार्यक्रम छाडेर राप्रपाको चुनावी प्रचार र राप्रपा नेतृत्वलाई स्थापित गर्ने अभियानमा लाग्नुलाई पनि विज्ञहरु शंकाको नजरले हेर्छन् । पछिल्लो चरण अमेरिकाको योजनाबद्ध प्रयत्नको रुपमा च्याउ झैं नेपालमा उदाएका सामाजिक अभियान्ताहरुको नाभि खोज्दै जानू भयो भने अमेरिकी केन्द्रमा भेटिन्छ । हो त्यहीबाट कुर्लदैं आएका ज्ञानेन्द्र शाही राप्रपाको प्रवक्ता बने । यहाँ कसले के कसरी बोल्छ र व्यवहार कसरी कहाँ जोडिन्छ र सम्बन्धित छ भन्ने विषयलाई ध्यान दिनु भयो भने सबै स्पष्ट हुन्छ र राजावादी मुद्धामा केन्द्रीत जनताको मनोविज्ञानलाई भ्रमित हुन नदिन पनि प्रयत्न गर्न पर्ने आवश्यकता छ ।
अतः हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टीले यतिबेला अन्तरविरोध बदलिएको निष्कर्ष निकालेको छ । अहिले अमेरिकी साम्राज्यवाद र नेपाली जनता बिचकोे अन्तरविरोध नै मुख्य बनेको सबै तथ्यहरुले प्रष्ट हुँदै आएका छन् । यस्तो बेला हरेक घटनाहरुलाइ श्रृङ्खलामा हेर्नु र सम्भावित संकटको आकलन गर्दै समाधन वा निकास दिने गरि जनताको नेतृत्व गर्नु हाम्रो कर्तव्य हुन आउछ । अमेरिका नेपाललाई अशान्त बनाउन चाहन्छ । आफ्नो सैन्य शक्तिलाई खर्च नगरी जनतालाई भिडाउने, हिंसा मच्चाउने र आफ्नो परियोजना सुरक्षाको नाममा वा हिंसा व्यवस्थापनको नाममा हतियार सहितको सेना उतार्ने चालबाजीमा अमेरिका रहेको छ ।
यसमार्फत अमेरिका नेपाली जनतामा व्याप्त निराशामा खेल्दै अबको विकल्प नयाँ पार्टी, नयाँ पात्र भन्दै जनतालाई भ्रमित पार्ने र नव जेलेन्सकीहरु सहजै जन्माउने योजनामा रहेको छ । पुराना संसदवादीहरुलाई जेलमा थुन्ने, कम्युनिष्ट र देशभक्तहरुको हत्या गर्ने, नेपाललाई अराजकता र द्वन्दको भुङ्ग्रोमा होम्ने काम अमेरिकाले आफु अनुकुल सत्ता सुदृढ गर्ने बित्तिकै सुचारु गर्ने छ । मिसन ०८४ भन्दै निरन्तरतामा नेपाली राजनीतिलाई हेरिरहेकाहरुले आँखाको पट्टी खोल्न आवश्यक छ । प्रायोजित विद्रोह, मध्यावधि या कुनै आकस्मिक संकट पैदा गराएर तिब्रतामा अमेरिकाले आफ्नो सत्तालाई सुदृढ गर्ने छ । एकपटक मात्रै अमेरिकाले आफ्नो सत्ता सुदृढ गर्ने अवस्था बन्यो भने नेपाल अग्रगमन, क्रान्ति, कम्युनिष्ट आन्दोलन वा स्वाधीनताको रक्षा जे भन्नुहोस् यो यति धेरै रक्षात्मक बन्ने छ कि जसको कल्पना पनि गर्न सकिन्न ।
यतिबेला हरेक घटनाहरुलाई बदलिएको अन्तरविरोध र त्यसको समाधानको आँखाबाट हेर्ने प्रयत्न गर्नु पर्छ । यसो गर्यो भने हाम्रो बुझाइ सही बन्छ । पूर्वको गतिशिलता, क्रान्तिको उर्वर सम्भावना र आजको पुजीवादसँग मुकाविला गर्न सक्ने पूर्वको परिदृश्यलाई केलाएर पश्चिमाहरुले पूर्वमा पछिल्लो दशक सबै विषयहरुमा मसिनो गरि मिहेनत गरेका छन् ।

माथि उल्लेख गरेका घटनाहरु प्रतिनिधि घटना हुन् । अमेरिका आज घरको समस्यामा समेत प्रवेश गरेको छ । मसिना मामलाहरुलाई समेत समातेर पूर्वलाई अशान्त बनाउन लागेको हिन्द प्रशान्त रणनीति, अमेरिका र उसका कारिन्दाहरुको हर्कतहरुको श्रृङखलाबद्ध अध्ययन, निष्कर्ष र त्यसको समाधानमा पूर्वमा कृयाशिल सबै जिम्मेवार नागरिकहरु गम्भीर बनेर लाग्न जरुरी छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।