७ बैशाख २०८१, शुक्रबार

फुटवाद र नेपाली क्रान्ति

0

भर्खरैमात्र यहि बैशाख २२ गते नेपालमा फेरी एउटा क्रान्तिकारी पार्टीको दुखद बिभाजन भएको छ र नेपालका राजनितिक पार्टीहरुमा एउटा पार्टीको नाम थप भएको छ । संसदिय ब्यवस्थाका बिरुद्ध आक्रमक रुपमा आन्दोलन गर्दै आइरहेको र संसदिय ब्यवस्था र आजको राजनितिक प्रणालीको बैकल्पिक शक्तिको रुपमा आफुलाई स्थापित गर्दै गरेको पार्टीको बिभाजनले क्रान्तिकारी शक्ति र जनतामामा केहि निराश तुल्याएको छ ।

नेपालमा कम्युनिष्ट जनमत उल्लेख्य छ । करिव ६५ प्रतिसत कम्युनिष्ट जनमत रहेको अवस्थामा नेपालका कम्युनिष्ट पार्टीहरु बिभाजनको दुष्चक्रवाट माथी उठन सकेका छैनन । एक ढिक्का रहेर नेपालको जनमतलाई सहिरुपमा प्रयोग गर्दा आफुले चाहेको ब्यवस्था संचालन गर्न सकिने स्थितिसमेत नेपाली कम्युनिष्टहरुको देखिन्छ तर, नेपालका कम्युनिष्टहरु कहिले पनि जुटेको , एकढिक्का बनेको, सुन्न र देख्न पाइएको छैन । किन यसरी फुटनमात्र जान्दछन त नेपालका कम्युनिष्टहरु ?यसको मुल जड के हुन सक्दछ ? माक्र्सवादले हरेक चिजको बिनास वा बिकासमा उसको आन्तरीक कारण नै प्रधान ठान्दछ के नेपाली कम्युनिष्टहरु बिभाजनवाट बिनासको वाटो अंगाल्नु उसको आन्तरीक कारण मात्र हो वा यसका बाहिरी बस्तुगत कारणहरु पनि छन ।

हामीले यससम्वन्धी सहि र तथ्यपरक बिश्लेषण गर्न जरुरी छ । नेपाली कम्युनिष्ट जनमतको कतिपय संसदवादी कम्युनिष्ट पार्टीहरु दलाल पूजिंवादी ब्ययवस्थाको रक्षार्थ गलत तरीकाले प्रयोग गरीरहेका छन । यो जनमतलाई सच्चा कम्युनिष्टहरुले समाज परिवर्तन र समाजवादी ब्यवस्था स्थापनार्थ लगाउन नसक्नु चुनौतिपूर्ण त छ नै तर, आजको अनिवार्यता पनि त्यत्ति नै छ ।

क्रान्तिकारी परिवर्तनकामी जनताको एकतामा नयाँ ब्यवस्थाको सपना देख्ने कम्युनिष्टहरु किन एक आपसमा नै सधै टुट -फुट र बिभाजनवाट गुज्रिन्छन ? यसको खोज अनुुसन्धान आजको पुस्ताले गर्नै पर्दछ र क्रान्तिकारी पार्टी आन्दोलन र नेतृत्वको एकतामा प्रयत्न पनि गर्नु पर्दछ । एकतामा भन्दा बिभाजनमा आफ्नो भविष्य सुरक्षित देख्ने , अर्कोभन्दा आफुलाई नै उच्च कोटीको क्रान्तिकारी देख्ने दृष्टीकोणहरुलाई एकतामा डोरयाउनु कठिन प्रयत्न त हो नै । तर, एकताको अनिवार्यतामार्फत बिजयलाई सुनिश्चित गर्न जरुरी छ । एकतामा बल हुन्छ,सबैको भविश्य हुन्छ, एकतालेमात्र बिजयसम्म पुरयाउन सक्दछ । अन्यथा क्रान्ति, बिजय र नयाँ दुनियाको कल्पनाको कुरा गफ गर्न त हुन्छ तर, त्यसको समाज परिर्वतनमा कुनै भविष्य हुदैन । २००६ सालमा स्थापना भएको नेपालको कम्युनिष्ट पार्टी आजसम्म आईपुग्दा दर्जनौ पटक फुटेको छ । कयौपटक एक ढिक्का बन्ने प्रयत्नहरु पनि गरेको छ । तर, फुट जति सहज भएको छ एकता त्यति सफल बनेको देखिदैन । फुट सम्वन्धी केहि सैद्धान्तिक र ब्यवहारीक कारणहरुबारे छोटोमा यहाँ चर्चा गरौ ।

सैद्धान्तिक बैचारीक कारण :

नेपालका कम्युनिष्ट पार्टीहरु मालेमावादी बिचार सिदान्तमा आधारित समाजवाद र साम्यवादी धाराका प्रतिकको रुपमा चिनिन्छन । माक्र्सवाद सशस्त्र संघर्ष र बर्ग संर्घषको बिज्ञान हो । जव क्रान्तिको लक्षवाट नेतृत्व वा पार्टीहरु बिचलति हुन्छन, फुट अनिवार्य जस्तै बन्न जान्छ । जस्तै, प्रचण्डको पूजिंवादमा भएको पतनले क्रान्तिलाई नयाँ रुपमा पुनर्गठन गर्न अनिवार्य बनायो । यो फुट सैदान्तिक र बैचारीक हिसावले पनि सहि मान्न सकिन्छ । नेतृत्व पूंजिवादमा पतन हुँदा वा क्रान्तिवाट बिचलित हुँदा क्रान्तिकारी शक्ति वा ब्यक्तिले बिद्रोह गर्नु सही हुन्छ । जहाँ सिद्धान्त बिचार नै मिल्दैन भने त्यहाँ बनावटी एकताको कुनै गुन्जायस हुदैन । क्रान्तिकारी बिचार सिदान्तको आधारमा प्रतिक्रान्तिकारी सोच बिचारसंग बिद्रोह गरी क्रान्तिकारी पार्टी गठन गर्नु वा क्रान्तिलाई अगाडी बढाउनुलाई सहि नै सोच्नु वा ठान्नु पर्दछ । तर भर्खरमात्र नेपाल कम्युनिष्ट पार्टीभित्र भएको फुटमा भने कुनै ठुलो सैद्धान्तिक बैचारीक कारण देखिदैन ।

पद, प्रतिष्ठा र पैसा :

कम्युनिष्टहरु वा पार्टीहरु फुटनको अर्को महत्वपूर्ण कारण पद प्रतिष्ठा र पैसा पनि महत्वपूर्ण कारण बन्ने गरेको देखिन्छ । अति महत्वकांक्षी प्रबृति जहिले पनि नेतामात्र बन्न चाहाने सोच , चिन्तन र गलत दृष्टीकोण क्रान्ति भन्दापनि ब्यक्तिगत परिवार जिवन र पैसामा मात्र केन्द्रित रहने प्रबृती बेला -बेला नेपाली कम्युनिष्ट आन्दोलनमा देखिने गर्दछ । आज मुख्यतः यो समस्या नै जटिल बनेको छ । पछिल्लो क्रान्तिकारी आन्दोलनमाथीको फुट मुलतः यहि कुरा प्रधान हुन आएको देखीयो । कम्युनिष्टहरु निजि स्वामित्व र निजि जिवनभन्दा माथी उठेको चेतना हो । तर, नेपाली कम्युनिष्टहरुको चेतना सामन्तवादी चेतनाले ग्रसित जस्तै देखिदै आएको छ । आफु कम्युनिष्ट बन्ने भन्दा पनि नेता बन्ने अनि जनता र कार्यकर्तामा आफुले सान पैदा गर्ने नितान्त निजि जिबनका मालिक बन्ने , आफुले केही गुमाउन नपर्ने अरुको लगानि वा त्याग बलिदानमामा आफनो स्वामित्व कायम रहोस भन्ने ग्रैर क्रान्तिकारी सामन्ती अवसरवादी सोच र प्रबृतिका कारण कम्युनिष्टहहरु जुटनेभन्दा फुटमा रमाउने गरेको देखिन्छ ।

पुँजीवादको प्रभाव :

बिश्वभर पुँजीवादवादको करिव करिव एकछत्र रजाइ चलिरहेको छ, पुजिंवादले माकर्सवाद र बैज्ञानिक समाजवादलाई आफ्नो स्वर्ग समाप्तीको रुपमा देख्ने गर्दछ । यसो हुँदा बिश्वभर कम्युनिष्ट ब्यवस्था स्थापना हुनवाट रोक्नु उसको मुल लक्ष्य हुने गर्दछ । परिणामतः दमन र कुटनितिक तवरवाट बिश्वभर क्रान्तिका ज्वारभाटा जहाँ उठेका भएता पनि क्रान्तिबिरुद्ध सबै अवयवहरु प्रयोगगरी समाप्त पार्ने कोसिशहरु भैरहेका छन । त्यसको पछिल्लो उदाहरण नेपाल कम्युनिष्ट पार्टीको फुट पनि हो । सामान्य कार्यनितिको बिषयलाई देखाएर फुट भनिएको भएता पनि सत्य त्यसो होइन । बैज्ञानिक समाजवादको स्थापना नेपाली स्वाधिनता र जनजिबिकाका बिषयहरुलाई लिएर गरिएका संघर्षहरु र अमेरीकी एमसिसि परियोजनालगायत बिषयमा गरिएका शसक्त आन्दोलनहरुले पूजिंवाद र साम्राज्यवादमा पुगेको धक्का र त्यसले नेपाली श्रमिक जनतामा पारेको सकारात्मक प्रभावको परिणाम जवरजस्त कमजोर नेताहरुलाई प्रयोगगरी एउटा क्रान्तिकारी पार्टीको बिभाजन गरिएको हो भन्ने कुरा प्रष्ट हुदै गएको छ । पूजिंवाद, कम्युनिष्ट पार्टी र नेतृत्वलाई जनतावाट अलग्याउने, एक्ल्याउने र समाप्त गर्ने रणनितिमा लागेको छ । त्यसलाई क्रान्तिकारी नेतृत्व र पार्टीपक्तिले सहि समयमा बुझ्ने कोसिस जरुर गर्नु पर्दछ ।

अन्तरघात र अवसरवाद :

आजको बिश्वमा कम्युनिष्ट आन्दोलन आन्तरीक अन्तरघात र अवसरवादको सिकार पनि बन्दै आएको छ । देख्दा क्रान्तिकारी देखिने बोल्दा क्रान्तिका ठुला – ठुला कुरा गर्ने तर, मनमस्तिष्क पूजिंवादको लिएर हिडने जतिवेला नेतृत्व संकटमा परेको हुन्छ आन्दोलन अप्ठेरोमा परेको हुन्छ भित्रै बसेर क्रान्तिलाई र नेतृत्वलाई घात गरेर हिडने यो प्रबृती पनि क्रान्तिको दौरान देखिने निकृष्ट खराव प्रबृती हो । यो प्रबृति चिन्न कठिन हुने गर्दछ । यो प्रवृति रुपमा क्रान्तिकारी देखिने हरीयो घाँसमा लुकेको सर्प जस्तै हुन्छ । यो प्रवृतिले गर्दा बेला -बेलामा क्रान्तिलाई ठुला – ठुला क्षति पनि हुने गरेका छन । योसंगै जोडेर आउने प्रवृति भनेको अवसरवादी प्रवृति पनि हो । यसले आफुलाई मध्यभागमा राखेर तर्क गर्ने गर्दछ , सधै आफ्नो फाईदाको खोजीमा रहने यो प्रबृती अन्तत दक्षिणपन्थमा पतन हुने वा क्रान्तिकारीमा रुपान्तरण हुने भन्ने निकर्ष निकाल्न कठिन हुन्छ । यो पनि पूजिंवादसंग साइनो जोडेर आएको हुन्छ । यसलाइ क्रान्तिभन्दा आफ्नो पद प्रतिष्ठा पहुचलाई प्रमुख बनाउने गर्दछ, यो एक प्रकारको मुख्याली प्रबृति पनि हो । आफ्नो पद र प्रतिष्ठामा आँच आउने देखेमा वा आफुले भने जस्तो नभएमा भाँग्ने वा नेतृत्वलाई सताउने निति अख्तियार गर्ने गर्दछ ।

गुटवाद :

यो प्रबृति पनि क्रान्तिकाल होस वा शान्तिकालमा देखिने खराव तर सर्बत्र प्रबृति पनि मान्न सकिन्छ । पार्टीभित्र गुट सन्चालन गर्ने, आफ्नो गुट बनाएर परिचालन गर्ने, गुटका मात्र कुरा सुन्ने , गुटका मात्र कुरा गर्ने र पार्टीमा भन्दा गुटमा निर्भर रहने प्रबृती वा बिचार सहि बिचारहरु होइनन । यसले मन मिल्नेहरूको संगठनको परिकल्पना गर्दछ । जोसंग मन मिल्छ त्यसलाई माथी ल्याउनु पर्दछ भन्ने तर्क गर्दछ । आफ्नो नजिक रहने मान्छेहरुको समुह सहि भएको तर अरु सबै गलत हुन भन्ने जस्ता गलत तर्क गर्दछ । यदि आफ्नो समुह वा गुटको मान्छे भने अनुरुप सेटिङ गर्न नसकेमा कि निरास हुन्छ, कि त पार्टी छोडने जस्ता धम्कि समेत दिन भ्याउछ । यो प्रबृतिले पनि नेपाली कम्युनिष्ट आन्दोनमा ठुलै नोक्सानी गर्दै आएको छ । यि प्रबृतीहरुले फुटवादलाई प्रशय दिएका हुन्छन वा फुटमा गएर सिद्धिने गर्दछन ।

सुदर्शन- कन्चनको पार्टीवाट भएको बर्हिगमन या फुट :

पहिले त सुदर्शन -कन्चन कस्ता प्रबृति बोकेका मान्छे हुन भनेर चिन्न जरुरी छ । जनयुद्धकाल देखी जनयुद्धको केन्द्रिय समितिमा रहेर काम गरेका यि दुवैजना अन्तरमुखी स्वभावका क्रान्तिकारी नेताको रुपमा स्थापित भएका ब्यक्ति नै हुन। तर सुदर्शन जनयुद्धकालको आधा अवधि करिव सास्कृतिक कारवाही भोगेका र कन्चन जनयुद्ध अबधिभर युरोपका गल्लीमा मस्ति गर्दै बसेर जनयुद्धमा रतिभर प्रत्यक्ष सहभागी नभएका ब्यक्ति हुन । युरोपियन र अमेरिकी केही लेखक, बुद्धिजिबीहरुले लेखेका केही थान किताव पढेर कल्पनामा रमाउने एक कल्पनावादी हुनभन्दा फरक पर्दैन । क्रान्तिको जिवनको भोगाई एकरती सम्म नभएका कल्पनावादीहरुवाट क्रान्तिको अपेक्षा, आशा र भरोसा हुने कुनै संभावना नै छैन । अध्ययन गर्नु, भाषण गर्नु र क्रान्ति गर्नु एउटै कुरा हैन । कितावी अध्ययन गर्ने सैद्धान्तिक कुरा हो तर जिवन ब्यवहारमा क्रान्ति गर्ने भन्ने कुरा फरक कुरा हो ।

जिवन ब्यवहारमा क्रान्तिको गन्धसम्म थाहा पत्तो नभएका कन्चन कमरेडले बिप्लवलाई ग्रैरक्रान्तिकारी आफु क्रान्तिकारी रहेको भ्रम जनता कार्यकर्तामा फैलाउनु अशोभनियमात्र होइन अनैतिक कुरा हो । यो अनैतिक तर्कसंग आजका क्रान्तिकारी शक्ति भ्रमजालमा पर्न पार्न सम्भव छैन । जति भ्रम छर्न खोजेपनि त्यो केवल पानीको फोका तुल्य हुनेछ । क्रान्ति गर्न क्षमतावान, संक्षम, क्रान्तिकारी, र नैतिकवलसहितको नेतृत्व हुन जरुरी हुन्छ त्यो कुरा महासचिव कमरेड बिप्लवमा मात्र छ । कसैको रिसले आवेगले कसैलाई देखाई दिन्छु भन्ने तुच्छ सोच चिन्तनले क्रान्तिकारी शक्तिलाई क्षति गर्न त सक्छ । तर क्रान्ति गर्न संभव छैन । क्रान्तिकारी क्रान्तिकारी नेतृत्वसंगै सहि कार्यदिशा र बिचारको आबश्यक पर्ने गर्दछ । चितवनमा जाँदा एकिकृत जनयुद्ध भन्ने एक महिना नपुग्दै समाजवादी क्रान्ति भन्ने पिध नभएको लोटा जस्ता कार्यदिशा निमार्ण गर्ने हुतिले क्रान्तिको ढवाङ फुक्नु प्रतिक्रियावादी शक्तिलाई खुसी पार्नु क्रान्तिकारी पंक्तिलाई निराश बनाउन रचिएको प्रपन्चमात्र हो भन्ने कुरा यो फुटले प्रस्ट पार्दै गएको छ । यो फुट उहाँहरुको आफ्नै हुतिले भन्दा पनि प्रायोजित हुन सक्दछ भन्ने कुरा पनि बिस्तारै खुल्दै जानेछ । क्रान्ति निर्मम प्रक्रियावाट अगाडी बढने गर्दछ । क्रान्तिको मार्ग बक्ररेखामा हुन्छ, सिधा हुदैन ।

बक्ररेखाको यात्रा गर्दा कयौ मान्छेहरुलाई पार्टी कहाँ फस्यो भन्ने जस्ता भ्रमहरु पैदा हुनु स्वभाविक हो । तर त्यहि बिषयलाई लिएर पार्टी भित्र अस्वभाविक गैरक्रान्तिकारी अराजकता पैदा गरी कार्यकर्ताको क्रान्तिकारी मनोबिज्ञान र भावनामा राजनिति गर्ने र पार्टीलाई फुटको तहमा पुर्याउने सुदर्शन – कन्चन मण्डलीको तरिका नेपाली क्रान्तिमा देखिएको गैरजिम्मेवारमात्र होइन , अनैतिक कार्य हो । यो अनैतिकताको भ्रममा क्रान्तिकारी शक्ति पर्न जरुरी र सम्भव छैन ।

नेपाल कम्युनिष्ट पार्टी फुटका कारणहरु:

नेकपा फुटनुका कुनै सैदान्तिक र बैचारीक कारण देखिदैन । मात्र सुदर्शन- कन्चनमाथी पैदा भएको गलत दृष्टिकोण, अराजकता र दक्षिणपन्थी अवसरवादको उपज पार्टीले फुटको सामना गर्न परेको हो । राजनैतिक र सांगठनिक रुपमा देखिएको असैद्धान्तिक अराजकता र दक्षिणपन्थी अवसरवाद , आर्थिकरुपमा देखिएको दलाल पूजिंवादी प्रबृती, सास्कृतिकरुपमा देखिएको उपभोक्तावादी छाडावाद र सैन्यरुपमा देखिएको घुडाटेकुवावादको परिणाम वाध्यात्मकरुपमा यो फुट व्यहोर्न परेको छ । क्रान्तिकारी नेतृत्वलाई समाप्त गरी वा बदनाम गरी भर्भराइरहेको क्रान्तिको सपना समाप्त गर्ने उद्देश्यसहित आएका सुर्दशन- कन्चन मण्डली क्रान्तिमा रहनुभन्दा निस्कनु सहि थियो भन्ने तर्क पनि सहि नै हुन जान्छ । हरेक कुरा आफ्नो स्वार्थभन्दा बाहिर जान नदिने क्रान्तिका ठुला- ठुला कुरा गर्ने तर क्रान्तिको सिन्कोसम्म नभाँच्ने प्रवृतिलाई बुझ्न नसक्दा कतिपय क्रान्तिकारी पक्ति पनि भ्रममा पर्न गएको छ । फुटवादलाई तीन प्रकारको प्रबृतीले साथ दिएको देखिन्छ:-

१) सचेतता पूर्बक क्रान्तिको मुना निमोठन चाहने शक्ति
२) घोर अवसरवादी शक्ति
३ं) इमान्दार तर क्रान्तिका मोडहरुलाई तत्काल बुझ्न नसक्ने शक्ति ।

यि प्रबृती र शक्तिहरु मध्ये इमान्दार शक्तिलाई फिर्ता गर्ने दिशामा पार्टी र नेतृत्वहरुले पहलकदमी बनाउनु उपयुक्त रहन्छ । अन्य दुई प्रवृति आज गए वा भोलि जाने भन्नेमात्र अन्तर हो , जानुको बिकल्प थिएन । तर रुपान्तरणसहित फर्कन सक्ने वाटो भने बन्द गर्न सकिदैन – हुदैन । बिभाजनपछि फुटपरस्त मान्छेहरुका तर्क सुन्दा के देखिन्छ भने उहाँको जोहो चलाउन र खाना पचाउन पनि साँझ बिहान नेपाल कम्युनिष्ट पार्टीको बिरोध गर्नैपर्ने हुन्छ । उहाँहरुको क्रान्तिको मुल बिचार सिद्धान्त भनेको क्रान्तिकारी नेता कार्यकर्ताको उछितो काढनु हो, धारे हात लगाउनु र सत्तोसराप गर्नु हो । यसले के देखाउछ भने उहाँहरु कुनै क्रान्तिकारी बिचार सिद्धान्त बोकेका मान्छे वा शक्ति होइनन , मात्र क्रान्तिको गला रेटन लालझण्डा बोकेका मान्छेहरुको झुण्ड हो भन्ने प्रष्ट्याउछ ।

निकर्ष:

क्रान्ति कुनैपनि बहुलठ्ठीपन र लालफेटावालबाट हुने कुरा होइन । क्रान्ति गर्न क्रान्तिकारी बिचार,सचेत क्रान्तिकारी नेतृत्व र कुशल संगठनले मात्र संभव छ । क्रान्तिकारी पार्टी हरेक नकारात्मक बिचार दृष्टिकोण र प्रबृतीहरु संग निमर्मतापूर्वक लडनु पर्दछ । सत्यलाई ढाकछोप गर्न सत्यका बिरुद्ध भएभरका शक्तिहरु लाग्ने गर्दछन । तर सत्यको जित अबश्यम्भावी छ, अहिलेको सत्य मालेमावादमा आधारित बिचार तथा कार्यदिशा एकिकृत जनक्रान्ति, कुसल र क्षमतावान नेतृत्व, रणनितिक कार्यक्रम बैज्ञानिक समाजवाद र क्रान्तिको नयाँ र बिकसित मोडेल हो, यसको जित अनिवार्य छ । कायरहरु घुडा टेक्छन , भाग्छन । क्रान्ति बहादुरहरुले गर्ने हो । सबै मान्छे कायरपनि हुदैनन र सबै मान्छेहरु बहादुरपनि रहदैनन । अन्तिमसम्म जसले लडछ र जित्छ त्यही बहादुर र क्रान्तिकारी हो । बिचमा को आउछन, को जान्छन भन्ने हिसावकिताव धेरै गरीरहनु हुदैन । बहादुर क्रान्तिकारीहरुले क्रान्तिबिरोधिहरुका भ्रमजालहरुलाई चिर्दै फुटवाद र पलायनवादलाई परास्त गर्दै सम्पूर्ण क्रान्तिकारी पंक्तिको एकता र निरन्तर क्रान्तिको यात्रामा अगाडी बढनु पर्दछ । क्रान्तिको जित वा सत्यको जित अबश्यम्भावी छ, एकिकृत जनक्रान्तिको जित अबश्यम्भावी छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।