२२ बैशाख २०८१, शनिबार

स्वतन्त्र, सन्तुलित कुटनीति र नेपालको हित

0

परराष्ट्र नीति र कुटनीतिलाई कुनै पनि मुलुकको राष्ट्रिय स्वार्थ अथवा हितलाई संरक्षण र प्रवद्र्धन गर्ने प्रमुख उपकरणको रुपमा लिने गरिन्छ । राज्यले बाह्य विश्वसँग अथवा अन्तराष्ट्रिय जगतमा कुन मान्यता र सिद्धान्तको आधारमा कस्तो व्यवहार प्रस्तुत गर्ने भन्ने विषय विदेश नीति र कुटनीतिसँग सम्बन्धित रहन्छ । परराष्ट्र नीति सैद्धान्तिक मान्यता हो भने कुटनीति त्यसको जगमा गरिने राष्ट्रको व्यवहार हो अथवा विश्वसमुदायसँग राष्ट्रिय हित अनुुकुलको सम्बन्ध निर्माण गर्ने राज्यको कला हो । विदेश नीति गतिशील हुन्छ । यो राष्ट्रिय स्वार्थको सर्वोच्चता र अन्तराष्ट्रिय शक्ति सन्तुलनमा निर्भर गर्दछ ।
नेपालले परराष्ट्र मामिलासँग सम्बन्धित संवैधानिक व्यवस्था नेपालको संविधान, २०७२ मा गरेको छ । धारा ५१ मा राज्यको नीति अन्तर्गत ५१ (ड) मा अन्तराष्ट्रिय सम्बन्धसम्बन्धी नीति स्पष्ट रुपमा उल्लेख गरिएको छ । जसमा भनिएको छ (१) नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय हितको रक्षा गर्न क्रियाशील रहँदै संयुक्त राष्ट्रसंघको बडापत्र, असंलग्नता, पञ्चशीलको सिद्धान्त, अन्तराष्ट्रिय कानुन र विश्व शान्तिको मान्यताका आधारमा राष्ट्रको सर्वोपरी हितलाई ध्यानमा राखी स्वतन्त्र परराष्ट्र नीति सञ्चालन गर्ने, (२) विगतमा भएका सन्धीहरुको पुनरावलोकन गर्दै समानता र पारस्परिक हितको आधारमा सन्धि सम्झौताहरु गर्ने ।
यसरी संवैधानिक र सैद्धान्तिक दृष्टिकोणबाट वर्तमान सन्दर्भमा नेपालले अबलम्बन गर्नु पर्ने परराष्ट्र नीति वैज्ञानिक, व्यवहारिक र सुस्पष्ट रहेता पनि कुटनीतिक कुशलता र परिचालनको पाटोमा भने निर्विवाद र प्रश्नरहित बन्न सकिरहेको अवस्था छैन । ऐतिहासिक रुपमा हेर्दा आधुनिक नेपालको एकीकरण प्रक्रियासँगै पृथ्वीनारायण शाहले ‘नेपाल दुई ढुङ्गा बीचको तरुल हो’ (जुन सन्तुलित कुटनीतिको बलियो ऐतिहासिक स्रोत हो) भनेर भु—राजनीतिको व्याख्या गरिसकेपछि त्यसको प्रभाव कुटनीतिमा पर्नु स्वाभाविकै छ तर १०४ वर्षसम्म चलेको रााणा शासनको समयमा नेपालले सञ्चालन गरेको कुटनीति भने एकलकाँटे कुटनीति थियो जुन बेलायति सरकारको छत्रछायाँमा आश्रित थियो । २००७ सालमा प्रजातन्त्र स्थापना हुनुपूर्व नेपालको कुटनीतिक सम्बन्ध बेलायत, अमेरिका, भारत र फ्रान्स गरी ४ वटा देशसँग मात्र थियो । बाँकी विश्वबाट नेपाल अलग थियो । राजनीतिक आन्दोलद्धारा राज्य व्यवस्थामा परिवर्तन हुँदै आउने क्रममा विश्व समुदायमा नेपाल खुल्दै गयो । १६, फेब्रुअरी २०२३ सम्म आउँदा अफ्रिकी मुलुक मलावीसहित १७८ देशसँग नेपालको कुटनीतिक सम्बन्ध कायम भइसकेको छ ।
परराष्ट्र नीति निर्माणमा ऐतिहासिक शृङ्खला र अनुभवहरु पनि जोडिएर आउँछ नै तर आजको भुमण्लीकृत पँुजीवादी बजार, बहुध्रूवीय विश्व, बदलिँदो विश्व शक्ति सन्तुलन, महाशक्ति राष्ट्रहरुको अस्वस्थ सामरिक रणनीतिक प्रतिस्पर्धा जस्ता संवेदनशील विषयहरुले गर्दा अल्पविकसित र तेस्रो विश्व भनेर चिनिएका नेपाल जस्ता देशहरुले भने कुटनीतिक चातुर्यता मार्फत नै आफ्नो राष्ट्रिय अस्मिता, सार्वभौमिकता, स्थायित्व र स्वतन्त्र व्यक्तित्वको रक्षा गर्न सक्दछ । नेपालको परराष्ट्रनीतिको मुल आधार भनेको असंलग्नता, पञ्चशीलको सिद्धान्त, शक्ति सन्तुलन र भौगोलिक दुरी आदी हुन् । कुटनीतिसँग सम्बन्धीत भियना महासन्धी (१९६१) को पक्ष राष्ट्र भएको नेपालले उक्त महासन्धीले व्यवस्था गरेका पाँच कुटनीतिक कार्यहरु १). विदेशमा आफ्नो राष्ट्रको प्रतिनिधित्व गर्नु २). अन्तराष्ट्रिय कानुनको व्यवस्थाअनुसार विदेशमा आफ्नो नागरिकको हित रक्षा गर्नु ३). अन्य राज्यसँग विभिन्न विषयमा वार्ता गर्नु ४). परिस्थितिको जानकारी प्राप्त गरी आफ्नो देशमा यसको सूचना र प्रतिवेदन पठाउनु ५). प्रेषक तथा ग्रहणकर्ता मुलुकका बीच आर्थिक साँस्कृतिक र वैज्ञानिक क्षेत्रमा मैत्रीपूर्ण सम्बन्ध स्थापना गर्नु जस्ता विषयहरुलाई कानुनी व्यवस्था गरेर नै कुटनीति सञ्चालन गरिरहेको पाइन्छ ।
त्यसै गरी नेपालको परराष्ट्र नीति सञ्चालनको अर्काे प्रमुख आधार असंलग्नता अन्र्तगत इन्डोनेसियाको वाङ्डुङ् सम्मेलनले पारित गरेको पञ्चशीलको सिद्धान्त हो । जसमा एकअर्काको स्वतन्त्रता, सार्वभौमिकता र क्षेत्रीय अखण्डताको सम्मान गर्नु, एकअर्काको आन्तरिक मामिलामा हस्तक्षेप नगर्नु, शान्तिपूर्ण सह—अस्तित्व, समानता र पारस्परिक लाभ, आनक्रमण जस्ता सैद्धान्तिक मान्यताहरु रहेका छन् । नेपालले भुगोल, जनसङ्रख्या र अर्थतन्त्रले शक्तिशाली दुई छिमेकी देशहरु चीन र भारत जसबाट नेपालको चारैतिरको सिमाना घेरिएको छ, उनीहरुसँग भने समदुरीको आधारमा परराष्ट्रनीति सञ्चालन गर्ने सैद्धान्तिक मान्यता अंगालेको छ । अन्य विश्वसमुदायसँग भने मैत्रीतापूर्ण सम्बन्धको आधारमा परराष्ट्रनीति सञ्चालन गर्ने मान्यता राखेको छ ।
तीब्रतमा देखिएको विश्व महाशक्तिहरुको बदलिँदो चरित्र, भुमण्डलीकृत विश्व बजार र संसारीकरण, बढ्दो अर्थराजनीतिक र सैन्य ध्रुवीकरण आदि जस्ता नयाँ परिवेश निर्माण हुँदै गइरहेको सन्दर्भमा नेपालको आर्थिक विकास र समृद्धिको लागि परराष्ट्रनीति सञ्चालनको मान्यताहरुमा पुनर्विचार गर्नुपर्ने बहसहरु पनि उठ्ने गरेको पाइन्छ । उसो त संवैधानिक र सैद्धान्तिक मान्यता बमोजिम नेपालले कुटनीतिक कुशलता प्रदर्शन गर्न नसकेको पो हो कि भन्ने विषय नउठेको पनि होइनन् । कुटनीतिक नियोगका पदाधिकारीहरको राजनीतिक भागबण्डाको आधारमा नियुक्ति, सरकार परिर्वनसँगै कार्यकाल पुरा नहुँदै राजदूतहरुको पनि परिर्वतन, भिन्नभिन्न राजनीतिक पार्टीको नेतृत्वको सरकार निर्माण भएसँगै मित्र राष्ट्र र अन्तराष्ट्रिय सम्बन्धको प्राथमिकतामा पनि भइरहने परिवर्तन, नेपालका लागि विदेशी महामहिमहरुको बेलाबेलामा भइरहने कुटनीतिक मर्यादा विपरितको गतिविधि, नेपाली पक्षकै पनि कुटनीति परिचालनमा देखिने पक्षधरताले कुटनीतिक असन्तुलन भयो भन्ने तर्कमा बल पुगिराखेको देखिन्छ ।
परराष्ट्र नीतिकै आधारमा वैदेशिक सम्बन्धहरु कायम गरिने र त्यो क्रममा थुप्रै दीर्घकालिन महत्वका सन्धी, सम्झौताहरु पनि गर्दै अगाडि बढ्नुपर्ने राज्य सञ्चालनको प्रक्रियामा प्रजातन्त्र स्थापना भएपछिका जति पनि ठुला द्वीपक्षिय सम्झौताहरु भएका छन् त्यसमा राष्ट्रिय एकता कायम हुन सकेको पाइदैन । जनमनोविज्ञान एकातिर, सम्झौता अर्कातिर र परिणाम अन्त्यैतिर हुने शृङ्खलाले निरन्तरता पाइराख्दाखेरी पनि कुटनीति परिचालनमा समस्याहरु आइरहेका छन् । सरकारले प्राथमिकता निर्धारण पनि सही ढङ्गबाट गर्न नसक्ने, शक्ति सन्तुलन पनि मिलाउन नसक्ने र कुटनीतिक कुशलता पनि प्रदर्शन गर्न नसक्नाले हामीले विश्व समुदायको विश्वास गुमाउँदै गइरहेका छौं । गण्डक सम्झौता, कोशी सम्झौता, टनकपुर सम्झौता, महाकाली सम्झौता, विप्पा सम्झौता र पछिल्लो समयको एम.सी.सी सम्झौता र बिआरआईसम्म आउँदा घरेलु राजनीति नै विखण्डित बन्ने, पार्टीहरु विभाजित हुने, पक्ष र विपक्षमा परराष्ट्र मामलाका जानकार र विज्ञहरु पनि विभाजित बन्ने प्रक्रिया चलिराखेको छ । यस्तो दीर्घकालीन महत्वका विषयहरुमा राष्ट्रिय सहमति बन्न नसकेपछि कि स्थगित गर्ने कि जनताको प्रत्यक्ष जनमतद्वारा निकास खाज्ने विधि पनि सरकारले अपनाउन नसक्ने र दबाबको बीचमा निर्णय लिँदाको परिणाम देश र जनताले भोग्नुपर्ने तर अपन्वत्वको महसुस सबैले गर्न नसक्ने इतिहास दोहोरिरहने परिपाटीले देशकै कुटनीतिक ह्रास भइरहेको छ ।
१९६२ को भारत—चीन युद्धमा नेपालले खेलेको तटस्थताको भूमिका, संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा नेपालले खेलिरहेको भुमिकालाई प्रसंशायोग्य मानिने गरिन्छ तर असंलग्न परराष्ट्र नीतिको मान्यतामा अघि बढीरहेको नेपालले आफ्नै नागरिकहरु भने बेलायती र भारतीय सेनामा भर्ती भई तेस्रो मुलुकको विरुद्धमा लडिरहेको तितो सत्य टुलुटुलु हेरिरहनु परेको छ । किनकि नोबेम्बर ९, १९४७ मा भएको नेपाल, भारत र बेलायतबीचको त्रीपक्षिय सम्झौतामा नेपाल बाँधिएको छ । यसको पुनरावलोकनको लागि नेपालले कुटनीतिक पहल गर्ने सामथ्र्य राख्न सकेको देखिदैन । अहिले कुनै सम्झौताबिना नै रसिया—युक्रेन युद्धमा समेत नेपाली युवाहरु गैर काुनुनी तबरले भाडाको सेनाको रुपमा प्रयोग भइरहँदा राज्यले आधिकारिक धारणा प्रष्ट पार्न सकिरहेको अवस्था छैन । २०७८ फागुन १५ मा संसदबाट पारित भई यही भाद्र १३ गतेबाट कार्यान्वयनमा गएको अमेरिकी परियोजना एम.सी.सी. सम्झौता विकास साझेदारी मात्र हो कि विकास सहितको रणनीतिक साझेदारी हो भन्ने विषयमा राज्य नै स्पष्ट हुन सकेको देखिदैन । यदि सम्झौताप्रति सरकार स्पष्ट हुन्थ्यो भने कि भौतिक पूर्वाधार निर्माणको लागि एक आर्थिक अनुदानको रुपमा सहर्स स्वीकार गर्नुपर्दथ्यो, यदी सामरिक रणनीतिक स्वार्थसहित आएको अनुदान हो भने अस्वीकार गर्न सक्नुपर्दथ्यो । तर १२ बँुदे ब्याख्यात्मक टिप्पणी संसदबाट पारित गरेर एम.सी.सी. सम्झौता गरिसकेपछि भने नेपाल सरकार नै यो एउटा सैन्य रणनीाितक उद्देश्यसहित आएको दबाबमुलक अनुदान हो कि भन्ने तर्कको नजिक भएको पुष्टि हुन पुग्दछ । र यसले झनै जनमनोविज्ञानमा ठूलो शंसय पैदा गरेको छ ।
नेपाल पक्ष राष्ट्र भएका अन्तराष्ट्रिय सन्धिहरु, नेपाल सदस्य भएका विश्व सङ्गठनका मूल्यमान्यताहरु, द्विपक्षीय या बहुक्षीय सम्झौताहरु, नेपालको संविधान र ऐन कानुनहरु, भौगोलिक अवस्थिति, नयाँ विश्व आर्थिक व्यवस्था, अन्तराष्ट्रिय सहयोग र सहकार्य आदि नेपालको परराष्ट्र नीति सञ्चालनका स्रोतहरु हुन् । विश्व शान्तिको मान्यताका आधारमा नेपालको राष्ट्रिय हित र प्रतिष्ठालाई केन्द्रमा राखेर राष्ट्रिय सुरक्षा, स्थायित्व र राष्ट्रको स्वतन्त्र व्यक्तित्वको पहिचान कायम राख्दै विश्वसमुदायसँग सुमधुर र मैत्रीपूर्ण सम्बन्ध निर्माण र विस्तार गर्ने उद्देश्य नेपालको परराष्ट्रनीतिको रहेको देखिन्छ । यही उद्देश्यकै आधारमा कुटनीति परिचालन गरिनु पर्दछ ।
अब नेपालले अमेरिका, चीन, बेलायत, भारत, रसिया जस्ता शक्ति राष्ट्रहरुलाई मात्र प्राथमितामा राखेर परराष्ट्र नीति र कुटनीति सञ्चालन गर्ने भन्दा पनि नेपाली नागरिकहरु धेरै ठूलो सङ्ख्यामा रोजगारिको सिलशीलामा पुगेको मध्यपूर्र्वी एसियन खाडि मुलुकहरुसँग पनि सुमधुर र कुशल कुटनीतिक सहकार्यको जरुरी बनेको छ । र नेपालले आफ्नो नागरिकको हित संरक्षणको लागि पनि यी मुलुकहरुलाई कुटनीतिक प्राथमिकताको महत्वपूर्ण सूचिमा राख्नुपर्ने आवश्यकता देखिन्छ ।
दोस्रो विश्व युद्धको समाप्तिपछि विश्वसमुदाय शीतयुद्धको क्रममा दुई धारमा विभाजित बनेको अवस्थामा पनि नेपाल कुनै पनि सैन्य गुटमा सामेल नभई गुट निरपेक्षता र असंलग्नताको पक्षमा उभियो । स्वतन्त्र र सन्तुलित अन्तराष्ट्रिय सम्बन्धलाई आत्मसाथ गर्दै विभिन्न सकार र नकार अनुभवसहित नेपाल वर्तमानमा उभिएको छ र राजनीतिक हिसाबले आजसम्म कसैको पराधीन बन्न परेको छैन । विश्व शक्तिराष्ट्रहरु कमजोर मुलुकहरुलाई आफ्नो प्रभावमा पारि अनुकुलतामा प्रयोग गर्ने चाहाना त राख्छन्, तर हामीले नै आफ्नो स्वतन्त्र अस्तित्व र सार्वभौमिकतालाई संरक्षण गर्नेगरी कुटनीतिक कुशलता प्रदर्शन गर्नसक्नुपर्दछ ।
नेपालको गरिबी, बेरोजगारी, अल्पविकास, राजनीतिक अस्थिरता जस्ता आफ्ना आन्तरिक समस्याहरु प्रशस्त छन् र यसैमा विश्व शक्तिको रुपमा उदाउँदै गरेको चीन र ठूलो जनसङ्ख्या र भूगोलसहित आर्थिक उन्नती गरिरहेको भारतको बीचमा नेपाल रहनु, नेपालका दुई छिमेकीहरु एकअर्काको प्रतिस्पर्धीका रुपमा देखिनु, यहाँको भू—राजनीतिको कारण विश्वको पहिलो अर्थतन्त्र र बलियो सैन्य शक्ति भएको मुलक अमेरिका लगायतको पश्चिमाहरुको प्राथमिकता पनि यही क्षेत्रमा पर्नुले नेपाल सामरिक दृष्टिकोणबाट संवेदनशील भूगोलमा अवस्थित रहेको स्पष्ट छ । यो अवस्थामा राज्यको स्वतन्त्र व्यक्तित्वमाथि नै आँच आउने गरी कसैको पोल्टामा फस्नेगरी पक्षधरता देखाउनु वस्तुवादी र फलदायी हुन सक्दैन । अन्तराष्ट्रिय मञ्चमा राज्यले प्रतिनित्वि गर्दा विवादित विषयमा फस्ने भन्दा पनि विश्व शक्ति सन्तुलन र राष्ट्रिय स्वार्थलाई ध्यानमा राखेर मत प्रकट गर्नुपर्दछ । सन् २०१४ मा रुस—क्राइमिया विषयमा संयुक्त राष्ट्रसंघको महासभामा अनुपस्थित भएर कसैको पक्षधरता नदेखाएको नेपालले वर्तमान रसिया—युक्रेन युद्धको सन्दर्भमा छिमेकी मुलुकहरु चीन र भारत संयुक्त राष्ट्रसंघको महासभामा मतदान प्रक्रियामा अनुपस्थित रहँदा समेत युक्रेनको पक्षमा मतदान ग¥यो । कुटनीतिमा यसको दीर्घकालीन प्रभाव अवश्य देखिनेछ ।
वर्तमान विश्व व्यवस्था फेरि नयाँ शीतयुद्धको दिशातर्फ अग्रसर भइरहेको सन्दर्भमा, नयाँनयाँ आर्थिक र सैन्य ध्रुवीकरणहरु निर्माण हुने प्रक्रिया चलिरहेको परिवेशमा, विश्वको आर्थिक र सैन्य केन्द्र विस्तारै अमेरिका र युरोपबाट एसियातिर सर्दै गरेको परिप्रेक्ष्यमा विभिन्न सैन्य गुटको तानातानमा पर्ने र कसै न कसैको पक्षधरता नेपालले लिने स्थिति बन्यो भने युक्रेन, अफगानिस्तान भन्दा हामी धेरै टाढा हुने छैनौं । जुन दिन स्वतन्त्र राष्ट्रिय पहिचानको सङ्कट नेपालीले सामना गर्नुपर्नेछ र आजसम्म लड्नुनपरेको भौगोलिक स्वाधीनताको लडाईँ वर्षौंसम्म लड्नुपर्नेछ ।
तसर्थ, अन्तराष्ट्रिय मामिला र कुटनीतिक परिचालनमा राष्ट्रिय मतैक्यता कायम गर्दै असंलग्नता, पञ्चशीलको सिद्धान्त, विश्वशान्तिको मान्यता, संयुक्त राष्ट्रसंघको बडापत्र आदि मूल्यहरुको बोध गर्दै स्वतन्त्र र सन्तुलित कुटनीतिमार्फत असल कुटनीतिक कौशलता प्रस्तुत गरेर राष्ट्रिय स्वार्थको अधिकतम हित हुने गरी अन्तराष्ट्रिय जगतमा सहकार्य र सम्बन्ध विस्तार गर्दा नै नेपालको भलो हुनेछ । परराष्ट्र नीति र कुटनीति सञ्चालनमा राष्ट्रिय एकता, सहमति, सापेक्षित स्थायित्व र अविच्छिन्नता भने नेपालले अपनाउनु जरुरी छ ।

काजी गुरुङ —९८५६०७१९२१ (पोखरा), केन्द्रीय प्रतिनिधि सदस्य, नेपाल कम्युनिष्ट पार्टी ।

 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।