१० पुष २०८१, बुधबार

कम्युनिस्ट र देशभक्तले देशको रक्षा गर्नुपर्दछ

0

                 विप्लव सी

 

यो गोष्ठिमा नेपाली सेनाका पूर्व जनरलहरू, झापा विद्रोहका नायकहरू, प्राध्यापक, विभाजित माओवादीहरू, पाका नेताहरू सबै छौं । त्यसैले यो सभाकक्षमा सिङ्गो नेपालको प्रतिनिधित्व छ । संसारका सबै आधुनिक हतियार चिनेका–खेलाएका हामी र जनरल सापहरू हुनुहुन्छ (जनरल र हलमा ताली बज्दै थियो) । यहाँ देशद्रोही कपुतहरूको जमघट छैन । विदेशी मालिकहरू समक्ष दुई–चार पैसाको लागि नाक रगड्नेहरू छैनन् । साम्राज्यवादीहरू हाम्रो देशलाई कब्जा गर्न आउँदा मिल्नसक्ने देशभक्तहरू छौं । यसलाई ठीक ढङ्गले लैजान सकियो भने नयाँ मोर्चा खुल्दछ । देशभक्त शक्ति र कम्युनिस्ट शक्तिहरू सहकार्य नगरी साम्राज्यवादी हस्तक्षेप भएको देशमा क्रान्ति सम्भव छैन । कम्युनिस्टसँग सहकार्य नगरी देशभक्तहरूले एक्लै देशको रक्षा गर्न सक्दैनन् । देशभक्त र कम्युनिस्टहरू विपरीत तत्व होइनन्, सजातीय तत्व हुन् ।
हामीले चीनको इतिहास हेर्दा च्याङ काइ–शेकसँग ४० लाख सेना थियो । देशभक्त सेनाले विद्रोह गर्दै लालसेनामा लामबद्ध हुँदै गएपछि चीन स्वतन्त्र भएको हो । नेपालमा त्यसो गर्न सकिन्न ? कम्बोडियामा राजा र कम्युनिस्ट मिलेर अमेरिकी हस्तक्षेपको विरुद्ध लडेका थिए । नेपालमा त्यसो गर्न सकिन्न ? नेपालमा त्यसप्रकारको वातावरण बन्दैछ ।


अमेरिकी परियोजना एमसीसी २१औं शताब्दीको नवऔपनिवेशिक रणनीति हो । यो आर्थिक परियोजना होइन । एमसीसी फौजी मोर्चा पनि हो । यो अन्तर्राष्ट्रिय मोर्चा पनि हो । एमसीसी परियोजनामार्फत नेपाललाई सैन्य गठबन्धनमा धकेल्ने षड्यन्त्र भइरहेको छ । नेपालको परम्परागत असंलग्न परराष्ट्र नीति परित्याग गरिएको छ । र, देशभक्तहरूमाथि चौतर्फी आक्रमण भइरहेको छ । गत निर्वाचनमा त्यसको अभ्यास गरे । त्यसमा उनीहरू सफल पनि भए । तर आज विश्व अमेरिकी एक ध्रुवमा छैन । हामी विभाजित भएर होइन, नेपाली भएर हेर्नु पर्दछ ।
हाम्रो पार्टीको साउन २८–३१ गतेबिच सम्पन्न केन्द्रीय समितिको बैठकले राजनीतिक अन्तरविरोध बदलिएको र अब देशको दलाल पुँजीपति वर्ग र संयुक्त राज्य अमेरिका एउटै भएर आएको छ भन्ने विश्लेषण गरेका थियौं । दलाल र उसका मालिकसँग पनि एकसाथ लड्नुपर्छ । नेपालमाथि भारतले पनि धेरै अत्याचार गरेकै छ । तर अमेरिका अगाडि आएको छ । साम्राज्यवादले जनताले जितेको, जनता समृद्ध भएको हेर्न पनि चाहन्न । तर अफगानिस्तानबाट भाग्नु प¥यो । क्युवाले अमेरिकाको नाकैमुनी स्वतन्त्रताको झण्डा फहराएको छ । दलालहरूले भने साम्राज्यवादलाई बोलाउँछन् । जयप्रकाश मल्लले कोलकता गएर अङ्ग्रेजलाई बोलाएका थिए । सिक्किमको लेण्डुप दोर्जेले भारतलाई बोलाएको थियो । काठमाडौंको जयप्रकाश मल्ल र सिक्किमको लेण्डुप दोर्जे आज नयाँ रूपमा आएका छन् । भारतमा राजाहरूले अङ्ग्रेजसँग र चीनमा च्याङ काइ–शेकले जापानसँग पैसा र कुर्सीको लागि सम्झौता गरेका थिए । तिनीहरू त्यहाँ सधैं बस्न सकेनन् । अमेरिका दिन होइन, लिन आएको हो । सहयोग गर्न होइन, कब्जा गर्न आएको हो । भारतमा मुगल सम्राटसँग अङ्ग्रेजले व्यापार गर्न सानो कोठी र अनुमति देऊ भन्यो । सम्राट औरङ्गजेबले पैसाको लोभमा अङ्ग्रेजको व्यापारिक कम्पनी ‘ईष्ट इण्डिया कम्पनी’लाई अनुमति दियो । आफ्नै दलाललाई कालान्तरमा अङ्ग्रेजले कसरी समाप्त पा¥यो ! नेपालमा नयाँ रूपमा पुरानै इतिहास दोहरिंदैछ । नेपाली सेना थोरै भएपनि माओवादी सेना मिसिएर बनेको सेना हो । नेपाली सेनालाई पनि स्थितिको गाम्भिर्यता र जटिलताबोध गराउनु पर्दछ ।
चीनमा च्याङ काइ–शेकले शाङ्घाई सहर जापानलाई सुम्पेको थियो । तर जनताले मानेनन्, फिर्ता लिए । नेपालको संसदलाई देश बेच्ने अधिकार छैन । प्रचण्ड नेतृत्वको सरकार र अमेरिकाले बुझे हुन्छ– देश बेच्ने अधिकार उनीहरूलाई छैन ।
हिजोमात्र म सिन्धुलीगढी अवलोकन गरेर आएँ । सन् १८१६मा अङ्ग्रेजले नेपालसँग लड्दा हारेर भाग्दा छोडेका नेपालमा प्रयोग नहुने नौला हतियार दनुवार समुदायले सङ्ग्रहालयलाई उपहार दिएछन् । दुई सय वर्षसम्म सुरक्षित हतियार जनताले राज्यलाई प्रदान गरे । सिन्धुलीगढी वरपरको दृश्य पनि उस्तै मनोहर रहेछ । समुन्द्रपारिबाट हाम्रो देश लुट्न आउने डाँका–लुटेरालाई वंशराज पाण्डेको तरवार उठाउने देश पनि हो नेपाल । त्यही प्रवृत्तिले जनयुद्धमा धेरैलाई धुलो चटाएको हो । नेपाली सेनाले जनताप्रति उदारता देखाएको भएर पनि जनयुद्धले विकास गरेको हो । देशभक्तहरू सेना, प्रहरी, कर्मचारी, पार्टीहरू, सरकार सबैतिर छन् । त्यसैले एमसीसीको प्रतिवाद हुन्छ । नयाँ स्तरमा छलफल गर्न सकिन्छ । हेपेर, मिचेर लागू गर्न खोजियो भने स्वीकार्य छैन । देशको रक्षाको कुरा गर्दा युद्धको, हिंसाको कुरा गरेर भड्काउन खोजिन्छ । तर यद्ध, अशान्ति हाम्रो कारणले होइन, साम्राज्यवादले दबाउन खोज्यो भने हुन्छ । ब्वाँसोको अगाडि रोएर रक्षा हुँदैन ।
नेपाली जनता होइन, अमेरिका युद्धवादी देश हो । अमेरिकाका दलालहरू युद्धवादी हुन् । एमसीसीको विरुद्ध हुने प्रतिवाद शान्तिको सुन्दर गीत हो । आमाको काखमा बसेका छोराछोरीले कहिल्यै हार्दैनन् । कमाण्डरले भनेको वा अपेक्षा गरेको कुरामा हामी तयार छौं (अवकाशप्राप्त जनरल प्रेम बस्नेत र पूर्व सुरक्षाकर्मी परिषदका प्रवक्ता हेमशंकर गिरीले देशरक्षाको आन्दोलनको नेतृत्व गर्न अनुरोध गरेका थिए, त्यसप्रति विप्लवको सङ्केत थियो – सं.) । दलालहरूले हामीले जसरी सार्वजनिक स्थलमा आएर एमसीसी परियोजना देशको हितमा छ भन्न सक्छन् ? लुकेर, छलेर देश बेच्नेहरू जनताबाट डराउँछन् । एमसीसीको पक्षमा देशको कुनै भागमा जनताले माग गरेको छ ? त्यसैले हामीले उच्च मनोबलसहित प्रतिरोध गर्नपर्छ ।

स्राेत: जनपत्रिका पाचौं अङ्कमा प्रकाशित


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।