८ पुष २०८१, सोमबार

सम्झनामा कमरेड शारदा श्रेष्ठ ‘ऋतु’

0

        नारायण शर्मा ‘विपिन’

 

कसैकसैको जीवन धेरै लोभलाग्दो हुन्छ । फलानोको जस्तो जिन्दगी बाँच्ने भनेर मान्छेहरूलाई चाख लागेकै हुन्छ । आफ्नो कर्मले जीवनको रेखा कोर्नेहरूको संघर्षका कथाहरू अरुहरूका लागि प्रेरणाको स्रोत बन्दछ । जीवनपछि पनि फलानोको जस्तो भनेर मृत्युले समेत मार्न नसक्ने जिन्दगी भने कमै मात्र मान्छेको हुन्छ । आफ्नो जीवन र मृत्यु दुवैले समाजलाई प्रभावित पार्न सक्नु नै सार्थक जीवन बाँच्नु हो । आफ्ना आफन्तहरू पनि मृत्युपछि याद नराखिने समाजमा मृत्युको धेरैपछी पनि चर्चामा आइरहनु, अरुको सम्झनामा बसिरहनु त्यस्तो जीवन बाँच्नु पो बाँच्नु हो त । आफ्नो मृत्युपछि पनि जनजनको मनमा बाँची रहेको एउटा नाम हो शारदा श्रेष्ठ सहिद कमरेड शारदा श्रेष्ठ ‘ऋतु’ ।
२०६३ सालको भदौ महिनामा म प्रवासबाट स्थानान्तरण भएर चितवन आइपुगेको थिएँ । गणतान्त्रिक अभियान चलिरहेको थियो । म अभियानमा जोडिएँ । पश्चिम चितवनका गाउँ–बस्ती जता पनि शारदासहित कैयौं सहिदहरूको चर्चा आम जनता समेतले गर्दथे । ज्यादै आदर र प्रेमका साथ मान्छेहरू शारदालाई सम्झन्थे । कसैले उँहाको बोलिचाली र व्यवहारको कुरा गर्दथे । कसैले गीत र नाचको तारिफ गर्दथे । कोहि उहाँको भाषणको फ्याननै थिए, एक कुशल सङ्गठक र गतिशील नेताको रुपमा सहकर्मीहरूले शारदालाई सम्झन्थे ।
शारदालाई सम्झने थुप्रै मान्छे छन् । ती मध्ये केही मान्छेहरूको स्मृतिको आँखिझ्यालबाट उहाँको जीवनको एउटा टुक्रालाई चिनाउने कोशिश गर्दैछु ।
आँखैमा राख्छु मेरो देश
मुटुमा राख्छु मेरो देश
परेलीमा सजाउँछु मेरो देश
गुराँस फुल्ने पाखामा छ यो देशको छायाँ
छायाँ भित्र लुकेको छ यो देशको मायाँ

                  सहिद शारदा श्रेष्ठ

जनताका बिचमा देशको गीत गाउँदै शारदा नाचेपछि मान्छेहरू मन्त्रमुग्ध हुन्थे । उहाँको राजनीतिक जीवन नै कला क्षेत्रबाट शुरुभएको थियो । खुशिराम पाख्रिनको प्रशिक्षणमा शारदाले शान्ति लामा र कल्पना पौडेलसँग मिलेर २०४७मा पहिलो प्रस्तुति दिनुभयो ‘झलमल तारा र जुन ल्याउन प¥यो सुनौलो त्यो दिन’ । चितवन, गोर्खा, धादिङलगायत सीमानाका जिल्ला हुँदै शारदाको कलाकर्म देशै भरी फैलिँदै थियो । २०४८मा पहिलो पटक अपेरा खेलेर दर्शकलाई रुवाएको शारदाको कलाकर्म कृष्ण सेन ‘इच्छुक’, खुशिराम पाख्रिन, विणा शर्मासहित मेची खोला तरेर टिष्टा पारी बाग्राकोट, मालबजार, लुकसान, बिरपाडासहित दार्जालिङ र डुवर्सका भारतीय नेपाली बहुल जनतासम्म फैलियो । सगरमाथाको क्रान्तिका गाथा हिन्द महासगरको तटसम्मै विस्तार गर्नु भयो ।
शारदाको व्यक्तित्व राजनीतिबाट कला साहित्य अलग गर्दा अपुरो र कला साहित्यबाट राजनीति अलग गर्दा अधुरो रहन्छ । साहित्यकार पूर्णबहादुर अधिकारीले शारदाको सम्झनामा लेख्नु भएको छ, “उनी नाच्न र गाउनमात्रै सिपालु थिइनन्, चेतनाहिनताको अँध्यारोमा रुमल्लिइरहेका जनताका चेतनाका आँखा खोल्न उनका सुमधुर गीत वक्तव्य र कुराकानि पनि उत्तिकै प्रभावकारी हुन्थे ।” (स्रष्टा, चैत २०६८)
प्रगतिवादी कला साहित्यको विस्तार र विकास भीषण संघर्षका बिचबाट भएको छ । जनताको पक्षमा लेख्ने, गाउनेहरू सधैं सत्ताको निशानामा रहिरहे । विभिन्न डर, धम्की र प्रलोभनमा पारी सत्ताको कित्तामा उभ्याउने, कित्ता फेर्न नसके सास फेर्न बन्देज लगाउने शासकहरूको पुरानै रवैया हो । शारदाले यो रवैयाको डटेर प्रतिवाद गर्नुभयो । आफूलाई दह्रो गरी जनताको कित्तामा उभ्याइ राख्नुभयो । जीवनको भिख मागेको भए शायद उहाँको ज्यान बँच्थ्यो होला !
आत्मसमर्पण गरेको भए शायद उहाँ बाँच्नु हुन्थ्योहोला । आत्मसमर्पण गर्न शारदा श्रेष्ठको स्वाभिमानले दिएन । अन्त्यमा बलात्कारपछि हत्या भएको आशंका गरिन्छ । उहाँको लाससमेत बेपत्ता पारियो । (पोषराज पौडेल, स्रष्टा, अंक ६)
भरतपुर जेलमा पति पोषराज र बुहारी शारदा पौडेललाई भेट्न माडीबाट आउँदा “आमा, मान्छेको ज्यान त ज्याद्रो पो हुँदो रैछ, जति पिटे पनि सजिलै नमर्ने है !” यशोदा पौडेलको कानमा अहिलेपनी बजिरहेकै छ ।
शारदा श्रेष्ठ आफैँले लेखेका गीत र कविता वा अन्य कुनै लेख–रचनाहरू फेला पार्न सकिन । तर श्रष्टा रविकिरण निर्जीवले शारदालाई “गीतकार, संगीतकार र गायिका यसै थिइन्, यसबाहेक उनी एउटी कवियत्री र नर्तकी पनि थिइन्” भन्नुभएको छ । थुप्रै साँस्कृतिक कर्मिहरूले पार्टी निकटका साँस्कृतिक मोर्चामा सहकार्य मात्रै गरेनन्, सँगै जेल जीवन पनि बिताएका थिए । चितवनका प्रगतिवादी साहित्यकारहरूको साझा मञ्च साहित्य संगम चितवनको २०५५–५७ कार्यकालमा रविकिरण निर्जीव अध्यक्ष र शारदा कोषाध्यक्ष हुनुहुन्थ्यो ।
थुप्रै गीत अपेराहरू शारदाको प्रेरणाले लेखेको जनवादी कलाकार खुशिराम पाख्रिनले सगर्व उल्लेख गर्नु भएको छ । ‘गोरखाको विरंगना, क्रान्तिकी छोरी’ (अपेरा), ‘वेदनाले छटपटिएको रगतमा लतपतिएको, त्यो पारी गाउँमा कमरेडले वीरगति पाएको खबर सुन्दै छु’ (गीत), ‘प्यारो गोर्खा, आस्थाको दियो’ (कविता)लगायतका सिर्जनाहरू पाख्रिनले शारदाकै सल्लाह अनुसार लेख्नुभएको थियो । जनताको बिचमा रहेर राजनीतिक सङ्गठन र साँस्कृतिककर्मीका रुपमा शारदा उत्तिकै कृयाशिल हुनुहुन्थ्यो । जनताको संस्कृति निर्माणका लागि कम्युनिस्ट राजनीति र राजनीतिलाई जनतासँग जोड्न जनसाँस्कृतिक अभियान जरुरी छ भनेर शारदाको गहिरो बुझाइ थियो । उहाँको राजनीतिक जीवनको शुरुआत साँस्कृतिक कार्यक्रमबाटै भएको थियो ।
शारदाहरूले सिकाएर छोडेको त्यही लय समाएर एकता समाजको ब्यानरमा भारतका कुनाकाप्चासम्म हामीले जनवादी गीत र संगीतको माध्यमबाट किसान, मजदुर र उत्पीडित जनतालाई आफ्नो स्वाभिमानका साथ जिउन जागरण अभियानहरू सञ्चालन ग¥यौं । देशभित्र साँस्कृतिक सहिदहरूको नाममा थुप्रै साँस्कृतिक टोली र परिवारहरू निर्माण भए । सहिद शिव श्रेष्ठ र शारदा श्रेष्ठको स्मृतिमा शिव–शारदा साँस्कृतिक परिवार कृयाशिल थियो । शारदाकै नामबाट चितवनमा शारदा स्मृति प्रतिष्ठान (२०६७) गठन भएर कृयाशिल छ । भरतपुरको कैलाशनगरमा चितवनका सहिदहरूको स्मरणमा स्मृति केन्द्र निर्माण गर्ने गरी जग्गा किनिएको थियो । माओवादी पार्टीभित्रको अन्तरसंघर्ष, टुटफुट र एकहदसम्मको उदासिनताले गर्दा समर–ऋतु स्मृति केन्द्र निर्माण हुन सकेन । समर–ऋतु स्मृति केन्द्रको नामाकरण चितवनका सहिदहरू केशव रिमाल (समर) र शारदा श्रेष्ठ (ऋतु)को साङ्केतिक नामबाट गरिएको थियो । सहिदहरूको आदर्शीकरणका लागि चितवनसहित देशैभरी केही न केही कामहरू भएका छन् । तर बिडम्बना जुन उद्देश्यका खातिर बलिदान भयो, आज ती उद्देश्यहरू अलपत्र छन् । कोहि बलिदानको भ¥याङ चडेर शासक भए, कोहि त्यही रगतले लतपतिएको झण्डा उठाएर अघि बढ्न खोज्दैछन् ।
जस्तै जटिलतालाई पनि शारदा सहजताका साथ लिनुहुन्थ्यो । २०५७ तिर लमजुङको एउटा प्रशिक्षण कार्यक्रममा जाँदा पथ–प्रदर्शकले बाटो बिर्सिए । माडीको जंगलमा बाटो बिराएर रातभरि हिडँदा शरीरभरि जुकैजुका थिए । शारदासँग सहकार्यका विगत स्मरण गर्दै तत्कालीन अभियान साँस्कृतिक परिवार, गोर्खाकी संयोजक जनकलाकार सुशीला थापा भन्नुहुन्छ, “एक–डेढसय जुका थिए होलान् जिउभरी ! त्यो जुका देखेर हामीले भात पनि खान सकेनौं । तर शारदाजीले त्यसलाई सहज रुपले लिनुभयो । जुकाले टोकेको ठाउँबाट रक्तश्राव बन्द नभएर एन्टिबायोटिक नै चलाउन प¥यो । धन्न स्वास्थ्य विभागका साथीहरू पनि हुनुहुन्थ्यो र ! नत्र धेरै गाह्रो हुने थियो । तर शारदाजीले यसरी प्रतिक्रिया गर्नुभयो मानौ केही भएकै छैन । यसरी दुःख खप्न कमैमात्र मान्छेले सक्छन् । लम्जुङगको माडी जंगलमा एघार दिनसम्म हामीलाई प्रशिक्षण दिनु भएको हो । मुख्य प्रशिक्षक नै शारदाजी हुनुहुन्थ्यो । एकदमै सजिलो गरी नृत्य सिकाउनु भयो । गोर्खा र लमजुङको संयुक्त प्रशिक्षण थियो । थोरै सहकार्यमा पनि धेरै प्रभाव पार्नु भयो ।”
२०५८मा चितवनका केही कलाकारसहित गोर्खाका कलाकारहरूले करिब पाँच हजार मान्छेहरूका माझ लमजुङ तीनपिप्लेको साइँलीटारमा लमजुङ जिल्ला जनसरकार घोषणामा साँस्कृतिक प्रस्तुति दिए, जसको संयोजन शारदाले गर्नुभएको थियो । जिल्ला जनसरकार घोषणा कार्यक्रममा साँस्कृतिक प्रस्तुतिका लागि चार दिने प्रशिक्षण थियो । त्यही कार्यक्रमबाट लमजुङ जिल्ला जनसरकार प्रमुखमा पूर्णबहादुर तमु र उपप्रमुखमा कौशिला तमु निर्वाचित भएका थिए ।
पश्चिम चितवनमा एकदिन शारदा र अनन्त (अशोक लम्साल र अनुकूल) नहरको बाटैबाटो पार्वतीपुरबाट शुक्रनगरतर्फ जाँदै हुनुहुन्थ्यो । एक सयभन्दा बढी शाही सेना त्यही बाटो विपरीत दिशाबाट आँउदै रहेछन् । उहाँहरूका साथमा केही दस्तावेज र छोटा हतियार थिए । “शारदालाई त भागौं झैं लागेको थियो । तर मैले त्यसो गर्नु आत्मघाती हुनसक्छ, बरु साइकलबाट नओर्ली सिधै जाऔं भनें । हामी छुट्टा–छुट्टै साइकलमा थियौं । नहरको साँघुरो पगडण्डीमा सल्लाह गर्दै अघि बढिरहनु पनि गाह्रो थियो, रोकिनु झन मुर्खता हुन्थ्यो । सेनाले हामीलाई केरकार गर्न थाल्यो । हामीले सहजरुपले शुक्रनगर मामा घर जान लागेको भनेर भन्यौँ । झोलामा फलफूल कोसेली छ भनेपछि चेक गरेनन् । गजबको अनुशासन र सुझबुझ थियो, शारदामा” अशोक लम्साल बिगत सम्झनुहुन्छ । नगरक्षेत्र बाहेक पश्चिम चितवन र माडीसमेतको यौटा इलाका थियो । जसमा अशोक लम्साल, शारदा श्रेष्ठ, कमल सुयँल ‘सङ्गीन’, शोभा कट्टेल, कञ्चन खनाल, गुणराज लोहनी, इश्वरी खनाल प्रतीक, डम्बर गुरुङ लेकाली, सम्झना श्रेष्ठ शान्तिलगायतका सदस्यहरू कार्यरत थिए । अरु साथीहरूले बास नपाएर जंगलमा बास बस्नुपर्दा पनि शारदा र आफूले जनताको घरमै बास बसेको कुरा अहिले अनन्त आफैलाई रोचक लाग्छ ।
शारदाकै प्रभाव र प्रेरणाले भरतपुरका कैयन युवाहरू माओवादीप्रति आकर्षित भएका थिए ।
लङ्कुका दीपक गौतम तिनीहरूमध्ये एक हुन् । युवाहरूको धेरै राम्रो टोली थियो । ज्ञानु खरेल, मीनबहादुर कुँवर अनिशहरूले सहादत प्राप्त गरे । सुधीर सापकोटा शारदासँगै गिरफ्तार परेर लामो सैन्य हिरासत र जेल व्योहोरे । सुधीरका बारेमा शोभा कट्टेलहरूसँग भरतपुर व्यारेकमा शारदाले भन्नुभएको थियो, “यो सुधीर भाइले मलाई साइकलमा राखेर हिँडाएको कारण मैले जत्तिकै यातना भोगेको छ । पारिवारिक रुपमा समेत दुःख नभोगेको यो सानो मान्छे स्पात बनेर उदायो ।” शोभा कट्टेललाई शारदा र अम्बिका जीवित रहुञ्जेल आफू मारिए पनि आफ्नो छोरा टुहुरो हुँदैन भन्ने लाग्थ्यो । वर्गीय माया र विश्वासकै भरमा उनीहरू जोखिम पनि सहजै रुपमा पचाइरहेका थिए ।
सङ्कटकाल लागेको थियो । पेजरको जमाना थियो । फोन गरेर सन्देश टिपाएपछि लिखित सन्देश पेजरमा आँउथ्यो । दीपकसँग पार्टीकै एउटा मोटरसाइकल थियो । शारदाले कतै जानुपर्ने भयो । मोटरसाइकल लिन सुधीर आउँदै थिए । शारदासँग पेजर थियो । सुधीर आउन ढिला भएपछि दिपकले शारदालाई पेजर गरे । एकैछिनमा फोन आयो । फोन पर्खेर बसेका दीपकले फोन उठाएर एकैचोटि दिदी भने । उताबाट नचिनेको मान्छे बोल्यो, “शारदाजीले मलाई पठाउनु भएको हो । तपाईं घरमै बस्नोस, म आउँदै छु ।” त्यो क्षेत्रमा भएका शारदाका साथीहरू दीपकले नचिन्ने कुरा थिएन । उसले आफ्नो नाम पनि बताएन । मनमा शंका लागेपछि दीपक घरबाट केही पर मात्रै के पुगेका थिए, दुश्मनले घर घेरा हालिहाल्यो । शारदा र सुधीर गिरफ्तार परिसक्नु भएको रहेछ । “दिदी अरु नेतृत्व जस्तो पर बसेर हेर्न सक्नु हुन्नथ्यो । मोटरसाइकल लिन सुधीरलाई मात्रै पठाएको भए पनि शायद दुर्घटना घट्ने थिएन कि ! सबै काममा आफू संलग्न हुने स्वभावले गिरफ्तार पर्नु भयो” घरको भित्तामा झुन्डिएको शारदाको तस्विर हेर्दै दीपकका आँखा रसाए । दीपक शारदाकै प्रेरणाले सङ्कटकालकै बिचमा एकीकृत जनप्रतिरोध अभियानमा रोल्पा–रुकुम पुगे । त्यहाँ पुगेर साङ्गठनिक र राजनीतिक काम त गरे नै, मान्छेलाई चर्पिमा दिसा गर्न पनि सिकाए । घरको भुइँ तलामा सुँगुर पाल्ने र माथिल्लो तलामा मान्छे बस्दथे । माथिबाटै दिसा गर्थे, तल सुंगुरले खान्थ्यो । राजनीतिसँगै सरसफाइ र स्वास्थ्य सचेतना अभियानमा जोडिएका दीपकहरूको टोलीले रोल्पा, रुकुम र डोल्पाका छ–सातवटा विद्यालयमा चर्पी पनि निर्माण ग¥यो ।
२०५७मा महिला सङ्गठनको कार्यक्रम लङ्कुमा थियो, दमन हुने निश्चितै थियो । शारदा दिदीसहित केही नेताहरू त्यहाँ नजाने भन्ने पार्टीको निर्णय थियो । तर दिदी भेषभुसा बदलेर जानुभएछ । निरञ्जन र मैले देखेर जनताको घरमा बाहिरबाट ढोकामा चुक्कुल लगाएर भित्र थुनिदियौं । त्यही कार्यक्रममा प्रहरीले गोली चलायो । कार्यक्रम स्थल नजिकैको घरमा गुवाहाटीतिरबाट पाहुना आएकी गौरी सापकोटा, रमा ढुङ्गाना, सरस्वती प्याकुरेल, ज्ञानु खरेललगायतलाई गोली लाग्यो । गौरी सहिद हुनुभयो । सिनेमाको रिल झैं दीपकको मनमा दृश्यहरू घुमिरहन्छन् ।

         सहिद शारदा श्रेष्ठ र श्रद्धेय जनकलाकार खुसीराम पाख्रिन

“शारदा छ कक्षामा पढ्दै गर्दा बुबाले जनकलाकार खुशिराम पाख्रिनको जिम्मा लगाइदिनुभयो । उनी साँस्कृतिक टोलीमा सक्रिय रहँदै पनि आफ्नो पढाईलाई निरन्तरता दिइन् । कक्षामा अब्बल थिइन् । निरन्तर अभियानमै हिंड्दा कक्षामा उनको उपस्थिति न्यून हुन्थ्यो, तर पनि राम्रै अङ्क ल्याएर उतिर्ण हुन्थिन् । परिवारकै अभिभावक जस्ती थिइन । उनी पार्टीको विभिन्न जिम्मेवारी बहन गर्दै क्षेत्रीय व्युरो सदस्य र चितवन जिल्ला इन्चार्जको भूमिकामा थिइन् । पटकपटक जेल र हिरासत परिन् । यातनाले उनलाई गलाउन सकेन, कान्छो भाइ राम र कान्छी बहिनी सम्झना ‘शान्ति’ पनि पार्टीको पूर्णकालीन सदस्य भइसकेका थिए । परिवार नै राज्यको आँखाको कसिङ्गर बनेको थियो । बुबालाई पनि कहिले प्रहरीले त कहिले सेनाले समाउने, सैन्य हिरासत र जेलको चक्र चलिरहेकै थियो । परिवार नै युद्धमा थियो । मुक्तिको उत्कट चाहनाले सत्ताको आतङ्कको भुमरीमा हामी बाँचिरहेका थियौं” शारदाका दाजु कृष्ण समयको मलमले खाटा बसाउन नसकेको घाउको पिडाले रन्थनिइरहेका थिए । एकदिन शाही सेना आएर संगिन तेर्साएर ‘तेरो बहिनीलाई अस्ति मान्यौं, अब आज तेरो पालो हिंड’ भन्यो । असारको महिना उनी रोपाइँको तयारी गर्दै थिए, खेतबाटै गिरफ्तार गरेर उनलाई घिसार्दै लगे । उनले आफ्नो गिरफ्तारीसँगै बहिनीको सहादतको खबर पाए, त्यही पनि दुश्मनको मुखबाट । उनी भित्रभित्रै रोए । मुटु फुटेर बाहिरै निस्कन्छ कि झैं भयो । शारदा परिवारका आफूभन्दा ठुलाहरूको पनि अभिभावक हुनुहुन्थ्यो । आमापछिको आमा झैं लाग्थ्यो कान्छी बहिनी सम्झना (शान्ति) लाई । शारदाको सहादतको खबर पाएपछि सम्झनाले आमाबुबालाई साहिली दिदी सावित्रीको घर लिएर गइन् । आमा अष्टमाया र बुबा नारायणलाई छोरीको सहादतको बारेमा थाहा थिएन । घरमा सम्हाल्न सक्दिन कि भनेर सम्झनाले दिदीको घर लिएर गएकी थिइन् । त्यहीं उनले आमाबुबासहित दिदी–भिनाजुलाई शारदाको सहादतको खबर सुनाइन् । शारदालाई खोज्न आउने सुरक्षाकर्मीले कैयौंपटक कन्चटमा बन्दुक तेर्साउँदा नडराएकी आमा अष्टमायालाई त्यो घटनाले भित्रैबाट कमजोर बनायो । रोग र छोरीको शोकले आमालाई गाल्दै लग्यो र असमयमै उहाँको निधन भयो । दिदी हुनु भएको भए शायद आज हाम्रो परिवार पूर्ण हुन्थ्यो होला, धागो चुुिडएर छरिएको माला जस्तै लाग्छ सम्झनालाई परिवार पनि ।
गाउँघर उज्यालो हुन्छ बिहानै उदाउने घामले संसारै उज्यालो हुन्छ जनताको महान् एकताले
झुप्रा–झुप्रा वस्तिवाट हातेमालो गर्दै
उठ्न थाले किसान मजदुर हातमा औजार बोक्दै …
२०४९मा प्रवेशिका परीक्षापछि फुलबारी मनकामना चोककी लिला थापा मगर आफ्नी दिदीलाई भेट्न माडी गएकी थिइन् । साँझ साँस्कृतिक कार्यक्रम हेर्न गएकी उनी आफ्नै साथी शारदाले नाचेको देखेर तीन छक्क परिन् । शारदा, लिला र धनकुमारी तीनजना असाध्यै मिल्ने साथी थिए । गट्टा खेल्नेदेखि मेलापात सबै मिलेर गर्दथे । लामो समयसम्म शारदा कार्यक्रममा जाँदा धनमाया र लिलाले छुटेको पढाईलाई जोड्दथे । “त्यत्रो दिन हराउँदा कहाँ जान्छे होला भनेको त त्यस्तो कार्यक्रममा पो जाँदिरैछे” अर्बुद्ध अस्पतालको जागिरे लिला थापा बिगत सम्झेर रोमाञ्चित हुन्छिन् र शारदा सम्झेर दुःखी । लिलाको परिवार कांग्रेस थियो, शारदा माओवादी । तर कहिल्यै पनि शारदाले लिलालाई पार्टीमा आउनु भन्नुभएन । मित्रतामा राजनीतिको कुनै रंग नपोती उनीहरू सप्तगण्डकी क्याम्पसमा भर्ना भएका थिए । पछि कुनै कारणले लिलाले सप्तगण्डकी कलेज छाडिन् । शारदाले त्यहीबाट प्रविणता प्रमाणपत्र तह उत्तीर्ण गरेर स्नातक तहमा भर्ना हुनुभयो, तर लगतै पूर्णकालीन बनेर पढाइ स्थगित भयो ।
“सानोमा हामी धेरै नै मिल्थ्यौं । यिनिहरू दुइटी भएपछि केही चाहिंदैन भन्थे” शारदालाई सम्झँदा साहिंली दिदी सावित्रीको आँखा टिलपिल थियो । एक डेढ वर्ष जेठी कान्छी दिदी–बहिनी साथी जस्तै थिए । सावित्रीलाई पनि बुबाले कलाकार बनाउन खोज्नु भएको थियो । पाख्रिन दाईले बाजागाजा लिएर उनीहरूको घरमै पूर्वाभ्यास गराउन पनि थाल्नु भएको थियो । तर दुबै जना हिड्दा घरको काममा अप्ठ्यारो पर्ने हुँदा सावित्री दिदीको कला यात्रा शुरु नहुँदै रोकियो । चलचित्र हेर्न मन लाग्थ्यो, बुबाले जान दिनु हुन्नथ्यो । पाख्रिन भाउजूलाई पनि चलचित्र हेर्न मन लागे हामीलाई बोलाउनु हुन्थ्यो । “तिमीहरू आओ न तिमेरु आएपछि दाईले रोक्दैनन् क्या” भाउजुले बोलाउनु हुन्थ्यो । “हामी धेरै चोटि शारदानगर हलमा गएर चलचित्र हेरेका छौं” झल्झल्ती सम्झना ताजै छ सावित्री दिदीको दिमागमा । शारदाको आँखा शल्यक्रिया गरेर पट्टी बांधिएको थियो, अस्पतालबाट निस्कने बित्तिकै दिदी–बहिनी साइकल चढेर नारायणगढ गएर चलचित्र हेरेको सिनेमाको दृश्य जस्तै आँखामा घुमिरहन्छ । शारदा र अम्बिका भएर उनीहरू घर सर्ने बेलामा घर सरसफाइ गर्नेदेखि सामान ओसार्ने, मिलाउने सबै गरेका थिए । शारदा, राम र सम्झना गरी उनका तीन भाइ बहिनी माओवादी पार्टीका पूर्णकालीन कार्यकर्ता थिए । तीसहित तिनकापछि लागेर आउने कार्यकर्तालाई खाना खुवाउनु, बास बसाउनु कम चुनौतीपूर्ण काम थिएन । तर सबै जोखिम मोलेर पनि उनीहरू क्रान्तिको सेवा गरिरहेकै थिए । सावित्रीका श्रीमान श्याम श्रेष्ठको परिवार कांग्रेस थियो । परिवार मात्रै हैन, समीचोकको त्यो टोलनै कांग्रेसहरूको बाहुल्य भएको टोल थियो । गजबको संयोग के भने उनीहरूको राजनीति मात्रै फरक थिएन उनी कमाउन भारत गएका थिए भने सावित्री पाकिस्तान । पाकिस्तानबाट फर्केपछि प्रहरी हिरासतमै गएर शारदालाई भेट्नु परेको नमिठो याद ताजै छ । कांग्रेस–माओवादी र भारत–पाकिस्तान ‘केमिस्ट्री’ भएको घर अब शारदाको राम्रो बास थियो । शारदालाई कार्यक्रममा पु¥याउने र ल्याउने गर्दैगर्दा श्याम छिमेकीका आँखामा अब माओवादी भइसकेका थिए । बेला कुबेला आएर सेना र प्रहरीले खानतलासी गर्ने, छातिमाथी संगिन तेर्साउने गर्न थालेपछि बिस्तारै उनी पनि माओवादी नै बने ।
२०५४ सालमा नुवाकोट–काठमाण्डौं हुँदै चितवन बसाइँसराइ गरी सप्तगण्डकी क्याम्पस भर्ना भएकी अम्बिका मुडभरी माओवादी कार्यक्रम खोज्दै शुक्रनगर पुगिन् । साइकल चलाउन नजान्ने मान्छेको लागि आवत्–जावत् अप्ठ्यारो थियो त्यो बेलामा । उनलाई साइकल चलाउन आउँदैन थियो । बस कुरेर जाँदाजाँदै कार्यक्रम सकिएछ । चिनेका मान्छे पनि थिएनन् । उनले कार्यक्रम हेर्न आएको, सप्तगण्डकीमा पढ्छु भनेपछि कसैले ‘अब फुलवारीमा कार्यक्रम छ, हिड्नु नि त म पु¥याई दिउँला’ भनेर साइकलमा फुलवारी ल्याइदिए । अखिल (क्रान्तिकारी)मा संगठित अम्बिकाको शारदासँग पहिलो भेट र चितवन पार्टीसँग सम्पर्क त्यहीं भयो । त्यसपछि उनीहरूको सहकार्य र घनिष्ठता बढ्दै गयो । जनता र सहयोद्धाहरूसँग छिट्टै घुलमिल हुनसक्ने उहाँको स्वभाव थियो । आफ्नो दुःख कहिल्यै नदेखाउने, साथीहरूको सामान्य समस्या पनि बोध गर्ने खुबी थियो । कतिपय नेता–कार्यकर्ताहरू नआइदिए पनि हुन्थ्यो भन्ने शुभेच्छुक जनताहरूमा पनि शारदालाई घरमा राख्न, खाना खुवाउन हानाथाप हुन्थ्यो । दशैं वा अरु कुनै चाडवाडमा आफ्ना छोराछोरीलाई नयाँ लुगा किन्दा शारदालाई नछुटाउने मान्छे पनि छन् ।
चितवनका पूर्णकालीन महिला कार्यकर्ताहरू पम्फा थापाबाहेक प्रायः सबै उमेरमा बीस र वजनमा चालिस हाराहारिका थिए । क्याम्पाचौर, नारायणगढमा भएको २०५४को अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको कार्यक्रममा ठूलो देखिन् उनीहरूले साडी लगाएर उपस्थित भएका थिए । शारदाले क्याम्पस जाँदा साडी लगाउने बानी भएर केही अप्ठ्यारो भएन, बाँकी सबैलाई साडी सम्हाल्दै हैरान् परेको थियो । शारदाले त्यहाँ भाषण र नृत्य दुवै प्रस्तुत गर्नुभयो । २०५५ चैतमा अम्बिका गिरफ्तार हुँदासम्म शारदाको पार्टी समिति चितवनमा थिएन । २०५८मा रिहा भएर आउँदा शारदा गिरफ्तार परेर छुटी पनि सक्नुभएको थियो । चितवनको कोराकमा प्रचण्ड, बाबुरामलगायत सहभागी भएको दलित मोर्चाको राष्ट्रिय भेला उनीहरू सहभागी भए । “२०५९ बैशाखमा शोभा दिदी र अस्मिता, २०५९ भदौमा शारदा दिदी र सुधीर गिरफ्तार पर्नुभयो । गिरफ्तारी गर्ने र झुठा मुठभेडका समाचार दिनहुँ आइरहेकै हुन्थ्यो । कमल सुयँलहरू पनि गिरफ्तार परिसक्नुभएको थियो । सेनाको आतङ्क व्याप्त थियो । २०५९ कै मंसिरमा म मंगलपुरबाट फेरि गिरफ्तार परें । शान्ति र म थियौं । शान्ति सानो मान्छे, रुख चढेर जोगिइन् । सेनाले गिरफ्तार गरेकाहरू बाँच्ने सम्भावना कम थियो । शारदा शोभाहरू जिवितै हुनुहोला भन्ने आश मात्रै थियो, विश्वास कम थियो । भरतपुर ब्यारेकमा सेनाको यातना चरम थियो ।” एउटा कहालीलाग्दो विगत अम्बिकाको मानसपटलमा घुमी रहन्छ ।
“पानी भरिएको ड्रममा चोबलेर राख्थे, रातभरि चिसो सिमेन्टको भुईमा पंखा चलाएर लडाउँथे । आँखाको कालो पट्टी कहिल्यै खुलेन । एउटै डोरीले घांटी, हात र खुट्टा बाधिएको हुन्थ्यो । आफू कहाँ छु र आफ्नो वरिपरि कोको छन् भन्ने समेत थाहा थिएन । गाडी चलेको आवाज सुन्दा चाहिं मूलबाटोको नजिकै हो जस्तो लाग्थ्यो । सुन्निएको शरीर दिउँसो घिसार्दै चौरमा लगेर सुकाउँथे । हामी सिपाहीहरूसँग संवाद गर्न खोज्थ्यौं, उनीहरूलाई आफ्नो उद्देश्य बताउथ्यौं । हाकिम नभएको बेला सिपाहीहरूले यातनामा केही मोलाहिजा गरेजस्तो गर्दथे । उनीहरूले घिसार्दा–घिसार्दै एक दिन आँखाको पट्टि अलिकति स¥यो । म चौरमा लडिरहेकी थिएँ । मेरो छेउबाट केही मान्छे हिडेको जस्तो लाग्यो, सरेको पटिटबाट चिहाएँ । दुब्लो–पातलो शरीर मलाई शारदा दिदीको जस्तो लाग्यो । पछाडिबाट नचिने पनि फर्केर आउँदा पक्का चिन्छु भनेर कोल्टे नफर्की बसें । आफैं कोल्टे फर्किन सक्ने स्थिति पनि थिएन । कुप्री परेको शरीरलाई कालो पट्टीको चेपबाट नियाल्ने कोशिस गरें, धमिलो चित्र नजिक आउँदा शारदा दिदी नै हो भन्ने प्रष्ट भयो । दिदीलाई जिउँदो देखेर ममा अचम्मको रक्तसञ्चार भयो ।” कुरा गर्दै जाँदा मेरो मुटु काम्यो, अम्बिकाको शरीरभरि काँडा उम्रियो ।
भरतपुर सैनिक हिरासतबाट उनीहरूलाई भरतपुरकै प्रहरी हिरासत हुँदै जेल चलान गरियो । जेल जीवन सैन्य हिरासतभन्दा धेरै सहज थियो । यातनाले थिलथिलिएको शरीर एकाअर्कालाई स्याहार–सुसार गर्ने, परिवारदेखि देशका समस्या छलफल गर्दथे । व्यक्तिगतदेखि साङ्गठनिक–राजनीतिक विषयमा छलफल गरेर बिताउँथे । शारदा, शोभा, सावित्री, वर्षा गजमेर, अम्बिकासहित दर्जनभन्दा बढी महिला राजनीतिक बन्दीहरू थिए । सबैले पालो गरेर खाना पकाउँथे । समरको भर्खरै सहादत भएकोले शोभालाई उनीहरू सबैले अलिक बढी ध्यान दिन्थे । एक दिन शोभा र शारदाको खाना पकाउने पालो थियो । मट्टितेलवाला स्टोभमा उनीहरू लट्टे पकाउँदै गफ गरिरहेका थिए । उनीहरू लट्टे चलाई रहेका थिए । स्टोभ कतिखेर निभ्यो, थाहै पाएनन् । धेरै बेरपछि साथीहरूले हेर्दा पो खाना त काँचै रहेछ । गफको सुरमा भ्यार्र बज्ने स्टोभ बलेको वा निभेको पनि चाल पाएनन् ।
जेलमा भएका कैदीहरूमा सबैभन्दा रिसाहा सावित्री र रिसाएकै नदेखिने चाहिं शारदा हुनुहुन्थ्यो । “रिसाएको देखिन्थेन, तर धेरै पानी पिउनु भयो भने आज दिदी रिसाउनु भएछ भनेर थाहा पाउँथ्यौं” अम्विका मुडभरी शारदासँगको सहकार्य स्मरण गर्नुहुन्छ ।
जेल परेका राजनीतिक बन्दिहरूमध्ये दुश्मनका यातना र सत्ताको धुत्याईं अगाडि टिक्न नसकेर आत्मसमर्पण गर्नेहरू पनि थिए । आत्मसमर्पण गर्ने र नगर्नेहरूको बारेमा जेल भित्रैबाट सूचना तयार गर्नुपर्छ भन्ने थियो शारदाको ।
शारदा दिदीको विवाहको कुरा पनि चली रहेको थियो । खासगरी श्याम दाईले अलिक जोड गरिरहनु भएको थियो ।
माओवादीहरू जेल मुक्त हुन कि सरकार–माओवादी वार्ताकाल हुन पर्दथ्यो या त कमल सुयँलहरू जस्तै झुठा मुठभेडको शिकार ।
सरकार–माओवादी दोस्रो वार्ताकालमा शारदाहरू जेलबाट छुट्नु भयो । शारदाको कार्यक्षेत्र चितवन नै प¥यो । चितवन त्यतिखेर गण्डक व्युरो अन्तर्गत पर्दथ्यो, जसका इन्चार्ज थिए कान्छा बहादुर अर्थात देव गुरुङ । २०६१ असारमा चितवन जिल्ला इन्चार्जको रूपमा गण्डक क्षेत्रीय ब्युरोको बैठकमा सहभागी हुन आफ्नो सहयोगी एवं पार्टी ईलाका सदस्य दिपा मोक्तान सुमित्रा (कोराक चितवन) तनहुँका रुट गाइड शान्तकुमार श्रेष्ठ प्रज्ज्वलसहित जाँदै हुनुहुन्थ्यो । २९ गते तनहुँको तत्कालीन साभुङ भगवती गाविसको साभुङमा उहाँहरू शाही नेपाली सेनाको घेराभित्र पर्नुभयो । हात पछाडि बाँधेर तीनैजनालाई भिमाद बजार हुँदै दोभान खोलाको किनारमा लगेर हत्या ग¥यो ।
“चरम यातनाका बावजुद शारदाले पार्टीको गोपनियता भंग गर्नुभएन । उहाँहरूलाई गिरफ्तार गरिएको ठाउँभन्दा केही दूरिमा साँस्कृतिककर्मीहरूको केन्द्रिकरण थियो । शारदा पनि त्यहीं प्रशिक्षणको लागि आउँदै हुनुहुन्थ्यो । उहाँले बरु मृत्यु रोज्नु भयो र झण्डै एक डेढसय साथीहरूको ज्यान जोगाउनु भयो ।” शारदालाई पर्खेर बसेका सुशीला थापाहरूले सहादतको खबर पाए ।
सहिदहरू मर्दैनन । उनीहरू गीत बनेर गुन्जिरहन्छन् । अठोट बनेर संघर्षरत् मान्छेहरूमा ज्युँदै हुन्छन्,  प्रेरणा बनेर हारमा पनि जितको सपना देखाइरहन्छन् । अजर र अमर जीवन गाथा मान्छेले सुनाई रहनेछन् । लेखिइरहनेछ इतिहासहरू । बलिदानलाई जति नै बदनाम गर्न खोजे पनि विद्रोहका हरेक भुल्कामा झण्डा बनेर सहिदहरू अघिअघि हुन्छन् । यो कल्पना हैन, न त कुनै मिथक वा अध्यात्म नै हो । न त कुनै पागल कविको स्वैरकल्पना । जब मान्छेहरूले अन्यायका विरुद्ध मुट्ठी कसेर बन्दुकको संगिनसँग लड्छन त्यतिबेला अग्रज सहिदहरूको सम्झनाले मात्रै पनि धेरै उर्जा थप्दछ । दुश्मनका अगाडि जीवनको भिख माग्नुभन्दा स्वाभिमानपूर्वक मृत्यु रोज्नेहरू कविको कवितामा बाँचिरहेका हुन्छन् । पुर्ण बिरामको कविताको एउटा अंश छः
बाँच्नुका नाममा एक थोपा पनि
¥याल नचुहाएको एउटा सत्यको अनावरण गरेरै म¥यौ
हृदयको गति यथावत राख्नका निम्ति
र अर्थहीन भएर कपाल फुलाउनका निम्ति
नादिरशाहहरूसँग भिक्षाटनको अलख नजगाएरै म¥यौ
मरे पनि जत्रो सुकै प्रलयले समेत
हल्लाउन नसक्ने एउटा विशाल मजबुत
यस युगको युगिन स्तम्भ भएरै म¥यौ ।
 (पूर्ण विराम/संवाददाताहरू भन्छन्)


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।