२२ बैशाख २०८१, शनिबार

अमेरिका घर फर्क !

0

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको साउन २८ गतेदेखि ३२ गतेसम्म भएको बैठकद्वारा ‘अमेरिका घर फर्क ! (Go back USA)’ नारा घन्काउने निर्णय गरेको छ । उसले एमसीसी पारित भएलगत्तै सादा पोशाकमा अमेरिकी सेना आइसकेको र गोप्य रूपमा हतियार थुपारेको दाबी गरेको छ । नेकपाको उक्त निर्णयसँगै देशभक्तिपूर्ण प्रदर्शन र ध्रुविकरण देखिन थालेका छन् । अमेरिकाले विश्वका ८ सयभन्दा धेरै स्थानमा सैन्य शिविर राखेको छ । अमेरिकाको हवाई प्रान्तमा रहेको सैन्य अड्डाले ‘हिन्द–प्रशान्त रणनीति (Indo-pacifi c Strategy)’को नेतृत्व सम्हाल्ने गरेको छ । यही सैन्य अड्डाले विश्वको ५० प्रतिशत भूभागमा आफ्नो नियन्त्रण रहेको दावि गर्दछ । एमसीसी परियोजना पनि हवाई प्रान्तको सैन्य अड्डाले हेर्ने गरेको छ ।
नेपालमा यथास्थितिवादी र पश्चगामी शक्तिहरू एकातिर र क्रान्तिकारीहरू अर्कोतिर भएका छन् । अफ्रिकी मुलुक नाइजेरियामा अमेरिका–फ्रान्स गठबन्धनको विरुद्ध ‘फ्रान्स घर फर्क ! (Go back France)’ नारा लागिरहेको बेला नेपालमा ‘अमेरिका घर फर्क’ नारा गुञ्जिन थालेको छ । दलाल पुँजीवादले आफ्नो वर्ग र विदेशी मालिकको सेवा गर्न नसक्ने भएपछि साम्राज्यवाद आफै प्रत्यक्ष शासन चलाउन आएको र देश राष्ट्रिय मुक्ति युद्धतिर धकेलिन थालेको दाबि नेकपाका नेताहरू गर्दछन् ।
नेपाल, भारत र भुटानको उत्तरी सीमाको तिब्बतमा चीनले ठूलो मात्रामा सैन्य उपस्थिति बढाएको छ । जुन स्थायी संरचनाको रूपमा नै रहने छन् । अमेरिकाले नेपालका ७ वटा हिमाली जिल्लामा आफ्नो फौज राख्न दबाव दिइरहेको छ । २०३२ सालमा नेपालका उत्तरी हिमाली भेगका १८  जिल्लामा अमेरिकी सेनाको घुसपैठ भएको र खम्पा विद्रोहीलाई उचालेर चीन विरुद्ध ध्वंसात्मक गतिविधि गरेपछि चीनले राजा विरेन्द्रलाई खम्पा विद्रोह नियन्त्रण नगरे चिनियाँ सेना नेपालमा उत्रने जनाउ दिएका थिए । राजा विरेन्द्रले नेपाली सेनालाई कारवाहीमा उतारे । त्यतिबेला चीन–अमेरिका सम्बन्ध सुदृढ हुँदै गएको कारण अमेरिका पछाडि हट्यो र सङ्कट ट¥यो । तर आज चीन र अमेरिका लामो तयारीसहित भीडन्तको मनस्थितिमा छन् ।
राजनीतिक समस्या कम्युनिस्टको होइन, संशोधनवाद र दलाल पुँजीवादको समस्या हो । पटक–पटक सत्ताको नेतृत्व गरेर पनि देशलाई झन्–झन् सङ्कटतिर धकेल्ने दलाल पुँजीवाद हो । कम्युनिस्ट पार्टीहरू दलाल पुँजीवादी व्यवस्थाको पक्षमा छैनन् । नेपालको संविधान नै समाजवाद उन्मुख छ (औपचारिक अर्थमा) । काङ्ग्रेसको साउनमा सम्पन्न केन्द्रीय समितिको बैठकले धर्म, निर्वाचन प्रणाली र संविधानको विषयमा सोच्नुपर्ने परिस्थिति आएको ठहर गरेको छ । समाजवादी मोर्चा, नेपालको गठनले दलाल पुँजीवादको विकल्प खोज्ने निर्णय गरेको छ । त्यसको भविष्य अहिले नै भन्न सकिन्न । तर त्यसले चालू व्यवस्था असफल भएको भन्ने सोचलाई नैतिक श्रेष्ठता प्रदान गरेको छ । त्यसैले नेपाली कम्युनिस्ट आन्दोलनको क्रान्तिकारीकरण र एकीकरण एकसाथ आवश्यक छ । त्यो नै समाधान हो । त्यसैले २०८४ सालको चुनाव अगाडि नै राजनीतिक निकासबारे सोच्नुपर्छ । किनकि दलाल संसदीय निर्वाचनबाट पुरा नेता र दलहरू नै प्रताडित अनुभूति गर्दैछन् । पुरानै पद्धतिको निर्वाचनबाट आउने परिणाम अझै राष्ट्रिय सङ्कटको कारण बन्न सक्छ ।
पुरानो सोभियत संघकालीन समाजवादले समाजको नेतृत्व गर्न सक्दैन । नयाँ खालको (आजको विशेषतायुक्त) चाहिन्छ । जसलाई नेकपाले ‘नेपाली विशेषताको समाजवाद’ भनेको छ । संसदवादलाई एक चरणमात्र भत्काउँदा पनि (समाजवाद लागू गर्दा) वैज्ञानिक समाजवाद वा क्रान्तिकारी शक्ति हावि हुन्छ । त्यो कुरा बुझेको साम्राज्यवादले समाजवादी मोर्चाको विरुद्ध तोडफोड गर्न थालेको छ । एमसीसी नामधारी विकासे परियोजनाको घोडा चढेर अमेरिकी सेना आउन थालेको आशंका छ ।
साम्राज्यवादले कम्युनिस्ट र जनताको विरुद्ध एउटा मोर्चाबाट मात्र लडिरहेको छैन । उसले आर्थिक, फौजी, कुटनीति, गैसस, सञ्चार, जातीयता, सामाजिक अभियन्ता, धर्म राजनीति, गरिबी, प्रलोभन, संस्कृति र अपराधिक घटना सबै मोर्चाबाट लड्दछ । अमेरिकी हस्तक्षेपको विरुद्ध लड्ने शक्ति नै आजको नयाँ शक्ति हो । पुरानो विचार र कार्यक्रम हुनेहरू ‘नयाँ जोगी’ होलान् ; ‘नयाँ शक्ति’ हुन सक्दैनन् । जातीय मुद्दा पनि नयाँ होइन । राजाले थोपरेको जात बोकेर हिंड्नेहरू सामन्तवादका कचरा (Trass) हुन् । अग्रगामी र नयाँ त हुँदै होइनन् । भारत हिन्दु जातिको, युरोप–अमेरिका गोराको, नेपाल ब्राह्मण–क्षेत्रीको जातीय राज्य नै हुन् । नेपाललाई अर्को जातीय राज्य चाहिन्न । विचारको रक्षा पुँजीवादलाई परास्त गरेर मात्रै हुनसक्छ ।
काङ्ग्रेसका नेता शेखर कोइरालाले ५ दलीय गठबन्धन लोकतन्त्र र काङ्ग्रेसलाई कमजोर बनाउन हो भनेका छन् । माओवादी केन्द्रका नेताहरू जनार्दन शर्मा र उनी निकट सञ्चार माध्यम समाजवादी मोर्चा भाँड्ने, भ्रम छर्ने र विषयान्तर गर्न लागेको आरोप छ । अमेरिकी गुप्तचरहरू त्यसमा धाप मारिरहेका छन् । उपेन्द्र यादवलाई गौर घटनामा तान्ने प्रयास यहीबेला भएको छ । गैसस र प्रभु साहहरू आजसम्म के हेरेर बसेका थिए त ? जबकि गौरमा झडपको स्थिति आउन सक्छ भन्ने पूर्वसूचना हुँदाहुँदै प्रभु साहले कार्यक्रम रोक्न मानेनन्  र सुरक्षाको प्रबन्ध पनि गरेनन् । त्यसैले शंकाको पहिलो घेरामा प्रभु साह नै छन् ।
विश्व राजनीतिमा आएको अमेरिकी हस्तक्षेप र त्यसको विरुद्ध विश्वव्यापी प्रतिरोध तथा नेपालमा अमेरिकी हस्क्षेपको कारण समाजवादी मोर्चा बन्ने–बनाउनु पर्ने वस्तुगत आधार बन्न गएको नेकपाका महासचिव विप्लवको धारणा छ । लेनिनले बुखारिनलाई कुनै समय झुण्ड्याउनु पर्छ भन्नुभएको थियो । अर्को समय उसैलाई महत्वपूर्ण जिम्मा दिनुभयो । विश्लेषण पनि परिस्थितिमा निर्भर हुन्छ । नेकपाका प्रवक्ता प्रकाण्ड सीले “प्रचण्डलाई निर्वाचन चाहिएको छ र हामीलाई वैज्ञानिक समाजवाद चाहिएको छ” भन्छन् । “प्रचण्डको एकताको कुरा संसदीय व्यवस्थाका लागि हो भने हामीले भनेको ध्रुविकरण समाजवादी क्रान्ति पूरा गर्नका लागि हो । (हेर्नुहोसः जनपत्रिका, २०७९ भदौ ५)” प्रकाण्ड भन्छन् । यद्यपि औपचारिक अर्थमा भएपनि प्रचण्डले संसदवादलाई अस्वीकार गरेका छन् । व्यवहारमा संसदवादमा डुब्नु र निर्णयको तहमा अस्वीकार गर्नु प्रचण्डको अन्तरविरोधी पक्ष हो । त्यसैले सैद्धान्तिक रूपमा माओवादीहरूबिचको एकता र ध्रुविकरणलाई अस्वीकार गर्न सकिन्न । तर विचार, राजनीति, माओवादी केन्द्रका नेताहरूको वैदेशिक प्रभाव हेर्दा विप्लव–प्रचण्ड रणनीतिक रूपमा निकटता बढ्दै गएमा माओवादी केन्द्र विभाजित हुने देखिन्छ ।
विश्वमा शितयुद्धका घटनाहरू देखिएका छन् । सरकारले अमेरिकाको अपेक्षा पूरा गरेन भने नाइजेरियाको घटना हुनसक्छ । त्यसो भयो भने त्यो अमेरिकाको आडमा हुनेछ । अमेरिकाको निर्देशनमा सेनाको नेतृत्व नाचिरहेको ठान्नेहरूको पनि कमी छैन ।
समाजवादी मोर्चा बनाएर चारवटा पार्टीहरूबिच पार्टी एकता गर्ने योजना बनेको थियो । नेकपाको छलफलमा प्रवेश, क्रान्तिकारी मोर्चा नभएसम्म आफ्नो सुरक्षासम्म नहुने प्रचण्डको निष्कर्ष, संसदवादलाई अस्वीकार नगरेसम्म मोर्चामा नबस्ने विप्लवको अडानपछि वर्तमान स्वरूपको मोर्चा बन्न गएको देखिन्छ । संविधान र संसदवादभन्दा बाहिर जान हुँदैन भन्ने शेखर कोइराला, जनार्दन शर्मा, माधव नेपाल प्रवृत्ति पराजित भएको छ र परिवर्तनकारी धार हावि भएको छ । त्यसरी राष्ट्रिय राजनीतिबाट नेकपालाई अलगथलग गर्ने साम्राज्यवादको रणनीति असफल भएको देखिन्छ ।
क्रान्तिमा बल प्रयोगमात्र पर्याप्त हुँदैन । बौद्धिक श्रेष्ठता पनि अनिवार्य हुन्छ । देश बेचेर खाने, विदेशीको चाकरी गर्नेहरू विज्ञ हुँदैनन् । जनार्दन र शेखरको सोचभित्र दलाल पुँजीपति वर्ग र विदेशी शक्ति केन्द्रको प्रेरणा र पक्षधरता देखिन्छ । आज देशभक्तहरूलाई चीन समर्थक भन्दै आक्रमण गर्दै गरिएको देखिन्छ ।

स्राेत: जनपत्रिका पाचौं अङ्क


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।