८ पुष २०८१, सोमबार

राष्ट्रघाती एमसीसी र देशभक्तहरूको दायित्व

0

विषय प्रवेश
अमेरिकी सामाज्यवादले नेपालमा जबरजस्ती राष्ट्रघाती एमसीसी थोपरेको छ । नेपाली मुलका अमेरिकी दलाल र राष्ट्रघाती तत्वहरूले यसलाई नेपालमा भित्र्याउन केही समय सफल भएका छन् । नेपालका अमेरिकी मुकुण्डोधारी सांसदहरूले सडकमा नेपाली जनताको चर्को विरोध हुँदा–हुँदै २०७८ साल फागुन १५ गते संसदबाट जबरजस्ती एमसीसी पास गरे । यो नेपाली इतिहासमा एउटा कालो दिन थियो । यसले नेपालको स्वाधीनता अमेरिकीहरूको हातमा सैद्धान्तिक रूपमा बुझाएको दिन थियो । नेपाली दलालहरूले सडकमा चर्को विरोध हुँदा–हुँदै पनि एमसीसीको राष्ट्रघाती कामलाई निरन्तर अगाडि बढाए । जनताको कुरा सुनेनन् । यसको निरन्तरता स्वरूप नेपाली दलालहरूले कार्यान्वयनमा लैजान खोजे । अमेरिकी दलालहरूले आफ्नो क्यामरुन भन्ने मालिकलाई बोलाएर २०८० साल भाद्र १३ गते कार्यान्वयन पत्रमा हस्ताक्षर गरे । यो नेपालका लागि दोस्रो कालो दिन थियो । नेपाली स्वाधीनतामाथिको ठाडो हस्तक्षेप थियो । आफ्नै आमामाथिको ब्रजप्रहार थियो । उनीहरूले यस्तो राष्ट्रघात गर्दा नेपाली जनताले सडकबाट एमसीसीलाई अस्वीकार गरेका छन् । विरोध प्रदर्शनमा प्रहरीका गोली, लाठ्ठी, बुट खाएका छन् । सडकमा रगत बगेको छ । तर पनि दलालहरूले जनताको कुनै पनि कुरा नसुनेर अमेरिकी डलरको लोभमा एमसीसी पास गरे । नेपाली जनतालाई नाटकको रूपमा १२ बुँदे व्याख्यात्मक टिप्पणीको भ्रम दिएर आगाडि बढे । फेरि दोस्रो पटक कार्यान्वयनपत्रमा हस्ताक्षरसमेत गरे । यसले नेपालमा गम्भीर राष्ट्रघात भएको छ । नेपाल नयाँ घुम्तीमा उभिएको छ । यो परिस्थितिलाई सबै नेपाली देशभक्तहरूले गम्भीर रूपमा लिनुपर्ने बेला आएको छ । अब सच्चा देशभक्त नेपालीहरूको कर्तव्य के हुनसक्छ ? क्रान्तिकारी कम्युनिस्टहरूको भूमिका के हुनसक्छ ? यो देशका शिक्षक, कर्मचारीहरू, सुरक्षाकर्मीहरू, पत्रकार, राजनीतिक दल तथा आम नागरिकको भूमिका र दायित्व के हुनुपर्छ भन्ने विषयमा संक्षिप्तमा लेख्ने प्रयत्न गरेको छु ।
राष्ट्रघाती एमसीसीबारे
एमसीसी भनेको अमेरिकी साम्राज्यवादको इन्डोप्यासिफिक रणनीति (IPS)को अंग हो । यसले गरीब देशमाथि आर्थिक सहयोग र लगानीको बहानामा सैन्य शिविर राख्ने र त्यो देशको सामरिक सम्पत्ति लुट्ने लक्ष्य राखेको हुन्छ । विश्वमा आफ्नो एकछत्र साम्राज्य कायम गर्नु यसको अर्को लक्ष्य हो । आईपीएसमार्फत विश्वमा उदयमान शक्ति राष्ट्र चीनलाई रोक्नु यसको अर्को लक्ष्य हो । गरीब राष्ट्रमाथि सेना उतार्नु, हिंसा मच्चाएर भए पनि कब्जा गर्नु साम्राज्यवाद र एमसीसीको चरित्र हो । चाहे त्यो युक्रेन, इराक, सिरिया, अफगानिस्तानलगायत थुप्रै राष्ट्रहरूमाथिको अमेरिकी व्यवहार प्रष्टै छ । विशेष गरी सोभियत संघको विघटन र वार्सा गठवन्धनको विघटनपछि अमेरिकी साम्राज्यवाद हावी हुँदै विश्वमा दादागिरी देखाउँदै आयो । यसले विश्वलाई कब्जामा लिन आईपीएस रणनीतिमा अगाडि बढेको कसैबाट छिपाउन सकिँदैन । विश्वका करिव ४९ देशमा एमसीसीमार्पmत साम्राज्यवाद घुसेको छ । ती देशहरूमा बेहाल अवस्था छ । विकासको नारा र केही डलर देखाएर जनतालाई भ्रमित बनाएर साम्राज्यवाद देश नै कब्जा गर्ने योजनामा जान चाहन्छ । जसले गर्दा श्रीलंकालगायत केही देशहरूले एमसीसी कार्यक्रम फिर्ता समेत गरेको अवस्था छ । यो एमसीसी भनेको विकास देखाएर विनास गर्ने परियोजना हो । एमसीसी परियोजना सन् २००४मा अमेरिकी संसदले स्थापना गरेको हो ।
नेपालमा भने वि. सं २०७४ सालको भदौ २९ गते वाशिङ्गटनमा पुगेका तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी सम्झौतामा हस्ताक्षर गरेर यसलाई औपचारिक रूपमा भित्र्याएका थिए । सम्झौता नेपालको संविधानभन्दा पनि माथि राखेर गरिएको छ । सम्झौताको धारा ७ मा “प्रस्तुत सम्झौता लागु भएपश्चात् प्रस्तुत सम्झौता र नेपालको राष्ट्रिय कानुन बाझिएमा प्रस्तुत सम्झौता लागु हुनेछ” भन्ने लेखिएको छ । २०७८ फागुन १५ गते संसदबाट एमसीसी पास भएको थियो । त्यससँगै १२ बुँदे व्याख्यात्मक टिप्पणी समेत संसदले पास ग¥यो । २०८० साल भाद्र १३ गते यसको कार्यान्वयन सम्झौता पत्रमा पनि हस्ताक्षर भयो । यो दुःखद् कुरा हो । खासमा नेपाललाई ५० अर्ब रूपैयाँ बराबरको लगानी गर्ने कुरा एमसीसीले भनेको छ । यसमा देश बेचेर अकुत पैसा कमाउन दलालहरू लागे । विभिन्न देशहरूलाई आर्थिक वृद्धिमा सहयोग गर्दै गरीबी घटाउने अमेरिकी बहानामा नेपालका दलालहरूले सहयोग गरे ।
एमसीसीबाट विद्युत र सडक विस्तारमा लगानी गर्ने भनिएको छ । उच्च क्षमता (४०० केभी)को प्रसारण लाइन, ३ सवस्टेसन र नेपाल–भारत सीमापार प्रसारण लाइन अनि ९९ कि. मि. सडक स्तरोन्नति गर्ने भनिएको छ । काठमाडौें लप्सीफेदीबाट नुवाकोटको रातमाटे, दमौली हुँदै नवलपरासीको भुमही र सुनवलसम्म प्रसारण लाइन निर्माणको कुरा देखाइएको छ । रातमाटे, दमौली र बुटवलमा तीन सवस्टेसन निर्माण गरिने भनिएको छ ।
सडकतर्फ भालुवाङ (दाङ)–लमही (दाङ) २७ कि.मि., चन्द्रौटा (कपिलवस्तु)–भालुवाङ ३५ कि.मि. र लमहीबाट शिवखोला (दाङ) ३७ कि.मि. सडक स्तरोन्नति गरिने भनिएको छ । यसका लागि सयौ रोपनी जमिन एमसीसीले कब्जा गरेको छ । यो जमिनमा आफ्नो सैन्य अखडा बनाउने र चीनलाई घेर्ने रणनीतिमा अमेरिका छ भन्ने कुरा प्रष्ट छ । अमेरिकाले एमसीसी परियोजनाभन्दा बाहिरबाट नेपाललाई सहयोग गर्न नमान्नुको पछि पनि साम्राज्यवादीहरूको चरित्र गलत नियत छ भन्ने झल्किन्छ । जति ठाउँमा पाइला टेक्ने छ, त्यहाँ उसले सबै चिज कब्जा गर्ने छ । नेपालको युरेनियमदेखि विभिन्न खानी समेत कब्जा गर्ने र सेना राख्ने साम्राज्यवादको तयारी छ । त्यसमा टेकेर चीन विरुद्ध जाने छ ।
देशभक्तहरूको दायित्वबारे
अमेरिकाद्वारा नेपालमा एमसीसी जबर्जस्त लादियो । यसले नयाँ तरंग ल्याउने नै भयो । देश यतिवेला धुव्रीकरणमा केन्द्रीत हुँदैछ । एकातिर एमसीसीका पक्षधर दलालहरू र अर्कोतिर एमसीसीका विरोधी देशभक्त क्रान्तिकारी शक्तिहरू उभिएका छन् । यदि एक थोपा रगत छ भने आफ्नै आमाको छातीमाथि बुट बजार्ने कि रक्षा गर्ने ? भन्ने प्रश्न गम्भीर छ । विभिन्न क्षेत्रमा छरिएर रहेका देशभक्तहरूले अब कसरी अगाडि वढ्ने ? नेपालबाट कसरी एमसीसी खारेज गर्न सकिन्छ ? भन्ने बारे केही बुँदागत विषयमा यहाँ चर्चा गर्न चाहन्छु ।
क) राजनीतिक पार्टीको भूमिका : नेपालमा भएका प्रायः सबै राजनीतिक पार्टीले देश र जनताको पक्षमा सेवा गर्ने प्रतिवद्धता जनाउने गर्छन् । उनले आफ्नो राजनीतिक दस्तावेजमा पनि त्यही भन्छन् । तर भन्ने एक, गर्ने अर्को नेपाली राजनीतिको विडम्बना बनेको छ । पछिल्लो समय एमसीसीको विवादले देश धुव्रीकृत छ । अमेरिकी साम्राज्यवादको दवाव र हस्तक्षेपको दास हुने धेरै पार्टी र नेताहरू छन् । यो कुरा नेपालको राष्ट्रिय स्वाधीनताको लागि निकै दुर्वल पक्ष हो । आफ्नो देशप्रति माया नहुने राजनीतिक पार्टी साँच्चिकै नेपालका पार्टी र नेता मान्न सकिँदैन । जसले अमेरिकाको सास नै लिएर बाँच्न चाहन्छन्, उनीहरू कसरी नेपालका पार्टी र नेता भन्न मिल्छ ? अमेरिकाको ग्रिनकार्ड लिने नेताहरू कसरी नेपाली मान्न सकिन्छ होला ? आज यस्तै तमाम समस्याहरू नेपालका पार्टी तथा नेताहरूमा छन् । विशेषगरी संसदवादी पार्टीका नेताहरू प्रचण्ड, माधवकुमार नेपाल, शेरबहादुर देउवा, केपी ओली, उपेन्द्र यादव, रवी लामिछानेलगायत नेताहरूले एमसीसीको सास विना बाँच्न नसक्ने अवस्था छ । उनीहरू लाचार भएर पनि एमसीसी पारितमा ताली बजाएका छन् । अरु सांसदहरू पनि संसदमा भेडा भएर कोही डलरमा त कोही भ्रममा ताली बजाएका छन् । यो ताली होइन, नेपाल आमाको छातीमा बन्दुक र बुट बजारिएको हो । आफ्नो आमालाई अमेरिकी साम्राज्यवादले दिउँसै बलात्कार गर्दा हाँस्ने र गर्व गर्ने दलालहरू यो देशमा ज्यूँदा छैनन् भन्ने उदाहरण हो । यी दलालहरूले एमसीसीलाई विकास भनेर कराइरहे र कराइरहेका छन् । नेकपासहित सडकमा एमसीसी विरुद्ध आन्दोलन गर्ने जनतालाई विकास विरोधीको संज्ञा दिइरहे । एमसीसीको विकास सक्कली रूपको विकास नभई युद्ध र विनास बोकेको तथ्य प्रष्ट हुँदै जाने निश्चित छ ।
एमसीसी विरुद्ध नेपाल कम्युनिस्ट पार्टी, नेकपा (ऋषि कट्टेल), वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाललगातका देशभक्त संघ संगठनहरू निरन्तर आन्दोलनमा छन् । यसलाई राष्ट्रघाती जनघाती भनिरहेका छन् । राजनीतिक पार्टीमा एकमत हुन सकेको छैन । एमसीसी खुल्ला रूपमा गलत हो भन्ने हिम्मत संसदवादी पार्टीमा छैन । अमेरिकाको अगाडि तिघ्रा कमाउदै भिख माग्दै व्यक्तिगत नाफामा डलरका लागि ठिक छ भनिरहेका छन् भने जनताको अगाडि हामी राष्ट्रवादी हौं पनि भन्न छोडेका छैनन् । यो कुराले नेपालको राजनीतिक समस्या समाधान हुन सक्दैन । समाजवादी मोर्चामा रहेका दलभित्र पनि मतभेद छ । सरकारमा रहेका दलहरूले एमसीसीको समर्थन गरिरहेका छन् तर नेकपाले भने चर्को विरोध गरिरहेको छ । तर पनि उनीहरूलाई बचाउने कोशिस नेकपाले अन्तिमसम्म गर्ने देखिन्छ । विमतिका बिच पनि समाजवादी मोर्चाको नेपाली विशेषताको समाजवादमा जाने कार्यक्रमलाई निरन्तरता दिन खोजिएको देखिन्छ । यो दिगो होला भन्न गाह्रो नै छ । किनकी संसदवादीहरू रूपमान्तरण नभएसम्म भेडा र बाघ एकै ठाउँमा बस्न गाह्रो नै हुन्छ । सबै राजनीतिक पार्टीहरूले पार्टीगत र व्यक्तिगत स्वार्थ त्यागेर देश र जनता अगाडि राख्न आवश्यक छ । त्यो स्तरमा नेपालका राजनीतिक पार्टी र नेता उठ्नुपर्छ । नेपालको राष्ट्रिय स्वाधीनताको पक्षमा एकमतले उभिन सक्नुपर्छ । एमसीसी जस्तो देशघाती सम्झौताको विरुद्ध बोल्न सक्नुपर्छ । देशको माटो सम्झिन सक्नुपर्छ । विकासको नाम दिएर आएको अमेरिकी सैन्य योजनालाई नेपालबाट खारेज गर्ने अभियान चलाउनु पर्छ । नत्र भोली नेपालीहरू सिक्किमको नागरिक जस्तै पश्चाताप गर्नु बाहेक अरु केही हुनेछैन । यो कुरालाई राजनीतिक पार्टी र नेताहरूले गहिरो रूपमा ग्रहण गर्दै नेपाल र नेपाली आमाको रक्षा गर्ने दायित्वबोध गर्न अनिवार्य छ । रूपान्तरण हुन आवश्यक छ । अन्यथा इतिहासले भोली कसैलाई माफि दिनेछैन ।
ख) शिक्षक, बुद्धिजीवी र कर्मचारीको भूमिका : हामी यो देशका शिक्षक, बुद्धिजीवी र कर्मचारी हौं । हाम्रो जिम्मेवारी देश बचाउनु र जनताको सेवा गर्नु हो । हामीले देशप्रति गर्व गर्ने हो र माया गर्ने हो । आज विदेशीको नाङ्गो अतिक्रमण र हस्तक्षेप हुँदा यो देशका शिक्षक, बुद्धिजीवी र कर्मचारीहरू रमिते बनेर कतै हेरिरहेका त छैनौ ? कतै हामी पनि अमेरिकी साम्राज्यवादको ग्रिनकार्ड र डलरले एमसीसी विरुद्ध बोल्न बुझो हालिरहेको त छैनौं ? यो कुरा गम्भीर रूपमा आत्मसमीक्षा गर्नुपर्ने बेला आएको छ । यदि हामी यो देशका सच्चा शिक्षक, बुद्धिजीवी र कर्मचारी हुन सकेनाैँ भने त्यो नेपालको शिक्षक, बुद्धिजीवी र कर्मचारी हुन सक्दैन । एउटा शिक्षकले विद्यालयमा पढाउँदा एमसीसी भनेको राष्ट्रघाती सम्झौता हो भन्न सक्नु पर्छ । एउटा बुद्धिजीवीले अमेरिकाको डलर खाएर एमसीसीको पक्षपोषण गर्ने होइन कि बरु सत्य कुरा जनताको बिचमा बोल्ने आँट गर्नुपर्छ । नेपाली सेनाका पूर्व जर्नेल प्रेमसिंह बस्न्यातले एमसीसी कार्यान्वयनका विरुद्धको विरोध प्रदर्शनमा २०८० भाद्र १३ गते भनेका थिए, “कालोलाई कालो भन्न नसक्ने, सेतोलाई सेतो भन्न नसक्ने कोही छ भने त्यो मरे हुन्छ ! मरे हुन्छ ! मरे हुन्छ !” यो उनको भनाईभित्र गहिरो भाव छ । उनले हरेक सच्चा नेपालीहरूले एमसीसीको गलत कुरा थाहा पाउँदा–पाउँदै डलर खाएर लुकाउन खोज्नेहरूलाई खुल्ला चुनौती दिएका हुन् ।
समाजमा भएका सबै मान्छै एउटै हुँदैनन् । कोही सच्चा इमान्दार हुन्छन् । कोही चोर र ठगहरू हुन्छन् । कोही देशप्रेमी हुन्छन् त कोही देशघाती हुन्छन् । आज केही राष्ट्रघाती र देशघाती तत्वहरू एमसीसीको खुलेर समर्थन गरिरहेका छन् । यसलाई इङ्गित गर्दै नेकपा महासचिव विप्लवले २०८० साल भाद्र १३ गते एमसीसी कार्यान्वय विरुद्धको एक विरोध सभामा बोल्दै भने, “यहाँ कोही ज्यूँदा मान्छे छन् भने हामी छांै । एमसीसीको विरोध गर्नेहरू छौं । संसारमा ८ अर्ब जनसंख्या छ । सबै ज्यूँदा हँुदैनन् । नेपालमा ३ करोड जनसंख्या छ । सबै ज्यूँदा हुदैनन् । ज्यँुदा मान्छे र सच्चा तथा सज्जन मान्छे थोरै हुन्छन् । उसले परिवर्तनको नेतृत्व गर्छ । आगोको झिल्को सानो हुन्छ, संसार जलाउन सक्छ । भौतिक शरीर बाँचेर पनि मरे सरह हुनु, सत्य कुरा बोल्न नसक्नु ज्यूदो लास हुनु हो । तीनको कुनै इतिहास र मूल्य मान्यता हुँदैन ।” विप्लवले यसो भनिरहँदा नेपालका ज्यूँदा शिक्षक, बुद्धिजीवी र कर्मचारीहरूले सोच्नुपर्ने बेला आएको छ । हाम्रो देशका शिक्षक साँच्चीकै शिक्षक बन्नुपर्छ । हाम्रो देशको बुद्धिजीवी साँच्चीकै बुद्धिजीवी बन्नुपर्छ । हाम्रो देशको कर्मचारी साँच्चीकै कर्मचारी बन्नुपर्छ । एमसीसी जस्तो जनघाती र राष्ट्रघाती सम्झौताका विरुद्ध बोल्नुपर्छ । सडकमा उभिने हिम्मत र आँट गर्नुपर्छ ।
ग) सुरक्षाकर्मी (सेना र प्रहरी)को भूमिका : यो देश तपाईको पनि हो, हाम्रो पनि हो । हामी सारा नेपालीको हो । नेपाल देश भनेको सबै नेपालीहरूको आमा हो । आज आमामाथि अत्याचार हुँदा किन छोराहरू बोल्न सक्दैनांै ? किन छोराहरूको हातको बन्दुक निस्काम हुन्छ ? किन साम्राज्यवादको अगाडि हतियार झुक्न थाल्छ ? किन देश बेच्ने दलालहरूले भनेको आदेश मात्र पालना भइरहेको हुन्छ ? यी प्रश्नहरू नेपालको सुरक्षा अङ्गका सेना–प्रहरीहरूले बुझ्नु पर्छ र राम्रोसँग बुझाउनु पर्छ । तपाई सुरक्षाकर्मी हो । देश र जनताको सुरक्षा गर्ने दायित्व तपाईहरूको काँधमा अलि बढी छ । तपाईहरूले एकपटक चीनलाई हेर्नुपर्छ । चीनमा त्यहाँका शोषक च्याङकाईसेकले जापानी साम्राज्यवादलाई देशमा भित्र्याएर माओले संचालन गरेको देशभक्तिपूर्ण आन्दोलनका विरुद्ध आक्रमण गरिरहेको बेला त्यहाँको सरकारी सेनाले सरकार विरुद्ध नै विद्रोह गरेर देशभक्त मोर्चामा सहभागी भएका थिए । यस्तै रुसमा जर्मनीको साम्राज्यवादी आक्रमण प्रतिक्रियावादी शोषक विरुद्ध लड्दा सन् १९१७को अक्टोबर क्रान्तिका बेला अत्याचार सहन नसकी सरकारी सेनाबाटै विद्रोह गरे । विगतमा जनयुद्धको बेलामा पनि थुप्रै सेना–प्रहरीहरूले विद्रोह गरेको इतिहास छ । अन्याय–अत्याचारले सीमा नाघ्दा देश विदेशीहरूले लुट्दा सुरक्षाकर्मीहरूले गम्भीर भएर सोच्नै पर्छ । पूर्व जर्नेल पे्रमसिंह बस्न्यातले भने जस्तै “दुई लाख बन्दुक मरे ! कर्मचारी मरे !” भन्ने गरेका छन् । त्यो कुरा साँच्चीकै लागु हुन दिनु हुँदैन ।
नेपालीहरूको इतिहास फरक छ । सन् १८१६को सुगौली सन्धी हुनु अघि ब्रिटिस साम्राज्यवाद विरुद्ध पनि भोकै प्यासै नेपालीहरू लडेका छन् । नेपालीहरूले आफ्नो माटोको लागि । आज पनि अमेरिकी साम्राज्यवाद विरुद्ध लड्न आवश्यक छ । सेना–प्रहरीको भात खाने काम मात्र होइन । देश विदेशीले लिन लाग्दा समेत टुलु–टुलु हेरेर बस्ने काम होइन । आज थुप्रै ठाउँहरूमा नेपालको सीमाहरू भारतीय साम्रज्यवादले अतिक्रमण गर्दा तपाईहरू बोल्नु हुँदैन । लुटिएको कालापानी फिर्ता ल्याउन सक्नु हुँदैन । अनि कसरी तपाइँलाई राष्ट्रवादी भन्ने ? जनताले के भनेर बुझ्ने ? के एमसीसीका साम्राज्यवादी बन्दुक नेपालमा आउँदा टुलु–टुलु हेरेर नै बस्ने हो ? होईन भने तपाईको शरिरमा एक थोपा तातो र रातो रगत छ भने निधार खुम्च्याएर सोच्नुहोस् । दलालहरूले सबै बेच्दा पनि नबोल्नु नेपालप्रतिको माया हुन सक्दैन । तपाईहरू जाग्नुहोस् । नेपाली दलाल र साम्राज्यवादीका विरुद्ध निर्णायक सङ्घर्षको तयारी गर्नुपर्छ । सेना–प्रहरीभित्र पनि कोही डलरवादी हुन सक्छन् । दलाल हुन सक्छन् । त्यस्तो कुरालाई पनि राष्ट्रवादी सुरक्षाकर्मीहरूले समयमै चिन्नुपर्छ । नेपाल बचाउने अभियानमा लाग्नुपर्छ । तपाईहरूको कर्तव्य र दायित्व यही हो ।
घ) युवा, विद्यार्थी र सञ्चारकर्मीको भूमिका : आज नेपालमा जति पनि युवा विद्यार्थीहरू छन्, उनीहरू निराश छन् । नेपालबाट केही हुँदैन र नेता–पार्टी कोही पनि ठिक छैनन् । क्रान्ति, सङ्घर्ष गर्नु बेकार हो । सङ्घर्ष गर्नु हँुदैन आदि–आदि भनाइले युवा विद्यार्थीहरू निराश छन् र उनीहरूलाई योजनावद्ध रूपमा निराश बनाउन खोजिएको छ । कोही खाडीमा छन् । कोही अमेरिकामा छन् । कोही युरोपमा त कोही अष्ट्रेलियामा छन् । कोही भारतका गल्लीहरूमा छन् । गतवर्ष अहिलेसम्मकै सबैभन्दा बढी करिब पौने ८ लाख युवाहरू विदेश गएका छन् । नेपालको यो अवस्था छ । यो साम्राज्यवादका दलालहरूले बनाएका हुन् । नेपालका ठूला भनिने केही सञ्चारहरूले बनाएका हुन् । एमसीसीको डलर खाएर नेपालका केही सञ्चारहरू खुलेआम एमसीसीको समर्थनमा प्रचार गरिरहेको अवस्था छ । यो देश र जनताप्रति घात हो । नेपालका युवा विद्यार्थीप्रति घात हो । एमसीसी विरुद्ध निकालिएका जुलस, भेला, धर्ना र गोष्ठीका समाचारहरू कहिलै बन्दैनन् । यो दृश्यले नेपालको सञ्चार पनि दलालीतिर छ भन्ने कुरा प्रष्ट्याएको छ । नेपालका केही सञ्चार पनि अमेरिकी सञ्चार भए कि भन्ने अवस्था छ । तिनीहरू साम्राज्यवादको लगानीमा चलेका छन् । यो राष्ट्रका लागि गम्भीर विषय हो ।
आज यही दलालीकरणले नेपालका युवा विद्यर्थाीहरू निराश बनाएको छ । जब युवा विद्यार्थी निराश हुन्छन्, विदेश जान्छन् तब नेपालमा एमसीसीका विरुद्ध विरोध र आन्दोलन गर्ने शक्ति कमजोर हुन्छ । त्यतिबेला आफ्नो स्वार्थपूर्ति सजिलैसँग गर्न सकिन्छ भन्ने साम्राज्यवादको सपना छ । उसले त्यो सपना सञ्चारबाट पुरा गराउन चाहेको छ । साम्राज्यवादको चाहना केही पत्रकार र सञ्चारकर्मीहरूले पुरा गरिरहेको छर्लङ्ग छ । साम्राज्यवाद नेपालमा कुनै पनि षड्यन्त्रद्वारा हस्तक्षेप गर्न चाहन्छ । यो अवस्थामा नेपालका युवा विद्यार्थी र सच्चा क्रान्तिकारी प्रगतिशील अग्रगामी पत्रकार तथा सञ्चारकर्मीहरूले गम्भीर बन्नुपर्छ । विदेशीको आर्थिक प्रलोभनमा होइन, माटोलाई माया गरेर एमसीसीका विरुद्ध समाचार लेख्नुपर्छ । युवा विद्यार्थीहरूले विदेशीहरूको गुलाम बन्न विदेश जाने होइन, आफ्नै देशमा केही गर्नुपर्छ । देशको समस्या समाधानमा योगदान पु¥याउनु पर्छ । एमसीसी जस्तो राष्ट्रघातका विरुद्ध सङ्घर्ष गर्ने हो र गर्नुपर्छ । युवा विद्यार्थीहरू नहुने हो भने देश बन्दैन । यो देश युवा विद्यार्थीहरूको काँधमा छ । युवा विद्यार्थीहरू एकताबद्ध बनौं । साम्राज्यवादका विरुद्ध बाघ झैं झम्टिनु पर्छ । लुक्ने र भाग्ने होइन, आवश्यक परे रगत दिने आँट गर्नुपर्छ । दलाल सञ्चारहरूलाई क्रान्तिकारी तथा प्रगतिशील सञ्चारहरूले हमला गर्नुपर्छ । यो देशमा नेपालीपनको पत्रकार चाहिन्छ र सञ्चार चाहिन्छ । न कि साम्राज्यवादको गोटी । यो देशमा युवा विद्यार्थी, नेता सबै नेपालीपनको हुनुपर्छ ।
ङ) आम जनताको भूमिका : एउटा राष्ट्र बन्न कस्तो खाले जनता चाहिन्छ ? आफू बसेको देश बेचिँदासम्म नबोल्ने वा देशको पक्षमा लड्ने ? अवश्य, पनि देश र माटो प्रति बफादार भएको लड्ने जनता चाहिन्छ । त्यस्तो जनता नै राष्ट्रको सच्चा जनता हो र त्यो देशप्रेमी नागरिक पनि हो । आज नेपालमा सच्चा देशप्रेमी नागरिकको खाँचो छ । कहीं न कहीं राजनीतिक दलको स्वार्थ, व्यक्तिगत स्वार्थ, र साम्राज्यवादको प्रलोभनमा देशप्रेमप्रति कमजोर बन्न खोजेको हो कि भन्ने आशङ्का छ । किनकि नेपालमा एमसीसी मार्फत साम्राज्यवाद नाङ्गो रूपमा आउँदासम्म नेपाली नागरिकहरू सड्कमा आउन हिच्किचाही रहेका छन् । खुलेर सड्कमा आउन सक्दैन । नेपालका केही लेण्डुप दोर्जेहरूको भ्रममा भ्रमित भइरहेको अवस्था छ । यो के हो त ? यो कहीं न कहीं देशप्रेमप्रति, माटोप्रतिको माया कमजोर भयो, तर यो हुन दिनु हुँदैन भन्ने लाग्छ । आउने दिनहरूमा नेपाली जनताले बुझ्दै जानेछन् ।
सबै जनताको चेतनास्तर एउटै हुन सक्दैन । कोही ढिलो बुझ्न सक्छ । कोही छिटो बुझ्न सक्छ । तर जनताले एक दिन अनिवार्य बुझ्नेछ । जनताले आफ्नो पुरानो दब्बु मानसकिताबाट पनि माथि उठ्नै पर्छ । एकपटक माओले भन्नुभएको छ, “जनता काँचो माटो हुन्, जता पनि लाग्छन् अथवा जस्तो आकारको भाँडा बनाउन खोज्यो यस्तै बन्छ ।” यो साँच्ची कै पनि हो । नेपाली जनतालाई प्रतिक्रियावादी र साम्राज्यवादीहरूले दुरूपयोग गरिरहेका छन् । काँचो माटोको जनतालाई केही हदसम्म भ्रममा पारेर आफ्नो स्वार्थपूर्ति गर्ने षड्यन्त्र गरेका छन् । यो दिगो होइन र हुन सक्दैन । काँचो माटो रूपी जनता अब क्रान्तिकारी परिवर्तन र राष्ट्रिय स्वाधीनताको आन्दोलनमा अवश्य लाग्नेछ । भियतनामबाट साम्राज्यवादलाई जनताले लखेटेको इतिहास ताजै छ । ब्रिटिस सामाज्यवादलाई भारतीय जनताले र जापानी साम्राज्यवादलाई चिनियाँ जनताले र जर्मन साम्राज्यवादलाई रुसी जनताले लखेटेको इतिहास कसैले लुकाउन सक्दैन । अन्ततः जनताको विजय साम्राज्यवादले रोक्न सकेन । त्यसैले भनिन्छ– इतिहासको निर्माता जनता हुन् । यो नेपाली जनताले राम्रोसँग बुझ्नेछ । साम्राज्यवाद र दलाल संसदीय व्यवस्थाको अत्याचारले नेपालमा सीमा नाघेको छ । एमसीसी जस्तो राष्ट्रघातले देशमाथि बलात्कार भएको छ । नेपाली माटोप्रति माया भएका सबै नेपालीहरू साम्राज्यवादको षड्यन्त्रका विरुद्ध एक बनौं । नेपाली सबै श्रमजीवी, राट्रप्रेमी, किसान मजदुर, महिला, दलित, उत्पीडितहरू, जाति–जनजातिहरू सबैले हात–हातबाट औजार लिएर साम्राज्यवादको सैन्य परियोजना एमसीसी विरुद्ध उत्रिनु पर्छ । यदि नेपालमा एमसीसी कार्यान्वयन भयो भने, नेपालमा अमेरिकी सेना परेड खेल्नेछ । चीन विरुद्ध युद्ध हुँदा नेपाल दोस्रो युक्रेन हुनेछ । यो कुरा हामी नेपालीहरूले समयमै बुझ्नु आवश्यक छ । नेपाल कम्युनिस्ट पार्टीले उठाएको राष्ट्रिय स्वाधीनताको लडाई र राजनीतिक परिवर्तनको लडाईमा साथ दिन जरुरी छ । देश बचाउने अभियानको नेतृत्व नेकपाले गर्नेछ । यो अभियानमा कोही तल–माथि नभनी सबै सीमा रेखा तोडेर एमसीसी विरुद्धको मोर्चामा सहभागी हुनुपर्छ । जनताको शक्तिले एमसीसी नेपालबाट खारेज हुनेछ । साम्राज्यवाद नेपालबाट भाग्ने छ । साम्राज्यवादका नेपाली दलालहरू पनि भाग्नेछन् । यो देश सच्चा नेपालीहरूको काँधमा हुनेछ । नेपाल स्वतन्त्र र स्वाभिमानी बन्नेछ । कसैको गुलामी र दलालहरूको देश नेपाल कहिल्यै हुनेछैन ।
एमसीसी –मुर्दावाद ! देशभक्तहरुको राष्ट्रिय एकता– जिन्दावाद !
   


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।