१ मंसिर २०८१, शनिबार

परम्परागत विभेदकारी सत्ताको,भड्किलो चाड ‘दशैं तिहार’

0

भूमिका

सामान्ती सत्ताले आफ्नो वर्ग स्वार्थका लागि मनाउने गरेका विभिन्न चाडपर्वहरु समाजमा छन । ती चाडपर्वहरु मध्य दशै तिहार पनि एक हो । सामान्ती सत्ताले थोपरेका विभेदहरु दशै तिहार जस्ता चाडपर्वको माध्यमबाट समाजमा कयौ विभेद सृजना गरिएका छन । चाडपर्वहरुलाई धर्म कर्मसंग जोडिएको छ । यसले समाजमा विभिन्न खाले थप विखण्डन समेत ल्याएको छ । दशंै र तिहारलाई हिन्दु धर्मावलम्बीहरुसंग जोडिएको छ । यो हिन्दु धर्मावलम्बीहरुको महत्वपूर्ण र सबैभन्दा ठुलो चाडको रुपमा लिने परम्परागत मान्यता छ । यो सामान्ती सत्ता र त्यसका संचालकहरुले संस्थागत गरेको मान्यता हो । यो मान्यतालाई समाजमा सुरुमा जर्बजस्त मान्न लगाईयो । विस्तारै समाजलाई रुढीवादतिर लिने नकरात्मक मान्यता स्थापित गरयो । आज त्यसैको नकरात्मका मान्यताहरु विज्ञान सम्वत नभएपनि समाजमा दशै तिहारलाई मान्नेतिर गएका छौ । यसका केही झिनो सकरात्मक विषयहरु छन । देश विदेशमा रहेका घरपरिवार,आफन्तजन, इष्टमित्र,छरछिमेकहरु बीचको भेटघाटको परम्परा छ । दशैंमा ठुला मान्यजनहरुको हातबाट टिका र जमरा थाप्ने चलन छ । तिहारमा आफ्नो दिदि बहिनीहरुको हातबाट टिका थाप्ने प्रचलन छ । यो राम्रो पक्ष भएपनि यसभित्रका खराबी पक्ष धेरैछन ।

अध्यात्मवादी परम्परागत मान्यताले समाजमा कयौं विकृति ल्याएको छ । हिन्दु र मुस्लिम, हिन्दु र वौद्ध,इसाई लगायतका धर्महरु बीचको विभेद सृजना गरेको छ । नेपालमा सामन्तीसत्ताको एकछत्र राजले दशै तिहारलाइै बढी मान्यता दियो । यसलाई हिन्दुकरण गरियोे । अरु धर्मप्रति उपेक्षा गरियो । यो सामन्ती सत्ताको धर्म माथिको पनि एकछत्र राज र शोषणको एक रुप हो । यसलाई अन्धविश्वासले गहिरो जरा गाडेको छ । सामन्ती सत्ताको रक्षाकव बनाउन परम्परागत तथा रुढीवादी धर्मकर्मलाई मान्यता दिएको हो । यो उत्पीडित तथा श्रमजीवी वर्गको लागि मनाईएको र सुरुवात गरिएको चाडपर्व होइन । यो शोषकवर्ग र सामन्तीहरुको हितमा लागि संचालन गरिएको हो । आज यो चाडले हुने र नहुने समुदायमा विभाजनको गहिरो रेखा कोरेको छ । हुनेवर्ग र नहुने वर्गहरु बीचको मनाउने दशैं र तिहार आकास जमिनको फरक छ । हुनेहरुको लागि कुनै अभाव छैन । नहुनेहरुको लागि अभावै –अभावको बीचबाट दशैं तिहार जोहो गरी मनाउनु पर्ने बाध्यता छ । यतिमात्र होइन दशैं र तिहार जस्ता परम्परागत चाडले हाम्रो समाजलाई कता डोर्याउदै छ ? के हामीले दशै र तिहारको सट्टा नयाँ संस्कृति र संस्कारको निमार्ण गर्न सक्दैनौ ? के समाजवादी र कम्युनिष्ट संस्कृतिको मान्यता स्थापित गर्न सकिदैन ? आदि प्रश्नहरु हाम्रो अगाडि छन । यी प्रश्नहरुको सहि जवाफ दिन सकेनौ भने समाजलाई भौतिकवादी दृष्टिकोणले बुझ्ने बुझाउने मान्यता देखि समाज परिवर्तनको युगमा विज्ञान र प्रविधिको युगलाई समेत चुनौती थप्नेछ । विभेदकारी पुरानो सत्ताले थोपरेका अन्धविश्वासी धार्मिक संस्कार र संंस्कृतिरै रमाउन खोज्यौ भने समाजलाई ठिक ठाउँमा पुर्याउन सकिदैन । सत्तामा मात्र होइन हाम्रो संस्कार संस्कृतिमा पनि नयाँ चाहिन्छ । यसलाई समाजबाट एकैपटक रुपान्तरण गर्न पनि समाजमा चुनौती छ । विस्तारै समाजको मुल्य मान्यता,संस्कार र संस्कृतिलाई सचेत मानिसहरुले भौतिकवादी दृष्टिकोणमा ढाल्न र मनाउन आवश्यक छ । आखिर परम्परागत रुपमा दशैं तिहार के हो त ? कसरी मनाईन्छ ? यसका खराबीहरु के के हुन ? अनि विकल्प के हो ? भन्ने बारे यहाँ केही चर्चा गर्न खोजिएको छ ।

(क) धार्मिक र परम्परागत रुपमा दशैं के हो ?

यो नेपालीहरूको प्रमुख पर्व हो । विशेषगरी हिन्दू धर्मावलम्बीहरुले आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमा सम्म मनाउने यो पर्व नेपालको सबै भागमा मनाउने चाड हो । आश्विन शुक्ल प्रतिपदामा जमरा राखि नवमीसम्म दुर्गासप्तशती (चण्डी) पाठ गरि नव दुर्गा र तृशक्ति महाकाली, महालक्ष्मी र महासरस्वोतिको विशेष पूजा आजा र आराधाना गर्ने प्रचलन छ । विजयादशमीको दिन भगवतीले दानवी शक्तिमाथि र रामले रावणमाथि विजय हाशिल गरेको उपलक्ष्यमा खुसियालीमा नवदुर्गा भवानीको प्रसाद स्वरुप रातो टिका र जमरा लगाउने चलन छ । आश्विन (असोज) महिनाको शुक्लपक्षको दशमी तिथिको दिन यस पर्वको प्रमुख दिन भगवान रामले यसै दिन रावणको बध गरेको मान्यता अनुसार यसलाई असत्य माथि सत्यको विजयको रूपमा मनाईन्छ । व्यक्ति र समाजको रगतमा वीरता प्रकट होस् भन्ने ध्येयले दशैंको उत्सव (पर्व) शुरु भएको भनिन्छ । दशैं पर्वले दश प्रकारका पापहरू– काम, क्रोध,लोभ, मोह मद, मत्सर, अहंकार, आलस्य,हिंसा र चोरी त्याग्ने(छोड्ने)प्रेरणा दिन्छ भन्ने धार्मिक मान्यता छ । विजया दशमीको उत्पत्ति र मनाउने चलन भारतबाट आएको भन्ने विश्वास गरिन्छ ।

(ख) धार्मिक र परम्परागत रुपमा तिहार के हो ?

तिहार मान्ने धर्मावलम्बीहरूका लागि दशैं पछिको सबैभन्दा ठूलो पर्व हो । यो पर्व कार्तिक कृष्ण पक्ष त्रयोदशीका दिन काग तिहारको नामले शुरु भएर कार्तिक शुक्ल पक्षको द्वितिया तिथिको भाइ टीकासम्म (पाँच दिन) मनाइन्छ । पाँच दिनसम्म मनाइने भएकाले यसलाई यमपञ्चक पनि भनिन्छ । यो पाँच दिवसीय पर्व विशेष गरी नेपालमा मनाइन्छ । यो पर्वलाई दीपावलीको रुपमा पनि धूमधामसाथ मनाउँछन् । यसलाई दीपावली अनि दिवाली नामले पनि चिनिन्छ । यमराजले आफ्नी बहिनी यमुनाका घरमा आतिथ्य ग्रहण गरेको हुनाले यी पाँच दिनलाई यमपञ्चक भनिएको जनविश्वास छ । यही दिन भगवान् धन्वन्तरीको जन्म भएको हुनाले यसलाई धन्वन्तरी जयन्ती पनि भनिन्छ । यसै दिन साँझमा घरको मूलद्वारको अगाडि यमराजलाई दीपदान गर्नाले मृत्युदेव प्रसन्न भई आरोग्यता तथा दीर्घजीवन प्रदान गर्छन् भन्ने धार्मिक मान्यता छ । त्यो घरमा कहिल्यै पनि अल्पमृत्यु हुँदैन भन्ने अन्धविश्वासको मान्यता छ । यमपञ्चकमा क्रमशः काग, कुकुर, गाई, लक्ष्मी, गोवर्धन र भाइ पूजा गरिन्छ । पिङ खेल्ने, दीपावली गर्ने र देउसीभैलो खेल्दै सेलरोटी आदि मिष्ठान्न खाई रमाइलो गरी तिहार मनाउने गरिन्छ । तर कहिले काहीँ तिहार ४ दिनमै तिथिको कारणले सकिने गरेको छ ।
(ग) दशैं तिहारले निम्त्याएका खराबीहरु

(अ) हुने खाने वर्ग र हुदा खाने वर्ग बीचको विभेद

दशैं तिहारले समाज ,व्यक्ति एक अर्काले मनाउने फरक धर्म बीच विभेद सृजना गरेको छ । हुदा खाने र हुने खाने बर्ग बीचको विभेद गहिरो छ । हुने खानेवर्ग,धनी साहु महार्जनहरुका लागि दशंै तिहार निकै हर्ष उल्साहपूर्ण हुन्छ । उनीहरुको दशैं तिहार खानपिनको हिसावले वर्षभरी कै एकैदिनमा भड्किलो खर्च हुन्छ । उनीहरुको लागि पैसाको कारणले मिठो ,मसिनो,विभिन्न चौरासी ब्यञ्जनको खानेकुरा अभाव हुदैन । मनले चाहेको लुगा किन्न कुने अभाव हुदैन । उनीहरुलाई यता उता जानु पर्यो भने कार,हेलिकप्टर,प्लेनको प्रयोग गरेर आवत जावत गर्न अप्ठ्यारो छैन । कुनै चिजको अभाव हुदैन । जहाँकी समस्या र अभाव भन्ने कुरा हुनेखानेहरुले कहिल्लै चिन्नसक्दैनन् । त्यसैले पनि उनीहरुको दशंै तिहार खान पिनका हिसावले वर्षभरी नै हुन्छ र छ पनि । उनीहरुले कहिलै पनि हुदा खाने वर्गलाई सहयोग गर्दैनन् । बरु विभिन्न परिकारका खान खाएर फुटपोईजन भई अस्पताल भर्ना हुन तयार हुन्छन । हुदा खाने वर्गको लागि सहयोग गर्नु त के देख्नै सक्दैनन् । यो पुँजीवादी तथा साम्राज्यवादी संस्कृति हो । पुँजीवादले श्रमजीवी वर्गमाथि संधै अत्याचार गरेको हुन्छ । पुँजीवादले एकअर्कालाई शोषण गर्नु, अत्याचार गर्नु,विभेद गर्नु आफ्नो लुटको स्वर्ग बचाउनु उसको वर्गीय चरित्र नै हो । साम्राज्यवाद र पुँजीवादका एजेण्ड तथा दलालहरुले त्यसलाई पालन गर्नु र व्यवहारमा लागु गर्नु पनि स्वभाविक हो । उनीहरु भ्रष्टाचार,कमिशन,दलाली गरी कमाएको पैसा सेतो बनाउने गरी दशै मनाउछन । यो सबै हुने खाने वर्गको लागि भने होइन । हुने खाने वर्ग भित्रपनि एउटा महादलाल भ्रष्ट हुनेखाने वर्ग छ । त्यस्तो वर्ग तल्लो वर्ग प्रति कहिलै गम्भीर हुदैन । तल्लो वर्गले खाहोस् त ,नखाहोस् त ,दशैं तिहार मानहोस् त नमनाहोस् त कुनै चासो राख्दैन । यस्तो वर्ग भनेको शोषक,दलाल,भ्रष्टाचारी र साम्राज्यवादको गुलामी वर्ग हो । यो वर्गको दशैं तिहारमा मिठो मसिनो खाउला भनेर समय कुर्नु पदैन । उसको सधै दशै हुन्छ ।
तर हुदा खाने श्रमजीवी वर्गको भने आफ्नो छुट्टै पीडा छ । यो यस्तो वर्ग हो । कम्मरमा पटुका बाँधेर काम गर्छ । २४ सैं घण्टा श्रम गर्छ । पसिना बगाउछ । तर पनि खान लगाउन अभाव छ । उसको श्रम माथिल्लो वर्गले शोषण गरिरहेको छ । विदेशका विभिन्न देश,खाडी मुलुक र भारतका गल्लीहरु धाएर परिवार पाल्ने र दशैं तिहार मनाउने गर्छ । त्यतिमात्र होईन, स्वदेशमै सडकमा दशंै तिहार मनाउनु पर्ने बाध्यता छ । यो वर्गलाई दशैं तिहार हर्ष न विषमात ! किनकि यो वर्गलाई दशंै तिहारको लागि जोहो गर्नुपर्छ । कहि कसैबाट मागेर ऋण गरेर दशै तिहारमा बालबालिकाको लुगा फाटो बदल्ने र मिठो मसिनो खानेकुरा खानु पर्ने वाध्यता छ ।

यो वर्ग भित्र सर्वहारा श्रमजीवी,किसान,मजदुुर,जोताहा,भूमिहीन,शुकुम्वासी,मुक्तकमैया,उत्पीडित तथा अपहेलित कर्णाली ,सुदूरपश्चिम जस्तो क्षेत्रका जनता पर्दछन । उनीहरुले वर्षभरी मिहनेत गर्दछन । तर मिठो मसिनो खान वर्षभरी आउने एक पटकको दशैं तिहार कुर्छन । अथवा चाहेको समयमा मिठो मसिनो खाने पैसा हुदैन । चाहेको समयमा घुम्ने भाडा हुदैन । तल्लो वर्गले एक दिन पसिना बगाउन छोड्यो भने साँझ विहानको खाना बन्द हुन्छ । किसानले वर्षभरी मिहनेत गर्छ । उत्पादन हुदैन । सरकारको कृषि तर्फ ध्यान छैन । जोताहाले अरुको खेत जोत्छ । आफ्नो जमिन छैन । सवै मालिकले लिन्छ । उचित पारिश्रमिक पनि छैन । शुकुम्वासी र मजदुरहरुले दिनभर मिहनेत गर्छ कहि ज्याला पाउदैन कहि मुल्य पाउदैन । उ पनि ठगिएको छ । अपहेलित उपीडित कर्णाली ,सुदूरपश्चिम जस्ता क्षेत्रका जनताहरु त पैसा भएरपनि चामल नपाउने अवस्था छ । पैसा नहुनेहरु आलु,कन्दमुल ,तरुल खाएर दिन काट्नु पर्ने बाध्यता छ । यसको ज्वलन्त उदाहरण, हुम्ला मुगुका विकट बस्ति र वाजुराको कुरु क्षेत्रका जनतालाई लिन सकिन्छ । उत्पीडित क्षेत्रको जनता पनि सधै हुने खाने वर्गको उत्पीडन मै छ । यसले के देखाउछ भने उत्पीडित वर्ग अथवा हुदा खाने वर्गको लागि दशै होईन यो दशा हो । तिहार होईन यो तितो सत्य हो । दसैं तिहारको खुसी र सन्तुष्टि कहिले पनि छैन । मन भित्र ठुल्ठुला पीडा राखेर हाँसे जस्तो हुदै दशैं तिहार मनाउनु पर्ने बाध्यता छ । यो वर्गको दशैं कहिलै पनि छैन । कँहि पनि छैन । खुसी पनि छैन । शोषण र उत्पीडनबाट मुक्त पनि छैन । त्यसैले जहाँ सम्म आफु माथिको उत्पीडनबाट मुक्ति पाउदैन यो वर्गले दशैं र तिहार खुसी र सन्तुष्टि मनले मनाउन पनि सक्नेछैन ।

(आ) अन्धविश्वास र रुढीवादको स्थायित्वः दशै र तिहारले मान्छेलाई अन्धविश्वास र रुढीवादमा ग्रस्त पारेको छ । यसले समाजमा भगवान,इश्वर देवी देवताको गलत मान्यता स्थापित गरेको छ । यो सामन्ती सत्ताको मान्यता हो । यो मान्यता भनेको अध्यात्मवादी दर्शनसंग जोडिएको मान्यता हो । यो दर्शनले पुँजीवाद र पुँजीवादी संस्कृतिको रक्षा गर्दछ । पुँजीवाद र पुँजीवादी संस्कृति भनेको कहिलै पनि श्रमजीवी वर्गको हितमा हुन सक्दैन । भौतिकवादी दर्शनको हितमा हुन सक्दैन । समाजलाई वुझने र बदल्ने दृष्टिकोण भनेको अध्यात्मवादी दृष्टिकोणले होइन भौतिकवादी दृष्टिकोणले मात्र सम्भव हुन्छ भनेर करिव दुईसय वर्ष अघि माक्र्सले भनेका छन । उनले ऐतिहासिक भौतिकवादी दर्शनको विकास समेत गरेका छन । यो विश्वका कम्युनिष्ट भौतिकवादीहरुले अंगिकार गरेका छन । आज नेपालका पनि भौतिवादीहरुले ग्रहण गरेका छन । तर त्यो नेपाली समाजवमा पूर्णरुपमा लागु हुन सकेको छैन । कतिपय कम्युनिष्ट भन्ने नेताहरुबाटै अध्यात्मवादको संरक्षण भएको छ । जनता र समाजमा त धेरै परको कुरा हो । जनतालाई विस्तारै भौतिवाद तिर लिने काम कम्युनिष्ट समाजवादी नेता र पार्टीको हो । यो दिशामा नेपाललाई लिन नसक्दा अन्धविश्वास र रुढीवादले स्थायित्व पाएको छ । कम्युनिष्ट भन्ने पार्टी र नेताहरुले रुपान्तरण हुदै यसको विकल्प जनतालाई दिन जरुरी छ ।
(इ) अपराधिक घटनाहरुको प्रशयः दशै तिहारमा समाजमा गलत मान्यता स्थापित हुदा अपराधिक घटनाहरु वढने गरेका छन । चोरी डकैति,हत्या,हिंसा,वलात्कार,झै– झगडा लगायतका थुपै अपराधिक घटनाहरु हुने गर्छन । यो समाजको समस्या त हो तर मुख्यः राज्यको समस्या हो । राज्य जनताको नहुदा यस्ता घटना हुनेगर्छन । बाटोमा हिड डुल गर्दा,पिङ्ग खेल्दा थुपै विकृतिहरु देखा पर्नेगर्छन । दशै तिहारमा रक्सी तथा जुवा तासले ठुुलो विकृति ल्याउने गर्छ । मान्छेहरु देवालीमा घरवार विहिन हुने गरेर जुवा खेलाउने र खेल्ने गर्छन । रक्सी खाएर थुपै नेपाली युवाहरुको ज्यान समेत जाने गरेका छन । यस्ता विकृतिहरु राज्यले निम्त्याएका हुन । दशै तिहारको नाममा यी विकृतिहरु निम्तिएका हुन । यस्ता तमाम विकृतिहरु ल्याउने यो चाड हो । यसबाट सचेत नेपालीहरु विकृति हटाउन तिर र नयाँ विकल्पको सस्कार संस्कृति मनाउने तिर लाग्नु पर्छ
(घ) विभेदकारी,अन्धविश्वासी र रुढीवादी संस्कार संस्कृतिको विकल्प बारेः ःदशैं र तिहार तथा परम्परागत चाडहरु एक वर्गले अर्को बर्गमाथि शासन गर्न र शोषण गर्न चलाएका प्रचलन हुन । अझै सामन्तवादी सत्ता जोगाउन यसले ठुलो भूमिका खेलेको छ । सत्ताका मालिकहरुलाई धार्मिक परम्परा अनुसार पुजनु पर्ने संस्कृतिमा आधारित छ । समाजको परिवर्तन र गति संग संगै यी परम्पराहरु पनि बदलिदै आएका छन । नेपालमा पनि सामन्तवादी व्यवस्थामा त्यो भएको छ । तर विभेद,अन्धविश्वास र रुढीवादी चेतनामा परिवर्तन भने हुन सकेको छैन । दशैका बारे नेकपाका स्थायी समिति सदस्य अनिल सी यसरी भन्छन “दशैं हिन्दु धार्मिक समुदायको चाड हो । दशैंमा शुरुमा कृषि समाज र नारी गणिका पुजनको प्रधान्यता देखिन्थ्यो । सामन्तवादको पछिल्लो अवस्थामा त्यसमा ह्रास भयो । पृथ्वीनारायण शाहको काठमाडौं आगमनपछि गोरखा दरबारको फूलपाती बोकाएर काठमाडौं, वसन्तपुर दरबारसम्म ल्याएर भित्र्याउने चलन शुरु भयो । त्यो गोरखाली विजयको अभिव्यक्ति थियो । त्यसैगरी कोतमा ठूलो मात्रामा बलि दिएर युद्ध उन्माद प्रकट गर्न थालियो । यसरी चाडपर्वहरु सामन्ती सत्ताका बौद्धिक औजार बन्न गए ।”

उनले यो भने जस्तै चाडपर्वहरु सामन्ती सत्ताले सत्ता जागाउने वौद्धिक औजारको रुपमा नै प्रयोग गर्यो । जसका कारण निन्नवर्ग माथि सधै धार्मिक शोषण भइरहयो । विभेदकारी सत्ता जोगाउने खेल भईरहयो । यसलाई समाजवादी कम्युनिष्टहरुले नयाँ विकल्प दिन आवश्यक छ । कम्युनिष्ट तथा बैज्ञानिकतामा आाधारित संस्कार दिन आवश्यक छ । दशै र तिहार भनेर जति नेपाली तथा हिन्दुहरुको दिमागमा गहिरो छाप छ, यो लामो समयको निरन्तरताको संस्कार मान्यता र परम्पराले हो । हामीले यसको विकल्पमा वीर गोरखालीको लडाईलाई केन्द्र बनाएर,जनयुद्ध तथा जनआन्दोलनको बलिदानलाई केन्द्र बनाएर धुमधामका साथ स्मरण गर्ने पर्व मनाउन सक्छौ । राष्ट्र बचाउन र जनताको व्यवस्था परिवर्तन गर्न अद्धितिय कृतिमानहरु नेपालीहरुका छन । त्यसलाई केन्द्र विन्दु वनाएर दशै जस्तै विकल्पको चाड मनाउनु पर्छ । दशै भित्रको धार्मिक अन्धविश्वास हटाउने गरी कम्युनिष्ट समाजवादीहरुले संस्कृतिमा पनि कम्युनिष्ट समाजवादी संस्कृतिको विकास गर्नु अपरिहार्य हो ।
यस्तै तिहारको विषय छ, तिहार पनि अन्धविश्वास र रढीगत विषयमा आधारित छ । केही व्यक्तिहरुका नाम र कामहरु जोडिएका होलान । तर त्यसैलाई अदृश्य शक्तिका रुपमा चित्रण गरेर अतिरञ्जनापूर्ण व्याख्या गरी समाजमा भ्रम पैदा गरिएको छ । यसले मान्छेलाई अगाडि होइन पछाडि धकेलिरहको छ । यसको पनि विकल्प दिन जरुरी छ । मान्यता नयाँ स्थापित गर्न जरुरी छ । दिदि वहिनीको हातको टिका लगाउने परम्परा आफैमा नराम्रो होइन तर लगाउनु नि पर्छ यसलाई धार्मिक रुढीवादरित जोडेर होइन, हाम्रो इतिहासमा महिलाहरुले दाजुभाईहरु मिलेर समाज परिवर्तनका लागि गरेका विशेष योगदानामा आधारित बनाएर संस्कार संस्कृतिको विकास गर्नु पर्छ । हामीलाई संस्कार संस्कृति चाहिन्छ आवश्यक पनि हुन्छ । तर त्यसलाई समाज विज्ञानसंग पनि जोडन छुटाउनु हुदैन । समाज विज्ञानलाई छोडेर अध्यात्मवादी धार्मिक अन्धविश्वासवादसंग जोडिएको छ । यो विकल्प दिन मुख्यगरीः नेपालका कम्युनिष्ट,समाजवादी तथा प्रगतिशील शक्तिहरुले भूमिका खेल्नु पर्छ । जनयुद्धमा नयाँ संस्कार स्थापित भईसकेको थियो । आज ति नयाँ सस्कार उल्टिएका छन । सत्तासंग संस्कार र संस्कृति जोडिएको हुन्छ । कसको सत्ता छ ? कुन वर्गको सत्ता छ ? त्यही अनुसारका संस्कार र संस्कृति खडा गरेर सत्ता बचाउने गरिन्छ । त्यसैले नेपालमा समाजवादी व्यवस्था अपरिहार्य नै छ । अहिलेको दलाल संसदीय व्यवस्थ पनि विभेदकारी र दलाल पूँजीवादीको व्यवस्था भएकाले यसबाट धेरै ठुलो आसा गर्ने ठाउँ छैन । तैपनि समाजका परिर्वतनकामी शक्तिहरुले व्यवस्था परिवर्तनसंगै संस्कार र संस्कृति परिवर्तनको अभियानमा लाग्नै पर्छ । चीनमा माओले के त्यत्तिकै सन् १९६६ देखि १९७६ सम्म साँस्कृति क्रान्ति संचालन गरेको हो ? नयाँ संस्कार स्थापना गर्न र समाज भित्रका रुढीवादी संस्कारहरुको परास्त गर्न संचालन गरेको हो । नेपालमा पनि नयाँ सांस्कृतिक क्रान्ति आवश्यक छ । त्यो नेतृत्व नेपालका कम्युनिष्ट, समाजवादी र प्रगतिशील शक्तिले लिनुपर्छ । अनि मात्र विभेदकारी व्यवस्थाको भड्किलो चाडवाडबाट जोगिन सकिन्छ ।
निश्कर्ष ः

चाडपर्वमा पछिल्लो समय हुने खाने वर्गको देखासिकी बढेको छ । ऋण गरेर भएपनि नहुने वर्गले चाडपर्व मनाउनै पर्ने गलत परम्परा विकास भएको छ । यो वाध्यता र आवश्यकता दुवै छ । तर पनि यस्तो संस्कारको रुपान्तरण जरुरी छ । दशैं तिहार मनाईसकेपछि दशै तिहारमा लागेको ऋण तिर्न बाल बच्चा बोकेर विदेश जानु पर्ने बाध्यता नेपालीहरुको छ । चाडपर्वमा ऋण गरेर पनि नहुने वर्गले अति खर्च गर्ने बानीको अन्त्य गर्नु पर्छ । चाडपर्वलाई भेटघाट र सद्भावको पर्व मनाउनु पर्छ । क्षमता अनुसारको खानपिन पनि गर्नु पर्छ । तर देखासिकी गर्नु हुदैन । चाडपर्वलाई प्रतिस्पर्धाको पर्व बनाउनु हुदैन । यसलाई विस्तारै समाजवादी कम्युनिष्ट संस्कार र संस्कृतिमा विकास गर्नु पर्छ । कम्युनिष्ट समाजवादीहरुले पनि आफ्नो संस्कार संस्कृतिको स्पष्ट विकल्प जनतालाई दिनुपर्छ ।

अझै महत्पूर्ण पक्ष के छ भने, हामी समाजवादी, सच्चा कम्युनिष्ट तथा देशको प्रगतिशील शक्ति हौं भने केही गम्भीर बन्नै पर्छ । सुरुमा हामी आफ्नै आदत र संस्कारहरु रुपान्तरण गर्नुपर्छ । आफै कम्युनष्टि नेता हुने मन्दीर पुजा गर्न जाने, दशै तिहार धुमधामसंग मनाउने पुजापाठमा रमाउने कुराले समाज परिवर्तन हुदैन । त्यसकारण हामी सच्चा र भौतिकवादी दृृटिकोणमा विश्वास गरांै । त्यसपछि नयाँ संस्कार र संस्कृतिको बारे समाजमा बहस पनि गरौं । पुराना संस्कार संस्कृतिको खराबीपक्ष पनि जनतालाई राम्रोसंग बुझाउ । त्यो नबुझे सम्म जनताले एकैपटक पुरानो संस्कार र संस्कृति छोडेर नयाँ मनाउने ठाउँमा आउदैन । यसलाई विस्तारै रुपान्तरण अभियानमा लैजानुपर्छ । अनि मात्र परम्परागत विभेदकारी सत्ताको, भड्किलो चाडपर्व ‘दशैं तिहार’ को विकल्पको चाड विकास हुनसक्छ ।

 

 

 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।