२१ बैशाख २०८१, शुक्रबार

७ पूर्वराजदूतद्धारा प्यालेस्टिनी जनताको अधिकारको पक्षमा रहेको घोषणा

0

काठमाडौ । नेपालका विभिन्न ७ पूर्वराजदूतहरुले आफूहरु प्यालेस्टिनी जनताको अधिकारका पक्षमा रहेको सार्वजनिक घोषणा गरेका छन ।

आइतबार संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरूले प्यालेस्टिनी जनताले आफ्नो अधिकारको खोजी गर्दा निर्दोष र निहत्था नागरिकलाई हत्या गर्ने कार्य भएको भन्दै त्यसको भत्र्सना गरी आफूहरु प्यालेस्टिनी जनताको पक्षमा रहेको घोषणा गरेका हुन ।

उनीहरुले इजरायल र प्यालेस्टाइन बिच चलेको हिंसाको नयाँ लहरबाट आफुहरु गम्भीर रूपमा चिन्तित भएको खुलासा गरेका छन ।

विज्ञप्तिमा इजरायली सरकारले मानवीय मूल्य, मान्यताका सबै मानकलाई तोड्दै प्रतिहिंसाको सिलसिला सुरु गरेको उल्लेख गर्दै त्यसबाट गाजा पट्टीमा सर्वसाधारणका बस्तीमा बम गोलाबारी गरी ४३०० भन्दा बढीको हत्या र अरू हजारौँ घाइते बनाउने काम गरेको उल्लेख गरिएको छ ।

हिंसाका घटना जारी रहँदा गाजा क्षेत्रमा ठुलो मानवीय सङ्कट पैदा भएको भन्दै उनीहरूले अस्पताल जस्तो ठाउँमा गोलाबारी गरी स्वास्थ्यकर्मी, बिरामी, घाइते र बिरामी कुरुवाको हत्या जस्तो बर्बर र जघन्य अपराधको जति भत्र्सना गरे पनि नपुग्ने धारणा सार्वजनिक गरेका छन् ।

पूर्वराजदूतहरुले इजरायलको यो राज्य आतङ्क निन्दनीय भएको टिप्पणी गरेका छन । उनीहरुले विज्ञप्तिमा भनेका छन ‘यस सङ्कटपूर्ण घडीमा संयुक्त राष्ट्रसङ्घले तत्काल युद्ध रोकी वार्ताद्वारा समस्याको समाधान गर्न,सर्वसाधारणको ज्यान जोखिमबाट जोगाउन र सर्वसाधारणलाई तत्काल मानवीय सहायता पुर्याउन असमर्थ हुने हो भने यसको औचित्यमा नै प्रश्न उठ्ने छ ।’

उनीहरूले युद्ध र हिंसाले कुनै समाधान दिदैन भन्नेमा दृढ विश्वास रहेको भन्दै संयुक्त राष्ट्र सङ्घको प्रस्तावअनुरूप दुई राज्य सिद्धान्तअन्तर्गत प्यालेस्टिनी राज्यको सही कार्यान्वयनले मात्र मौजुदा समस्याको दीर्घकालीन समाधान हुने बताएका छन् ।

इजरायल प्यालेस्टिनी समस्या लामो समयदेखि थाती रहँदै आएको समस्या भएको भन्दै उनीहरूले यस समस्याको चिरस्थायी समाधानमा नेपाल सरकारलगायत अन्तर्राष्ट्रिय समुदाय उदासीन रहनु उचित नहुने धारणा राखेका छन् ।

विज्ञप्तिमा पुर्वराजदूतहरू निलाम्बर आचार्य, हिरण्यलाल श्रेष्ठ, दीपकुमार उपाध्याय, डा. दुर्गेश मान सिंह श्रेष्ठ, टंक कार्की, लीलामणि पौड्याल र महेश मास्केले हस्ताक्षर गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।