नेपाल कम्युनिस्ट पार्टी परिवर्तन गाउँ कमिटी रोल्पाले परिवर्तन गाउँपालिका वडा नं. २ राङ्सीको चैवाङ गाउँका अग्निपीडित स्थानीय दल बहादुर बाँठाको घरमा पुगेर राहत वितरण गरेको छ ।
गत कार्तिक ७ गते घरमा आगो लागेर घर भित्रको अन्नपात, कपडा लट्टा लगायत सम्पूर्ण सरसामान जलेर नष्ट भएको थियो ।
नेपाल कम्युनिस्ट पार्टी परिवर्तन गाउँ कमिटी इन्चार्ज पृथ्वी (प्रज्वल) सी, नेकपा परिवर्तन गाउँ कमिटी सेक्रेटरी डायमण्ड सी, अखिल (क्रान्तिकारी) का केन्द्रीय सचिवालय सदस्य एवम् त्रिवि ब्यूरो इन्चार्ज अनिल सी, अखिल (क्रान्तिकारी) राङ्सीका इन्चार्ज किसन सी अग्नि पीडित दल बहादुर बाँठाको घर चैबाङमा पुगेर राहत स्वरुप पार्टीको तर्फबाट नगत रु. ५ हजार र चामल उपलब्ध गराएका थिए ।
राहत उपलब्ध गराउदै नेकपा परिवर्तन इन्चार्ज पृथ्वी सीले आगलागीबाट घर नष्ट भएकोप्रति दु:ख व्यक्त गर्दै आफ्नो पार्टीले यस्तै दु:ख पीडामा परेका नागरिकलाई सहयोग गर्दै आएकोले अहिले दु:खमा साथ दिन आएको बताए । साथै इन्चार्ज पृथ्वीले जलेको घर पुनर्निर्माण गर्दा श्रमदान गर्न आउने र सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
राहत बुझ्दै पीडित बाँठा परिवारले गहभरि आँसु निकाल्दै यो दु:खद पीडामा सान्त्वना दिन र राहत उपलब्ध गराएकोमा नेकपालाई धन्यवाद व्यक्त गरेका थिए ।
साथै पीडित परिवारले देश र जनताको पक्षमा सधैँ यसरी काम गर्दै अगाडि बढ्न सुझाव दिएका थिए ।
प्रतिक्रिया दिनुहोस्