३ जेष्ठ २०८१, बिहीबार

विज्ञान–प्रविधि पहिले नै थियो

0

                      आहुति

 

मलाई के लाग्नथालेको छ भने संसारमा झिँगा मार्ने भनेर औषधि छर्कने काम भयो र झिँगा त म¥यो तर अण्डाभित्र भएको लार्भाले चाहिँ त्यो औषधि पचाइदिएर आफ्नो वंश लिएर संसारमा आएको छ । मैले भन्न खोजेको के भने कम्युनिस्ट क्रान्तिकारीहरूमाथि धेरै थरीका विष छर्कने काम भएकै छ, हँुदैआएको छ । झिँगाका बाबु–आमाजस्तै माक्र्सवादीहरू त मर्ने नै छन् तर अण्डाभित्रको लार्भाले जस्तै हामी माक्र्सवादीहरूले फेरि विष पचाएर अगाडि आउनु छ । नेपालमा अहिले हामी त्यही चरणमा छौं र त्यो चरणको लागि यो खालको बहस आवश्यक छ । हामीले झिँगाको सन्तानलाई नसम्झी नहुने भएको छ । अब यात्रा यहीबाट सुरु हुन्छ । मैले यो कार्यपत्र पढ्दा म चाहिँ त्यही लार्भा हुँ भनेर पढेको छु । कसरी त्यो विष पचाउने होला भनेर पढें मैले यो कार्यपत्रलाई । कार्यपत्रमाथि बुँदामा कुरा राख्छु ।
पहिलो कुरा, कार्यपत्रको सुरुमै चार जात छत्तिस वर्णको कुरा, आदर्श नारी सीता र भृकुटीलाई मान्ने कुरा र दर्शनशास्त्रीको प्रतीकको रुपमा जनकलाई मान्ने कुरासँग म सहमत छैन । यो विलकुल पञ्चायतले निर्माण ग¥या कुरा हो । हामीसँग कपिलजस्ता भौतिकवादी दार्शनिक हुँदाहुँदै त्यो ब्रह्मसभा बनाउने जनक कसरी प्रतीक हुन्छ हाम्रो, म बुझ्दिनँ यो कुरा १ रुख चढेर दाउरा काट्ने तामाङ्ग महिला हुँदाहुँदै, सम्बन्ध विच्छेद गर्ने अधिकार भएको किराँत महिला हुँदाहँुदै सीता र भृकुटीहरू नेपाली प्रतीक कसरी हुन्छन्, म बुझ्दिनँ १ चार जात छत्तिस वर्णलाई त्यसरी स्वीकृति दिन तथ्यले पनि मिल्दैन, अवधारणाले पनि मिल्दैन । त्यसो हुँदा कार्यपत्रको जुन ढंगले सुरुवात गरिएको छ, त्यसमा पुनर्विचार गरियोस् ।
दोस्रो कुरा, नेपालमा मंगोल र आर्य जातिको मात्र कुरा गरिएको छ । यहाँ आग्नेय र द्रबिड परिवारका मान्छे पनि बस्छन् । नेपाल कबिला युगबाट सुरु भयो भनिएको छ । मैले अहिलेसम्मको अध्ययनमा त्यो भेटेको छुइनँ । मुन्धुम लिएर आउनेहरू पनि दर्शनशास्त्रसहित आएका हुन्, वेद लिएर आउनेहरू पनि पूर्ण विश्वदृष्टिकोण लिएर आएका हुन् । मुस्लिमहरू त पछि आएका, झनै लिएर आउने नै भए । द्रबिडहरू पनि आफ्नो सत्ता निर्माण गर्ने योजनासहित नै आएका हुन् । त्यसो हुँदा नेपाली समाजको बारेमा पनि कार्यपत्रले विचार गर्नुपर्छ ।
उत्पादन सम्बन्धको रुपमा विज्ञान–प्रविधिको कुरा गरिएको छ । यो चाहिँ कस्तो लाग्ने रहेछ भने हरेक नव–बिवाहित जोडीलाई बिवाहको केही समय रोमाञ्चमय लाग्ने रहेछ कि यस्तो योभन्दा अगाडिको मान्छेलाई थाहा थिएन । तर त्यस्तो होइन । हजारौं वर्षदेखि यस्तो प्रक्रिया दोहोरिरहेको छ । हरेक युगको मान्छेलाई आफ्नो युगको विज्ञानको विकास अद्भुत लाग्ने रहेछ । सबभन्दा पहिला आगो फेला पार्ने मान्छेलाई अद्भुत क्रान्ति भयो आफ्नो जीवनमा । आगोपछि पनि धेरै कुरा फेला पर्नेछन् भन्ने कुरा थाहा थिएन उसलाई, कुरा त्यत्ति हो ।
माक्र्सवादले उत्पादक शक्ति भनेर तीन कुरालाई भन्या हो । पहिलो औजारलाई, दोस्रो उत्पादनका साधनहरूलाई र तेस्रो मान्छेलाई भन्या हो । र, किटान गरेर माक्र्सवादले अन्य साधनलाई आधारभूत र मान्छेलाई निर्णायक भन्या हो । औजार स्वयं विज्ञान–प्रविधि हो त्यतिवेलाको । अहिलेको विज्ञान–प्रविधि पनि औजारै हो । अहिलेको विज्ञान–प्रविधि चाहिँ माक्र्सवादले भनेकोभन्दा भिन्नै हो भनेर बुझ्नु हुँदैन । एङ्गेल्सको व्याख्याले त्यसो भन्दैन । समाजवाद त्यतिखेर सम्भव हुन्छ, जतिखेर उत्पादनमा प्रचुरता हुन्छ । प्रचुरताको अर्थ मान्छेले निजी बनाएर मेरो पुस्तौनीलाई के होला भनेर सोच्नु पर्दैन । त्यति प्रचुर हुन्छ । त्यसकारण उत्पादनका साधनहरूको विकासबिना अथवा अहिलेको विज्ञान–प्रविधिको विकासबिना त त्यो कुरा सम्भवै छैन । एङ्गेल्सले त्यतिखेरै किटान गरेर भनेको कुरा हो । र, अहिले भएको विज्ञानको विकास माक्र्सवादीहरूको लागि तनावको विषय नै होइन । विल्कुलै खुशीको कुरा हो । आदिम साम्यवाद यस्तो कंगाल अवस्थामा थियो कि खोज्दा–खोज्दै जम्मा गर्नै नपुग्ने, कसरी निजी बनाउने रु वैज्ञानिक साम्यवादमा, जहाँ अब हामी जानु छ, त्यहाँ यति प्रचुरता हुनेवाला छ कि कसैले लुटेर राख्नै नपर्ने । सबै औजार आफ्नो समयको विज्ञान–प्रविधि हो । माक्र्सवादले राम्रोसँग संश्लेषण गरेको छ । यही त माक्र्सवादको सुन्दर कुरा थियो ।
अहिलेको विज्ञान–प्रविधिलाई नयाँ कुरा भनेर जुन रुपमा प्रस्तुत गर्न खोजिएको छ, त्यो चाहिँ माक्र्सवादको आधारभूत कुरातर्फ ध्यान नपुगेको हो कि रु यति भनिसकेपछि मैले भन्नेपर्छ कि औजार निर्णायक हुनैसक्दैन, किनकि औजार चेतनशील हुँदैन । औजारले विचार बोक्दैन । माक्र्सवादले त्यतिकैे मान्छे निर्णायक भन्या होइन । मान्छे पनि पदार्थकै रुप त हो तर मान्छे मनसहितको जटील रुप हो । औजार निर्णायक हुने भए मान्छेको समाजै हँुदैनथ्यो । यो कुरा गहिरो गरी लिनुपर्दछ ।
कार्यपत्रमा राष्ट्रिय पुँजीपति वर्गको अन्त्य भयो भनिएको छ । पुँजीपति वर्ग दलालसँग गाँसिदै गएको कुरा सत्य हो, तर राष्ट्रिय पुँजीपति वर्गको अन्त्य भयो भन्ने विषयमा छलफल गरौं । बहुराष्ट्रिय र पराराष्ट्रिय कम्पनीसँगको शेयरमा बदलिसक्यो भन्ने छ, तर मैले शेयर नभएका पुँजीपति पनि देख्या छु । नेपालमा त्यो ठूलै जमात छ ।
अर्को, समाजवादका सबै मोडेलहरू असफल भयो भनेर १९१७ देखि १९९१ सम्मलाई एउटै डालोमा हाल्ने काम गरिएको छ, जुन कुरा गलत छ । सन् १९१७ पछि लेनिनले अगाडि सारेको विषय सोभियत हो । यो कार्यपत्रले समाजवादमा जनताको नियन्त्रण हुनुपर्छ भनेको छ । त्यो कुरा लेनिनको सोभियतमा छ । सोभियत चाहिँ कार्यकारी हुने, श्रमजीवीको सोभियत हुने, त्यसबाट प्रतिनिधि चुनिएर आउने र त्यसैले नियन्त्रण पनि गर्ने भन्ने थियो । सोभियत एकपटक अध्ययन गर्न अनुरोध गर्छु । पछि त्यहाँ युद्ध–समाजवाद आयो । दोस्रो विश्वयुद्धको लफडा भयो । स्तालिनको विचारमा परिवर्तन आएर वर्गहरू समाप्त भयो भनियो । आफंैभित्र दमनको प्रक्रिया सुरु हुनथाल्यो । विस्तारै कार्यकारी सोभियत होइन, कठपुतली सोभियत हुनपुग्यो र त्यो सत्ताधारीको हातमा पुगेर राजकीय समाजवादको विकास हुनथाल्यो । स्तालिनको युगसँगै सोभियत पुँजी राजकीय पुँजीमा विकास भयो । ख्रुश्चेभको पालामा त उदार पुँजीवादमा गइसकेको थियो । लेनिनदेखि ख्रुश्चेभसम्मलाई एउटै डालोमा हालेर हेरियो भने त रुपलालतिर पुगिन्छ । रुपलालजी क्रान्ति नै भएको रहेनछ, भएको भए त उल्टिनै नपर्ने भन्नुहुन्थ्यो । त्यस्तै यो कार्यपत्रले पनि सबैलाई एउटै डालोमा हाल्ने गल्ती गरेको छ ।
यो कार्यपत्रमा अर्को गल्ती बहुदलीय जनवादी कार्यक्रम र नौलो जनवादी कार्यक्रमलाई पनि एउटै डालोमा हालिएको छ । यस्तो त होइन । बहुदलीय जनवाद स्वतः नौलो जनवाद होइन । एमालेले त्यो लाइन २०४६ मै छोडेको हो । बहुदलीय व्यवस्था भनेको संसदीय व्यवस्था नै हो भन्ने कुरा एमालेको अभ्यासले पुष्टि गर्छ । त्यसलाई पनि जनवादकै अभ्यास थियो भन्ने र एमालेको असफलतालाई लगेर सबै क्रान्तिकारी कम्युनिस्टहरूको असफलता थियो भनेर भन्न मिल्दैन । हुँदा–हुँदा चीनमा पनि जनवादी क्रान्ति असफल भएको भन्नुभा छ, यो के भा हो ? प्रिन्ट मिस्टेक भाको पनि हुनसक्छ !
सबभन्दा बहस गर्नुपर्ने अर्को विषय नेपाली समाज अर्ध–सामन्ती हो कि होइन भन्ने छ । मैले भन्ने विषय यति मात्रै छ कि सामन्तवाद भनेको राज्य व्यवस्था होइन, त्यो त समाज व्यवस्था हो । त्यस्तो व्यवस्थामा मूलतः राज्य व्यवस्था पनि सामन्ती नै हुन्छ । समाज व्यवस्थाको मुख्य जरो उत्पादन सम्बन्ध हो, हामीलाई माक्र्सवादले सिकाएको यो हो । माक्र्सवादले उत्पादन सम्बन्धको विषयमा तीन कुरा भन्छ : पहिलो, उत्पादनका साधनहरूमाथिको स्वामित्व कस्तो छ, दोस्रो, त्यो स्वामित्वबाट हुने उत्पादनको वितरण कस्तो छ र तेस्रो, स्वामित्व र वितरणको कारणले मानिसहरूको आपसी सम्बन्ध कस्तो छ । नेपालको उत्पादन सम्बन्ध सामन्तवादी छ भन्ने कुरा त तथ्यले भन्नुप¥यो नि त । नेपालमा अब मोही किसानहरूको संख्या तीन लाखजति छ, जहाँ कि किसान परिवारको संख्या पचपन्न लाखभन्दा बढी छैन । अनि हामी भनिरहेका छौं नेपाली उत्पादन सम्बन्ध सामन्तवादी छ । बाली प्रथामा काम गर्ने दलितहरू अब १० प्रतिशतभन्दा बढी छैन । जुन देशमा बाली प्रणालीमा काम गर्नेको संख्या १० प्रतिशतभन्दा बढी छैन, अनि त्यो सामन्तवादी कसरी हुन्छ रु समाज व्यवस्था कस्तो छ भनेर हेर्ने भनेको त्यहाँको उत्पादन प्रणाली कस्तो छ भनेर हेर्ने हो । निर्बाहमुखी अर्थतन्त्र हुनेबित्तिकै त्यो सामन्तवादी हुन्छ भनियो भने बर्बाद हुन्छ । निर्बाहमुखी अर्थतन्त्र त पुँजीवादमा पनि हुन्छ, सामन्तवादमा पनि हुन्छ । सामन्तवाद भनेको सामन्तहरूले जमिनमा भएको उत्पादन सम्बन्धमार्फत किसानहरूलाई शोषण गर्ने भनेको हो । अब नेपालमा व्यक्ति सामन्त छैन । नेपालमा सामन्ती सम्बन्ध अब एउटा गुठी जग्गामा रहेको मोही किसानमा छ । अर्को, पुस्तौनी रुपमा रहेको जग्गा धनी र मोही किसानहरूको बीचमा छ । १० बिघा जग्गा भएकोले पाँचलाख कमाउँदैन, एउटा मावि शिक्षकले पाँच लाख कमाउँछ । को सामन्त ? पहाडकाहरूले मधेसमा सामन्त छ भन्छन्, त्यो तिउन खानेहरूको सोच हो । तरकारी पर्याप्त नभएको ठाउँमा सबैकुरा मिसाएर तिउन पकाइन्छ । अनि तिनीहरू तराई झरेपछि आँखाले नभ्याउने जमिन देख्दा सबै सामन्त लाग्छ । यस्तो कुराले हुँदैन ।
अर्को कुरा, हाम्रो देश नव–उपनिवेशी छ भन्छौं । यहाँ कार्यपत्रमा सत्तामा जाँदा ताला–चावी अर्कैको हातमा छ भन्छन् भन्ने छ । त्यसको अर्थ सामन्तको हातमा छ भनेको होइन, दलाल पुँजीपतिको हातमा भनेको हो । नेपालमा दलाल पुँजीवाद छ, नव–उपनिवेशी शोषण छ, त्यो कुरा सत्य हो । तर ती सबै पुँजीवाद नै हुन् । त्यसकारणले गर्दा
आधारभूत रुपमा नेपाली समाज पुँजीवाद नै हो । रहल–पहल बाँकी छ, त्यसमा छलफल गरौंला । यो बहस हल नभई कार्यक्रम चाहिँ समाजवादी बनाउने कि नबनाउने भन्ने हुँदैन । शास्त्रीय माक्र्सवादले त हुँदैन भन्छ । क्लासिकल माक्र्सवादअनुसार अर्ध–सामन्ती अवस्थाबाट समाजवादमा जानुहुँदैन, जनवादमा जनुपर्छ भन्ने कुरा गलत छ भनेर नभत्काई समाजवादी कार्यक्रममा जाने भन्न मिल्दैन । अर्ध–सामन्ती देश त पुँजीवादमा जान्छ, कसरी समाजवादमा जान्छ रु यहाँ मिलेको छैन । र, हाम्रो देश अर्ध–सामन्ती होइन, पुँजीवाद नै हो, हाम्रै प्रकारको पुँजीवाद हो । नेपालमा विकसित भएको पुँजीवादको थप अध्ययन हुन जरुरी छ ।
उहाँले अर्को नयाँ कुरा के भन्नुभएको छ भने समाजवाद यो व्यवस्थाबाहिर बनाउने । त्यसको लागि सेना चाहिन्छ, संगठन चाहिन्छ, छुट्टै अर्थतन्त्र चाहिन्छ भन्नुभएको छ । यो पुँजीवादी व्यवस्था भन्दा बाहिर रहेर त्यो गर्ने कसरी ? समाज व्यवस्था त यही हो । विशुद्ध समाजवाद, यो राज्य व्यवस्थाभित्र घुसपैठ नगरीकन, यसका विरुद्ध संघर्ष नगरीकन, त्यसको खण्डन नगरीकन कसरी बनाउने रु यही नेपालभित्र बसेर समाजवादी क्रान्ति गर्न सेना बनाउने भन्नुभएको छ, प्रतिक्रियावादीले दमन गरेपछि के गर्नुहुन्छ रु अर्थतन्त्र छुट्टै के बनाउने ? तपाईंलाई छुट्टै बैङ्क खोल्न दिन्छ त ऐनले ? दिँदैन । अनि यही ऐनभित्र रहेर पुनर्गठित गर्नुको अर्को विकल्प के छ त तपाईंसँग रु तसर्थ यो विचार पुरानो व्यवस्थामा छिर्दा बिग्रने रहेछ भनेर त्यहाँ नछिरीकन जाने हो भन्नेजस्तो लाग्छ । नछिरीकन समाजवाद बनाए पनि बनाउने त मन्त्रीमण्डलै हो नि फेरि ! खाने मुख त तिनै हुन् । त्यसो हुँदा म चाहिँ कसरी बुझ्छु भने यही व्यवस्थाभित्र जाँदा पनि नबिग्रने साँस्कृतिक रुपान्तरणसहितको मानव बनाउने यात्रा हो । र, अहिले हामीले हारेको भनेको नौ महिनाको बच्चा हिँड्न खोज्दा लडेजस्तै हो । पाँचहजार वर्षदेखि चल्दै आएको परम्परालाई भत्काउन हामीले एकसय पचहत्तर वर्षदेखि सुरु गरेका छौं भने अहिले नै सकिएन भनेर रुने–कराउने गर्न आवश्यक छैन । माक्र्सवादको फ्रेमभित्र रहेर अपुग कुरा थप्ने कि त्यसको आधारभूत कुराभन्दा बाहिरबाट माक्र्सवादमा नयाँ कुरा थप्नथाल्ने, बहस यहाँ छ ।
यो कार्यपत्रले व्यापारीहरू पनि हुन्छन् समाजवाद भनेको छ । व्यापारी भएपछि त लुट हुन्छ, तब त्यहाँ कसरी समाजवाद हुन्छ रु के कुरा गरेको यो रु अहिले हामी वर्गसंघर्षलाई छाडेर समाजवादको कुरा गर्नसक्दैनौं । वर्गको चरित्रमा फेरबदल आएको छ, आउनैपर्छ त्यो । वर्गको चरित्रमा परिवर्तन भएन भने विकासै हुँदैन । दास दासै रहेर समाजवादको विकास हुँदैन । श्रमजीवी वर्गमै बुद्धिजीवी जन्मिन्छन् । श्रमजीवी वर्गबाट महानतम योद्धाहरू जन्मिन्छन् । श्रमजीवी हुनेबित्तिकै बुद्धिजीवी नजन्मिने, ढुंगा ठोकेर मात्र खानुपर्ने, त्यस्तो पनि हुन्छ रु त्यस्तो त माक्र्सवादले भन्ने होइन । वर्गसंघर्षलाई छोडेर अहिले हामी माक्र्सवादको कुरा गर्नसक्दैनौँ । माक्र्सवादको आधारभूत कुरा वर्गसंघर्षको मान्यतालाई छाडेर जाने हो भने हामी माक्र्सवादबाट अलग्गिन पुग्छौँ । वर्गहरूको सोचमा परिवर्तन हुनैपर्छ, भएन भने समाज विकास हुँदैन । त्यसकारण अहिले स्वरुप परिवर्तन भएको छ, थुप्रै परिवर्तन भएको छ । हो, अतिरिक्त मूल्यको सिद्धान्तको बारेमा हामीले अतिरिक्त सोच्नु आवश्यक भएको छ । माक्र्सको बेलामा अहिलेजस्तो थिएन भने अहिले माक्र्सवादी ढंगले सोच्नुपर्छ । त्यसकारणले बहस कहाँ केन्द्रित गर्नुप¥यो भने माक्र्सवादको आधारभूत सत्य, त्यो भनेको वर्गसंघर्षको फेनोमेना, सिद्धान्त, त्यसपछि द्वन्द्वात्मक भौतिकवादी ढंगले सोच्ने कि नसोच्ने, समाजविज्ञानलाई ऐतिहासितक भौतिकवादी ढंगले सोच्ने कि नसोच्ने, बल प्रयोगको सिद्धान्तलाई निर्णायक सिद्धान्तको रुपमा अंगीकार गर्ने कि नगर्ने, श्रमिक वर्ग वा सर्वहारा वर्गको अधिनायकत्व वा शासन मान्ने कि नमान्ने । त्यसकारण माक्र्सवादका आधारभूत सत्यमा टेकेर आजको समाज व्यवस्थामा माक्र्सवादले कहाँ–कहाँ पूरा गरेन भनेर बहस गर्ने एउटा तरीका, माक्र्सवादको आधारभूत सत्यले नै फेल खायो भन्ने अर्को तरीका । यो कार्यपत्र त्यसको दोधारमा देख्छु म । मेरो सुझाव के छ भने माक्र्सवाद अध्ययन–अनुसन्धान प्रतिष्ठानले आपूmलाई नेपाली समाजको आधारभूत अध्ययनमा केन्द्रित गर्नुप¥यो र त्यसपछि माक्र्सवादको आधारभूत सत्यको अध्ययनमा केन्द्रित गर्नुप¥यो । त्यसपछि यस खालका बहसहरूमा प्रवेश गर्दा सहज होला भन्ने मलाई लाग्छ ।

स्रोत: जनपत्रिका मासिक छैठौँ अंक


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।