८ पुष २०८१, सोमबार

स्वतन्त्रताको मूर्ति

0

      अलेक्जान्ड्रा कोलोन्ताई

 

बाल्यकालको स्वतन्त्रताको भव्य मूर्ति सम्झेर रोमाञ्चित नहुने हामीमध्ये को पो होला र ! नयाँ संसारको ढोकामा उभिएको त्यो मशाल बोकेको विशाल मूर्तिको चित्रले युरोपवासीहरूलाई मनमोहक परिकथा जस्तो विरानोपनले सताउँछ । न्यूयोर्कको गगनचुम्बी अट्टालिकाहरूको पृष्ठभागमा उक्त मूर्तिको वैभवको सङ्घारबाट गइरहेको पानीजहाज पनि स्वतन्त्रता समक्ष लज्जित भएर जाने गर्दछ ।
हामी नर्वेको जहाज ‘बर्गिस फूड’मा न्युयोर्क गइरहेका थियौं । संसारका थुप्रै–थुप्रै पानी–जहाजहरू त्यही बाटो हुँदै जाँदै थिए । जुन मूर्तिलाई देख्ने लोभ हामीले बाल्यकालदेखि बनाएका थियौं । त्यसैको छेउबाट जाँदै हामी युरोपवासीले आँखा च्यातेर त्यसलाई नियालिरहेका थियौं ।
मेरो निम्ति स्वतन्त्रताको त्यो मूर्ति एउटा यस्तो शक्तिशाली छवि थियो, जुन रहस्यहरूले घेरिएको थियो । जसले हामीलाई आव्हान गरिरहेको थियो । जसलाई मैले अमेरिकाको मेरो चार महिना पछिको आँधिमय यात्रापश्चात नजिकैबाट देखें । अमेरिकाको विश्वमा जस्तो छवि निर्माण भएको छ ; अमेरिका त्यस्तो सम्भावना भएको देश होइन रहेछ भन्ने देखें । गएको चार महिनामा मैले राजनेताहरूले नै सैन्यवादको पक्षमा प्रचार गरिरहेको देखें । त्यसैगरी अनियन्त्रित अमेरिकी पुँजीको विरुद्ध त्यहाँका मजदुरहरूले गरिरहेको सङ्घर्ष देखें । मैले अमेरिकी प्रहरीको शक्ति र ठूला पुँजीपतिहरूको सर्वशक्तिमानता, न्यायालयहरूको भ्रष्टाचार, पुँजीवादी अमेरिकी सञ्चारको स्वामिभक्ति र स्वतन्त्र भनिएको चर्चको नाङ्गो खेल पनि देखेकी थिएँ । त्यसबेला मेरो अगाडि वास्तविक अमेरिकाको तस्विर थियो– कोलम्बसले अविष्कार गरेको नयाँ संसारको तस्विर, ‘स्वतन्त्रताको भूमि’ नामको वास्तविक तस्विर जुन अझैसम्म युरोपवासीलाई त्यसबेलासम्म आकर्षित गथ्र्यो । आकाश खुलेको वसन्त ऋतुको सितल दिन थियो । म न्युयोर्कबाट पुरानो संसारतिर गइरहेकी थिएँ । सूर्यका किरणहरूले मूर्तिलाई सम्पूर्ण रूपले चम्काइरहेको थियो । टाढा–टाढासम्म कतै पनि कुहिरोको नाम–निशान थिएन । आफ्नै दृष्टिमाथि विश्वास गर्न कठिन–कठिन भइरहेको थियो । तर मलाई लाग्यो कि यो विशालकाय मूर्ति खुम्चिँदै गएको छ । आजका अमेरिकीहरूका पुर्खाहरूले रगत–पसिना लगाएर जुन स्वतन्त्रताको मूल्यलाई निर्माण गरेका थिए, त्यसलाई उनीहरूकै ‘राजाहरूले’ कमजोर बनाउँदै लगेका छन् । जब तपाईको सामुन्नेमा रहस्यमय सागरको विस्तार हुन्छ र तपाई त्यसको दयामा निर्भर हुनुहुन्छ भने परिकथाहरूको चमत्कारिक घटनाहरूमाथि विश्वास लाग्न थाल्छ ।
स्वतन्त्रताको मूर्तिको पृष्ठभूमिमा अकाशलाई चिर्दै गरेका अलिसान भवनहरूको पृष्ठभूमिमा मूर्ति विलोप हुँदै गयो । थोरै समयमा नै हाम्रो जहाज अगाडि बढ्दै गयो र न्युयोर्कका सम्पूर्ण परिदृश्यहरू धुमिल हुँदै गए । तब मैले के महसुस गरें भने नयाँ संसार तथा स्वतन्त्रताको मूर्तिका गाथाहरू पुँजीवादको प्रचारभन्दा अगाडिको हो र त्यसको जीवन्तता पुर्खाहरूको स्मृतिहरूमा नै पाउन सम्भव छ ।
हाम्रा दाजुहरू–अग्रजहरूको लागि नयाँ संसार वास्तवमा स्वतन्त्रताको संसार थियो । बुढो युरोपबाट आउँदाको बखतमा उनीहरू यहाँ एउटा स्वतन्त्र देशको नागरिक अनुभूति गर्थे । यहाँ उनीहरू आफ्नै तरिकाले आफ्नो भगवानको पुजा गर्न सक्थे । यहाँ उनीहरू विस्वास गर्न सक्थे कि मान्छेले आफ्नै हातले आफ्नो खुसी, आफ्नो सम्पत्ति र आफ्नो भाग्यको निर्माण गर्न सक्दछन् । आफ्नै खोकिलामा सुन लुकाएको निलो पहाड उनीहरूसँग थियो ।
युरोपमा सामन्तवादले पुँजीवादसँग अझैसम्म हार स्वीकार गरिसकेको थिएन । वायुमण्डलमा चर्चबाट निस्केको बास्नादार धुवाँ फैलिरहेको हुन्थ्यो । समाजमा असमानताको हैकम थियो र नागरिकहरू, मान्छेहरू सङ्किर्णता र रूढिवादले ग्रस्त थिए । त्यस्तो अवस्थामा हाम्रा अग्रजहरू स्वतन्त्रताको मूर्ति सामुन्ने आएर खुसीले नतमस्तक हुने नै भए ।
आज यो कुरा धेरै टाढाको विषय बनेको छ । अमेरिकी स्वतन्त्रताको गाथा विरानो लाग्दछ ।
स्वतन्त्रताको मूर्तिलाई दबाइएको छ । आज न्युयोर्कको गगनचुम्बी भवनले स्वतन्त्रताको मूतिको आभालाई निस्तेज पारेको छ । अब त्यो बन्दरगाहको ढोकामा अग्रस्थानमा छैन । ती भवनहरूका लाखौं झ्यालहरूबाट निस्केको किरणले स्वतन्त्रताकी देवीलाई धूमिल पारिदिन्छ । यी फुच्चे भवनहरू न्युयोर्कका पातला सडकहरूमा भरिभराउ भीडले त्यसरी नै देख्छन्; जसरी उच्च शिखरका चुचुराहरूको बिचबाट बग्ने खहरेमा चल्ने स्टिमरहरूलाई यी टाकुराहरूले हेरिरहेका हुन्छन् । ढुङ्गाका पर्खाल अमेरिकी पुँजीका सम्राटहरूको सुरक्षित शरणस्थल हो । यी अग्ला पर्खालहरू न कोलम्बसको महाद्वीपमाथि शासन गर्दछ र त्यसको सामु उक्त मूर्ति महत्वहिन लाग्दछ ।
मैले यो मूर्तिलाई हालसालै दोस्रो पटक देखें । यसपटक विहानको सूर्य चम्किरहेको थियो । आश्चर्य के भयो भने यसपटक मान्छेहरू स्वतन्त्रताको मूर्तिलाई पहिले–पहिले जसरी नियालिरहेका थिएनन् । एटलान्टिक छेउमा यसपटक बितेका वर्षहरूका अनुभवहरूले युरोपवासीलाई पहिलेजस्तो खुसी दिन सक्दैनन् । यसपटक त्यो मूर्तिबाट धेरै उनै अमेरिकी अधिकारीहरूमाथि ध्यान दिइरहेको थियो । जसले सवारीका साधनहरूका कागजातको जाँचपरख गरिरहेका थिए । विशेष रूपबाट तेस्रो श्रेणीका यात्रीहरू अपमानजनक प्रश्नहरूको उत्तर दिन व्यस्त थिए । उनीहरूले थुप्रै औपचारिकताहरू फत्ते गर्न परिरहेको थियो । कैयौं पटक यात्रीहरूमध्ये कैयौं मान्छेहरूलाई प्रमाणहरू पुरा नहुनुको कारण वा चिनारी दिने कागजहरू अपूर्ण भएको कारण जेल जानु पथ्र्यो । तर प्रथम श्रेणीका यात्रीहरूलाई यो कुनै झमेला भोग्नु पर्दैनथ्यो । उसको लागि त स्वागत नै स्वागत थियो । उसको लागि त रातो कार्पेट ओछ्याइएको हुन्थ्यो । उसको लागि त स्वतन्त्रताको मूर्तिको हातको मशाल जलिरहेकै देखिन्थ्यो । उसले त ती सबै कुरा प्राप्त गरिरहेको थियो जसले कुनैबेला स्वतन्त्रताको मूर्ति नयाँ संसारमा आउने हरेक व्यक्तिले प्राप्त गथ्र्यो ।
अनुवाद : अनिल सी

स्राेत: जनपत्रिका छैठौं अङ्क


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।