१२ बैशाख २०८१, बुधबार

“संगीत अभियात्रा” ले “संगीत समर्पण” कार्यक्रम गर्ने

0

साउन ४, काठमाडौं । प्रगतिशील संगीतकर्मीहरुको छाता संस्था “संगीत अभियात्रा” ले यहीँ साउन ७ गते “संगीत समर्पण” कार्यक्रम गर्ने भएको छ ।

नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४५ औं स्मृति दिवसका अवसरमा “संगीत अभियात्रा” ले सो कार्यक्रम गर्न लागेको हो । कार्यक्रम काठमाडौंको भृकुटीमण्डप स्थित पर्यटन बोर्डको सभाहलमा २०७९ साउन ७ गते दिनको ३ बजेदेखि शुरु हुने बताइएको छ ।

संगीत अभियात्राले यस अघि विश्व संगीत दिवसका अवसरमा २०७९ असार ७ गते इच्छुक प्रतिष्ठानको सभाहल मैतीदेवी काठमाडौंमा भव्य सांगीतिक कार्यक्रम गरेको थियो । तर त्यो बेला यो साझा संस्थाको नाम तय भैसकेको थिएन । देशमा छरिएर रहेका जनसंगीतकर्मीहरुलाई एउटै छातामुनी केन्द्रित गरेर प्रगतिशील, क्रान्तिकारी र देशभक्तिपूर्ण गीत संगीतलाई अगाडि बढाउने स्पष्ट उद्देश्यका साथ यस प्रकारको संस्था गठनको कसरत विगत लामो समयदेखि चलेको थियो ।

जनगायक जीवन शर्मा, मणि थापा, माधव प्रधान, उदय श्रेष्ठ, माइला लामा, चिरन पुन, लक्ष्मी गुरुङ र निलिमा पुन लगायतका झण्डै डेढ दर्जन वरिष्ठ जनसंगीतकर्मीहरुले असार ७ गेतका दिन एउटै मञ्चबाट संयुक्त सांगीतिक प्रस्तुति दिंदै अब आफूहरु प्रगतिशील कलाकारहरुको छाता संगठन निर्माणमा जुटेको प्रष्ट उद्घोष गरेका थिए ।

उक्त कार्यक्रममा बोल्दै जनगायक जीवन शर्माले संस्थाको नामका बारेमा समेत उपस्थित जनमानसबाट सुझाव माग गर्नु भएको थियो । प्राप्त सुझावहरुका आधारमा २०७९ असार २४ गते पद्मकन्या क्याम्पस बागबजारको सगरमाथा हलमा बसेको जनसंगीतकर्मीहरुको संयुक्त बैठकले संगठनको नाम “संगीत अभियात्रा” तय गरेको थियो । जनगायक जीवन शर्माले प्रस्तावित गरेका विभिन्न चार नाम मध्ये बैठकले सर्वसम्मतिबाट “संगीत अभियात्रा” पारित गरेको थियो ।

नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४५ औं स्मृति दिवसका अवसरमा “संगीत अभियात्रा” ले गर्न लागेको “संगीत समर्पण” कार्यक्रम संस्थाको नामाकरण भएपछिको पहिलो सार्वजनिक कार्यक्रम हो । संगीत समर्पण कार्यक्रममा वरिष्ठ जनकलाकार देखि युवा पुस्ताका जनसंगीतकर्मीहरुको संयुक्त प्रस्तुति रहने संगीत अभियात्राका सदस्य चिरन पुनले बताउनु भयो । जनकलाकार पुनका अनुसार कार्यक्रममा झण्डै दुई दर्जन जनसंगीतकर्मीहरुले प्रगतिशील गीत, संगीत प्रस्तुत गर्ने छन् ।

“कार्यक्रमको सम्पूर्ण तयारी लगभग पूरा भएको छ ।” जनकलाकार चिरन पुनले भन्नु भयो, “विश्व संगीत दिवसका दिन हामीले गरेको कार्यक्रम जस्तै यो पनि भव्यतापूर्वक सफल हुनेछ भन्नेमा हामी विश्वस्त छौं ।”

कार्यक्रममा जीवन शर्मा, मणि थापा, माधव प्रधान, उदय श्रेष्ठ, विरप्रसाद भन्सारी, माइला लामा, चिरन पुन, निलिमा पुन, लक्ष्मी गुरुङ, लक्ष्मी रिजाल ‘उदय’, केशरी घर्ती, आरोह नेपाली, रमण धामी, सुशिल सिंह ठकुरी, निर्मला घिसिङ र अनुशर्मा लगायतका झण्डै दुई दर्जन वरिष्ठ र नवोदिन जनसंगीतकर्मीहरुका गीतहरु गुन्जने छन् ।

कार्यक्रममा उपस्थितिका लागि सम्पूर्ण जनसंगीतप्रेमीजनहरुलाई “संगीत अभियात्रा”ले अपिल समेत गरेको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।