
मकवानपुर: नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी लगायतका नेताहरु उपर काठमाडौँ जिल्ला अदालतले सोमबार जारी गरिएको पक्राउ पुर्जी खारेजीको माग गर्दै नेकपाद्वारा हेटौंडामा संयुक्त मसाल जुलुससहित कोणसभा गरेको छ । हेटौंडा-१, जरुवाटोल स्थित पार्टी कार्यलयबाट निकालेको मसाल जुलुससहितको र्याली राप्ती रोड हुँदै बुद्धचोक पुगेको हो ।
२०७७ फागुन २१ गते नेपाल कम्युनिस्ट पार्टी र नेपाल सरकार बिच भएको तीन बुँदे सहमति उल्लंघन गर्दै काठमाडौँ जिल्ला अदालतले मंसिर १८ गते नेकपाका महासचिव विप्लव सी, प्रवक्ता प्रकाण्ड सी, माइला सी लगायतका नेताहरु उपर ३५ दिने पक्राउ पुर्जी जारी गरिएको थियो । सहमति विपरित जारी गरिएको पक्राउ पुर्जी खारेजीको माग गर्दै आज नेकपाले देशैभरी मसाल जुलुस निकालेको छ । त्यसै सन्दर्भमा नेकपा दक्षिण-पूर्व मकवानपुर, उत्तर-पश्चिम मकवानपुर र १ नम्बर जिल्लाले संयुक्त रुपमा मसाल जुलुस निकालेको हो ।
जरुवाटोलस्थित पार्टी कार्यलयबाट निकालिएको मसाल जुलुस राप्तिरोड हुँदै बुद्धचोकमा पुगि कोणसभामा परिणत भएको छ । मसाल सहितको र्यालीलाई पुलिस प्रशासनले बिच बाटोमै रोक्न खोजेपनि राम सीको नेतृत्वमा रहेको र्याली बलेको मसालसहित बुद्धचोक पुगेको हो । बुद्धचोकमा भएको कोणसभामा बोल्दै नेकपाका केन्द्रिय सदस्य तथा दक्षिण-पूर्व मकवानपुरका जिल्ला इन्चार्ज राम सीले नेकपा र सरकारबिच भएको तीन बुँदे सहमति विपरित पक्राउ पुर्जी जारी गर्नु आपत्तिजनक भएको बताए । बिनासित्ती नेकपामाथी लगाइएको झुट्टामुद्दा खारेज गर्नुको साटो पक्राउ पुर्जी जारी गरेर शान्तिपुर्ण तरिकाले आफ्नो कार्यक्रम अगाडि बढाइरहेको नेकपालाई जिस्क्याएको बताए । त्यस्तै धार्मिक कलह मच्चाउन खोज्ने, गाणतन्त्रलाई लत्याएर राजतन्त्रको वकालत गर्ने, साम्राज्यवादी दलालको इसारामा नाचेर देशलाई बलात्कार गर्न खोज्ने प्रतिगमनकारी तत्वलाई खुलेआम चल्न दिने तर युवाहरु विदेश पलायन हुनबाट रोकि देश र जनतालाई आत्मनिर्भर बनाउँदै राष्ट्र र राष्ट्रिय स्वाधिनताको लागि आफ्नो ज्यानको आहुती दिन तयार भएका पार्टी कार्यकर्तामाथी प्रतिबन्ध लगाउनु सरकारको गल्ती भएकी बताए । देशलाई अग्रगमनतिर लैजानुको साटो यथास्थिति तथा पश्चगमनतिर लैजाने षड्यन्त्र भैरहेको बेला नेकपा उपर पक्राउ पुर्जी जारी गर्नुमा साम्राज्यवादीको हात रहेको समेत बताए ।
त्यस्तै नेकपाका नेतृत्व पंक्ति उपर जारी गरिएको पक्राउ पुर्जी यथाशीघ्र खारेज गरि फिर्ता नलिए जस्तोसुकै कडा संघर्ष गर्न पनि नेकपा पछि नहट्ने चेतावनी दिएका छन् । नेकपाले कथित पक्राउ पुर्जी विरुद्ध पहिलो चरणको मसाल जुलुसपछि दोस्रो दिन मंसिर २० गते न्यायाधीशको पुत्ला दहन र २१ गते देशव्यापी जनप्रदर्शन गर्ने भएको छ ।