४ आश्विन २०८१, शुक्रबार

सोती हत्याकाण्डमा संलग्न २३ जनालाई जन्मकैद

0

काठमाडौं । जिल्ला अदालत रुकुम पश्चिमले करिब साढे तीन बर्ष पछि सोती हत्याकाण्डका आरोपीत २३ जनालाई जन्मकैदको फैसला सुनाएको छ ।

चौरजहारी नगरपालिकाको सोतीगाँउमा भएको हत्याकाण्डमा अन्तरजातीय विवाहको विषयमा लिएर नवराज विकसहित ६ जनाको हत्या गरिएको थियो ।

मंगलबार जिल्ला अदालतका न्यायाधीश खडकबहादुर केसीको इजलासले उनीहरुको घटनामा क्रुरतापूर्वक हत्या गरेको ठहर गरेको छ ।
यस्तै घाइतेको हकमा ज्यान मार्ने प्रयास गरेको, अपहरण गरी शरीर बन्धक बनाई हत्या गरेको र जातीय भेदभाव तथा छुवाछुत गरेको अदातलको ठहर छ ।

अदालतले यस घटनामा संलग्न भएकोमा दोषी ठहर गर्दै तत्कालिन वडाध्यक्ष डम्बरबहादुर मल्लसहित २३ जनालाई जन्मकैदको सजाय सुनाएको हो ।

सजाय पाउने अन्य व्यक्तिहरु प्रेमबहादुर ठकुरी, सन्तोष मल्ल, मोहन पुन, मानबहादुर मल्ल, टोपबहादुर मल्ल, सविन पुन, एक नाबालक, डिल्लीमल्ल ठकुरी, तिलक चन्द, इन्द्रबहादुर ठकुरी, लिपेन्द्रकुमार मल्ल, हर्कबहादुर मल्ल,विनोद मल्ल, नेत्रबहादुर मल्ल, रेशमबहादुर मल्ल, धनराज राना, नविन घर्ती, भीम पुन, विराज पुन, बिष्णु मल्ल र रमित मगर रहेका छन । जन्मकैदको सजाय तोकिएकाहरु सबै जना २५ वर्ष कैद बन्नुपर्ने छ ।

नवराज विककी प्रेमिका, उनकी आमा र भाइले ज्यान मारेको आरोपबाट सफाइ पाएका छन् । तर जातीय छुवाछुतको आरोपमा दोषी ठहर भएका छन् । उनीहरुलाई जनही २ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना गरिएको छ ।

घटनामा संलग्नको आरोप लागेका दीपेन्द्र चन्द, तुलबहादुर मल्ल, इन्द्रबहादुर मल्ल, भीमबहादुर बुढा, डिल्ली घर्ती, लोकेन्द्र घर्ती, तुलाराम घर्ती र सौरभ पुन गरी ८ जनाले मुद्दामा सफाइ पाएका छन् ।

जिल्ला अदालत रुकुम पश्चिमका सूचना अधिकारी गोविन्दप्रसाद कोइरालाले पुर्पक्ष थुनामा रहेका २३ जनालाई जन्मकैद भएको बताए । अनि संरक्षकको जिम्ममा रहेका एक नाबालकलाई समेत जन्मकैद भएको उनले जानकारी दिए ।

२०७७ साल जेठ १० गतेका दिन जाजरकोटको भेरी नगरपालिका–४ रानागाउँका २१ वर्षका नवराज विक आफ्नी प्रेमिकासँग विवाह गर्न साथीहरुसँगै रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोती गाउँ पुगेको बेला किशोरीका आफन्त र गाउँलेले लखेटीलखेटी नवराज विकसहित गणेश बुढामगर, सञ्जीव (सञ्जु) विक, लोकेन्द्र सुनार र गोविन्द शाही र रुकुम पश्चिम चौरजहारी नगरपालिकाका टीकाराम नेपालीको हत्या गरेका थिए । घटनामा १२ जना घाइते भएका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।