अनिल विरही
विचारधारात्मक र राजनीतिक विषयकेन्द्रित कृतिहरू प्रशस्त लेखिएका छन् । तर विचारधारात्मक विषयको टुङ्गो लागेपछि त्यसको वैज्ञानिकता पुष्टि गर्न आवश्यक पर्ने पार्टी सङ्गठनको विषयमा कृतिहरूको अभाव छ । लेनिन र माओले यो विषयमा प्रशस्त काम गर्नुभयो । लेनिनले जनवादी केन्द्रीयताको व्याख्या गर्दै जनवाद र केन्द्रीयताको व्याख्यासहित सङ्गठन परिचालनको नियम प्रस्तुत गर्नुभयो । माओले आलोचना, आत्मालोचना, शुद्धीकरण, लेखन शैली, अध्ययनको तरिका र कार्यकर्ताको हेरचाह अनेक विषय अनुसन्धान गर्नुभयो । यी विषयमा गहन अन्वेषणको अभाव छ । यसैबिच लेखक, पत्रकार तथा युवा कम्युनिस्ट खेम थपलियाकृत नयाँ कृति ‘कम्युनिस्ट पार्टी सङ्गठन’ प्रकाशित भएको छ । मैले यो कृतिको पाण्डुलिपि नै अध्ययन गरेको थिएँ । यो आलेखमा समालोचकीय दृष्टिले नभएर कृतिको महत्व, सीमा र सृजनपक्ष वा मौलिक पक्षमा सामान्य चर्चा गरिनेछ ।
लेखक थपलियाले प्रारम्भिक कथनमा भनेका छन्, “साम्राज्यवादीहरूले पछिल्लो चरणमा संसारभर नै आफूअनुकूलका कम्युनिस्ट पार्टीहरू जन्माइरहेका छन्, तिनलाई आफूअनुकूल चलाइरहेका छन्, जसबाट नेपाल अछुतो रहनै सक्दैन । … कहिले ‘जडता’ र कहिले ‘सिर्जनशीलता’ को नाममा नेपाली कम्युनिस्ट पार्टी सङ्गठन यिनै दुई अतिको सिकार बन्दै आएका छन् ।” प्राक्कथन वा लेखकीयको दोस्रो पृष्ठमा प्रस्तुत यो विषय नेपाली कम्युनिस्ट पार्टी जीवनको मुख्य समस्या हो । यो विषयमा मोहनविक्रम सिंह, बब अभाकियन, मार्ता हार्नेकर र विप्लव सीका आ–आफ्ना धारणा छन् । अघिल्लो पुस्ताको सन्दर्भमा अन्तोनियो ग्राम्सी (सन् १८९१–१९३७, रोम) र चे ग्वेभारा (सन् १९२८–१९६७, अर्जेन्टिनी) का विचारहरू पनि छन् । सृजनशीलताको नाममा विज्ञानका नियमहरूलाई अस्वीकार गरेर विकास हुँदैन । अर्कोतिर भौतिक जगत् गतिशील र परिवर्तनशील भएकोले समाज पनि परिवर्तनशील छ । बदलिएको सामाजिक सम्बन्धलाई पुरानो शिक्षाले नेतृत्व गरिरहन सक्दैन । तसर्थ निषेध र निरन्तरता दुवै गलत चिन्तन हुन् । माक्र्सवाद पूर्व–सञ्चित ज्ञानको अविछिन्न उत्तराधिकार भएको कारण यसले सीमा वा कमजोरीलाई सच्याउँदै थप समृद्ध गर्दै जान आवश्यक छ । दर्शन (समाज विज्ञान र प्रकृति विज्ञान) मा पनि प्रतिस्थापन प्रक्रियाबाट समृद्धिकरण सम्भव छ । त्यसैगरी, कृतिकारले संयुक्त मोर्चा र नेतृत्व हस्तान्तरणको विषय पनि उठान गरेका छन् । सो विषयमा उनी भन्छन्, “दुश्मनको घेरा साँघुरो र मित्रको घेरा फराकिलो बनाउनेतिर पनि खासै ध्यान गएको देखिँदैन । सङ्गठनात्मक श्रेष्ठता र स्वेच्छिक नेतृत्वको हस्तान्तरणसम्बन्धी विषय नेपालको कम्युनिस्ट पार्टी सङ्गठनमा कम गम्भीर छैन ।” समाजवादी मोर्चाको गठन, रणनीतिक संयुक्त मोर्चा र वामपन्थीहरूबिचको दूरी घटाएर र देशभक्त शक्तिसँग सहकार्य गरेर दुश्मनको घेरा साँघुरो बनाउने काममा हामीले महत्वपूर्ण काम गरेका छौँ । समाजवादी मोर्चाविरुद्ध को–को छन् ? देशभक्तहरूबिच सहकार्यलाई राजतन्त्रपरस्त भन्ने को–को हुन् ? र, रणनीतिक संयुक्त मोर्चाबाट भाग्ने वा त्यस प्रतिकूल हर्कत गर्ने को–को हुन् स्पष्ट नै छ । त्यसैगरी, नेकपाको नवौं महाधिवेशनले नेतृत्वको सन्दर्भमा आवधिक प्रणाली अवलम्बन गर्ने नीतिगत निर्णय गरेको छ । यो कार्यान्वयन कसरी जान्छ हेर्न बाँकी छ । नेतृत्व भन्नाले पार्टी, जनवर्गीय सङ्गठन र सामाजिक संस्था तथा लाभका पदहरू (सत्ताका अङ्गहरू) समेत सोच्नुपर्छ । नेतृत्व भन्नाले पार्टीको मुख्य नेतृत्वमात्र बुझ्ने गर्नु पनि सही होइन; आवश्यक समयमा नेतृत्व हस्तान्तरण नगर्ने, नयाँ नेतृत्व निर्माण गर्न नसक्ने र अनावश्यक समयमा उदारवादी हुने समस्या पनि देखिने गरेका छन् । यो विषयमा मूर्त छलफल आवश्यक छ ।
कृतिको मूल्याङ्कन गर्दा विचारधारात्मक, ज्ञानात्मक र सौन्दर्यात्मक पक्षलाई आधार बनाउने गरिएको छ । पार्टी सङ्गठनसम्बन्धी कृति हुनाले यो कृतिमा सौन्दर्यात्मक पक्षको अपेक्षा गरिएको छैन । विचारधाराको साथमा ज्ञानात्मक पक्षमा पनि लेखकले ध्यान पु¥याएका छन् । जनवादी केन्द्रीयताको उदय र विकासको सन्दर्भ, त्यसका नियमहरूले पाठकले ज्ञानको स्तर बढाउन सक्छन् ।
नेपालको कम्युनिस्ट आन्दोलनमा लेनिनको जनवादी केन्द्रीयताको विषयमा प्रशस्त चर्चा हुने गरेको छ । तर लेनिन र रोजाबिचमा सङ्गठनको मामिलामा के कस्तो सकारात्मक र नकारात्मक विषयहरू थिए ? सो विषयमा छलफल नै उतिसारो छैन । लेखक थपलियाले यो विषयमा कलम चलाएर महत्वपूर्ण कार्य गरेका छन् । लेनिन र रोजाका बिचमा चलेको बहसको निकास नै माओ त्से तुङको योगदान हो । सङ्गठनको विषयमा माओले के–के विषयमा योगदान गर्नुभएको थियो त ? यससम्बन्धमा यो आलेखमा प्रारम्भमा नै सामान्य चर्चा गरिसकिएको छ । लेनिनको जनवादी केन्द्रीयतासम्बन्धी नियमले नोकरशाही वर्ग पैदा गर्ने, विचारधारात्मक छलफलको विषयलाई निषेध गर्ने रोजाको आरोप थियो । अर्कोतिर लेनिनले रोजाको विचारभित्र अराजकतावाद र आदर्शवाद देख्नुहुन्थ्यो । माओले लेनिनका योगदानलाई आत्मसात् गर्दै आलोचना, आत्मालोचना थप्नुभयो । त्यसैगरी विचारको बहसलाई अल्पमत–बहुमतको विषय बनाउनु गल्ती हुनेतर्फ सङ्केत गर्दै ‘एउटा निश्चित कालखण्डसम्म सत्य सधैं अल्पमतसँग रहने गर्दछ’ भन्नुभयो । रोजा लक्जेम्बर्ग (सन् १८७१–१९१९, पोलिस) को चिन्तालाई माओ त्से तुङले सूत्रबद्ध गर्नुभएको थियो । लेनिन र रोजाको बिचमा राष्ट्रियता (ल्बतष्यलबष्तिथ) र सङ्गठनको विषयमा तिक्ततापूर्ण बहस थियो र एक अर्काका आलोचक र सहयोगी दुवै थिए । रोजा सहिद भएपछि लेनिनले रोजाको उच्च सम्मान गर्नुभयो । सङ्गठनको विषयमा यो पाटोमा लेखकले गहन प्रवेश गर्नेछन् भन्ने मेरो अपेक्षा थियो ।
नेपाली माक्र्सवादी पाठकहरूबिच हो चि मिन्हको विषयमा कम चर्चा हुने गरेको छ । यद्यपि अमेरिकी, जापानी र फ्रेञ्च साम्राज्यवादका विरुद्ध भियतनामी जनता र हो चि मिन्ह प्रेरणाका स्रोत रहिआएका छन् । व्यक्तिवादका विरुद्ध सङ्घर्ष र क्रान्तिकारी नैतिकताको निर्माण हो चि मिन्हको ठूलो योगदान हो । मेक्सिम गोर्कीले व्यक्तिवादको विरुद्ध ‘व्यक्तित्वको विघटन’ लेख्नुभयो । हो चि मिन्हले निर्देश गर्नुभएका तीन सत्रु थिए । काका हो चि मिन्हले तीन प्रकारका सत्रुहरूलाई यसरी संश्लेषण गर्नुभएको छ, “साम्राज्यवाद र पुँजीवाद, असह्य खतरनाक सत्रु, पिछडिएका बानी र परम्पराहरू र व्यक्तिवाद, निम्न(पुँजीवादी मनोवृत्ति”, (पृष्ठ ४९) । त्यसैगरी, कृतिमा किम इल सुङको हो चि मिन्हको जसरी नै जीवनी र कार्यको सङ्क्षिप्त चर्चा छ । विश्व कम्युनिस्ट आन्दोलनमा कम्युनिस्ट पार्टी र बौद्ध धार्मिक संस्थाबिच जापानविरोधी संयुक्त मोचा गठन किम इल सुङको नयाँ शिक्षा हो । तर लेखक यो विषयमा मौन छन् । उनी पर्यवेक्षकीय टिप्पणीसम्ममा मात्र खुम्चिएका छन् । यद्यपि इतिहास र घटनाक्रमको ज्ञान पक्षमा पाठक लाभान्वित हुनेछन् । कम्युनिस्ट पार्टीको घोषणा(पत्रमा भनिएको छ, “कम्युनिस्टहरू आफ्नो विचार लुकाउने कुरालाई घृणा गर्छन् ।” चीनको ‘चिनियाँ विशेषताको समाजवाद’ र उत्तर(कोरियाको ‘जुछे विचार र साम्यवादको परित्याग’ जस्ता दूरगामी तथा आधारभूत प्रश्नमा भाग्नुपर्ने कारण र मनोविज्ञान सामान्य होइन । कार्यनीतिक दाउपेचको लागि विचारमा सम्झौताको गन्तव्य प्रतिधु्रबमा गएर टुङ्गिन्छ । जुछे विचारअनुसार आत्मनिर्भरता, राजनीतिक स्वतन्त्रता, आत्म सुरक्षा, मौलिक दृष्टिकोण, स्वतन्त्र अस्तित्व निर्माण र पहिचान हुन् । तर यी विषयहरू माक्र्सवाद बाहिरका विषय होइनन् । चीन र रुसको प्रभावबाट गाँजिएको कोरियाले मौलिक ढङ्गले उठ्न आवश्यक भए पनि जुछे विचारलाई माक्र्सवादकै स्तरमा बुझ्नु सही थिएन । लेखक थपलियाले जुछे विचारको व्याख्या गरेका भए पनि संश्लेषण गरेका छैनन् । माक्र्सवादी लेखकहरूले आफूलाई कथावाचकको स्तरमा सीमित राख्नुलाई उपयुक्त भन्न कठीन हुन्छ ।
क्युबा, पेरुलगायत सन्दर्भहरू सङ्गठनात्मक विषयभन्दा विचारधारात्मक र परिचयमुखी छन् । त्यसो त सङ्गठनात्मक भने पनि कृति आफैँमा कार्यपत्रको विस्तृतीकरण भएको सन्दर्भ कृतिकारले नै प्राक्कथनमा गरिसकेका छन् । त्यसैले कृतिलाई त्यही सीमाभित्र बुझ्नुपर्दछ । पेरु र टर्कीलगायत पछिल्ला अध्यायहरू सङ्गठनात्मक विषयबाट विषयान्तर भएका छन् । यद्यपि विचारधारा र राजनीतिबाट पृथक केही हुँदैन । तर पनि विषयको सघनताको आफ्नै महत्व हुन्छ ।
कृतिमा समाजशास्त्री एवम् अभियन्ता मार्ता हार्नेकर शिर्षकको अध्याय समकालीन बहसका दृष्टिले महत्वपूर्ण अध्याय हो । यो अध्यायमा भेनेजुयलाकी नेता मार्ता हार्नेकरका विचारहरू समावेश गरिएको छ । नेतृत्व चयन र कार्यकर्ताको मूल्याङ्कन विधिको सन्दर्भमा उनका विचारहरू महत्वपूर्ण छन् र आजको विश्व कम्युनिस्ट आन्दोलनको समस्यामा केन्द्रित छन् । पत्रकारसमेत रहेकी मार्ताले ‘जननिर्भरता र उद्देश्य पूर्तिको लागि पार्टी एकता’ को विषयमा कलम चलाउने गरेकी छन् । यसरी पृष्ठ १५ देखि ८९ सम्म विश्व कम्युनिस्ट आन्दोलनका विगत र वर्तमान अवस्थाको परिचर्चा गरिएको छ ।
सङ्गठन र तात्कालिक उपादेयताका दृष्टिले ‘पार्टी सङ्गठन निर्माण र परिचालन’ अध्याय सबैभन्दा महत्वपूर्ण अध्याय हो । यो अध्यायमा समस्या र गरिएका वा अभ्यासरत विषय तथा नीतिहरूको चर्चा छ । तर सकारात्मक पक्षहरू छैनन् वा नगन्य छन् । सङ्गठनको मामिलामा जनयुद्धमा मात्र राम्रो काम भएका थिए भन्ने विश्लेषण अर्धसत्य हो । जनयुद्ध आफैँ शून्यबाट विकास भएको थिएन । नेपालमा कम्युनिस्ट जनमत दुईतिहाइ हुनु सङ्गठनमा पनि महत्वपूर्ण कामको साक्ष्य मान्नुपर्छ । यो अध्याय हेर्दा आलोचनावादको सिकार माक्र्सवादी लेखकहरू बन्न सक्ने हुन् कि भन्ने चिन्ता पैदा हुन्छ । त्यसैगरी अध्ययन कार्यशालाको महत्वबोध गराउने अध्याय ‘पार्टी सङ्गठनमा स्कुलिङ’ महत्वपूर्ण अध्यायको रुपमा रहेको छ । लेखकले गुरुकुल शिक्षा प्रणालीको रुपमा अध्ययनलाई बुझ्ने जडता र सिर्जनशीलहीनप्रति व्यङ्ग्य गरेका छन् । वर्गसङ्घर्षमा हेलिनु, जनताबाट सिक्नु, ज्ञानको भोकले सताउनु र कडा मिहिनेत गर्ने शैलीप्रति लेखकले उत्प्रेरित गरेका छन् । अध्ययन कार्यशाला (क्अजययष्लिन) का सदस्यसमेत रहिआएका लेखकले विषयको महत्वलाई गहिराइमा पुगेर विश्लेषण गरेका छन् ।
लेखकले ‘उपसंहार’ अध्यायमा घटनाक्रमहरूलाई सामान्य जानकारी प्रदान गर्ने खालका सामाग्री पस्केका छन् । जम्मा २१ वटा बुँदामा रहेको अध्यायलाई सार–सङ्क्षेपको रुपमा लिन सकिन्छ । त्यसैगरी, परिशिष्टले प्रस्तुत अध्यायमा समावेश विषयलाई प्रमाणीकरण गर्छन् । अर्कोतिर सन्दर्भ सामाग्रीसहित तथ्यहरूलाई पुष्टि गरिएको छ । सन्दर्भ सामाग्री र परिशिष्टले कृति शोधपरक शैलीमा लेखिएको बुझ्न सकिन्छ; जसको कारण सोधार्थी तथा विद्यार्थीको लागि पठनीय र सङ्ग्रहणीय हुनेछ । माक्र्सवादी साहित्यमा महत्त्वपूर्ण योगदान गर्दै आएका थपलियाले पृथक तथा नयाँ विषयमा मौलिक योगदान गरेका छन् । आम–सामाजिक चेतना उठाउन मद्दत पुग्ने यो कृतिमा लेखकले पूर्वाग्रहमुक्त भएर परिश्रम गरेका छन् । विज्ञानमा आग्रह–पूर्वाग्रहको कुनै स्थान हुँदैन नै । यस्तो योगदानको लागि साधुवादसहित थप योगदानको अपेक्षा गर्दछु ।
२०८० असोज ८
स्राेत: जनपत्रिका साताैँ अङ्क