८ पुष २०८१, सोमबार

भौगोलिक त्रुटी

0

          जनकलाल शर्मा

 

महाकवि देवकोटासँग यस्तो पारिवारिक सम्बन्ध भएपछि उनका जीवनमा घटेका अनेक कुरा कोट्याउन मन लाग्थ्यो मलाई । पद्मशमशेरलाई राँची पठाएर मोहनशमशेर गद्दीमा बसेको धेरै समय बितेको थिएन त्यस बेला । त्यसकारण पनि राँचीको झझल्को मनमा आइ नै रहन्थ्यो । देवकोटा पनि राँची पुगेर आएका थिए झण्डै दश वर्षअघि । कुराको छेउ भेट्टाएपछि धागो ताने झैं तान्न सजिलो हुन्छ । उनले कुरा–कुरैमा भनेका थिए– “हो भान्जा, म राँची लगिएको थिएँ पन्चानब्बे सालमा । तपाईलाई थाहा छ म आर्थिक सङ्कटमा थिएँ त्यस समय । मलाई लघुताभासको बोध हुन्थ्यो जताततै । संसारमा सबभन्दा सानो प्राणी ठान्दथें म आफूलाई । अरूलाई म पहाडजस्तो देख्थें । मेरो इच्छा तै पनि पूरा हुन्नथ्यो आर्थिक कारणले गर्दा । मेरो मनको बह कसैले बुझेन त्यस समय । म यस्तै चिन्तामा रुमलिएर बस्थें चौबीस घण्टा । त्यसैकारण त कुरै नबुझी उल्लूहरूले सिल्ली भनेर डो¥याएर हिंडे राँचीतिर मलाई । मलाई त आर्थिक रोग लागेको थियो । डाक्टरले के गर्न सक्थ्यो र ? तैपनि बसिदिएँ डा. बर्कले हिलको रेखदेखमा केही महिनाको चित्त बुझाउन । उसले मेरो रोगको पत्ता लगायो र भन्यो– “जोग्राफिकल मिस्टेक, पश्चिममा जन्मिनुपर्ने पूर्वमा जन्मेछ ।” शायद उसको भनाइ थियो होला– “पश्चिममा भए उसलाई आर्थिक सङ्कट हुने थिएन, पूर्वमा आर्थिक बोझले किचियो ।” तैपनि उसले प्रयत्न ग¥यो, मेरो जन्मजात रोग निको भएन भान्जा ! ऊ पनि कम मनमोजी कहाँ थियो र ! म त्यहीं हुँदा एउटा हल्ला सुनेको थिएँ उसका बारेमा । कुरा कहाँसम्म सत्य हो उही जानोस् । एउटा अन्तरर्राष्ट्रिय मनोविज्ञानीहरूको बैठक भएछ त्यहाँ लेफ्टिनेण्ट कर्णेल डा. बर्कले हिलको अध्यक्षतामा । ऊ पनि संसारका मानिएका चार विद्वानमध्ये एक थियो१  मनोविज्ञानका क्षेत्रमा । बैठक सफल भएकोमा ऊ अति प्रसन्न भयो अरे त्यस बखत । बुझ्नुभो के ग¥यो अरे उसले त्यहाँ ? ऊ त्यै सेमिनारको टेबुलमाथि चढेर तुक्र्याएछ त्यहीं सबका सामने । अरूले सोधे अरे के गरेको यस्तो भनेर । उसले उत्तर दिएछ– “म बैठकको सफलतामा गद्गद भएँ र मनको खुशीयाली रोक्न नसकेर यसो गरेको हुँ । सबै गलल्ल हाँसेछन् । अरू पनि त ऊजस्तै साथी थिए ।” यो कुरा सत्य होस्–नहोस् देवकोटाको तीखो व्यंग्य थियो समाजमाथि ।


महाकवि राँची गएको फाइल त मैले पनि हेरेको थिएँ काहिला मामा मधुसुदनसित लिएर । त्यहाँ जोग्राफिकल मिस्टेकवाला कुरा कतै लेखिएको छैन । शायद डा. बर्कलेले मुखले भनेको थियो होला । यदि यो कुरा हो भने महाकविको र मेरो अर्थमा फरक आउँछ । उसले आर्थिक कारणमा पूर्व–पश्चिमको तुलना गरेको होइन । यदि तुलना गरेको हो भने बौद्धिक क्षेत्रमा तुलना गरेको हो । देवकोटाजस्तो प्रतिभाशाली साहित्यिक व्यक्तित्वको कदर गर्न जान्ने र बुझ्ने युरोपियनमात्र हुन सक्छन् । अंग्रेजी साम्राज्य चरमचुलीमा पुगेका बेला एउटा अंग्रेजी जातिको व्यक्तिले भन्ने र सोच्ने कुरा पनि त्यही हो । डा. बर्कले हिलले टेबुलमा चढेर तुरी गरेको कुरा कुनै फाइलबाट पत्ता लाग्ने कुरा पनि होइन । यसलाई त मनोरञ्जनकै निमित्त यहाँ लिनुपर्दछ ।
जुन समय महाकवि राँची लगिए त्यस समय उनको सेवा गर्न उनका भाइ मधुसुदन देवकोटा साथमा जानुभएको थियो । मेरो सम्पर्क उहाँसित राम्रो थियो । सम्पर्क मात्र होइन एउटै घरमा बस्थ्यौं र एउटै भान्सामा खान्थ्यौ कैयौं वर्षसम्म । एकै ठाउँ खाने–बस्ने भएपछि अनेक व्यावहारिक कठिनाइ पनि आउँछन् मानिसलाई । यस्तै अवस्थामा एउटा मुद्दाबाट बचाइदिएको छु मैले पाँच–पाँच हजारको जमानत दिएर । यस्तो परिस्थितिमा महाकवि राँची गएको फाइल मैले नदेख्ने कुरै छैन । यसमा २३ वटा चिट्ठी र दुई वटा बिल देखिन्छन् राँचीका । राँचीको फाइलमा महाकविका दाजु लेखनाथ देवकोटाले मधुसुदन देवकोटा, मित्रनाथ देवकोटा र लक्ष्मीप्रसाद देवकोटालाई अंग्रेजीमा लेखेका घरेलु पत्र पनि यसमा समाविष्ट छन् ।
राँचीको फाइलबाट महाकवि देवकोटा संवत् १९६५ सालको पौष महिना अर्थात् ईसवी सन् १९३६ जनवरीमा अर्थात् द्वितीय विश्व–युद्धको प्रारम्भमा राँची पुगेको देखिन्छ । कारण मृगेन्द्रशमशेरले त्यस समयका राणा प्रधानमन्त्री जुद्धशमशेरको शिकार–क्याम्प नारायणगढबाट लेखेको पहिलो पत्रमा ‘३१ ता को पत्र पाएँ’ भनेका छन् । उनको पत्र २३ माघको हुँदा यै कुरा पत्रबाट झल्किन्छ । देवकोटाको आर्थिक बोझ पनि मृगेन्द्रशमशेर र ब्रह्मशमशेरले नै लिएको देखिन्छ’ । यिनीहरूका ‘अनेक पत्रमा देवकोटालाई औषधि गराउन रुपियाँ पठाएको उल्लेख पाइन्छ । फाइलबाट त्यहाँ बिरामी राख्ने ठाउँमा मासिक रु. १८० दिनु पर्दथ्यो भन्ने पनि पाइन्छ । तर डाक्टरको फीमा भने रु. ६४ देखि रु. १०० सम्मको विवाद देखिन्छ । कविलाई आत्मलघुता हुने कुराको चर्चा पत्रमा पनि छ । यति मात्र होइन देवकोटा छुवाछुतका कट्टर समर्थक पनि देखिन्छन् । त्यसै कारण त मृगेन्द्रशमशेरले उनलाई आकाश–पाताल देखाएर सम्झाउनु प¥यो पत्रमा । देवकोटाको प्रतिभाको महत्व मृगेन्द्रशमशेरले बुझेका थिए । नत्र तिमीले देशलाई धेरै दिनु र गर्न छ भनेर त्यस समयका जल्दाबल्दा राणाले कहिल्यै लेख्ने थिएनन् । देवकोटाको राँची जाने र बस्ने खर्च सर्वाधिक मृगेन्द्रशमशेरले बेहोरेको देखिन्छ२ भने ब्रह्मशमशेरले पनि केही सघाउ पु¥याएकै देखिन्छ । राँचीको फाइलमा लेखनाथ देवकोटा, मृगेन्द्रशमशेर, ब्रह्मशमशेर, डा. पी. पी. नारायन र डा. बर्कले हिल पाँच जनाका पत्र देखिन्छन् । यी पत्रको अध्ययनबाट महाकवि देवकोटा १६३६को जनवरीदेखि जून ७ ता. भिल्लको समयमा राँची भएको देखिन्छ । राँची पुगेको र फर्केको दिन यही हो भन्न गाह्रो पर्छ । देवकोटालाई राँची लाने कुरा १९३८देखि नै चलेको देखिन्छ । त्यसैकारण यसमा पाठकको अध्ययनका लागि ती २३ पत्र, दुई थान बिल पनि यसमा समाविष्ट छन् परिशिष्टको रूपमा । पत्रबाट केही साहित्यिक रचनाका विषयमा पनि कुरा खुल्दछ । ‘सावित्री सत्यवान्’को रचना वि. सं. १९९५ सालमा राँची जानुभन्दा पहिले नै देवकोटाबाट भएको थियो भन्ने स्पष्ट हुन्छ । कारण ब्रह्मसमशेरले आफ्नु पत्रमा त्यसको प्रकाशनसम्बन्धमा उल्लेख गरेका छन् ।३
फुट नोट ः
१) योङ्ग, आएडलर, सिग्मण्ड फ्रायड र बर्कले हिल । देवकोटाको भनाइअनुसार डा. बर्कले हिल पनि केही समयअघि सिग्मण्ड फ्रायडसित आफ्नो मानसिक उपचार गराउन गएको थियो)
२) बबरशमशेरका छोरा मृगेन्द्रशमशेर र ब्रह्मशमशेरको बोलचालको नाम क्रमशः अमीरहजुर र साहेबहजुर हो अतः पत्रमा कतै त्यस्तो देखिन्छ । कुनै कुनै पत्रमा डी. पी. आई. भनेको डाइरेक्टर जेनरल अफ पब्लिक इन्स्ट्रक्शन (शिक्षा–महानिर्देशक ) हो । त्यस समय यस पदमा (मृगेन्द्रशमशेर थिए । उनीहरू जन्मजात जेनरल हुन्थे । अतः यसमा जेनरल नजोडिने कुरा छैन ।)
३) यी सबै पच्चीसै थान पत्र मैले नेपाल राष्ट्रिय अभिलेखालयमा सुम्पिदिएँ । जसबापत श्री मधुसुधन देवकोटाले रु. ५००।– (पाँच सय रुपियाँ) २०३२।७।२७।५ का दिन पुरस्कार पनि पाउनुभयो ।)
(स्रोत ः जनकलाल शर्माद्वारा लिखित र साझा प्रकाशनद्वारा प्रकाशित ‘महाकवि देवकोटा, एक व्यक्तित्व दुई रचना’)

स्राेत: जनपत्रिका साताैँ अङ्क


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।