१९ बैशाख २०८१, बुधबार

साम्राज्यवादले अदालतमार्फत नेकपामाथि हमला गर्यो : प्रकाण्ड

0

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा प्रवक्ता प्रकाण्ड सीले पक्राउ पुर्जी साम्राज्यवादले अदालतमार्फत नेकपामाथि गरेको हमला भएको बताएका छन् । मंगलबार नेकपा उपत्यका व्युरोले आयोजना गरेको ‘पार्टी संगठन सुदृढ तथा राज्य षड्यन्त्रको भण्डाफोर’ अभियान उद्घाटन कार्यक्रममा प्रशिक्षण मन्तव्य राख्दै साम्राज्यवादले नेकपाको लोकप्रियता देखेर अदालतमार्फत हमला भएको बताएका हुन् ।

नेपालमा साम्राज्यवादलाई आफ्नो पार्टीले मात्र चुनौति दिइरहेको भन्दै यसले विभिन्न मोर्चामार्फत नेकपामाथि हमला गरिरहेको बताए । ‘हाम्रो पार्टी साम्राज्यवादका विरुद्ध लड्ने एकमात्र शसक्त पार्टी हो । एमसीसीविरुद्ध गरेका संघर्षहरुले जनतामा पनि त्यो परेको छ ।’, उनले भने, ‘पार्टीको लोकप्रियता जनताबाट कट गराउन, कार्यकर्ताको मनोबल घटाउन साम्राज्यवादले अदालतमार्फत गरेको हमला हो ।’

नेपाल कम्युनिस्ट पार्टी कमजोर भएर हमला गरेको नभई पार्टीलाई कमजोर पार्न अदालतको प्रयोग गरेको उनको भनाई थियो । ‘हामीलाई थाहा छ साम्राज्यवाद नेकपाको लोकप्रियताबाट आत्तिएको छ । पार्टीले गरेको जनपक्षिय काम, उत्पादन र संघर्षबाट उनीहरुमा छटपटी भएको छ । राष्ट्रिय राजनीतिमा पार्टीको दवदवा छ । जनतामा आक्रषण बढेको छ ।’, उनले भने, ‘नेपालमा रहेका उनीहरुका दलालहरुले पनि राम्रोसँग काम गर्न सकेका छैनन् । एमसीसी कार्यान्वयन हुन सकेको छैन । त्यही भएर न्यायाधीशलाई प्रयोग गरे । यसलाई पार्टीले स्वविवेकिय र स्वविचारित ढंगबाट प्रतिकार गर्छ ।’

अदालतका न्यायाधीशलाई ३ बुँदे सहमतिका विषयमा प्रयाप्त जानकारी हुँदा हुँदै पक्राउ पुर्जी जारी भएको बताए । नेकपाका नेता तथा कार्यकर्तामाथि पक्राउ पुर्जी जारी गरेर अदालतले नियमित प्रक्रिया हो भन्नु निच सोचाइको मानसिकता भएको उनको भनाई थियो ।

‘अदालतको न्यायाधीशलाई तीन बुँदे सहमतिको बारेमा जानकारी छैन । त्यो पनि काठमाडौं जिल्लाको मुख्य न्यायाधीशलाई ?’, उनले भने, ‘यो सामाजवादी मोर्चा तोड्ने षड्यन्त्र पनि हो । नेपालमा समाजवाद आउने भएपछि साम्राज्यवाद डराएको छ । यी न्यायाधीश उसैका गोटी बने ।’

उनले नेपाली जनताको मुख्य दुस्मन दलाल पुँजीवाद भएकाले यसका विरुद्धमा लड्नका लागि सम्पूर्ण मोर्चा खोलेको बताए । ‘अमेरिकी साम्राज्यवाद, भारतीय साम्राज्यवाद नेपालमा सम्पूर्ण मोर्चामार्फत आइरहेको छ । पछिल्लो समय सूचना प्रविधिलाई उसले आफ्नो महत्वपूर्ण हतियारका रुपमा प्रयोग गरेको छ ।’, उनले भने, ‘हामी पनि सम्पूर्ण मोर्चा खोलेर सक्रिय बनाउने तहमा पुगेका छौं । हामी नेपालका कम्युनिस्ट, लोकतान्त्रीक गणतन्त्रवादी, राष्ट्रवादी शक्तिसँग सहकार्य गर्दै समाजवादका लागि मोर्चाबन्दीको पक्षमा छौं ।’

अमेरिका नेपालमा आफ्नो प्रतिनिधिले ठीक ढंगबाट काम गर्न नसकेको निश्कर्षमा पुगेको बताउँदै यसको दोष नेकपालाई दिने गरेको ठोकुवा गरे । ‘अमेरिकाले नेपालमा खटाएका नेपाली प्रतिनिधिले ठीक ढंगबाट काम गर्न सकेका छैनन् । त्यसको प्रमाण एमसीसी कार्यान्वयनमा आउन नसक्नु हो ।’, उनले भने, ‘नेपालका अमेरिकी दलालहरुले नेकपाका कारण एमसीसी कार्यान्वयनमा चुनौति बढेको बताउने गरेका छन् । अमेरिकाले नेकपा चुनौति भएको स्वीकारे पनि उनीहरुले कार्यान्वयन गर्न नसकेको ठोकुवा छ । हर मोर्चा जित्नका लागि असली प्रतिनिधि चाहिन्छ भन्नेमा अमेरिका विश्वस्त छ । त्यही भएर अहिले साम्राज्यवाद उनीहरु असली प्रतिनिधि नभएको ठहरमा छ । उनीहरुले असफल भएको भन्दै कमजोर प्रतिनिधि छानिएकोमा पश्चाताप गरिरहेका छन् ।’

कार्यक्रमको अध्यक्षता नेकपा पोलिट व्युरो सदस्य तथा उपत्यका व्युरो इन्चार्ज कृति सीले गरेका थिए भने कार्यक्रमको संचालन नेकपा केन्द्रीय सदस्य तथा काठमाडौं जिल्ला नम्बर १ इचार्ज भृकुटी सीले गरेकी थिइन् । कार्यक्रममा पोलिट ब्युरो सदस्य माइला सी, आस्था सी, केन्द्रीय सदस्यहरु संजिव सी, विहानी सीको आतिथ्यता रहेको थियो भने उपस्थिति सबैलाई नेकपा केन्द्रीय सदस्य तथा ललितपुर जिल्ला इन्चार्ज विपन सीले स्वागत मन्तव्यमार्फत स्वागत गरेका थिए । कार्यक्रममा व्युरो अन्तरगतका सम्पूर्ण जिल्ला इन्चार्जहरुलाई झण्डा उपलब्ध गराएर विभियानको कमाण्डर तोकिएको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।