३ जेष्ठ २०८१, बिहीबार

अहिले एकीकृत जनक्रान्तिको कार्यदिशा नै नेपालको माओवाद हो : अनिल सी

0

आज माओको जन्म भएको दिन हो । आजभन्दा १३० बर्ष अगाडि चीनमा कमरेड माओको जन्म भएको थियो । यो अवसरमा हामीले दुई महिने अभियानको उद्घाटन गरेका छौं । आज देशैभरी हाम्रो पार्टीले माओ दिवस मनाएको छ । अमेरिकी लेखक हावर्ड फास्टले विगतका बलिदानहरुलाई वर्तमानका प्रतिरोध आन्दोलनसित जोड्नु लेखकको मुख्य काम भएको बताउनुभएको थियोे । हामीले माओको योगदानलाई स्मरण गर्नुको अर्थ आजको सन्दर्भमा जोड्नु हो । माओ दिवस मनाउनु कुनै धार्मिक कर्मकाण्ड जस्तो होइन ।
रुसमा क्रान्ति भएपछि लेनिनले चीन र भारत जस्ता देशमा किसानमा आधारित क्रान्ति गर्नुपर्छ तर त्यो त्यहाँको विशेषताको आधार हुने बताएका थिए । १९२१ मा चीनमा पार्टी स्थापना भयो । रुसका कतिपय नेता र स्टालिनले समेत चीनमा रुसको जस्तो क्रान्ति गर्नुपर्छ भन्दा माओले मान्नुभएन । बरु माओ चिङकाङशानको पहाडमा सेनालाई लिएर जानुभयो । त्यतिबेला किसानको भर परेर क्रान्ति गर्नुपर्छ भन्दा माओलाई कारवाही गरिएको थियो तर आखिरमा माओकै लाइन पास भयो । माओले द्धन्द्धवादको नियमलाई विकास गर्नुभयो ।
कामरेड माओले कम्युनिस्ट पार्टीमा बहुमत भएर मात्रै सबै सत्य नहुने र सत्य जहिल्यै अल्पमतमा हुने बताउनुभयो । उहाँले चिनिया कम्युनिस्ट पार्टीभित्र देखिएको संशोधनवाद विरुद्ध महान सर्वहारा सांस्कृतिक क्रान्ति सुरु गर्नुभयो । माओले दर्शन, राजनीति र अर्थशास्त्रको क्षेत्रमा विकास गर्दै विश्वक्रान्तिमा महत्वपूर्ण योगदान गर्नुभयो । पेरुमा कामरेड गोञ्जालोले माओवादको शंश्लेषण गर्नुभयो । मालेमावादलाई नेपालमा लागु गर्ने भनेको नेपाली विशेषताको समाजवाद लागु गर्ने हो ।
सत्ताको प्रश्नमा रुसमा लेनिनले सर्वहारा वर्गको अधिनायकत्व भन्नुभयो । चीनमा माओले जनताको जनवादी अधिनायकत्व भन्नुभयो । नेपालमा हामीले मध्यमवर्ग, देशभक्त र श्रमिक वर्गको अधिनायकत्वलाई जोड्नुपर्छ । धर्मको बिषयमा धार्मिक स्वतन्त्रता हुनुपर्छ । अहिले एकीकृत जनक्रान्तिको कार्यदिशा नै नेपालको माओवाद हो । क्रान्ति रुस र चीनमा जस्तो अन्धनक्कल गरेर यान्त्रिक होइन, नेपालको सन्दर्भमा मालेमावादको आधारभूत मान्यतालाई आत्मसात गर्दै एकीकृत जनक्रान्ति मार्फत् पुरा गर्नुपर्छ ।
अहिले हाम्रो पार्टीले राजनीति, विचार र दर्शनको क्षेत्रमा नयाँ बहसको सुरुवात गरेको छ । हामीले नयाँ ढंगले सोचिरहेका छौं । अहिले सरकारले हाम्रो पार्टीलाई संसदीय व्यवस्थामा नजाने बुझेपछि ३ बुँदे सहमति लागु गर्न चाहेको छैन । हाम्रा आस्थाका बन्दी कमरेडहरुलाई नछोडेर दवाव दिन थालेको छ । समाजवादी मोर्चालाई जनस्तरसम्म पुर्याउनुपर्छ । देशभर पार्टीप्रति जनताको लहर सिर्जना भएको छ । पक्राउ पुर्जीबारे प्रचण्ड नबोल्नुको कारण साँठगाँठ भएको हुनुपर्छ । कम्युनिस्टहरुले प्रतिरोध नगरी साम्राज्यवादले तेर्दैनन् । साम्राज्यवाद भूमण्डलीकृत हुनुको अर्थ क्रान्तिकारीहरुमाथि सबै मोर्चाबाट हमला हुनु हो । पार्टीले सबै मोर्चामार्फत साम्राज्यवाद विरुद्ध लड्नुपर्छ ।
वामपन्थी कम्युनिस्ट ध्रुवीकरण बढाउनुपर्छ । देशभक्तहरुसित सहकार्य गर्नुपर्छ । हामीले देशभक्त भनेको मूर्तिचोरहरुलाई भनेको होइन । जाँड खाएर नागरिक हत्या गर्नेहरुलाई भनेको होइन । देशभक्त भनेको पृथ्वीनारायणको देशभक्तहरुको इतिहासलाई भनेको हो । उनले व्रिटिश साम्राज्यवाद विरुद्ध लडेका थिए । अहिले एमसीसी विरुद्ध नलड्ने देशभक्त हुँदैन । हामीले अमेरिका र भाजपाका दलालहरुलाई देशभक्त भनेको होइन । उनीहरुलाई राजनीतिक स्पेश दिन सकिन्छ तर राजतन्त्र फर्काउन सकिदैन । अहिले गैरकम्युनिस्टहरु पनि क्रान्तिमा ल्याउनुपर्छ । उत्तर कोरिया, जापान र कम्बोडियामा कम्युनिस्ट र गैरकम्युनिस्टहरु लडेर गणतन्त्र ल्याएका थिए । श्रीलंकामा बुद्धिस्ट गुरु समेत आमरण अनसन गरेपछि एमसीसी फिर्ता भएको हो । रुसमा स्टालिनले संयुक्त मोर्चा गरेका थिए । अमेरिकी साम्राज्यवाद नेपाल आउने भनेको चीन समेत आफ्नो रक्षाका लागी आउने भनेको हो । यसका लागी देशभक्तहरुको मोर्चा जरुरी छ ।
(बुटवलमा नेकपा पूर्वी लुम्बिनी ब्युरोद्धारा १३१ औं माओ दिवस, राजनीतिक प्रशिक्षण र दुई महिने अभियान उद्घाटनको अवसरमा दिइएको मन्तव्यको सार)


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।