२३ बैशाख २०८१, आईतवार

तीन बुँदे सहमति कार्यान्वयन गर्न गठित कार्यदलका प्रमुखको बैठक सम्पन्न

0

 

काठमाडौँ: सरकार र नेपाल कम्युनिस्ट पार्टीबीच तीन बुँदे सहमति कार्यान्वयन गर्न गठित कार्यदलको प्रमुखको बैठक सम्पन्न भएको छ । नेपाल कम्युनिष्ट पार्टीको तर्फबाट प्रवक्ता प्रकाण्ड सी र सरकारको तर्फबाट नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुन प्रमुख रहेको उक्त कार्यदलको बैठक बालुवाटारमा सम्पन्न भएको हो ।
उक्त बैठकमा नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्ड सीले तीन बुँदे सहमति पश्च्यात तत्कालिन केपी ओली र शेरबहादुर देउवा नेतृत्वको सरकारसंग भएका छलफल र कार्य प्रगतिको बारेमा प्रष्ट्याएका थिए । उनले तत्कालिन देउवा नेतृत्वको सरकारका गृहमन्त्री बालकृष्ण खाँडसंग तीन बुँदे सहमति कार्यान्वयनका निम्ति भएका कार्यहरुको प्रगति र बाँकी रहेका कार्यहरुको बारेमा प्रष्ट्याएका थिए ।

प्रवक्ता प्रकाण्ड सीले तीन बुँदे सहमति कार्यान्वयनका लागि भएका कार्यहरुको विवरण पेश गरेपछि तत्कालिन सरकारले अगाडि बढाएको कार्यहरुको प्रगति विवरण गृह मन्त्रालय, कानुन मन्त्रालय र महान्यायधिवक्ता कार्यालयबाट संकलन गर्ने र त्यसपछि पुन: कार्यदलको बैठक बस्ने गरि आजको बैठक टुंगिएको बताइएको छ।

यसअघि गत शुक्रबार नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सी, प्रवक्ता प्रकाण्ड सी र प्रधानमन्त्री प्रचण्डबीच प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा नेकपाका नेता-कार्यकर्तामाथि लगाइएको मुद्दा खारेजी, बन्दी नेता- कार्यकर्ताको रिहाइलगायत तीन बुँदे सहमतिलाई पूर्ण रुपमा कार्यान्वयन गर्न सरकार र नेकपाबीच कार्यदल गठन भएको थियो ।
उक्त कार्यदलमा नेपाल कम्युनिष्ट पार्टीको तर्फबाट प्रवक्ता प्रकाण्ड सी, स्थायी समिति सदस्य शिलु सी र वरिष्ठ अधिवक्ता एकराज भण्डारी रहेका छन् भने सरकारको तर्फबाट उक्त कार्यदलमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा, नेकपा (माओवादी केन्द्र) का उपमहासचिव र माधव सापकोटा रहेका छन् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।