नेकपा निकट अनेरास्ववियू (क्रान्तिकारी) अहिले २३ औं राष्ट्रिय सम्मेलनको तयारीमा छ । यो सङ्गठनले शिक्षा क्षेत्रमा भएका थुपै विकृति विसंगति विरुद्ध देखि राष्ट्रिय स्वाधीनताको पक्षमा सशक्त सडक आन्दोलन गर्दै आएको छ । चाहे एमसीसी विरुद्धको आन्दोलन होस्, चाहे सिईटिभिटीको शुल्क वृद्धिको आन्दोलन होस् । राजनीतिक परिवर्तनको आन्दोलन देखि शैक्षिक परिवर्तनको आन्दोलनमा अखिल (क्रान्तिकारी)को महत्वपूर्ण भूमिका छ । यस्तै राष्ट्रिय स्वाधीनताको आन्दोलनमा पनि अखिल (क्रान्तिकारी)को भूमिका कम छैन । यो सङ्गठनले फागुन ६ देखि ९ गते सम्म काठमाडौंमा गर्न लागेको राष्ट्रिय सम्मेलनलाई निकै चासो तथा महत्वका साथ हेरिएको छ । सङ्गठनले आफ्नो २३ औं राष्ट्रिय सम्मेलन के कसरी तयारी गरिरहेको छ त ? अनि अवका दिनमा सङ्गठनले कस्तो नीति र कार्यक्रम ल्याउदैछ ? भन्ने बारे अनेरास्ववियू (क्रान्तिकारी)का अध्यक्ष प्रकाश सीसंग जनपत्रिका डट्कमले गरेको संक्षिप्त कुराकानी ।
राष्ट्रिय सम्मेलनको चर्चा छ, तयारी कस्तो हुँदैछ त ?
हो हामी यति बेला सङ्गठनको २३ औं राष्ट्रिय सम्मेलन, राष्ट्रिय स्वाधीनता र शैक्षिक अधिकारका लागि हाम्रो आन्दोलन ! समाजवाद र समाजवादी शिक्षाका लागि २३ औं राष्ट्रिय सम्मेलन !! भन्ने मूल नाराका साथ सम्मेलन सम्पन्न गर्न जुटिरहेका छौं । त्यसैको तयारी स्वरुप देशभर सम्मेलनको नाराहरुको प्रचारप्रसार,वाल पेन्टिङ्ग लगायतका कामसंगै जिल्ला संगठनहरुको भेला सम्मेलनहरु सम्पन्न भईरहेका छन् भने केही जिल्लाहरुमा हुने क्रममा छन् । समग्रमा भन्दा राष्ट्रिय सम्मेलनको तयारी राम्रो हुदैछ भन्नु पर्दछ ।
सम्मेलन कहाँ हुँदैछ ? उद्घाटन कसले गर्दै हुनुहुन्छ ?
हाम्रो सम्मेलन धेरै लामो समय पछि काठमाण्डौमा गर्दैछौं , सम्मेलनको उद्घाटन सत्र देशभरका हजारौं विद्यार्थीहरुको उपस्थितिमा भृकुटीमण्डपमा श्रमजीवी नेपाली जनताका नेता आदरणीय पार्टी महासचिव कमरेड विप्लवको प्रमुख आतिथ्यतामा गर्ने गरि तयारी हुदैछ । सम्मेलनको बन्दसत्र लगायत अन्य कार्यक्रम त्रिभूवन विश्वविद्यालय कृतिपुरमा करिब सात सय प्रतिनिधि र पर्यवेक्षकहरुको उपस्थितिमा गर्ने गरि तयारी गरेका छौं ।
सम्मेलन माघमा भनेर प्रचार गर्नु भएको थियो । फागुनमा सार्नु भएछ । कारण के हो ?
हजुर, हामीले संगठनको केन्द्रीय समितिको सातौं पूर्ण बैठकबाट राष्ट्रिय सम्मेलन माघ १० देखि १३ गते काठमाडौंमा सम्पन्न गर्ने भनेका थियौं तर पौष १५ देखि सरकारी विद्यालय क्याम्पसहरुको हुने काठमाडौ लगायत देशभर हुने हिउँदे बिदाका कारण हाम्रो तयारी प्रभावित हुने भएकाले सम्मेलन केही पछि गर्नु पर्ने भएकाले करिब एक महिना पछि फागुन ६ गते देखि ९ गते सम्म गर्ने गरि सारिएको हो । जुन पार्टी नेतृत्वको सल्लाहमा सङ्गठनको निर्णयमा गरिएको हो ।
सम्मेलनको मुख्य नारा वा लक्षित नीति र कार्यक्रम के हो ? बताइदिनुस् न ।
सम्मेलनको मुख्य नारा माथि नै भनि सकियो कि “राष्ट्रिय स्वाधीनता र शैक्षिक अधिकारका लागि हाम्रो आन्दोलन, समाजवाद र समाजवादी शिक्षाका लागि २३ औं राष्ट्रिय सम्मेलन” भन्ने मुल नारा सहित सम्मेलन गर्दैछौं । आजको हाम्रो मुख्य कार्यभार भनौं वा जिम्मेवारी भनेकै हाम्रो देशको स्वाधीनताको रक्षा हो । आम जनताको जीवन हो । लाखौं यूवाहरुको भविष्य हो । आज जसरी देशी विदेशी शक्तिहरुले आफ्नो स्वार्थका लागि सरकार देखि निजी संस्था सम्ममा परियोजनाहरु लाद्ने कोशिस गरिरहेका छन्, । हाम्रो देशको निजी मामिलामा अनावश्यक चासो र हस्तक्षेप गर्ने जस्ता विषयहरु नेपाली राजनीतिको केन्द्रमा देखिरहेका छन् । जसको पछिल्लो उदाहरण राष्ट्रघाती एमसीसी परियोजना र भर्खर मात्र छिमेकी भारतले नेपाल सरकारसंग गरेको आफ्नो दुताबास मार्फत २० करोड सम्म लगानी गर्दा नेपाल सरकारसंग स्विकृति लिनु नपर्ने प्रावधान हाम्रो लागि घातक छ । यी यावत सवालमा हाम्रो संगठनले विगत देखि नै आवाज उठाउँदै आईरहेको छ । जुन आज पनि निरन्तर छ । यो विषय नै आजको मुख्य विषय हो । हामी हाम्रो सम्मेलन मार्फत यो सवाल लाई अझ तेज र सशक्त बनाउन विद्यार्थीहरु माझ लैजान चाहन्छौं । साथै शैक्षिक जनशक्तिको पलायनता लगायतका विषयमा ती समस्याहरु समाधानका लागि काम गर्न चाहन्छौं । आजको विद्यालय शिक्षा कस्तो हुने ? यो शिक्षामा के के विषय थप गर्ने ? लगायत विषयमा शिक्षाका जानकार र विज्ञहरुसंग संविधानमै निशुल्क र अनिवार्य भनिएको शिक्षामा भएको व्यापारीकरण लगायत सवालमा सम्मेलन मार्फत हामी बहस गर्न चान्छौं । जुन हामीले सुरु समेत गरेका छौ ं।
स्ववियू सामन्तवाद र साम्राज्यवाद विरोधी विद्यार्थीको मञ्च रहेन । यो भ्रष्टाचारको अखडा भएको छ भन्ने आरोप छ नी ?
स्वभाविक रुपमा आजको स्ववियू हिजोको निरंकुश पञ्चायत विरोधी स्ववियू जस्तो छैन । आज नाम मात्रको भए पनि गणतन्त्र छ । त्यस कारण यो सामन्तवाद विरोधी भई रहन परेन । तर हाम्रो सोच चिन्तनमा रहेको सामान्तवाद डर लाग्दो छ । यसको विरुद्ध स्ववियू मात्र होईन सम्पूर्ण विद्यार्थी आन्दोलन नै लाग्नु पर्ने देखिन्छ, । सामान्य विश्वविद्यालय क्याम्पसहरुमा भए गरेका शैक्षिक समस्याहरुको विषयहरुमा मात्र केन्द्रीत भए जस्तो देखिन्छ । आजको स्ववियू त्यति मात्र भूमिकाले पुग्दैन भन्न खोज्नु भएको हो भने त्यो साँचो हो । हामीले हाम्रो स्ववियू भएका ठाउँहरुका रचनात्मक भूमिकाका लागि मिहिनेत गरिरहेका छौं । जहाँ सम्म स्ववियू भ्रष्टाचारको अखडा भयो भन्ने छ त्यो केही हद सम्म सहि नै हो भन्ने लाग्छ । विद्यार्थी आन्दोलनमा विशेषत सत्तामा भएका पार्टी निकट संगठनहरुले स्ववियूको दुरुपयोग गरेको भन्ने समाचार आउँछन । तर त्यो मात्र छ भन्न मिल्दैन राम्रा र असल अभ्यासहरु पनि छन् । हामीले असलबाट सिक्न जरुरी छ भन्ने लाग्दछ ।
तपाईंहरूले सङ्गठनको नाम बदल्दै हुनुहुन्छ भन्ने चर्चामा सत्यता कति छ ?
हो हामी हाम्रो सम्मेलनबाट गौरवमय विरासद बोकेको संगठनको नाम र लोगो बदल्दै छौं । यसो गर्नु पर्ने अन्य कारण भन्दा आजको बदलिएको परिस्थिति नै मुख्य हो । त्यो यस कारण कि २०६२ ÷६३ को आन्दोलन पछि अनेरास्ववियू (क्रान्तिकारी) को नेपाली विद्यार्थी आन्दोलनमा जुन भूमिका थियो । त्यो आज पार्टीमा आएको टुटफुट र विभाजनले विकेन्द्रीत जस्तो भएको छ । यसले नेपाली यूवा विद्यार्थीमा ठूलो भ्रम पैदा गरेको छ कि असलमा क्रान्तिकारी विद्यार्थी आन्दोलन कुन हो सत्ताको ताबेदारी गरेर खाने पनि उहि र दुख्ख गर्ने पनि उहि जस्तो हुदा भ्रम पैदा भएको छ । जस्तो कि गत साल मात्र हामीले उपयोग गरेको स्ववियूमा पनि संगठनको नामकै कारण धेरै ठाउँमा विद्यार्थी साथीहरु झुक्किनु भयो । हाम्रा विरोधीले भ्रमित गरे यी लगायत अन्य प्राविधिक कारणले केन्द्रीय समितिको निर्णय अनुसार हामी संगठनको नाम अझ सशक्त र प्रभावकारी बनाउने गरि प्रस्ताव गर्दैछौं । यो विषय सत्य हो ।
अखिल (क्रान्तिकारी)को राजनीतिक र कार्यनीतिक नारा वा कार्यक्रम के के हुन त ?
हाम्रो राजनीतिक नारा भनेको व्यवस्थाका हिसाबले वैज्ञानिक समाजवाद होे । शिक्षामा समाजवादी शिक्षा प्रणाली हो । आजको हाम्रो सम्पूर्ण काम यहि उद्देश्यका लागि भईरहेको छ । यस बाहेक हामी कार्यनीतिक हिसाबले अहिलेको संविधानले मौलिक अधिकारको रुपमा व्याख्या गरेको शिक्षा, स्वास्य र रोजगार सहित शिक्षाको सुधार र विद्यार्थीका शैक्षिक अधिकार र सवालमा केन्द्रीत रहेर काम गरिरहेका छौं । यस बाहेक जनजीविका सवाल, राष्ट्रिय स्वाधीनताको विषय, अहिले सदनमा प्रस्तुत विद्यालय शिक्षा विद्ययेक २०८० का लागि सुझाव, अन्तरक्रिया लगायत विषयमा केन्द्रीत रहेका छौं ।
विद्यार्थी आन्दोलन ’डोजर संस्कृति’ बाट आक्रान्त भएको छ भन्ने गुनासो छ नी ?
विद्यार्थी आन्दोलनमा डोजर संस्कृति ? यो प्रश्न नै केही अलि फरक कोणबाट आयो भन्ने लाग्छ । सर्वप्रथम डोजर संस्कृति भनेको के लाई हो ? काम गर्ने मेसिन डोजर भन्न खोज्नु भएको भए यसलाई चलाउने वा ठेक्कापट्टा बारे हुनु पर्दछ । यसमा के छ भने घरपरिवारले विधि प्रकृयामा रहि कुनै पेशा व्यवसाय वा डोजरै चलाएको छ भने त्यसलाई हामी संगठनमै बस्नेले पनि सहयोग गर्ने कुरालाई अन्यथा मान्नु हुदैन भन्ने लाग्छ । पछिल्लो हाम्रो पार्टीले आफ्नो नवौं महाधिवेशनबाट सबै नेता कार्यकर्ता आत्मनिर्भर बन्ने र उत्पादनमा जोडदिने भन्ने नीति पारित गरेको छ । यो नीति अनुसार पनि संगठनका साथीहरु काममा जोडिएका छन् भने त्यो अन्यथा होइन । आजको युग भनेको लम्पट भएर राजनीतिलाई मागी खाने बनाउनु हुदैन । खाली माग्ने मात्र काम गर्दछन् भन्ने बुर्जुवाहरुको आरोप पनि छ । त्यसैले पढेलेखेका काम गर्न सक्ने र आफुले जानेको काम गर्नु पर्दछ भन्ने हो । त्यसो गर्दा शक्तिको दुरुपयोग वा हाम्रो मुल्यमान्यता भन्दा बाहिर कोही जानु हुदैन यो कुरामा सङगठन सचेत छ ।
विद्यार्थी हकहितका लागि तपाईंको सङगठनले के कस्ता काम गर्दै आएको छ ? आगामी योजना के छ ?
हाम्रो सङगठन आफ्नो स्थापनाकाल देखि नै नेपालको राजनैतिक परिर्वतन तथा विद्यार्थीहरुको हक अधिकारको विषयमा अग्रपंतिमा रहेर काम गरिरहेको सङगठन हो । आज पनि यो अभियान जारी छ । साथै शिक्षा क्षेत्रमा रहेका समस्याबारे गंम्भीर ढंगले काम गरिरहेको छ । विद्यालय शिक्षा सुधारका लागि राज्यको स्थानीय देखि केन्द्र सरकारलाई ध्यानाकर्षण गराउने देखि विद्यालय निर्माण सम्ममा सङगठनले काम गरेको छ । चाहे विद्यालय शिक्षामा भर्ना , परिक्षा , छात्रवृत्तिका कुुरा हुन वा विश्वविद्यालय सुधारको कुरा होस यी विषयमा सङगठनले काम गरिरहेको छ । भर्खर मात्र एम बि बि एसमा कलेज संचालकले गरेको मनपरी शुल्क असुलिको बिरोध, सिटिइभिटिको बृद्धि भएको सम्पूर्ण शुल्क फिर्ता गराइएको छ भने इन्जिनियरिङ क्षेत्रको शुल्कमा करिब २०० प्रतिशत बृद्धि गरिएकोमा हाम्रो पहलमा संयूक्त विद्यार्थी संगठनको तर्फबाट आमरण अनसन , शिक्षा मन्त्री र प्रधानमन्त्री लगायतलाई भेटघाट छलफल गरि शुल्क फिर्ता गराई नयाँ शुल्क निर्धारण कमिटिको सिफारिसमा पहिले बढाईएको शुल्कमा आधा घटाएर विद्यार्थीहरुलाई सहुलिएत दिलाईएको छ । देश र जनताका जल्दाबल्दा समस्या महंगी, भ्रष्टाचारका विरुद्ध सडक आन्दोलनको नेतृत्व गरिरहेका छौं , आगामी दिनमा पनि यीनै विषयहरुलाई निरन्तरता दिने सोचेका छौं र ५३ वर्ष पछि आउँदै गरेको विद्यालय शिक्षा विद्ययेक २०८० लाई आम जनताको मौलिक अधिकार रहेको सार्वजनिक शिक्षा सुधारमा सुझाव तथा निशुल्क , अनिर्वाय तथा प्राविधिक र उत्पादनसंग जोड्न छलफल , अन्तरक्रिया तथा सडक आन्दोलन गर्ने गरि योजना निर्माण गरिरहेका छौं ।
अन्त्यमा के भन्नु हुन्छ ?
यो अवसरका लागि जनपत्रिका परिवारलाई धेरै धेरै धन्यवाद ।