
बाँके । नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य शिलु सीले नेपालका स्वाभिमानी युवाहरुले दलालहरुको हातमा रहेको देशलाई मुक्त गरेर स्वाधीन बनाउनु पर्ने बताएकी छन ।
युवा संगठन नेपालको पश्चिम कमाण्डको प्रथम विस्तारित बैठकलाई विहिवार बर्दियाको वाँसगढीमा सम्बोधन गर्दै स्थायी समिति सदस्य शिलु सीले देशलाई दलालहरुको हातबाट मुक्त गरेर स्वाधीन बनाउने जिम्मेवारी युवाहरुको काँधमा आएको बताएकी हुन ।
उनले एमसीसी मार्फत अमेरिकाले नेपालमा आफ्नो सैन्य अखडा बनाउन चाहेको र त्यसैमा नेपालका दलालहरु लागेको खुलासा गर्दै साम्राज्यवादी षड्यन्त्र र दलालहरुको आत्मसमर्पणबादका विरुद्ध लड्नुपर्ने बताईन ।
उनले भनिन् ‘युवाहरुको काधमा नयाँ जिम्मेवारी आएको छ । दलाल र साम्राज्यवादका विरुद्ध युवाहरुले लड्नु छ । यो स्वाभिमानी युवाहरुको दायित्व हो । एकीकृत जनक्रान्तिको माध्यमबाट नेपाली विशेषताको समाजवादमा गएर मात्र सम्भव छ । देशभक्त लोकतन्त्रवादी युवाहरुसंग युवा संगठन नेपालले हातेमालो गर्नु पर्छ ।’
बैठकमा नेकपाका केन्द्रीय सदस्य तथा दक्षिण कर्णाली ब्युरो इन्चार्ज संगम सीले युवाहरु एकतावद्ध भएर लागे देश स्वाधीन हुने बताए ।
युवा संगठन नेपाल पाचौं राष्ट्रिय सम्मेलन आयोजक समितिका संयोजक पाटन जंगली सीले युवा संगठन नेपालको राष्ट्रिय सम्मेलन पश्चिम नेपालको धनगढीमा चैत्र २४ देखि २८ गते सम्म हुने भएको भन्दै सवै व्युरो र जिल्लाहरुलाई तिव्रता साथ तयारी गर्न निर्देशन दिए ।
बैठकमा नेकपाका केन्द्रीय सदस्य हिमशिखर सी,नेकपा पूर्वी बर्दिया सेक्रेटरी संगीन सीले पनि बोलेका थिए ।
बैठकले राष्ट्रिय सम्मेलनलाई भव्यताका साथ सम्पन्न गर्न जिल्लाका भेला तथा सम्मेलन गर्ने, एमसीसी,मंहगी,भ्रष्टाचार,कमिसन विरुद्ध संघर्ष गर्ने लगायतका निर्णयहरु गरेको छ ।
युवा संगठन नेपालका पश्चिम् कमाण्ड ईन्चार्ज दिनेश सीको अध्यक्षतामा बैठक सम्पन्न भएको थियो ।