५ जेष्ठ २०८१, शनिबार

युवा संगठन नेपाल तुलसीपुरको अध्यक्षमा गणेश चन्द निर्वाचित

0

 तुलसीपुर । युवा संगठन नेपाल तुलसीपुर नगर कमिटीको अध्यक्षमा गणेश चन्द निर्वाचित भएका छन् ।  बुधबार नेकपा निकट युवा संगठन नेपाल तुलसीपुर नगरको दोस्रो सम्मेलनले चन्दको नेतृत्वमा १७ सदस्यीय नगर कमिटी निर्वाचित गरेको हो । जसको उपाध्यक्षमा प्रदिप चौधरी , सचिवमा बिजय नेपाली , सह–सचिवमा नवीन परियार , कोषाध्यक्षमा रियान जीवी लगायत रहेका छन ।

सम्मेलनलाई प्रमुख अतिथिको रुपमा नेकपाका केन्द्रीय सदस्य प्रदिप सीले सम्बोधन गर्दै एमसीसी प्रोजेक्ट मार्फत नेपालमा अमेरिकी साम्राज्यवाद आइपुगेको बताए । उनले अहिलेसम्म कसैको गुलाम नभएको मुलुक, कसैको दासतमा नबाँचेका हामी नेपालीहरुलाई अमेरिकाले दास बनाउदै लगेको जिकिर गरे ।

उनले भने ‘अब नेपालका क्रान्तिकारी युवाहरु अमेरिकाको दासतमा बाँच्ने कि बिद्रोही बन्ने, राइफल बोक्ने ? छान्ने बेला आइसकेको छ । हामीले राइफल बोक्ने आँट गरेनौ भने अमेरिकाले यो मुलुकलाइ हेर्दाहेर्दै युक्रेन बनाउनेछ ।’

सम्मेलनमा शुभकामना मन्तव्य राख्दै नेकपाका केन्द्रीय प्रतिनिधि सदस्य तथा राप्ती ब्युरो कार्यालय सचिव विकाश सीले अमेरिकी साम्राज्यवादले नेपाललाई युद्धभूमि बनाउन खोजेकाले त्यसको प्रतिरोध गर्न युवाहरु एकपटक साम्राज्यवादका विरुद्ध डटेर लड्नुपर्ने धारणा राखे ।

नेकपा पश्चिम दाङका सचिव निर्मल सीले नेपाली युवाहरु एकपटक क्रान्तिमा सहभागी भई समाजवादी व्यवस्थाका लागि जुझारु ढंगले संगठित हुनुपर्ने बेला आएको बताए ।

यस्तै युवा संगठन नेपालकी राप्ती ब्युरो इन्चार्ज जिवनी सीले अहिलेको राजनीतिक परिस्थिति फेरिएकाले क्रान्तिकारी युवाहरु चनाखो हुनेबेला आएको बताइन् ।

कार्यक्रममा सबै जवस÷ मोर्चाको तर्फबाट शुभकामना मन्तव्य व्यक्त गर्दै गणतान्त्रिक खेलकुद महासंघका लुम्बिनी प्रदेश इन्चार्ज रुद्र सीले नेपालको दलाल पुँजीवादी राज्यव्यवस्थाका कारणले लाखौं युवाहरु भौतारिनु परेको बताए ।

नेता रुद्रले गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य र रोजगारको ग्यारेन्टी हुने समाजवादी व्यवस्थाका लागि एकपटक युवाहरु एकीकृत जनक्रान्तिमा सहभागी हुनुपर्ने बताए ।

नेकपाका केन्द्रीय सदस्य प्रदिप सीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको सम्मेलनमा नेकपाका जिल्ला सेक्रेटरी निर्मल सी, पार्टीका केन्द्रीय प्रतिनिधि सदस्य विकाश सी, युवा संगठन नेपाल राप्ती ब्युरो इन्चार्ज जिवनी सी , नेकपाका तुलसीपुर नगर इन्चार्ज भुवन सी, गणतान्त्रिक खेलकुद महासंघ लुम्बिनीका इन्चार्ज रुद्र सी, नेकपा तुलसीपुरका सेक्रेटरी शिव सी, युवा संगठन नेपालका केन्द्रीय सदस्य सुदर्शन सी, युवा संगठन नेपाल पश्चिम दाङका अध्यक्ष आकाश सी, किसान महासंघका केन्द्रीय सदस्य बिजय सी , जनपत्रकार संगठन नेपालका केन्द्रीय सदस्य हेमन्त प्रकाश ओली, नेकपा पश्चिम दाङका जिल्ला सदस्यहरु भरत सी , प्रतिरोध सी, मनोज सी, कमला सी, धर्ती सी, नवीन सी लगायतको आतिथ्यता रहेको थियो ।

युवा संगठन नेपाल पश्चिम दाङका अध्यक्ष आकाश सीको स्वागत मन्तव्यबाट सुरु भएको सम्मेलनको अध्यक्षता गणेश चन्दले गरेका थिए भने सम्मेलनको संचालन नेता कृष्ण सीले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।