२८ बैशाख २०८१, शुक्रबार

वर्तमान राष्ट्रिय संकटको समाधान नेपाली विशेषताको समाजवाद हो : सन्जिव सी

0

प्युठान: वर्तमान राष्ट्रिय संकटको समाधान नेपाली विशेषताको समाजवाद भएको नेकपाका नेता सन्जिव सीले बताएका छन् । नेपाल कम्यूनिष्ट पार्टी पश्चिम लुम्विनी व्यूरो अन्तरगत पुर्वी प्यूठानद्वारा शुक्रबार सदरमुकाम खलंगामा आयोजित “वर्तमान राष्ट्रिय संकट र समाधान” विषयक अन्तरक्रिया कार्यक्रममा उनले यस्तो विचार व्यक्त गरेका हुन् ।
अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल कम्यूनिष्ट पार्टीका पोलिट व्यूरो सदस्य तथा पश्चिम लुम्विनी व्यूरो इन्चार्ज सन्जिव सीले अहिले देशमा दलाल पुजीवादी व्यवस्था रहेकोले अब त्यसको ठाउँमा नेपाली माटो सुहाउँदो नेपाली विशेषताको समाजवादी व्यवस्था नै एकमात्र विकल्प रहेको बताए । नेपालमा विद्यमान दलाल पुँजीवादी राज्यसत्ताको कारण देश इतिहासकै सर्बाधिक संकटमा रहेकोले असफलसिद्ध दलाल संसदिय व्यवस्था खारेज गरी गास, बास, कपास, शिक्षा, स्वास्थ्य, रोजगार, सञ्चार र मनोरञ्जन जस्ता अत्यावश्यक विषयहरु राज्यको दायित्वमा रहेको सुन्दर व्यवस्था वैज्ञानिक समाजवादी राज्यव्यवस्था स्थापना गर्नुपर्ने नेता सीले बताए । उनले पछिल्लो समय निकै चर्चामा रहेको राष्ट्रघाती एमसीसी सम्झौताले राष्ट्रिय स्वाधिनता, सार्वभौमिकता र अखण्डतामाथि नै नाङ्गो हस्तक्षेप गरी अन्त्यमा नेपाललाई पराधिन मुलुक बनाउने अमेरिकी षडयन्त्र रहेकोले राष्ट्रघातका विरुद्ध सिंगो देश एक ढिक्का भई स्वाधिनताको लडाईमा जुट्न पनि सबैलाई आग्रह गरे ।


कार्यक्रममा “वर्तमान राष्ट्रिय संकट र समाधान” विषयक अवधारणा पत्र नेकपा पुर्वी प्यूठानका सचिवालय सदस्य बिरवल सीले प्रस्तुत गरेका थिए । प्रस्तुत अवधारणा पत्रमा राष्ट्रिय स्वाधिनताको संकट अन्तरगत सन् १८१५ देखियता विभिन्न समयमा भारतसंग गरिएका सम्झौता र हालसालै एमसीसीको नेपाल प्रवेश, जनतन्त्र र जनजीविकाको संकट, वर्तमान संकटको समाधान, समाजवादी मोर्चा र नेपाली विशेषताको समाजवाद लगायतका विषयहरु समेटिएको थियो ।


अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले कम्यूनिष्ट पार्टी टुटफुट र विभाजनमार्फत छिन्नभिन्न भएकोले सबै वामपन्थी, देशभक्त तथा कम्यूनिष्ट पार्टीहरु एकतावद्ध हुनुपर्ने सुझाव दिदैं वर्तमान राष्ट्रिय संकटको एकमात्र समाधान भनेको दलाल पुँजिवादी चरित्रको व्यवस्था खारेज गरी नेपाली विषेशताको समाजवाद नै रहेको विषयमा जोड दिएका थिए । कार्यक्रममा क्रान्तिकारी कम्यूनिष्ट पार्टी नेपाल प्यूठानका इन्चार्ज टिकाराम पौडेल, नेकपा एमाले प्यूठानका प्रतिनिधि रामचन्द्र के.सी., नागरिक अभियन्ता सुमन सुवेदी, बास नेपाल जिल्ला शाखा प्यूठानका अध्यक्ष जुमान सिंह के.सी.र प्यूठान उद्योग वाणिज्य संघका कार्यकारी निर्देशक प्रकाश खनाल लगायतले प्रस्तुत अवधारणापत्रमाथि टिप्पणी तथा विचार मन्तव्य राखेका थिए । कार्यक्रममा नेकपा पश्चिम प्यूठानका सेक्रेटरी परिवर्तन सी, नेकपा प्यूठानका पुर्वी सेक्रेटरी तथा विशेष कमिटी सदस्य केशव सीलगायतको उपस्थिति रहेको थियो । कार्यक्रम नेकपाका केन्द्रिय सदस्य तथा प्युठान इन्चार्ज जागृति सीको अध्यक्षता, नेकपा पुर्वी प्यूठानका सेक्रेटरी मुस्कान सीको सन्चालन र जिल्ला सचिवालय सदस्य उमाराम सीले स्वागत मन्तव्य राखेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।