२२ बैशाख २०८१, शनिबार

काङ्ग्रेसको सशस्त्र विद्रोह, चितवन कब्जा

0

          जनकमान श्रेष्ठ

 

२०१८ सालमा नेपाली काङ्ग्रेसबाट हतियार उठाई ३६ घण्टा चितवन जिल्लामा सत्ता कब्जा गरेको थियो । ३६ घण्टापछि स्टेट फोर्स (राष्ट्रिय फौज)ले चितवन पुनः कब्जा गरेको थियो । यसै सन्दर्भमा राजकाज मुद्दाको कार्यवाही र किनार लगाउन सम्बन्धित जिल्लाका बडाहाकिमको अध्यक्षता, सम्बन्धित जिल्ला न्यायाधीश १ र मालको हाकिम १ भई राजकाज मुद्दाको कार्यवाही किनारा लगाउनु र त्यसको अपील सर्वोच्च आदालतमा मात्र लाग्नेछ भन्ने व्यहोरा उल्लिखित भई ट्रिबुनल गठन भएको राजपत्र प्रकाशित भयो । त्यसबेला चिसापानी, मकवानपुर जिल्लाको बडाहाकिम रामनारायण श्रेष्ठ थिए र चितवन जिल्लासमेत उनकै मातहतमा थियो ।
ट्रिबुनल गठनको राजपत्र प्रकाशित भएपछि बडाहाकिम रामनारायणलाई एक्कासी भिमफेदी निवासबाट माथि चिसापनी डाँडा अवस्थित अदालतमा आई मलाई भेट्नुभयो र भन्नुभयो, “चितवन काण्डमा थुप्रै मानिसहरू एरेष्ट (पक्राउ) गरी ल्याएको छ, मुद्दा हेर्नलाई ट्रिबुनलको न्यायाधीशमा तपाइँ बस्नु प¥यो ।” मैले भनें, “चितवन जिल्लाको न्यायाधीश भिन्नै छ, म चिसापानी जिल्लाको न्यायाधीश बस्नु मिल्दैन भनी राजपत्र पढेर सुनाएँ ।” बडाहाकिमले पुनः भन्नुभयो, “चितवन जिल्लाको न्यायाधीश बढ्ता नुनिलो छ, जनताको सामुन्ने मसँग कानुनी विद्वता छाँटी बहस गर्न आउँछ । निजलाई राखेर राम्रो काम चल्दैन” यति भनेर उहाँ जानुभयो र सायद माथि सोही कुराको उहाँले जाहेर गर्नुभयो होला । यसको ३÷४ दिनपछि एक्कासी सर्वोच्च अदालतबाट फोन आयो । सम्माननीय प्रधानन्यायाधीश हरिप्रसाद प्रधानज्यूबाट आज्ञा भयो, “जिल्ला फरक भएता पनि बडाहाकिम कार्यालय बाट पत्र आएमा ट्रिबुनलमा बसी काम गरिदिनु र त्यसमा मिलाएर आदेश पत्र पठाई दिन्छु ।” बडाहाकिमबाट उही दिन पत्र आइपुग्यो र चितवन जिल्लाको समेत राजकाज मुद्दा हेर्ने ट्रिबुनलको न्यायाधीश भइयो ।
ट्रिबुनलको काम गर्न बडाहाकिमको कार्यालय, भिमफेदी झरें । १५/२० जना अभियुक्तको तालिका देखें । बयान लिन जान्ने कर्मचारी बडाहाकिमको कार्यालयमा कोही छैन भनी पन्छिए । त्यस्तै मालको हाकिमले पनि बयान लिने काम कहिल्यै गरेको छैन र जान्दिन भनी पन्छियो । अब अभियुक्तसँग बयान लिने काममा आफू एक्लै परियो र बयान लिने काम गरें । ३÷४ जनाको बयान के लिएको थिएँ, साँझ परिहाल्यो । भिमफेदीदेखि माथि चिसापानी आफ्नो मुकाम पुग्न दुई अढाई कोश जङ्गलको उकालो बाटो चढ्नु पर्ने । बडाहाकिम आफैले २÷४ दिन उनकै मुकाममा बस्नुस्, खानपिन, सुत्ने व्यवस्था आफैकहाँ गरिदिन्छु भनी अनुरोध गरे । बस्नै प¥यो, बसें । बयान लिँदै जाँदा एकनाथ बाहुनले आफू गैंडाकोटबाट चितवन भरतपुरको गोप्य चिठी आदान–प्रदान गर्ने कामसम्म गरिआएकोमा साविति बयान दियो । गैंडाकोटको जमिन्दार सूर्यभक्त अधिकारीको बयान दिने पालो आयो ।

चितवन भरतपुर हमला गर्न काङ्ग्रेसी फौज सबै पालेर हमला गर्न पठाउने मुख्य व्यक्ति यिनै सूर्यभक्त अधिकारी हुन् भन्ने सूचना छ । माथिबाट पनि यिनको उपर बढि नजर छ भनी बडाहाकिमले मलाई सङ्केत गरेका थिए ।

(लेखक काठमाडौंका प्रथम निर्वाचित मेयर हुन् ।
स्रोतः हराएको इतिहास)

स्राेत: जनपत्रिका आठाैँ अङ्क


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।